underline

मेरो दार्जिलिङको यात्रा

Underline

Share:

मानिस विभिन्न खालको अनुभवको भोगी हो । मानिसलाई धेरै कुरा सिक्न र जान्न मन लाग्छ। मानिसहरू सबै ठाउँ घुम्नलाई एकदमै धेरै रुचाउँछन् र म पनि त्यस्तै स्वभावको मान्छे हुँ । घुम्न रुचाउने मानिस भएको नाताले म गत वर्ष दार्जिलिङ भ्रमणमा गएको थिएँ ।

भक्तपुरको राधेराधेबाट जनकपुर जाने गाडीमा मेरो यात्रा झिसमिसेमै सुरु भएको थियो। मन पूर्ण उत्साहले भरिएको थियो ।हामी धुलिखेलपछि आउने नमबुद्धमा चिया खानका लागि रोकियौँ । त्यहाँबाट केही अगाडि पुगेपछि हामीले खनियाखर्कको प्रसिद्ध जुनार र सुन्तला किन्याैँ र बाटोमा खाँदै गयौँ। सिन्धुलीको सुन्दर बाटो पुग्नुभन्दा अगाडि करिब ३२ किलोमिटरको बाटो खोलामाथिबाट सञ्चालन गरिएको थियो। पोहोरसाल गएको बाढीका कारण रोसी खोलाले सबै बाटो बगाएर सखाप पारेको रहेछ। ग्राभेल गरिएको बाटो भएको हुनाले एकदमै कठिन भइरहेको थियो जसले दिमाग पनि वाक्क बनाएको थियो तर सिन्धुलीको सुन्दर घुमाउरोबाट आउने बित्तिकै ती सबै वाक्कपनहरू गायब भए। सिन्धुलीको मूलकोट भन्ने ठाउँमा हामीले एउटा प्रसिद्ध सेतीदेवी मन्दिर पनि देख्यौँ। त्यहाँ वरपरका पर्खालहरूमा भित्ताहरूमा ऐना टाँसिएको रहेछ। त्यहाँका मानिसहरूमा त्यसरी ऐना टाँस्दाखेरि मनोकाङ्क्षा पूरा हुन्छ भन्ने विश्वास रहेछ । त्यहाँ पर्खाल भरिने ऐना देख्दा एकदमै सुन्दर र राम्रो देखिएको थियो र मेरो मन पनि आनन्द महसुस भइरहेको थियो। केही उता गढी पर्वत पनि थियो। यस गढी पर्वत ऐतिहासिक रूपमा एकदमै चर्चित रहेछ। पृथ्वीनारायण शाहले आफ्नो पालामा सिन्धुलीगढी कब्जा गर्ने क्रममा यही गढीमा युद्ध लडेका थिए अरे। यस्तो ऐतिहासिक सिन्धुलीगढी दरबार कटेपछि हामी त्योभन्दा केही अगाडि खाना खानको लागि रोकियौँ । खाना खाएपछि गाडी उही सुन्दर सिन्धुलीको एसियन हाइवे हुँदै बर्दिबासतिर लाग्यो। सिन्धुलीको केही तल्लो भाग पुगेपछि हल्का चिसो महसुस हुनँदै थियाे । जब हामी धनुषाको सिमाना प्रवेश गर्‍याैँ तब हामीलाई तराई महसुस भएको अनुभूति भयो। धनुषा अलि छड्के परेको सिमाना परेको हुनाले हामी एकछिनमै महोत्तरीको सिमानामा प्रवेश गर्‍याैँ जुन रातु खोलाले छुट्याउँदो रहेछ। त्यहाँ चुरे पर्वतका रुखहरू सहित घना जङ्गल थियो । महोत्तरीपछि फेरि धनुषा नै सुरु भयो र त्यसलाई पनि रातु झरनापुरले छुट्टाएको रहेछ। पुलपछि लालगढ, बतहरी हुँदै हामी ढल्केबर पुग्यौँ। ढल्केबरपछि हामी महेन्द्रनगर पुग्यौँ। महेन्द्रनगरका आकर्षक आँकका रूखले मन नै मन्त्रमुग्ध बनाएको थियो। महेन्द्रनगरपछि हामी औरही खोलाको ठुलो पुल तरेर हामी सबै चोक हुँदै लक्ष्मीनिया गाउँपालिका पुग्यौँ । मैले गाडीको गुरुजीलाई उत्सुकता हुँदै सोधेँ जनकपुर कतिबेला आउँछ । उहाँले एकैछिनमा आउँछ भन्नुभयो र नभन्दै लक्ष्मीनिया गाउँपालिका कट्ने बित्तिकै जनकपुर उपमहानगरपालिका सुरु भयो। जनकपुर उपमहानगरपालिका सुरु हुने बित्तिकै त्यहाँ ठुलो बाटो रहेछ । बाटोको माथि धनुषको आकर्षक मूर्ति रहेछ जसले भगवान् रामको सम्झना ल्याइदियो। त्यहाँबाट केही अघि सरेपछि धनुषा धाम भन्ने ठाउँमा जनकपुरको भाटभटेनी रहेछ। त्यहाँबाट हामी केही अघि