पुस्तकानुभूति अव्यवस्थित सामाजिक समस्याहरूको प्रतिबिम्ब ‘नाैगेडी नाटक’
पुरु लम्सालद्वारा लिखित ‘नौगेडी नाटक’ ग्रामीण नेपाललाई महत्त्व दिएर लेखिएको हृदयविदारक तथा शक्तिशाली नाटक हो । यसले लोक दोहोरी गायनको क्रममा प्रेममा परेका दलित जोडी च्यान्टे र मनमायाको दु:खद कथालाई पछ्याउँछ । उनीहरु विवाह गर्छन् तर गरिबी, सामाजिक भेदभाव र दु:खले नै उनीहरूका दिन बितिरहेका हुन्छन् ।
नाटकले विशेष गरी नेपालको सामाजिक अवस्थालाई देखाउन खोजेको छ । त्यो शिक्षा मनमायामाथि लगाइएको निरन्तर भावनात्मक र सामाजिक दबाबबाट चित्रण गर्न सकिन्छ । मनमाया र च्यान्टे गहिरो प्रेममा परेका त छन् तर उनीहरूको सम्बन्ध बिस्तारै सन्तानहीनता र आर्थिक कठिनाइको बोझले चकनाचुर भइरहेको हुन्छ । मनमाया नौगेडीको चाहना गर्छिन् जुन नौ सुनका मोतीहरूले बनेको एक परम्परागत गहना हो । जुन च्यान्टेले बिहे गरेपछि मनमायालाई किनिदिन्छु भनेको थियो तर पैसाको अभावले गर्दा उसले अहिलेसम्म त्यो इच्छा पूरा गर्न सकेको थिएन । यो अपूर्ण चाहना नै तिनीहरू बिच हुने कैयौँ बहसहरूको मूख्य कारण थियो ।
एक दिन इन्दिरा बज्यै उनीहरूलाई भेट्न आउँछिन् र भन्छिन् । यदि तिमीहरुलाई साँच्चै बच्चा चाहिएको छ भने दुप्चेश्वर मन्दिरको दर्शन गर्न जाअाे । जसले अझै पनि नेपालमा मानिसहरूको दिमागमा गहिरो जरा गाडेको अन्धविश्वासलाई उजागर गर्दछ ।
उनीहरूको सङ्घर्षमा थप्दै गाउँलेहरूले प्रायः मनमायालाई बच्चा नभएकोमा खिसी गर्थे र अपमान गर्थे । जसको कारण दुबै च्यान्टे र मनमाया आफ्नै हैसियतको प्रश्न गर्न थाल्थे । एक दिन, जब मनमायालाई बाँझी भनेर भावनात्मक रूपमा कमजोर थिइन् । मनमायाले बाटामा अर्जुनलाइ भेट्छिन् अर्जुनले उसलाई बच्चा चाहिने भनेर उसलाई झाडीतिर लगेर बलात्कार गर्छ । मनमायाले अर्जुनलाई मन पराएको कारणले वा वासनाको कारणले स्वीकार गरेकी थिइनन्, तर उसले आफू सँधै अपमानित भएर थाकिसकेकी थिइन्, र उसलाई एक बच्चा पाएर आमा बन्ने ठुलो चाहना थियो ।
केही समयपछि घरमा मनमाया र च्यान्टेकाे झगडा हुन्छ । झगडापछि च्यान्टे घरबाट निस्कन्छ र कहाँ जाने भनेर त भन्दैन तर ऊ जाडोको कपडा सिलाउन अर्को गाँउमा गएको हुन्छ । यस समयमा मनमायाले आफू गर्भवती भएको सङ्केत देखाउन थाल्छिन् तर उसलाई त्यो थाहा हुँदैन । संयोगवश, माइली उसलाई भेट्न आउँछिन्, माइली एक बलियो र दयालु महिला हुन्, उसलाई आफ्ने लोग्ने र बुबा मिलेर मुम्बइमा बेचिदिएका थिए । बल्लतल्ल उनी वेश्यालयबाट भागेकी थिइन् । आज चाहिँ तीज पर्वको समयमा मनमायालाई भेट्न आएकी थिइन् । उनले मनमायालाई साडी, टीका र चुरा जस्ता उपहारहरू ल्याइदिएकी हुन्छिन् । जब मनमायालाई वाकवाकी लाग्न थाल्छ । माइली तुरुन्तै मनमाया गर्भवती भएको शङ्का गर्छिन् ।
