underline

यथार्थको धरातलमा स्वैरकल्पनाको जादुः भग्न प्रेमशाला

Underline

Share:

यथार्थको धरातलमा स्वैरकल्पनाको जादुः भग्न प्रेमशाला

परिचय

भग्न प्रेमशाला समसामयिक आख्यानकार खगेन्द्र गिरीद्वारा रचित कथा सङ्ग्रह हो। यस कथा सङ्ग्रह इन्डिगो इङ्क प्रा.लिबाट प्रकाशित भएको हो। पत्रकारिता पेशा अँगालेका खगेन्द्र गिरीले समाचार सङ्कलनका क्रममा सहर परिभ्रमण गर्दा आफूले देखेका विविध पात्र र घटनालाई रोचक बनाएका छन्। प्रस्तुत कथा सङ्ग्रह भग्न प्रेमशालामा निर्मुक्त्र स्त्री, मखमल, अदृश्य अतः निहत्था, किमा पराठा, चिसो, स्माइल प्लिज, खुकुरी, हाप्सिलो, हगनगौँडा जस्ता कथा सङ्ग्रहहरूको पुष्पहरूलाई सङ्ग्रहको माला बनाउने काम कथाकारले गरेका छन्। जहाँ कथा सङ्ग्रह भित्र कतै नारीले स्वतन्त्रताको दुरुपयोग गर्दा समाज विकृत हुन पुगेको अवस्थाको चित्रण तथा कतै नगरेको हत्याको स्वीकाररोक्तिले जीवन तहसनहस हुन पुगेको अवस्थाको चित्रण गरिएको छ। कमजोर र निरिहको पीडा बिसाउने चौतारी कतै भेटिँदैनन्, आफ्ना दुःख आफैँसँग हुन्छन् । युवा अवस्थामै द्वन्द्वकालमा हतियार बोकेर हिँडे पनि देशमा नयाँ सरकार आयो तर आन्दोलनमा होमिनेका लागि नयाँ बिहानी कहिल्यै आएन। जिउँदो मान्छेको तातोभन्दा लासहरूको चिसो नै सबैभन्दा सुरक्षित स्थल हो। मुस्कानले संसारलाई जित्न सकिन्छ । सन्तानले सुरक्षित ठानेको काख नै कुनै बेला काल बनेर आइदिन्छ र खाइदिन्छ। यिनै विविध घटनाले सजिएको यो कथा सङ्ग्रह दरिलो बन्न सफल भएको छ। समाजका घटनालाई टपक्क टिपेर तिनमा प्रचुर मात्रामा कल्पना शक्तिको प्रयोग गरी कथामा रोचकता प्रदान गर्नु लेखकको खुबी देखिएको छ।

