पाठ समीक्षा
पाठ समीक्षा
‘मनसा’ नामक पुस्तकका सम्पादक अनन्त वाग्ले र चित्राङ्कनकर्ता रविन्द्र मानन्धर हुन्। यस पुस्तकका प्रकाशक ज्ञानवृक्ष पब्लिकेसन प्रा.लि. हुन् र बालवाङ्मय तथा अनुसन्धान केन्द्रको सहकार्य रहेको छ। यस पुस्तकको पृष्ठ ४३ मा रहेको ‘शिवको भूल’ पाठ निकै शिक्षाप्रद छ। यस पाठमा शिवले साथीभाइ, खेलकुद र मोबाइल गेममा बढी ध्यान दिँदा आफ्नी आमाप्रति आफ्नो जिम्मेवारी बिर्सिएको देखाइएको छ।
परिवेश
यो कथाका घटनाहरू मुख्य रूपमा शिवको घर, अस्पताल र साथीहरूसँग भेट हुने ठाउँमा घटेका छन्।
कथावस्तु
एक बिहान छिमेकी काकीले शिवको घरको ढोका ढकढकाएर उनकी आमालाई अस्पताल लैजानुपर्ने कुरा बताउनुभयो। शिव निद्रामै भएकाले “पाँच मिनेट मात्रै...” भन्दै फेरि सुते। शिवलाई पढाइभन्दा खेल्न र साथीहरूसँग रमाइलो गर्न बढी मन पर्थ्यो।
उनकी आमाले गाउँघरमा काम गरेर आफ्नो र छोराको खर्च जुटाउनुहुन्थ्यो। त्यस दिन आमा धेरै बिरामी हुनुभयो र छिमेकी काकीले उहाँलाई अस्पताल पुर्याउनुभयो। अस्पतालमा डाक्टरले हृदयसम्बन्धी समस्या भएको बताएर छिटो पैसा ल्याउन भन्नुभयो।
आमाले शिवलाई घरमा खाटमुनिको सन्दुकमा राखेको पैसा ल्याउन पठाउनुभयो। तर घर फर्कँदै गर्दा शिव साथीहरूसँग भेटियो। उनीहरूले नयाँ गेमको कुरा गरेपछि शिव त्यहीँ रमाउन थाल्यो र समय बितेको पत्तै पाएन।
बेलुका भएपछि मात्र शिवलाई आमाको सम्झना आयो। उसले पैसा लिएर अस्पतालतिर दौडियो। अस्पतालमा पुगेपछि आमाको अप्रेसन भइरहेको थाहा पायो। केही समयपछि डाक्टरले अप्रेसन सफल भएको खबर सुनाए। त्यसपछि शिवले आफ्नो गल्ती महसुस गर्यो र अबदेखि जिम्मेवार भई काम गर्ने तथा समयको सदुपयोग गर्ने वाचा गर्यो।
असल पात्र
यस कथाका असल पात्र छिमेकी काकी हुन्। किनभने उनले शिवकी आमालाई बिरामी अवस्थामा अस्पताल पुर्याएर सहयोग गरेकी थिइन्।
खराब पात्र
यस कथामा शिवको व्यवहार राम्रो थिएन। उनले आमाको गम्भीर अवस्थालाई बेवास्ता गरेर साथीहरूसँग खेल्न र रमाउन समय बिताएका थिए।
निष्कर्ष र सुझाव
यस कथाबाट हामीले समयको महत्त्व बुझ्नुपर्छ र आफ्ना अभिभावकप्रति जिम्मेवार बन्नुपर्छ भन्ने शिक्षा पाउँछौँ। शिवले अन्त्यमा आफ्नो गल्ती स्वीकार गरी सुधार गर्ने निर्णय गरेको छ। म यो पुस्तक सबैलाई पढ्न सिफारिस गर्दछु, किनभने यसबाट राम्रो शिक्षा प्राप्त हुन्छ।
0 reads
Published on 6/17/2026
Yug Shrestha is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Yug Shrestha
Grade 6
Roll No: 33034
48
More Articles from
Student
