underline

माध्यमिक नेपाली निबन्धमाला : भाषा, शैली र अभिव्यक्तिको सँगालो

Underline

Share:

माध्यमिक नेपाली निबन्धमाला : भाषा, शैली र अभिव्यक्तिको सँगालो

परिचय

"विद्यालय तहमा निबन्ध मात्र परीक्षा पास गर्ने माध्यम मात्र होइन; यो विचार, अनुभूति र अभिव्यक्तिलाई शब्दमा रूपान्तरण गर्ने कला पनि हो । "यस भनाइ ऋषिराम शर्माको निबन्धप्रतिको दृष्टिकोणसँग मेल खान जान्छ । यही अभिव्यक्तिकला र सिर्जनात्मक क्षमताको विकास गर्ने उद्देश्यका साथ तयार पारिएको पुस्तक हो, "माध्यमिक नेपाली निबन्धमाला । "जुन लेखक डा.ऋषिराम शर्माद्वारा रचित हो भने यस पुस्तकको सम्पादन डा. महादेव अवस्थीले गरेका छन् । एकता बुक्सद्वारा वि. स २०७८ मा पुनर्मुद्रण भई प्रकाशित यस पुस्तकमा जम्मा ४७ वटा निबन्धहरू सङ्कलित छन् । आत्मपरक, भावपरक तथा वस्तुपरक शैलीका निबन्धहरूलाई समेटिएको यस सङ्ग्रहले माध्यमिक तहका विद्यार्थीहरूलाई निबन्ध लेखनको आधारभूत ज्ञानददेखि कलात्मक अभिव्यक्तिसम्मको अभ्यास गराउँछ।

हाम्रो विद्यालयले वैशाख ३१, २०८३ गते आयोजना गरिएको निबन्ध लेखन प्रतियोगितामा कक्षा ९ र १० का विद्यार्थीहरूलाई “संस्कृति”, “प्रकृति”, “शान्ति ” जस्ता वस्तुपरक तथा “भविष्य” आत्मपरक विषय दिइएको थियो । ती विषयहरू हेर्दा माध्यमिक नेपाली निबन्धमालाका निबन्धहरूको प्रत्यक्ष प्रभाव अनुभव गर्न सकिन्थ्यो । पुस्तकमा भएका “हाम्रो संस्कृति हाम्रो पहिचान”, “हाम्रा प्राकृतिक सम्पदाहरू”, “मेरो देश” तथा “जुनेली रात” जस्ता निबन्धहरूले यस्ता विषयलाई कसरी विस्तार गर्ने भन्ने राम्रो आधार दिएका थिए। प्रतियोगिताका क्रममा मैले महसुस गरेको कुरा के थियो भने प्रभावकारी निबन्ध केवल जानकारीले मात्र बन्दैन; त्यसमा भाषा, शैली, संरचना र भावनात्मक प्रस्तुतीकरणको पनि ठूलो भूमिका हुन्छ । यस पुस्तकले त्यही पक्ष सिकाउँछ । यद्यपि पुस्तकका कतिपय शब्दहरू कठिन लागे पनि तिनले विद्यार्थीलाई नयाँ शब्द सिक्न, गहिरो सोच विकास गर्न तथा साहित्यिक लेखनशैली बुझ्न प्रेरित गर्छन्।

भाषिक सौन्दर्य र अलङ्कारिक शैली

यस पुस्तकको सबैभन्दा प्रभावशाली पक्ष भनेको यसको भाषा र शब्दचयन हो । लेखकले साधारण बोलचालको भाषाभन्दा साहित्यिक, कलात्मक र अलङ्कारयुक्त भाषा प्रयोग गरेका छन्। उदाहरणका रूपमा “मेरो देश” निबन्धमा नेपाललाई “हिमालको सेतो फेटा, पहाडको हरियो भोटो र शस्यश्यामला तराईको पहेँलो कछाड” लगाएको देशका रूपमा चित्रण गरिएको छ । यस्तो वर्णनले पाठकको मनमा दृश्य सिर्जना गर्छ । लेखकले उपमा, रूपक, मानवीकरण तथा अनुप्रासजस्ता अलङ्कारहरूको अत्यन्त प्रभावकारी प्रयोग गरेका छन् ।त्यसै गरी “जुनेली रात” निबन्धमा चन्द्रमाको किरणलाई प्रकृतिको गाला मुसारिरहेको रूपमा चित्रण गर्नु यसको अर्को उत्कृष्ट उदाहरण हो तर यही साहित्यिकता कहिलेकाहीँ विद्यार्थीका लागि चुनौती पनि बनेको देखिन्छ। पुस्तकका धेरै निबन्धहरूमा संस्कृतनिष्ठ शब्दहरूको प्रयोग भएको छ, जसका कारण माध्यमिक तहका विद्यार्थीलाई अर्थ बुझ्न कठिन हुन सक्छ। “सौम्य”, “अवर्णनीय”, “साम्प्रदायिक”, “विसङ्गति”, “अन्तस्करण” जस्ता शब्दहरूले भाषालाई समृद्ध बनाए पनि सामान्य पाठकलाई शब्दकोश खोज्न बाध्य बनाउँछन् । व्यक्तिगत रूपमा पनि मलाई कतिपय निबन्ध बुझ्न समय लाग्यो; तर बिस्तारै पढ्दै जाँदा लेखकको शैली र अभिव्यक्तिको गहिराइ अनुभव गर्न सकिन्थ्यो।