कथावस्तु

निर्मुक्त स्त्री कथामा एउटी आमाले आफ्नो अस्तित्वमा आँच आएपछि र श्रीमानबाट अपमानित भएपछि सन्तानप्रतिको ममता र श्रीमतीप्रतिको त्यागलाई तिलाञ्जली दिँदै स्वअस्तित्वको खोजीमा लाग्छन् । जुन कुरा कथाकाे मुख्य पात्र कल्पनाबाट देखाइएको छ। कधामा एउटी आइमाईलाई कसरी आफ्नो श्रीमानले झुक्काएर भागेका छन् भन्ने कुरा देखाइएको छ तर त्यो आइमाईले आफ्नो श्रीमानलाई जसोतसो जेल जानबाट बचाएको प्रसङ्ग कथामा देखाइएको छ। केही समयपछि कल्पना पनि काठमाडौँ जान्छिन् र उनले एउटी वृन्दा भन्ने साथी भेट्छिन्। वृन्दासँग कल्पनाले धेरै समय बिताउँछिन् र केही कारणवश उनीहरू छुट्टिनुपर्ने बाध्यता आउँछ । कल्पनाले सहरकै एक विद्यालयमा पढाउने गर्थिन् र दिन बितेपछि उनको भेट बुद्धहाङसँग हुन्छ। बिस्तारै उनीहरूको प्रेम बस्छ र केही महिनामै उनीहरूले बिहे गर्छन्। बिहे गरेको केही वर्षपछि उनीहरूले बच्चाहरू पनि जन्माउँछन् । बच्चा पाएपछि बुद्धहाङ र कल्पनाको बोलीचाली पनि बन्द हुँदै जान्छ । बुद्धहाङको जागिरमा राम्रो कमाइ नभएपछि उसले आफ्नै कल्सनटेन्सी खोल्छ। त्यसबाट राम्रो आम्दानी भएपछि उसले सुजललाई आफ्नै व्यवसायमा आबद्ध गराउँछ । वास्तवमा उनीहरू सँगै बस्ने एउटा जोडीहरूसँग भेट भएका थिए। उनीहरूको बानी व्यवहारहरू नमिले पनि समय परिस्थितिअनुसार बिस्तारै उनीहरू एक हुँदै जान्छन्। कम्पनीबाट राम्रो आम्दानी भएपछि बुद्धहाङ कल्पनासँग बोल्दै नबोल्ने, झर्किँदै जाने जस्तो व्यवहारमा परिवर्तन आउँछ । कल्पना पनि आफ्नो श्रीमानको व्यवहार देखेर सशङ्कित भएकी थिइन्। एक दिन सिर्जुले कल्पनालाई एउटा फोटो देखाउँछिन्। जसमा सुजल र बुद्धाहाङ एउटै केटीसँग खाटमा बसिरहेको तस्बिर थियो। यो देखेर कल्पनालाई आफू छाँगाबाट झरे जस्तो महसुस हुन्छ। बुद्धहाङले कल्पनालाई निकै सम्झाउने कोसिस गर्छन् तर कल्पनाको मरिसकेको मन कहिल्यै सम्झिँदैन । त्यसपछि कल्पना र सिर्जुलाई महसुस हुन्छ कि यदि पुरुष मान्छेले नै आफ्नो स्वतन्त्रताको खराब प्रयोग गरिरहेका छन् भने हामी किन पछाडि हट्ने ? त्यसपछि उनीहरू पनि जस्तालाई तस्तै भनेझैँ बुद्धहाङ र सुजलकै बाटो रोज्न पुग्छन्।

यस कथामा समलिङ्गी सम्बन्ध, विपरीत लिङ्गीप्रतिको शारीरिक आकर्षण र सम्बन्ध जस्ता कुराहरू देखाइएको छ। नारीहरू स्वतन्त्र भएमा आफ्ना भावना इच्छा आकाङ्क्षा र संवेगलाई दबाएर राख्दैनन्। उनीहरु आफ्ना हर इच्छाहरू पूरा गर्छन् । आफ्नो प्रेमीसँग सम्बन्ध जोडेर पनि त्यो सफल हुन्छ भन्ने छैन । प्रेमलाई विवाहमा परिणत गरे पनि बिस्तारै श्रीमान् श्रीमतीको सम्बन्ध बाहिरी आकर्षणले नै टुङ्ग्याउँदो रहेछ भन्ने कुरा यस कथामा बुद्धाहाङ र कल्पनाको रूपमा देखाइएको छ। आफ्नै श्रीमतीले बालबच्चा जन्माएर आकर्षण हराउँदै गएपछि र पैसाले उन्मुक्त भए पछाडि पुरुषहरूले बाहिर नजर लगाउँछन् र गलत सम्बन्ध राख्न पुग्छन्। त्यसपछि नारीको कोमल हृदय छिया छिया हुन पुग्छ त्यसपछाडि उनीहरू स्वयं कठोर बन्न पुग्छन् । जब नारीहरूको कोमल हृदयमा आघात पुग्छ त्यसपछि उनीहरू श्रीमान् घरपरिवार सन्तान भन्दा पनि स्वअस्तित्व र आफैलाई सर्वोपरि ठानेर पुरानो सम्बन्धमा पूर्णविराम लगाउन पुग्छन् सो कुरालाई यस कथामा मार्मिक ढङ्गले चित्रण गरिएको छ ।

