विसङ्गत समाजको व्यङ्ग्यचित्र : ‘रुद्रघण्टी’
विषय परिचयः
नेपाली हास्यव्यङ्ग्य साहित्यमा आफ्नो छुट्टै पहिचान बनाउन सफल गायत्री लम्सालद्वारा लेखिएको ‘रुद्रघण्टी’ एक महत्त्वपूर्ण हास्यव्यङ्ग्य निबन्धसङ्ग्रह हो। मञ्जरी पब्लिकेसन प्रा. लि., पुतलीसडक, काठमाडौँबाट प्रकाशित यस पुस्तकको प्रथम संस्करण वि.सं. २०८१ मा प्रकाशित भएको थियो । १४० पृष्ठको यस कृतिमा जम्मा ३२ अाेटा विभिन्न विषयवस्तुमा आधारित व्यङ्ग्य निबन्धहरू समावेश गरिएका छन् । ‘रुद्रघण्टी’ शीर्षकले समाजमा रहेका विकृति र विसङ्गति प्रवृत्तिप्रति सचेत गराउने भावलाई सङ्केत गरेको देखिन्छ। यस सङ्ग्रहका निबन्धहरूमा सामाजिक विकृति, असमानता, स्वतन्त्रता, अधिकार तथा मानिसका विभिन्न व्यवहारलाई हास्य र व्यङ्ग्यका माध्यमबाट प्रस्तुत गरिएको छ। यस कृतिमा हास्यका माध्यमबाट पाठकलाई मनोरञ्जन प्रदान गर्नुका साथै सामाजिक चेतना जगाउने प्रयास गरिएको छ।
विषयवस्तुः
यस पुस्तकमा समावेश ३२ निबन्धहरूमध्ये मलाई मन पर्ने निबन्धहरू यस प्रकार रहेका छन्ः
‘चालिस कटेपछि’ गायत्री लम्सालद्वारा लिखित ‘रुद्रघण्टी’ निबन्ध सङ्ग्रहमा समावेश गरिएको एक रोचक हास्यव्यङ्ग्य निबन्ध हो। यस निबन्धमा लेखकले चालिस वर्ष उमेर पार गरेपछि मानिसमा देखिने शारीरिक, सामाजिक तथा आर्थिक परिवर्तनलाई हास्यव्यङ्ग्यात्मक ढङ्गले प्रस्तुत गरेकी छन् । ‘मौका आउनुपर्छ तालुमा आलु फल्छ भन्थे, साँच्चै हो रहेछ।’ र ‘बढ्न थालेपछि भोकै बसे पनि बढ्दो रहेछ यो मासु भन्ने कुरो।’ जस्ता भनाइमार्फत लेखकले उमेर बढेसँगै मानिसमा बढ्ने रोग, मोटोपन, मानसम्मान तथा स्वार्थी प्रवृत्तिलाई व्यङ्ग्य गरेकी छन्। यस निबन्धमा उच्च रक्तचाप, सुगर, मोटोपन, चाकरी चाप्लुसी, नेताखेती, वैदेशिक रोजगारी तथा आधुनिक खानपानजस्ता विषयलाई हास्यको माध्यमबाट प्रस्तुत गरिएको छ। विशेष गरी मानिसको उमेर बढेसँगै स्वास्थ्यका समस्या मात्र नभई सामाजिक प्रतिष्ठा, स्वार्थ र अवसर खोज्ने प्रवृत्ति पनि बढ्दै जाने कुरालाई व्यङ्ग्यात्मक रूपमा देखाइएको छ।
‘कति हेर्नु जात्रा ?’ गायत्री लम्सालद्वारा लिखित ‘रुद्रघण्टी’ निबन्ध सङ्ग्रहमा समावेश गरिएको एक रोचक हास्यव्यङ्ग्य निबन्ध हो। यस निबन्धमा लेखकले नेपाली समाज तथा देशमा देखिने विभिन्न प्रकारका विकृति, विसङ्गति र अव्यवस्थालाई ‘जात्रा’को प्रतीकमार्फत हास्यव्यङ्ग्यात्मक ढङ्गले प्रस्तुत गरेकी छन्। ‘जता गए पनि, जहाँ गए पनि जहिले गए पनि, जसरी गए पनि उच्च कोटिका जात्रा भेटिन्छन्।’ र ‘काम गर्नुभन्दा जात्रा हेर्न सजिलो छ, जात्राको नायक बन्न सजिलो छ, जात्राको दर्शक बन्न सजिलो छ।’ जस्ता भनाइमार्फत लेखकले समाजमा बढ्दै गएको गैरजिम्मेवारी, विकृति र तमासे प्रवृत्तिमाथि व्यङ्ग्य गरेकी छन्। विशेष गरी ठुला पदमा रहेका व्यक्तिहरूले आफैँ बनाएका नियम तथा सिद्धान्तलाई आफैँ उल्लङ्घन गर्ने प्रवृत्तिलाई लेखकले हास्यपूर्ण तर चोटिलो शैलीमा देखाएकी छन्। अन्त्यमा लेखकले जात्रा हेरेर मात्र बस्नुभन्दा परिश्रम, रोजगारी, उद्योग, पर्यटन, संस्कृति र असल व्यवहारको विकास गर्नुपर्ने सन्देश दिएकी छन्।
‘आधुनिक भूत कर’ निबन्धमा लेखकले कर तिर्न नचाहने धनी तथा पहुँचवाला वर्गको प्रवृत्ति र करसम्बन्धी विकृत सोचलाई हास्यव्यङ्ग्यात्मक ढङ्गले प्रस्तुत गरेकी छन्। ‘अरू सबै भूतहरू मोटाउँदै जाँदा यसको पनि त मोटाउने पालो आउँछ भन्ने हामीलाई थाहा नभएको हो र ?’ र ‘कर कसरी छल्न सकिन्छ भन्ने कुरामा, कर कसरी चुहावट गर्न सकिन्छ भन्ने कुरामा पुस्तौँपुस्ता अगाडिदेखि सनातन विद्यावारिधी नै गरेर बसेका छौँ।’ जस्ता भनाइमार्फत लेखकले कर छल्ने तथा कर चुहावट गर्ने प्रवृत्तिमाथि तिखो व्यङ्ग्य गरेकी छन्।
यस निबन्धमा कर छली, कर चुहावट, धनी वर्गको स्वार्थ, राजनीतिक चन्दा, सरकारप्रतिको दबाब तथा सर्वसाधारणमाथि पर्ने करको भारजस्ता विषयलाई हास्यको माध्यमबाट प्रस्तुत गरिएको छ । ‘कर’लाई ‘आधुनिक भूत’का रूपमा प्रस्तुत गर्दै लेखकले करबाट डराउनेभन्दा कर छल्ने मानसिकता र सामाजिक असमानतामाथि प्रश्न उठाएकी छन्। यसरी ‘आधुनिक भूत कर’ निबन्धले हास्य र व्यङ्ग्यका माध्यमबाट करसम्बन्धी विकृति तथा स्वार्थी प्रवृत्तिलाई उजागर गर्दै जिम्मेवार र समान व्यवहारमा आधारित सामाजिक सोचको आवश्यकता देखाएको छ।
‘थाङ्ने कर्मचारी’ निबन्धमा लेखकले कर्मचारी वर्गलाई हेर्ने राजनीतिक नेतृत्वको दृष्टिकोण, कर्मचारीमाथि हुने हेपाइ तथा नेताहरूको स्वार्थी र गैरजिम्मेवार प्रवृत्तिलाई हास्यव्यङ्ग्यात्मक ढङ्गले प्रस्तुत गरेकी छन्। ‘नेताहरूले नजानेको राष्ट्रप्रेम, नागरिकभक्ति नाथे कर्मचारीहरूलाई कसले देखाउन भन्यो ?’ र ‘नेता भनेका कर्मचारीहरूका भगवान् हुन्’ जस्ता भनाइमार्फत लेखकले नेताहरूको अहङ्कार, शक्तिको दुरुपयोग र कर्मचारीप्रतिको अपमानजनक व्यवहारमाथि व्यङ्ग्य गरेकी छन् । यस निबन्धमा कर्मचारीको दुःख, कम तलब, नीतिनियमको पालना, सार्वजनिक सेवा, राजनीतिक हस्तक्षेप, भ्रष्टाचार तथा नेताहरूको सेवासुविधाप्रतिको लोभजस्ता विषयलाई हास्यको माध्यमबाट प्रस्तुत गरिएको छ। ‘थाङ्ने’ जस्तो अपमानजनक शब्दलाई पटक पटक प्रयोग गरेर लेखकले वास्तवमा कर्मचारीलाई होइन, कर्मचारीलाई हेप्ने मानसिकतालाई प्रहार गरेकी छन्।
