पुस्तकानुभूति :अविश्रान्त लघु कथा पढेपछि
पुस्तकानुभूति :अविश्रान्त लघु कथा पढेपछि
परिचय :
"अविश्रान्त" डा. कुसुमाकुर शर्मा गौतमद्वारा लिखित एक लघुकथासङग्रह हो । यस लघुकथासङग्रहले सामान्य देखिने दैनन्दिन घटनाभित्र लुकेका असामान्य सत्यहरू जब शब्दमा रूपान्तरण हुन्छन्, तब साहित्य केवल मनोरञ्जन नभई चेतनाको माध्यम हो भन्ने कुरा बुझाउँछ । लघुकथासङ्ग्रह “अभविश्रान्त” यस्तै चेतनाको दस्तावेज हो, जहाँ लेखकले लघु कथामार्फत समाजका ठुला प्रश्नहरू उठाएका छन् । क्रोध, गौरव, मौलिकता, मृत्यु, वासना, देशप्रेम, आशा र शून्यताजस्ता विषयहरूलाई लेखकले सूक्ष्म प्रतीक, व्यङ्ग्य र भावनात्मक गहिराइका साथ प्रस्तुत गरेका छन् । यस कृतिले पाठकलाई कथा पढ्ने मात्र होइन, आफूभित्रको समाज, संस्कार र सोचलाई हेर्न बाध्य बनाउँछ ।
कथावस्तु :
लघुकथाकार डा. कुसुमाकर शर्मा गौतमद्वारा लेखिएको अविश्रान्त कथासङ्ग्रहमा रहेका ६० अाेटा कथामध्ये, मलाई मन परेका कथाका कथावस्तुहरू यसप्रकार रहेका छन्:
१. लगाम:
लगाम कथाले मानिसभित्र लुकेका दुर्गुणहरूलाई घोडासँग तुलना गर्दै मनको नियन्त्रणको महत्त्व देखाउँछ । नातिले देखेको झगडा बाहिरी कारणले होइन, मानिसको मनभित्र बढेको क्रोधको परिणाम हो भन्ने हजुरबुबाको भनाइले कथाको मूल भाव स्पष्ट पार्छ । काम, क्रोध, लोभ, मोहजस्ता दुर्गुणहरू सन्तुलनमा रहँदा मानिस सभ्य हुन्छ तर तीमध्ये कुनै एक हावी हुँदा मानव हिंस्रक बन्छ । यस कथाले झगडाको दोष परिस्थितिलाई होइन, मानिसको असंयमित मनलाई दिन्छ। बुद्धिको लगाम नहुँदा समाज अशान्त बन्छ भन्ने सन्देश यस कथाको आत्मा हो।
२. गौरव:
गौरव कथाले विदेशिएको नेपाली परिवारको भावनालाई मार्मिक रूपमा प्रस्तुत गर्छ। विद्यालयमा अन्तर्राष्ट्रिय दिवस मनाइँदा नेपालकै झण्डा उत्कृष्ट बनेको दृश्यले देशप्रेम केवल भूगोलमा सीमित नहुने प्रमाण दिन्छ । विदेशी भूमिमा बसेर पनि नेपालको पहिचान र झण्डाप्रति गर्व महसुस गर्नु साँचो देशप्रेम हो । यो कथाले शिक्षा प्रणालीले नै देशप्रेम जगाउन सक्छ भन्ने आशा देखाउँछ । यदि यस्तै शिक्षा नेपालमै भए युवाहरू देश छोड्न बाध्य नहुने भाव कथामा सशक्त रूपमा प्रकट भएको छ ।
३. जरन:
जरन कथाले परम्परा र आधुनिकताबिचको द्वन्द्व उजागर गर्छ । जरन धानले त्रिभुवनचन्द्रलाई नाम र पहिचान दिएको छ तर व्यवहारमा त्यही मौलिकता उपेक्षित भएको देखिन्छ । शहरको व्यस्तता र कार्यक्रमप्रतिको आकर्षणले गाउँको वास्तविक कर्मलाई ओझेलमा पारेको छ । बिउ नै मासिँदा खेती सम्भव हुँदैन जस्तै, मौलिकता नष्ट हुँदा पहिचान पनि सङ्कटमा पर्छ । यस कथाले विकासको नाममा जरा काट्ने प्रवृत्तिमाथि गम्भीर प्रश्न उठाउँछ।
४. अभिद्राेह:
अभिद्राेह कथामा दुई मृत शरीरहरू आार्यघाटमा स्वयं बोल्छन्, जसले समाजप्रतिको कटु व्यङ्ग्य प्रस्तुत गर्छ । जीवनभर अपवित्र बनाइएको बाग्मतीको पानीलाई अन्त्यमा गङ्गाजल सरह प्रयोग गर्ने विडम्बना देखाइएको छ । धार्मिक कर्मकाण्ड र वास्तविक व्यवहारबिचको विरोधाभास यस कथाको केन्द्र हो । मानिसले जिउँदो हुँदा प्रकृति प्रदूषित गर्छ, मरेपछि शुद्धताको आशा राख्छ । यो कथाले धर्मभन्दा व्यवहार शुद्ध हुनुपर्छ भन्ने गहिरो सन्देश दिन्छ।
५. समाज
समाज कथाले स्त्रीप्रतिको दोहोरो दृष्टिकोणलाई तिखो रूपमा उजागर गर्छ । यौनकर्मलाई कानुनी रूपमा स्वीकार गर्ने समाजले नै महिलालाई ‘वेश्या’ भनी हेप्नु ठुलो विडम्बना हो । आत्मनिर्णयको अधिकार प्रयोग गर्दा महिलामाथि नै दोष थोपारिन्छ र पुरुष मौन रहन्छ । सभ्य कहलिने समाजभित्र लुकेको अमानवीय सोच यस कथाको केन्द्र हो । यस कथाले समानताभन्दा निर्णय र दण्ड सधैँ महिलाकै भागमा पर्ने यथार्थलाई प्रस्तुत गर्दछ ।
६. देशप्रेम:
देशप्रेम कथामा सानी बालिकाको साहसी आवाजले गहिरो प्रभाव पार्छ । पाठ्यपुस्तकमा लेखिएको गलत तथ्यको विरोध गर्नु इलाको साँचो देशप्रेम हो । उमेर सानो भए पनि सत्यको पक्ष लिनु नै जिम्मेवार नागरिकको चिन्ह हो । विदेशी शिक्षकसमेत इलाको आत्मविश्वासबाट प्रभावित हुन्छन् । यो कथाले देशप्रेम नारा होइन, चेतना र सत्यप्रतिको निष्ठा हो भन्ने सन्देश दिन्छ।
७. आशा:
आशा कथाले वृद्ध अनिरुद्धको संवेदनशील भावनात्मक संसार चित्रण गर्छ । संसार स्वार्थी भए पनि आमाबाबुको माया नि:स्वार्थ हुन्छ भन्ने सत्य यहाँ उजागर हुन्छ । आफ्नै बुढेसकालभन्दा आमाबाबुको आयु बढोस् भन्ने चाहना अनिरुद्धको महानता हो । आशा केवल युवासँग सीमित हुँदैन, वृद्धको जीवनमा पनि उस्तै बलियो रहन्छ । यस कथाले प्रेम र कर्तव्यबीचको सुन्दर सम्बन्ध प्रस्तुत गर्छ।
८. शून्यता र वासना:
शून्यता कथाले जीवनको अन्त्यमा बाँकी रहने रिक्ततालाई गहिरो रूपमा चित्रण गर्छ। सबै सङ्घर्ष र उपलब्धिपछि पनि मानिस अन्ततः शून्यतामा विलीन हुने यथार्थ देखाइन्छ । वासना कथामा सत्ताको केन्द्रबाट आउने दुर्गन्धले समाजको नैतिक पतन उजागर गर्छ। सत्ता, पैसा र लोभको गन्धले मानिसको विवेक अन्धो बनाएको छ । यी कथाहरूले जीवन र सत्ताको वास्तविक अनुहार देखाउँदै गम्भीर प्रश्न उठाउँछन्।
निष्कर्ष :
साना कथाभित्र यथार्थ सत्यहरू लुकाउन सक्नु नै लघुकथाको प्रमुख शक्ति हो । अविश्रान्त कृतिले मानव मनका द्वन्द्व, समाजका विसङ्गति र मूल्यहरूको क्षयलाई सूक्ष्म रूपमा चित्रण गर्छ । सामान्य घटनामार्फत गहिरा सामाजिक यथार्थ प्रस्तुत गर्दै यसले पाठकलाई आत्मचिन्तनमा पुर्याउँछ । कथामा देखाइएका पात्र र परिस्थितिहरू हाम्रो आफ्नै समाजको प्रतिविम्ब जस्ता देखिन्छन् । यस कृतिले समयमै विवेक र नैतिकताको लगाम समाइएन भने समाज दिशाहीन हुने स्पष्ट चेतावनी दिन्छ । अन्ततः अविश्रान्त केवल मनोरञ्जन दिने कथासङ्ग्रह नभई सोच्न बाध्य बनाउने चेतनाको पाठशाला हो ।
2 reads
Published on 2/19/2026
Sambridhi Gelal is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Sambridhi Gelal
Grade 9
Roll No: 29063
22
More Articles from
Student