हाम्रो घाम खोइ त ? हामीलाई चाहिँ किन नदिएको घाम सूर्य ऋतुहरूको बाबाले किनेको हो र एउटा घाम हाम्रो कोठामा पनि ल्याऊँ न ।

- पृष्ठसङ्ख्या ३५ (अदृश्य अतः निहत्था)

एउटा अद्भूत सन्तानका लागि पैसा नै सबैभन्दा ठुलो कुरा हो र प्रकृतिबाटै प्राप्त सम्पूर्ण चिजवस्तुहरु पनि किनेरै पाइन्छ। पाइन्छन् भन्ने भ्रम हुन्छ। जुन कुरा कौसीमा गएर घाम ताप्ने रहर गर्दा र कौसीमा जान नपाउँदा सूर्य पनि घरबेटी अर्थात् ऋतुहरूको बाबाले नै किन्नुभएको भन्ने भ्रममा गोविन्दको छोरो अर्थात् अर्काकै गर्व बोकेर स्वीकारेकी श्रीमतीले जन्माएको छोराले जिज्ञासा प्रकट गर्छ अर्थात् अनुरोध गर्छ। सधैँ छिँडीको चिसो कोठामा बस्नुपर्दा बालकलाई पनि घाम ताप्ने रहर पैदा हुन्छ। अनि माथिको जिज्ञासा प्रकट गर्दछ। महिलाहरूको स्वार्थी प्रवृत्तिकै कारण निस्वार्थ प्रेम प्रकट गरेर अर्काकै गर्व बोकेकी श्रीमतीलाई स्वीकारे पनि अरूले ४० हजार अर्थात् पैसाको बलमा स्वीकार्‍यो भने पनि वास्तवमा त्यो गोविन्दको प्रेम र मानवता थियो । बालककी आमाले छाडेर गए पनि त्यही छोरामा आफ्नो भविष्य देख्दै दिनभरि ठेलागाडा गुडाएर आएको दुई चार पैसाले त्यो अबोध बालकको पेट भरिदिने, एक्सराे लुगा लगाउन दिने र विद्यालय पठाउने काम गोविन्दले गरेको छ। बालकले कहिले मिसलाई पेन्सिलले घोच्नु र कहिले छुरी लिएर स्कुल जानुले आमाको ममता नपाएका बालकहरू असामान्य प्रवृत्तिका अर्थात् उद्दण्ड प्रकृतिका पनि हुन्छन् भन्ने कुरा देखाउँछ। छोराको च्यातिएको जुत्ता फेरिदिन र थोरै भएपनि मिठो मसिनो खुवाउनाले एक दिन ४०० रूपियाँ कमाएपछि २००को लागि सामान बेच्ने क्रममा प्रहरीले ठेलाका साथै उनीहरूलाई नै तानेर प्रहरी चौकी लगेर सही गराएपछि अन्याेलग्रस्त भविष्यका साथ घरमा फर्कँदा त्यही भएको ४०० पनि हराउँदा छोरालाई दिने उत्तर नभएर आँसुको दहमा डुब्न पुग्छ। आखिर सरकार त हुने खानेका लागि रहेछ हुँदा खानेका लागि जुन जोगी आए पनि कानै चिरेको भनेझैँ कोही पनि आफ्नो हुने रहेनछ। आजको मार्मिक सत्यलाई यो कथाले पुष्टि गरेको हुँदा अदृश्य अतः निहत्था कथा मेरो लागि मन पर्ने र रोजाइको कथा बन्न पुगेको छ।