जाँदाजाँदै हामीले पिडारी चोक देख्यौं। त्यहाँ नेपालकै पहिलो जयनगर र जनकपुर जाने रेलको लिक पनि रहेछ । त्यो देखेर अघिल्लो वर्ष मलाई जयनगर रेल चढेर गएको याद आयो । त्यो क्षण साँच्चैकाे आनन्ददायक थियो । अन्ततः हामी फिनारी चोक हुँदै रामानन्द चोक पुग्यौं जहाँ हामी बस्न गइरहेका थियौँ। खास गर्दा मेराे बाबा जनकपुरकै यालना नेपाल संस्कृत विश्वविद्यालयमा उपप्राध्यापकको रुपमा अध्यापनरत हुनुहुन्थ्यो । मैले र आमाले उहाँलाई सरप्राइज गर्ने योजना गरेका थियौँ। त्यसैले हामीले रामानन्द चोक झरेपछि बुवासँग बाइक हुँदाहुँदै पनि बाइकलाई नबोलाएर अटोमा उहाँको कोठासम्म गयौँ। हामी पहिला पनि उहाँलाई भेट्न गएको हुनाले हामीलाई ठाउँ चिन्न त्यस्तो कठिन भएन। घरभित्र प्रवेश गर्याैँ, हामीले बाबाको कोठामा हेर्यौँ। ढोका ढकढक गरेर । बाबालाई कुनै आइडिया थिएन हामी आएको भनेर। ढोका खोलेपछि उहाँ तीन छक पर्नुभयो। त्यसपछि हामी गफ गर्दैगर्दै खाना खाएपछि सुत्नतर्फ लाग्यौँ। लामखुट्टेको कारण हामी झुलभित्र सुत्यौं । मलाई याद थियो जनकपुरमा भजन धेरै बज्छ भनेर। त्यसै गरी यो वर्ष आउँदा पनि राति सुत्दा पनि भजन बजिरहेकै थियो। भाेलिपल्ट बिहान हामी चाँडै उठ्यौँ। किनभने हाम्रो योजना बमोजिम हामी जानकी मन्दिर जान लागेका थियौँ। किनभने जनकपुर आउनु र जानकी मन्दिरमा नजानुको कुनै अर्थ थिएन । जानकी मन्दिरलाई जनकको दरबार पनि भनिन्छ। हामी त्यहाँ गएका थियौँ र त्यहाँ अघिल्लो वर्ष झैँ एकदमै भिड रहेछ। त्यसैले दुर्भाग्यवस हामीले त्यहाँ भगवानको दर्शन गर्न पाएनौँ र बाहिरैबाट दर्शन गरेर फर्क्यौँ। त्यहाँ मैले जाने बेला पेडा पनि देखेँ र पेडा देखेपछि मेरो मनले मानेन र मैले पेडा पनि खाएँ। जानकी मन्दिर नजिकै राम्रो सीताको विवाह मण्डप पनि थियो जुन हामी अघिल्लो वर्ष नै घुमिसकेका थियौँ। जानकी मन्दिरपछि हामी हनुमान मन्दिर गयौँ र फेरि हामी खाना खानका लागि घरतिर गयौँ। घरमा केही बस्ने आराम गर्ने काम गरेपछि हामी साँझतिर खाना खाएपछि चन्द्रकालीन पुनर्ताजकीका लागि गयौँ। जनकपुरमा हरेक तीन चार घरपछि मन्दिर भएको हुनाले हामी कुन कुन मन्दिर गयौँ मलाई नै याद छैन। जनकपुर सबै कुराले सुन्दर थियो तर जनकपुरको एउटा ठुलो समस्या भनेको फोहोर व्यवस्थापन रहेछ। त्यहाँ हरेक ठाउँमा फोहोर सरसफाइको कमजोरी रहेछ। म अघिल्लो वर्ष आउँदाखेरि एकदमै फोहोर देखिएको थियाे भने यो वर्ष भने अलि कम फोहाेर भएको रहेछ। सायद नागरिकमा चेतना पनि बढेको होला । मुत्र विसर्जन गर्न जाने क्रममा पनि त्यहाँ पाँच रुपैयाँको सट्टा १० रुपैयाँ ठगिँदो रहेछ। न त्यहाँ सरसफाई थियो न साबुन नै राखिएको थियो। हामी केही सामानहरू खरिद गर्यौँ र हामीले एउटा सिङ्गडा भन्ने नौलो फल पनि किन्यौँ। जुन भोलि आउने एकादशीका लागि थियो। यसरी हामीले जनकपुरमा दोस्रो दिन बितायौँ र तेस्रो दिन पनि जनकपुरका केही महत्त्वपूर्ण ठाउँ भ्रमण गर्यौँ। चौथो दिन हामीले जानकी मन्दिरमा भगवानको दर्शन पूर्णरूपमा गर्न नपाएको हुनाले त्यहाँ गएर भगवानको दर्शन गर्यौँ। जनकपुरमा पाँचौँ दिन भने हामी दार्जिलिङको असली यात्राका लागि निस्किनेवाला थियौँ। हामी बिहान सबेरै उठेर जनकपुरको