पुस्तक समीक्षा : ‘कालो पाटी’
पुस्तकको परिचय
‘कालो पाटी’ एउटा चेतनामूलक बाल उपन्यास हो। यस पुस्तकका लेखक कपिलमणि ज्ञवाली हुन्। यस पुस्तकको प्रकाशक एडुकेशनल पब्लिशिङ हाउस हो। यस पुस्तकको पहिलो संस्करण वि.सं. २०६४, दोस्रो संस्करण वि.सं. २०७४, तेस्रो संस्करण वि.सं. २०८० र चौथो संस्करण वि.सं. २०८२ मा प्रकाशित भएको थियो। यस पुस्तकमा ७७ वटा पृष्ठ र ६ वटा अध्याय छन्। यस पुस्तककी मुख्य पात्र सुनैना नामकी एउटी बालिका हुन्। यो पुस्तक समाजमा हुने सामाजिक समस्याका बारेमा लेखिएको छ। विशेष गरी यस पुस्तकमा लैङ्गिक विभेद अर्थात् छोराछोरीबीच गरिने भेदभावको विषयलाई प्रस्तुत गरिएको छ।
कथावस्तु
कथाकी मुख्य पात्र सुनैना एकदमै चलाख र पढाइमा चासो राख्ने बालिका हुन्। तर उनको परिवार र समाजमा छोरीलाई विद्यालय पठाउनु हुँदैन र उनीहरू केवल घरको काम गर्नका लागि मात्र हुन् भन्ने पुरानो सोचाइ हुन्छ। यही कारणले सुनैनाको भाइ राम्रा कपडा लगाएर कापी–किताब बोकी दिनहुँ विद्यालय जान्छन्, तर सुनैनालाई भने सानै उमेरदेखि घाँस–दाउरा गर्ने, गाईवस्तु हेर्ने, खाना पकाउने र भाइको हेरचाह गर्ने काममा लगाइन्छ।
आफ्नो भाइ विद्यालय गएको र पढेको देख्दा सुनैनाको मन साह्रै दुख्छ। उनी आफू छोरी भएकै कारण किन यस्तो अन्याय भोग्नुपरेको होला भनेर मनमनै सोचिरहन्छिन्। उनले आफ्ना आमा–बुबासँग आफूलाई पनि विद्यालय पठाइदिन आग्रह गर्दै धेरै पटक रुँदै बिन्ती गर्छिन्, तर सुरुमा कसैले उनको कुरा सुन्दैन।
बिस्तारै सुनैनाको पढाइप्रतिको रुचि देखेर उनका आमा–बुबाले छोरीलाई पनि पढाउनुपर्छ भन्ने कुरा बुझ्छन्। एक दिन सुनैनाका बुबा सहर जानुअघि सुनैनाले बुबासामु रुँदै आफू विद्यालय जान चाहेको कुरा बताउँछिन्। त्यसपछि उनका बुबाले सुनैनालाई विद्यालयमा भर्ना गरिदिन्छन् र सहरबाट उनका लागि कालोपाटी किनेर ल्याइदिन्छन्। सुनैनाको सङ्घर्ष सफल हुन्छ र उनले विद्यालय जाने अधिकार पाउँछिन्। विद्यालयमा उनले निकै मिहिनेत गरेर पढ्छिन् र परीक्षामा उत्कृष्ट नतिजा ल्याएर गाउँकै नाम रोशन गर्छिन्। पछि उनी ठुली भएपछि डाक्टर बन्छिन् र उत्कृष्ट डाक्टरको पुरस्कारसमेत पाउँछिन्।
पात्रहरू
यस बाल उपन्यासकी मुख्य पात्र सुनैना हुन्। सुनैनाका भाइ संयोग, बुबा शशिधर, आमा सबिता, साथी सुमना र विद्यालयका शिक्षकहरू पनि यस उपन्यासका महत्त्वपूर्ण पात्रहरू हुन्।
यस उपन्यासका असल पात्रहरूमा सुनैना, संयोग, शशिधर, सबिता र विद्यालयका शिक्षकहरू आदि पर्छन्। सुनैनाका आमा–बुबालाई सुरुमा छोरीप्रति विभेद गर्ने भएकाले नकारात्मक पात्रका रूपमा पनि लिन सकिन्छ। तर पछि उनीहरूले आफ्नो सोच परिवर्तन गरी सुनैनालाई विद्यालय पठाउने निर्णय गरेकाले उनीहरू सकारात्मक पात्रका रूपमा पनि देखिन्छन्।
परिवेश
कालगत परिवेश
यस कथाको कालगत परिवेश आधुनिक युगसँग सम्बन्धित देखिन्छ। तर यसमा लैङ्गिक विभेद तथा अन्य कुरीतिबारे पर्याप्त जनचेतना नभएको समयको अवस्था पनि देखाइएको छ।
स्थानगत परिवेश
यस कथाको स्थानगत परिवेश नेपालको ग्रामीण तथा अविकसित क्षेत्रजस्तो देखिन्छ।
अवस्थागत परिवेश
यस पुस्तकमा समाजमा जनचेतनाको कमी भएको अवस्था देखाइएको छ। विशेष गरी छोरी र छोराबीच गरिने विभेद तथा छोरीलाई शिक्षाबाट वञ्चित गर्ने सामाजिक सोचलाई प्रस्तुत गरिएको छ।
निष्कर्ष
‘कालो पाटी’ बाल उपन्यासले नेपाली समाजमा रहेको लैङ्गिक विभेद हटाउनुपर्ने सन्देश दिएको छ। सुनैना छोरी भएकै कारण विद्यालय जानबाट वञ्चित हुन्छिन् र उनलाई घरधन्दा तथा भाइको हेरचाह गर्ने जिम्मेवारी दिन खोजिन्छ। तर उनको पढ्ने ठुलो इच्छाले अन्ततः आमा–बुबाको रूढिवादी सोच परिवर्तन गर्न सफल हुन्छ।
यस उपन्यासले छोरीहरूलाई पनि छोरासरह समान अवसर दिएमा उनीहरूले आफ्नो भविष्य आफैँ राम्रो बनाउन सक्छन् भन्ने सन्देश दिन्छ। यसले समाजबाट लैङ्गिक विभेद हटाउनुपर्ने सकारात्मक सन्देश दिँदै मानिसहरूमा चेतना जगाउने काम गरेको छ।
सिफारिस
मेरो विचारमा यो पुस्तक बालबालिकाहरूले अवश्य पढ्नुपर्छ। यस पुस्तकले समाजमा चेतना जगाउन सहयोग गर्छ। विशेष गरी जनचेतनाको कमी भएका ग्रामीण क्षेत्रका मानिसहरूले पनि यो पुस्तक पढ्नुपर्छ।
अहिलेका बालबालिका र भविष्यमा आउने पुस्तालाई सानै उमेरमा यो पुस्तक पढ्न दिएमा उनीहरूले समाजमा रहेका समस्या र कुरीतिबारे जानकारी पाउन सक्छन्। साथै, ठुलो भएपछि यस्ता विभेदपूर्ण कार्य गर्नु हुँदैन भन्ने ज्ञान पनि प्राप्त गर्छन्। त्यसैले म सबै बालबालिकालाई यो पुस्तक पढ्न सिफारिस गर्दछु।
0 reads
Published on 10/8/2026
Sarun Maharjan is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Sarun Maharjan
Grade 6
Roll No: 33029
27
More Articles from
Student