त्यही वेलामा, च्यान्टे अप्रत्याशित रूपमा घर फर्किन्छन् । माइलीले उसलाई भन्छिन् कि मनमाया गर्भवती भएकी छिन् । बच्चा आफ्नो हो भन्ने विश्वास गर्दै च्यान्टे धेरै खुसी हुन्छ । च्यान्टेले मनमायालाई आफ्नो अँगालोमा बाँध्छ र काखमा राखी उसको मायाले हेरचाह गर्ने वाचा गर्छन् । च्यान्टे मासु पकाउन दाउरा लिन बाहिर निस्कन्छन् । त्यति वेलामा नै भूकम्प आउँछ । च्यान्टे दाउरा छाडेर घरतर्फ दौडिन्छ तर ऊ आइपुग्दा घर भत्किसकेको हुन्छ । मनमाया घरभित्र ढाेकाकाे छेउमा च्यापिन्छिन् । उसले हतारहतार गरी ढोकालाई छेकिरहेको काठलाई हटाउँछ । मनमायालाई भग्नावशेषबाट बाहिर निकाल्न सफल हुन्छन् तर उनी पहिले नै मरिसकेकी हुन्छिन् । नाटककाे सबैभन्दा भावनात्मक क्षणको रूपमा, च्यान्टेले उनको निर्जीव शरीरमा नौगेडी राख्छन् जुन उसले अन्ततः बनाउन सफल भएको हुन्छ तर त्यसको कुनै अर्थ नै रहँदैन किनभने उसले आफ्नो जीवनको सबैभन्दा महत्त्वपूर्ण मानिस गुमाएको हुन्छ।
मेरो विचारमा, यो नाटकले हाम्रो समाजमा भएका धेरै गम्भीर सामाजिक समस्याहरू तथा अन्धविश्वास देखाउँछ । यो केवल एक परिवार वा दुई व्यक्तिको बारेमा मात्र होइन, यसले पूरै समाजलाई समावेश गरेको छ । गरिबी, जातीय भेदभाव, लैङ्गिक असमानता र अन्धविश्वासले विश्वभरि मानिसहरूको जीवनलाई वास्तविक रूपमा पीडादायी बनाएको छ ।
च्यान्टे र मनमायाको कथा भनेको दलित परिवारहरूले सामना गर्नुपरेको छ । तल्लो जातका मानिस भएपछि छुवाछुतको विरुद्ध नियम र कानुन भए पनि मानिसलाई गाउँलेहरूले हेला गर्छन्, अपमान गर्छन् र अन्यायपूर्ण व्यवहार गर्छन् । यो सामाजिक भेदभावले उनीहरूको जीवनलाई धेरै कठिन बनाउँछ र उनीहरूमाथि दबाब थप्छ। उनीहरू गरिब छन्, तर गरिब भन्दैमा मानिसलाई अपमान गर्ने हक कसैको हुँदैन। गरिबीले मानिसहरूको जीवनमा लगभग सबै कुरा नियन्त्रण गर्दछ । साना कुराहरूदेखि लिएर उनीहरूले बच्चा पाउन नसक्दा महसुस भएको निराशा, मनमायाले चाहेको नौ सुनको डल्लाको हार, नौगेडी । एउटा बच्चा नहुनुको पूरै दोष महिलामा नै लगाइन्छ र उनीहरुलाई हेला गरिन्छ । दलितले छोएको खाना खानु हुन्न तर उनीहरूले सिलाएको लुगा, हतियार चलाउँदा चाहिँ केही नहुने यस्तो छ हाम्रो समाज ।
नाटकले देखाउन खोजेको अर्को प्रमुख कुरा भनेको अन्धविश्वास र त्यसको समाजमा भएको भूमिका बारेमा हो । मनमाया र च्यान्टे सन्तान नहुने समस्यामा पर्दा, एक वृद्ध महिला, इन्दिरा शर्माले उनीहरूलाई दुप्चेश्वरको मन्दिरमा गएर बच्चाको लागि प्रार्थना गर्न भन्छिन् । यसले ग्रामीण क्षेत्रका मानिसहरू कसरी वास्तविक मद्दत खोज्नु वा बाँझोपनको पछाडिको चिकित्सकहरु भेट्नुको सट्टा प्रायः धार्मिक अनुष्ठानहरूमा भर पर्छन् भनेर देखाउँछ । यस्ता विश्वासहरूले समस्याहरू समाधान गर्नुको सट्टा ती समस्यालाई झनै खराब बनाउँछन् ।
