साहसपूर्वक गरिएकाे कर्मकाे फल
साहसपूर्वक गरिएकाे कर्मकाे फल
सोलुखुम्बुका उच्च हिमालहरूमा नवीन् शेर्पा नामको एक केटो बस्थ्यो। उसको गाउँ वरिपरि हिउँले ढाकिएका अग्ला पहाडहरू र साँघुरा गोरेटो बाटाहरू थिए। हावा चिसो भए पनि त्यहाँका मानिसहरू दयालु र मिलनसार थिए। नवीन् कक्षा १० मा पढ्थ्यो र उसलाई हिमाल अत्यन्तै मन पर्थ्यो। बच्चैदेखि हिमालको फेदीमा हुर्केको र बुबासँग हिँड्ने भएकाले उसलाई धेरै कुरा थाहा थियो।
नवीनका बुबा एक शेर्पा गाइड थिए। उनी पर्यटक र पर्वतारोहीहरूलाई सुरक्षित रूपमा हिमाल पार गराउँथे। सानै उमेरदेखि नवीन् बुबासँग साना पदमार्गहरूमा हिँड्थ्यो। बुबाले उसलाई मौसम बुझ्न, हिमालको सम्मान गर्न र अरूलाई सहयोग गर्न सिकाएका थिए । ती शिक्षा नवीनकाे मनमा गहिरो रूपमा बसेका थिए। उसलाई पढाइभन्दा बढी रुचि हिमालका कुरा सुन्न र बुबासँग हिँड्नमा लाग्थ्यो।
एक वर्ष हिमाली क्षेत्रमा ठुलो भूकम्प आयो। त्यस दिनपछि धेरै कुरा परिवर्तन भए। त्यही समयमा नवीनका बुबा हिउँ परेको क्षेत्रमा एउटा समूहलाई मार्गदर्शन गरिरहेका थिए। अचानक हिमपहिरो आयो र नवीनका बुबा कहिल्यै फर्केर आएनन्। हिमालहरू मौन बने। उनको मृत शरीर कहिल्यै भेटिएन। त्यो भूकम्पपछि हिमाल चढ्नेहरूको सङ्ख्या निकै घट्यो। धेरै मानिसहरूले आफ्नो ज्यान गुमाए। नवीनकाे घरमा चिन्ता र आशा दुवै थियो, बुबा फर्कनुहुन्छ कि भनेर। तर धेरै समय पर्खेर बसेपछि आशा निराशामा परिणत भयो।
त्यसपछि नवीन् र उसकी आमाको जीवन निकै कठिन भयो। नवीन दुःखी र अलमलमा पर्यो, तर उसले हार मानेन। गाउँका मानिसहरूले उसलाई आशाको नजरले हेर्थे। उनीहरू चाहन्थे कि नवीनलेआफ्ना बुबाको काम अघि बढाओस्। ऊ सानै भए पनि ठुलो जिम्मेवारी महसुस गर्थ्यो। जीवनले उसलाई बुबाको विरासत अघि बढाउन बाध्य बनायो।
नवीनले गम्भीर रूपमा तालिम लिन थाल्यो। अनुभवी गाइडहरूले उसलाई डोरी प्रयोग गर्न, नक्सा पढ्न र कठिन अवस्थामा सुरक्षित रहन सिकाए। विद्यालय उसका लागि महत्त्वपूर्ण थियो तर हिमाल पनि उसको अर्को कक्षा थियो। उसले अनुभवबाट धेरै कुरा सिक्दै गयो।
नवीन्लाई नयाँ बाटाहरू अन्वेषण गर्न मन पर्थ्यो। ऊ भित्र-भित्रका गोरेटोहरू, चिसा खोलाहरू र शान्त वनहरू हुँदै हिँड्थ्यो। एक्लै हिमालमा हिँड्दा उसलाई आफ्ना बुबाको नजिक भएको महसुस हुन्थ्यो। बिस्तारै डर साहसमा बदलिन थाल्यो।
एक वसन्त ऋतुमा केही पर्यटकहरू सोलुखुम्बु आए। मुख्य गाइड भर्खरै काम सकेर आएका थिए, तर उनको खुट्टामा घाउ परेको थियो र उनी बिरामी परे। गाउँलेहरूले नवीनकाे नाम सुझाए। सुरुमा नवीन डरायो। तर उसलाई बुबाका शब्द सम्झना आए—
“हिमालले त्यसलाई विश्वास गर्छ, जो उसलाई सम्मान गर्छ।”
नवीनले समूहलाई सावधानीपूर्वक मार्गदर्शन गर्यो। उसले सुरक्षित बाटाहरू रोज्यो र सबैलाई सहयोग गर्यो। मौसम बिग्रँदै गयो। उसको मनमा डर त थियो, तर उसले धैर्य र साहस देखायो। माथिबाट हिमपहिरो आउन थालेपछि उसले आफ्नो ज्यान जोखिममा राखेर सबैलाई सुरक्षित स्थानमा पुर्यायो। हिमपहिरोका कारण उनीहरू गन्तव्यसम्म पुग्न सकेनन्, तर नवीनकाे सुझबुझ र साहसले सबै सुरक्षित फर्किए।
त्यो दिन नवीनले गर्व महसुस गर्यो। उसले बुबाको स्थान लिएको थिएन, तर बुबाको सम्मान जोगाएको थियो।
साँझपख नवीन् पहाडको टुप्पोमा उभिएर अस्ताउँदै गरेको घामसँगै चम्किएका हिमालहरू हेरिरहेको थियो। उसले शान्ति महसुस गर्यो। उसलाई थाहा थियो, उसको यात्रा अब मात्र सुरु भएको थियो।
एक दिन उसलाई घर फर्कन ढिला भयो। ऊ साथीहरूसँग बाहिर खाना खान गएको थियो र घरमा कसैलाई नबताएको कारण सबै जना चिन्तित भए। घरमा गाउँलेहरूको भेला लागेको थियो। टाढैबाट त्यो दृश्य देख्दा नवीन आतियो र कुद्दै घर पुग्यो।
आमा कुद्दै आइन् र “छोरा!” भन्दै उसलाई अँगालो हालिन्। बुबा हिमपहिरोमा परी गुमाएका सम्झनाले आमाको मन अझै चिसिएको थियो। फेरि पहिरो आएको खबरले छोरा पनि त्यस्तै दुर्घटनामा पर्यो कि भनेर उनी अत्तिएकी थिइन्। छोरा सुरक्षित फर्किएको देखेर आमाको मन शान्त भयो।
नवीनले आमालाई अँगाल्दै दिनभरि भएको घटना सुनायो। आमालाई आफ्नो छोराप्रति अत्यन्तै गर्व भयो। बेलुका सबै गाउँलेहरू भेला भएर नवीनकाे बहादुरीको सम्मान गर्दै खुसी साटासाट गरे।
1 reads
Published on 2/23/2026
Kritanjali Odari is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Kritanjali Odari
Grade 11
Roll No: 27018
30
More Articles from
Student