‘कुर्चीखेलको रमिता’ गायत्री लम्सालद्वारा लिखित ‘रुद्रघण्टी’ निबन्ध सङ्ग्रहमा समावेश गरिएको एक प्रभावकारी हास्यव्यङ्ग्य निबन्ध हो। यस निबन्धमा लेखकले राजनीतिक क्षेत्रमा हुने सत्ताको खेल, पदको मोह र व्यक्तिगत स्वार्थलाई ‘कुर्चीखेल’का रूपमा प्रस्तुत गरेकी छन्। “खेलहरूमा सबैभन्दा उत्तम खेल हो कुर्चीखेल ।’ तथा ‘देश मरेर केही हुँदैन, नागरिक मरेर केही हुँदैन, मर्न नहुने भनेको नै आफू र आफ्नाको कुर्ची हो’ जस्ता भनाइले नेताहरूमा देखिने सत्तामोह र जनताको समस्याप्रतिको बेवास्तालाई स्पष्ट रूपमा व्यङ्ग्य गरेकी छन् । निबन्धमा सत्ता प्राप्तिका लागि हुने गुटबन्दी, पदको लोभ, कानुन तथा संविधानलाई आफ्नो अनुकूल प्रयोग गर्ने प्रवृत्ति र जनहितलाई भन्दा व्यक्तिगत स्वार्थलाई प्राथमिकता दिने व्यवहारलाई रोचक ढङ्गले प्रस्तुत गरिएको छ। ‘कुर्चीखेल’लाई एउटा रमाइलो खेलजस्तै देखाएर उनले राजनीतिक अस्थिरता र अवसरवादी प्रवृत्तिमाथि चोटिलो प्रहार गरेकी छन्। यसरी निबन्धले हास्यका माध्यमबाट राजनीतिक विकृति उजागर गर्दै सत्ताभन्दा जनहितलाई प्राथमिकता दिनुपर्ने सन्देश दिएको छ।
निष्कर्षः
समग्रमा हेर्दा, गायत्री लम्सालको ‘रुद्रघण्टी’ नेपाली हास्यव्यङ्ग्य निबन्ध साहित्यमा सामाजिक विकृति र विसङ्गतिलाई नजिकबाट नियाल्ने महत्त्वपूर्ण कृति हो। यस सङ्ग्रहका ३२ अाेटै निबन्धमा लेखिकाले आफ्नै वरिपरि देखे भोगेका राजनीतिक, सामाजिक, प्रशासनिक, आर्थिक तथा मानवीय प्रवृत्तिलाई हास्य र व्यङ्ग्यको माध्यमबाट प्रस्तुत गरेकी छन् । विशेष गरी सत्तामोह, राजनीतिक स्वार्थ, भ्रष्टाचार, कर छल्ने प्रवृत्ति, कर्मचारीप्रतिको हेपाहा दृष्टिकोण, शिक्षाको व्यापारीकरण, सामाजिक बेथिति तथा नारीप्रतिको विभेदजस्ता विषयमा उनको व्यङ्ग्य केन्द्रित देखिन्छ। त्यसैले ‘रुद्रघण्टी’लाई मनोरञ्जनका लागि मात्र पढिने पुस्तक नभई आफ्नै समाज, राजनीति र मानवीय व्यवहारलाई पुनः विचार गर्न प्रेरित गर्ने हास्यव्यङ्ग्य निबन्ध सङ्ग्रहका रूपमा लिन सकिन्छ।
1 reads
Published on 10/6/2026
Sambridhi Gelal is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Sambridhi Gelal
Grade 10
Roll No: 29063
26
More Articles from
Student