यस नाटकले समाजको अर्को समस्या लैङ्गिक असमानतालाई पनि देखाउँछ। मनमायालाई बच्चा नहुनुको दोष लगाइन्छ र उसलाई "बाँझी" भनिन्छ किनभने उनीहरुको बच्चा नहुनुमा केटाको केही दाेष थिएन, सबै कुरा केटीको कारणले नै बर्बाद भएको थियो । बच्चा जन्माउन नसक्ने महिलाहरूप्रतिको यो अनुचित व्यवहार नेपालका धेरै भागहरूमा ठुलो समस्या हो । यसले उनीहरूको आत्मविश्वास घटाउँछ र बढी कमजोर बनाउँछ । वास्तविकमा पुरुष र महिलालाई समान मान्नुपर्छ, सबै गल्ती महिलाहरूबाट मात्र हुँदैन, जुन यस नाटकमा सही साबित भएको छ किनभने च्यान्टे र मनमायाको बच्चा नहुनुको कारण च्यान्टेको कारणले थियो, मनमाया होइन किनकि मनमाया पछि अर्जुनबाट गर्भवती हुन्छिन् ।
अर्जुनसँग मनमायाको अनुभवले यी सामाजिक परिस्थितिहरूमा महिलाहरू कसरी कमजोर र शक्तिहीन हुन्छन् भन्ने कुराको दु:खद् उदाहरण हो । बच्चा चाहेको कारणले गर्दा उनले अर्जुनलाई आफ्नो फाइदा उठाउन अनुमति दिने तथ्यले उनी कति हताश र फन्दामा परेको महसुस गर्छिन् भनेर देखाउँछ । नाटककाे यो भागले महिला विरुद्ध हुने हिंसाको गम्भीर मुद्दालाई औँल्याउँछ र सामाजिक दबाबले महिलाहरूलाई कसरी दुःखद् परिस्थितिमा बाध्य पार्न सक्छ भन्ने कुरालाई देखाउँछ ।
माइलीको चरित्रले चेलीबेटी बेचबिखनबारे चेतना फैलाउने काम गर्छ । उनी आफ्नै लोग्ने र बुबाद्वारा मानव वेश्यावृत्तिमा बेचिएकी हुन् । गाउँमा उनको फिर्ता भएपछी, उनले सामना गरेको पीडाको समर्थन गर्नुको सट्टामा उनलाई नै हेला गरे । यसरी यौनिक अपराधका पीडितहरूलाई कसरी सहयोगको सट्टा समाजले प्रायः अस्वीकार गर्छ भन्ने कुरालाई प्रकाश पार्छ । यसले देखाउँछ कि सामाजिक सहयोग र समर्थनको अभावले पीडित व्यक्तिको लागि पुनर्प्राप्ति र पुनर्एकीकरण लगभग असम्भव बनाउँछ।
अन्त्यमा, नौगेडी दुई प्रेमी बिचको कथा मात्र होइन; यो नेपालमा अझै पनि अव्यवस्थित सामाजिक समस्याहरूको प्रतिबिम्बन हो । यसको अन्त्य नगरी नेपाली समाज कहिल्यै अघि बढ्न सक्दैन । गरिबी, जातीय भेदभाव, अन्धविश्वास, लैङ्गिक असमानता र महिला विरुद्धको हिंसा सबै नेपालीहरूको मनमा गहिरो रूपमा गाडिएका छन् र यिनले मानिसमा पीडा निम्त्याउनु बाहेक केही गर्दैन ।
0 reads
Published on 7/1/2025
Prasiddhi Dangol is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Prasiddhi Dangol
Grade 10
Roll No: 28009
77
More Articles from
Student