बसपार्कतर्फ गयौँ। त्यसपछि त्यहाँ हामीले बसको टिकट काट्यौँ। त्यहाँका बसहरू त्यस्ता सुविधायुक्त भने रहेनछन्। त्यहाँ थोत्रा बिग्रेका बसहरू रहेछन्, सिट निकै नै अप्ठ्यारा थिए तर यात्रा गरेपछि कहिलेकाहीँ अप्ठ्यारोका सामना त गर्नु परिहाल्छ नि ! त्यसैले हामीले जे होस् त भनेर त्यही बसको टिकट काट्यौँ र साँढे ८ बजेतिर हाम्रो यात्रा सुरुवात भयो। थोत्रो बस कच्ची बाटो र घच्याक घुचुक हुँदै हाम्रो यात्रा ढल्केबरबाट सुरु भयो। त्यहाँ हाम्रो बाबाको विद्यार्थी पनि यात्रा गर्दै हुनुहुँदो रहेछ। जनकपुरबाट हरितपुर, बटेश्वर हुँदै हामी ठुलाठुला पुलहरू पार गर्दै सिराहा पुग्यौँ । बाटोमा केही भोक लागेपछि हामीले घरबाट ल्याएको सुन्तला, चना जुनार जस्ता फलफुलहरू खायाैँ । त्यहाँ हामी सिराहाको राजधानी लाहानमा पुग्यौँ । लाहानमा विशाल बजार रहेछ । हाम्रो गाडी त्यहाँ रोकियाे । त्यहाँ खाजा खाएर हाम्राे बस अघि बढ्याे । हाम्रो बस इटहरीमा दोस्रो पल्ट रोकियाे। दिउँसोतिर चर्को घाम लागेको थियो। मलाई चटपटे खान एकदमै मन लागेको थियो र त्यसैले गर्दा हामी चटपटे खोज्न लाग्याैँ तर दुर्भाग्यबस चटपटे कतै पनि भेटिएन। त्यसपछि हामी त्यहाँ अरु केही भोजन ग्रहण गरेर फेरि गाडीमा चढ्याैँ । बाटोको बिचमा विशाल रुखहरू थिए । बाटो भने त्यस्तो राम्रो थिएन। बाटो एकदमै कठिन भएका हुनाले टाउको कताकता गएर ठोकिरहेको थियो। बिस्तारै साँझ पनि हुन लागिरहेको थियो। जतिजति गाडी तीव्र हुँदै गइरहेको थियो त्यति नै मलाई पिसाब लागिरहेको थियो। कहाँ गएर छिटोछिटो गएर शौचालय छिरूँ जस्तो भइरहेको थियो। यतिकामा हामी गाडीको रफ्तार बढ्दै बढ्दै गएपछि दमक पुग्यौँ। दमकमा गाडी बल्लतल्ल पेट्रोलको लागि रोकियाे । त्यसपछि म हस्याङफस्याङ गर्दै शौचालयतर्फ गएँ र पछि गाडी फेरि आफ्नै गतिमा लाग्यो। यात्रा एकदमै लामो भएको हुनाले म एकदमै वाक्क भइसकेको थिएँ तर यात्रामा निस्किएपछि त्यस्ता बाटो र गाडीहरू सहनै पर्यो नि। त्यस समयमा झापामा मेला लागिरहेको रहेछ त्यसैले त्यहाँ एकदमै धेरै मान्छे मेलाका लागि भिडमा जम्मा भएका थिए । मेला सकिने बेला भएको हुनाले मेलाका एक हुल मानिसहरू हाम्रो गाडीभित्र छिरे। दमक हुँदै हामी झापाको बिर्तामोडमा पुग्यौँ तर त्यहाँ गएपछि त हामीलाई गाडीले धोका पो दियो। चारआलीसम्म जाने भनेको गाडी बिर्तामोडमै हामीलाई अाेराल्यो र अर्को गाडीलाई १० रुपैयाँ तिरेर हामीलाई अर्को गाडीमा लग्यो। त्यहाँबाट केही आधी घण्टामा हामी बल्ल चारआली पुग्यौँ । चाराआली भनेको झापाबाट इलाम जाने प्रमुख ठाउँ थियो र इलामबाट नै दार्जिलिङ पुगिन्थ्यो । चारआलीमा झरेर हामी हाम्रो बाबाको मित्रको घरमा गयौं। सुपारीका अग्लाअग्ला रुख र पहेँलै झुलेर बसेका तोरीहरूले म दङ्ग परेको थिएँ। त्यहाँ पनि हामीले रात बितायौं । हाम्रो आधिकारिक यात्रा भने इलामबाट सुरु हुनेवाला थियो तर अहिलेसम्मको यात्रा अनाधिकारिक थियो। क्रमश………………..

1 reads

Published on 10/2/2026

Image

Sambid Dhakal is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Sambid Dhakal

Grade 9

Roll No: 2029031

17

More Articles from

Student

Underline