पाठ समीक्षा
पाठ समीक्षा
परिचय
‘मनसा’ नामक पुस्तकका सम्पादक अनन्त वाग्ले तथा चित्राङ्कनकर्ता रविन्द्र मानन्धर हुन्। यस पुस्तककाे प्रकाशक ज्ञानवृक्ष पब्लिकेसन प्रा.लि. हाे, भने सहकार्य बालवाङ्मय तथा अनुसन्धान केन्द्रले बजार विस्तार गरेको छ। ‘मनसा’ पुस्तकको पृष्ठ ४३ मा रहेको ‘शिवको भुल’ शीर्षकको पाठ यस पुस्तकका उत्कृष्ट पाठहरूमध्ये एक हो। यस पाठमा शिवले साथीभाइकाे रमाइलो तथा मोबाइल गेममा बढी ध्यान दिँदा आफ्नी आमाप्रतिको जिम्मेवारी बिर्सिएको कुरा देखाइएको छ।
परिवेश
यो कथाको मुख्य परिवेश अस्पताल, शिवको घर तथा फुटपाथमा साथीहरूसँग बिताएको स्थान हो।
कथावस्तु
एक बिहान छिमेकी काकीले शिवकी आमालाई अस्पताल लैजानुपर्छ भन्दै बिहान सबेरै ढोका ढकढकाउनुभयो। शिवले निद्राको स्वरमा “पाँच मिनेट मात्रै...!” भनेर जवाफ दियो। शिवलाई पढाइभन्दा खेल्न र साथीहरूसँग रमाइलो गर्न बढी मन पर्थ्यो। उनकी आमाले मेलापात तथा गाउँघरका काम गरेर आफ्नो र छोराको खर्च जुटाउँथिन्।
त्यस बिहान उनकी आमा अत्यन्त बिरामी भइन्। छिमेकी काकीले उहाँलाई नजिकैको अस्पतालमा लग्नुभयो। अस्पतालमा डाक्टरले हृदयसम्बन्धी समस्या भएको बताउँदै तुरुन्त पैसा जम्मा गर्न आग्रह गरे। त्यतिबेला मात्र शिव अस्पताल पुगेको थियो।
आमाले शिवलाई “खाटमुनिको सन्दुकभित्र पुरानो ओड्नेले बेरेर राखेको पैसा छ, त्यो लिएर छिट्टै आऊ” भनेर भनिन्। शिव घरतर्फ लाग्यो, तर बाटामा साथीहरूसँग भेट भएपछि ऊ रमाइलोमा अल्मलियो। साथीहरूले नयाँ गेमको कुरा गरे र “एकछिन बस” भने। शिवको त्यो “एकछिन” धेरै घण्टामा परिणत भयो।
उता आमा अस्पतालमा छोराको प्रतीक्षामा थिइन्, तर शिव आएन। बेलुका भएपछि मात्र शिव घर पुग्यो। छिमेकी काकीले “अहिले आमालाई कस्तो छ, शिव?” भनेर सोध्नुभयो। त्यो सुनेपछि शिव झसङ्ग भयो। ऊ तुरुन्त पैसा लिएर अस्पतालतर्फ दौडियो।
अस्पतालमा पुगेपछि नर्सले उनकी आमा अप्रेसन थिएटरमा रहेको बताइन्। शिव अत्यन्त चिन्तित भयो। केही समयपछि डाक्टरले अप्रेसन सफल भएको खबर सुनाए। त्यसपछि शिवले आफ्नो गल्ती महसुस गर्दै अबदेखि गम्भीर भएर काम र कर्तव्यमा लाग्ने तथा बेपर्वाह भएर समय बर्बाद नगर्ने वाचा गर्यो।
असल पात्र
यस कथाका असल पात्र छिमेकी काका र काकी हुन्। किनभने उनीहरूले शिवकी आमा सिकिस्त बिरामी भएको देखेर तुरुन्त अस्पतालमा भर्ना गराएका थिए।
खराब पात्र
यस कथामा शिवलाई खराब पात्रका रूपमा देखाइएको छ। किनभने उनले आफ्नी आमा गम्भीर बिरामी हुँदा पनि साथीहरूसँग रमाइलो, मोबाइल गेम र अन्य कुरामा समय बिताएका थिए।
निष्कर्ष र सुझाव
यस पाठबाट जिम्मेवारी, समयको महत्त्व र अभिभावकप्रतिको कर्तव्यबोधको शिक्षा पाइन्छ। अन्त्यमा शिवले आफ्नो गल्ती महसुस गरेर सुध्रिने निर्णय गर्छ। म यो पाठ सबैलाई पढ्न सिफारिस गर्दछु, किनभने यसले जीवनमा जिम्मेवार बन्न प्रेरणा दिन्छ।
1 reads
Published on 7/21/2026
Yug Shrestha is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Yug Shrestha
Grade 6
Roll No: 33034
48
More Articles from
Student
