underline

आधुनिक समाजमा परिवारको भूमिका

Underline

Share:

परिवार भनेको मानिसको जीवनको पहिलो पाठशाला हो र यहीँबाट उसले बोल्न ,सोच्न, बाँच्न, दैनिक काम तथा व्यवहार गर्न सिक्छ । त्यसैले समाजको सबैभन्दा सानो तर बलियो एकाइ नै परिवार हो । परिस्थिति र समयसँग चल्दै जाँदा समाजमा परिवारको स्वरूप र भूमिकामा पनि परिवर्तन भइरहेको देखिन्छ । आजको आधुनिक युगमा परिवारको संरचना सोच र कार्य दुवै नयाँ शैलीमा परिवर्तन हुँदै गरेको देखिन्छ । उदाहरणका लागि विगतको समयमा संयुक्त परिवारको प्रचलन प्रबल थियो जहाँ एउटै घरमा हजुरबुवा हजुरआमा बुबाआमा छाेराछाेरी नातिनातिना सबै मिलेर बस्ने चलन थियो । एउटै घरमा सबैले एकअर्कालाई सहयोग गर्दथे, वृद्धवृद्धाहरूलाई धेरै मान दिने हुनाले उहाँहरूको सल्लाह अनुभव र अनुशासनले परिवारलाई एकताको डाेरीमा बाँधेको थियो, संस्कार र परम्परा पुस्ताबाट पुस्तामा सरेको थियो र साथै एक सदस्यको दुःख सम्पूर्ण परिवारको नै दुःख मानिन्थ्यो ।

आधुनिक समाजको जीवनशैली भने पूर्णरूपमा फरक नभए पनि केही हदसम्म फरक देखिन्छ । यसले समाजकाे जीवनशैलीमा ठुलो परिवर्तन ल्याएको छ । अहिले धेरैजसो ठाउँमा संयुक्त परिवारभन्दा एकल परिवारको प्रवृत्ति बढ्दै गएको देखिन्छ । साथै सहरीकरण, रोजगारीका अवसर, अध्ययनका कारण परिवारका सदस्यहरू पृथक हुन पनि थालेका छन् जसले भविष्यमा परिवारमा बाधा पनि ल्याउन सक्दछ । आजभोलि धेरै जसो नेपाली समाजमा आमाबुबा जागिरमा व्यस्त हुने र बच्चाहरू विद्यालय र प्रविधिमा । परिवारहरू बिचको संवाद सीमित हुँदै गएको छ र साथै पुराना पुस्ता र नयाँ पुस्ताबिच सोच, समय र प्राथमिकतामा ठुलो अन्तर पनि देखिन्छ । यद्यपि परिवारको महत्त्व घटेको छैन । अझै पनि आधुनिक समाजमा परिवारको भूमिका अपरिहार्य नै छ । विगतको समयमा वा आधुनिक समयमा परिवारले बालबालिकालाई शिक्षाको पहिलो पाठ सिकाउँदछ । घरमा सिकाइएको अनुशासन, माया र नैतिकता नै बच्चाको जीवनको आधार बन्दछ । परिवार नै भावनात्मक सुरक्षाको केन्द्र हो‌ र यही नै आर्थिक स्थायित्व, सामाजिक पहिचान र आत्मीयता प्रदान गर्ने पाठशाला हो ।

समयसँगै आधुनिक परिवारले नयाँ जिम्मेवारीहरू पनि पाएको छ । जस्तै: आजका अभिभावकहरूले आफ्नो बालबालिकालाई केवल पढाइमा मात्र नभई, प्रविधिको सदुपयोग र यसका बेफाइदाहरू, सामाजिक व्यवहार र मानसिक सन्तुलनका बारेमा पनि सहयोग गर्नुपर्छ र पर्ने छ । साथै लैङ्गिक समानता, महिला सशक्तीकरण र परिवारभित्र पर्ने निर्णय पनि सदस्यको अधिकारभित्र पर्दछ र यसले नै एक परिवारलाई सन्तुलित बनाएको छ । आजका महिलाहरू केवल घरकाे काममा मात्र नभई रोजगार, शिक्षा र निर्णयमा पनि अग्रसर छन् । जसले परिवारको आर्थिक र सामाजिक हैसियतलाई मजबुत बनाएको छ । साथै आधुनिक परिवारका केही चुनौतीहरू पनि छन् । प्रविधिको अत्यधिक प्रयोगले परिवारबिचको आत्मीयता घटाउनु, मानिसहरू एकै छतमा बस्दा पनि एकअर्कासँग संवाद कम नै गर्नु, समयको अभावले सँगै खाने, बोल्ने र हाँस्ने संस्कार हराउँदै जानु, आर्थिक प्रतिस्पर्धा र व्यस्त जीवनशैलीले परिवारलाई यान्त्रिक बनाउनु र साथै परदेश पलायनले धेरै परिवारहरूलाई टुक्र्याउनु सामाजिक सम्बन्धमा दूरी थप्ने कारणहरू हुन् ।

यी सबै कुरा निराशाजनक भने छैनन् । आधुनिक समाजले परिवारमा धेरै सकारात्मक परिवर्तन पनि ल्याएको छ, जस्तै: महिलाहरूको भूमिकामा सुधार आउनु ,बालबालिकाको शिक्षा र स्वतन्त्र सोचलाई प्रोत्साहन मिल्नु, परिवारका निर्णयहरू केवल अभिभावकका आदेशमा मात्र सीमित नभई सबै सदस्यको सहभागितामा सीमित हुनु, परम्परा र आधुनिकताले सन्तुलन खोज्नु जस्ता कारणहरूले परिवारहरू समाजमा नयाँ उदाहरण बन्दै गएका देखिन्छन् ।

परिवारलाई एकताबद्ध र मजबुत बनाउन, संवाद र समयको भूमिका अत्यन्त महत्त्वपूर्ण हुन्छ । छाेटाे समयमा पनि सँगै बसेर कुराकानी गर्ने, सँगै खाना खाने वा हप्तामा एक दुईपटक पारिवारिक भेटघाटहरू आयोजना गर्ने, सानातिना अभ्यासहरूमा सहभागी जनाउने जस्ता कार्यहरूले पनि सम्बन्धलाई बलियो बनाउँदछ । साथै प्रविधिको प्रयोग आवश्यक भए पनि सीमित प्रयोगले मात्र आत्मीयता जोगाउन मद्दत गर्दछ ।

अन्तत, परिवार नै समाजको मेरुदण्ड हो । एक असल परिवारले मात्र असल समाजको निर्माण गर्न सक्छ । बलियो परिवारले नै बलियो समाज र राष्ट्र निर्माण गर्दछ । त्यसैले आधुनिकता, प्रविधि र व्यस्त जीवनशैलीको भिडमा पनि हामीले परिवारका मूल्य र संस्कारलाई जोगाउनै पर्छ । नयाँ सोच, स्वतन्त्रता र समानतासँगै माया, सम्मान र एकताको भावना जोगाउन सके मात्र हाम्रो समाज साँचो अर्थमा आधुनिक बन्ने छ ।

2 reads

Published on 12/24/2025

Image

Sambridhi Gelal is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Sambridhi Gelal

Grade 9

Roll No: 29063

22

More Articles from

Student

Underline