निबन्धहरूको संरचनात्मक विविधता

यस पुस्तकको सबैभन्दा महत्त्वपूर्ण पक्ष यसको संरचनात्मक विविधता हो । निबन्धहरू एउटै शैलीमा सीमित छैनन्; बरु फरक फरक प्रकारका विषय र अभिव्यक्तिमा प्रस्तुत छन्। आत्मपरक निबन्धहरूमा लेखकले “म” शैली प्रयोग गरेर भावना, अनुभव र कल्पनालाई केन्द्रमा राखेका छन् । “मेरो देश”, “मेरो बाल्यकाल”, “मेरो हिमाली सौन्दर्य” जस्ता निबन्धहरूमा लेखकको भावनात्मक दृष्टिकोण स्पष्ट रूपमा देखिन्छ। त्यसै गरी “जुनेली रात”, “सूर्योदय”, “देशभक्ति” जस्ता भावपरक निबन्धहरूमा प्रकृति, सौन्दर्य र संवेदनाको भावपूर्ण प्रस्तुति पाइन्छ । वस्तुपरक निबन्धहरूमा भने “दसैँ”, “विद्यार्थी जीवनमा अनुशासनको महत्त्व”, “विज्ञान: वरदान या अभिशाप” जस्ता विषयलाई तर्क, तथ्य, तथा विवेचनाका आधारमा प्रस्तुत गरिएको छ। यसरी पुस्तकले विद्यार्थीलाई एउटै विषयलाई विभिन्न दृष्टिकोणबाट कसरी लेख्ने भन्ने सीप सिकाउँछ।

निबन्धको संरचना र प्रस्तुतीकरण

यस पुस्तकमा निबन्धको संरचना अत्यन्त व्यवस्थित ढङ्गले प्रस्तुत गरिएको छ। प्रायः प्रत्येक निबन्धमा सुरुमा विषयको परिचय दिइएको छ, त्यसपछि मुख्य विचारलाई विभिन्न अनुच्छेदमार्फत विस्तार गरिएको छ र अन्त्यमा निष्कर्ष वा सन्देश प्रस्तुत गरिएको छ। उदाहरणका लागि “विद्यार्थीजीवनमा अनुशासनको महत्त्व” निबन्धमा लेखकले सुरुमा अनुशासनको परिभाषा दिएका छन्, त्यसपछि विद्यार्थी जीवनमा यसको आवश्यकता, अनुशासनहीनताको कारण र समाधानबारे विश्लेषण गरेका छन् अनि अन्त्यमा अनुशासनको महत्त्वलाई जोड दिएका छन्। यस प्रकारको क्रमबद्ध प्रस्तुतीकरणले विद्यार्थीलाई आफ्ना विचार व्यवस्थित रूपमा लेख्न सिकाउँछ।

त्यस्तै “जुनेली रात” जस्ता भावपरक निबन्धहरूमा लेखकले तथ्यभन्दा अनुभूति र सौन्दर्यलाई बढी प्राथमिकता दिएका छन्। चन्द्रमाको उज्यालोलाई प्रकृतिसँग जोड्दै लेखकले वातावरणलाई जीवित बनाएका छन् । “जूनले प्रकृतिका गाला मुसार्छ” जस्ता अभिव्यक्तिले प्रकृतिलाई मानवीय रूप दिन्छ। यस्ता निबन्धले पाठकको कल्पनाशक्ति विस्तार गर्नुका साथै साहित्यिक संवेदनशीलता पनि बढाउँछन्।

वस्तुपरक निबन्धहरूमा भने लेखक बढी विवेचनात्मक देखिन्छन् । जस्तै :“दसैँ” निबन्धमा चाडको रमाइलोपन मात्र होइन; यसको धार्मिक, सांस्कृतिक, सामाजिक तथा आर्थिक पक्षसमेत समेटिएको छ। लेखकले दसैँको सकारात्मक पक्षसँगै विकृति र आडम्बरप्रति पनि आलोचनात्मक दृष्टिकोण प्रस्तुत गरेका छन्। यसले निबन्धलाई सन्तुलित बनाएको छ। यही विशेषताले पुस्तकलाई विद्यार्थीका लागि लेखिएको पाठ्यसामग्री मात्र नबनाई समाज, संस्कृति र जीवनलाई बुझ्ने माध्यमसमेत बनाएको छ।

निष्कर्ष

समग्रमा, माध्यमिक नेपाली निबन्धमाला माध्यमिक तहका विद्यार्थीका लागि अत्यन्त उपयोगी र प्रभावशाली निबन्ध सङ्ग्रह हो । यस पुस्तकले निबन्ध लेख्ने तरिका मात्र सिकाउँदैन; भाषालाई कलात्मक रूपमा प्रयोग गर्ने कला पनि सिकाउँछ। यद्यपि कतिपय शब्द र शैली विद्यार्थीका लागि कठिन लाग्न सक्छन्, तर यही चुनौतीले भाषिक क्षमता र विचारको गहिराइ बढाउन सहयोग पुर्‍याउँछ । आत्मपरक, भावपरक र वस्तुपरक निबन्धहरूको सन्तुलित संयोजन, साहित्यिक भाषा, व्यवस्थित संरचना तथा गहिरो विचारका कारण यो पुस्तक नेपाली निबन्ध साहित्यको एक महत्त्वपूर्ण कृति बनेको छ । माध्यमिक तहका विद्यार्थीको अभिव्यक्ति कौशल, कल्पनाशक्ति र भाषिक परिपक्वता विकास गर्न यस पुस्तकले उल्लेखनीय योगदान पुर्‍याएको छ।

0 reads

Published on 6/9/2026

Image

Sambridhi Gelal is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Sambridhi Gelal

Grade 10

Roll No: 29063

21

More Articles from

Student

Underline