चिसो कथामा आर्थिक अवस्था जटिल भएपछि साहुको पसलमा जाडो गर्मी केही नसोचिकन माछासँग सिँगौरी खेल्दै दिनै माछाका काँडाहरू फाल्ने र माछाकाे कत्ला फाल्ने काम गर्ने म पात्रको हस्तरेखाहरू मेटिएका छन्। उसको जीवन बल्छीमा उनिएको माछा जस्तो निरीह छ। आर्थिक विपन्नताले चिसिएको जीवन चिसो । आफैबाट नाङ्गिएकी कविताको जीवन सर्वत्र चिसो अनि इन्स्पेक्टरको पटकपटकको उपेक्षाले चिसिएको म पात्रको मन चिसो अनि लस घरको चिसो । जुन कुरा चिसो कथामा चित्रण गरिएको छ। चिसो कथामा एउटा साहुको पसलमा माछा बेच्ने काम गर्ने म पात्रको कथा व्यथाकाे चित्रण गरिएको छ। माछासँग सिँगौरी खेल्दै जाने क्रममा म पात्रको कवितासँग भेट हुन्छ र दुई बिचको प्रेम बस्छ। बिस्तारै उनीहरू नजिकिँदै जान्छन् र उनीहरू बिचको कथाहरू फरक खालका देखिन्छन् बाल्यकालमै बाबाबाट बलात्कारमा परेकी कविता मरेकाे मान्छे भन्दा पनि जिउँदो मान्छेसँग डराउँछे। यो प्रसङ्ग तलको भनाइबाट पनि प्रस्ट हुन्छ।

लासले केही बिगार्दैन । ऊ यान्त्रिक ध्वनिमा दोहोर्‍याउँछे । त्यसले सताउने जिउँदो हुन्जेल मात्र हो।

(चिसाे : पृष्ठ ११८)

लास घरमा लासहरूको व्यवस्थापन गर्ने र लासहरूलाई कुर्ने व्यवसाय उसका लागि सबैभन्दा सुरक्षित स्थल बनिदिन्छ। सबैजना मरेका मान्छेसँग डराउँछन् तर कविता भने जिउँदो मान्छेले पो केही गर्छ कि भन्ने डर मरेको मान्छेले त केही पनि गर्दैन त्यसैले मलाई त सबैभन्दा सुरक्षित यही शवगृह लाग्छ। त्यसैले उसैको आन्तरिक चाहनाका कारण ऊ पात्रसँग संसर्ग गर्न चाहे पनि ऊ पात्रले कवितालाई छुन्छ ऊ त्रसित हुन्छे, सामान्य अवस्थाबाट असामान्य अवस्थामा आउँछे र म पात्रलाई अत्यन्त तिरस्कार र घृणा गर्छे, जसले गर्दा म पात्रको मन अत्यन्त चिसो हुन्छ । कथाकाे अन्त्यमा आफ्नै बुबाकाे शवको पोस्टमार्टम र व्यवस्थापन गर्ने क्रममा कविता असमञ्जसमा पर्छे र कथाको पनि अन्त्य हुन्छ। तसर्थ यस चिसो कथामा साहुको सनकी व्यवहार र गरिबीका कारण ऊ पात्रको दैनिकी चिसिँदै गएको छ र गरिबीका कारणले चिसिएको उसको जीवनमा न्यानोपन आउने कुरामा अन्योलता छरिएको छ । बाल्यकालमा आफ्नैबाट नाम लिएकी कविताको चिसिएको जीवनका कारण भिन्न व्यवहार ऊ पात्रको हात मात्र होइन तन मात्र होइन मन पनि चिसिएको छ र पुनः फेरि कविताकै ममताको कारण पुरानो अवस्थामा पनि फर्किएको छ ।

मलाई मुस्काउने तरिका होइन कारण चाहिएको छ ।

हो त्यही भयो गल्ती अघि मैले भनेकोको कारण खोज्ने होइन जे छ त्यसैमा खुसी हुने हो। तिम्रो अनुहार त करोडको छ यति राम्रो अनुहार कुचुक्क पारेर बसेपछि कसरी हुन्छ खै मुस्कुराउ यसरी ।

(स्माइल प्लिज : पृष्ठ १५६)

स्माइल प्लिज कथाको मुख्य भाव नै माथिको भनाइमा केन्द्रित छ। आफ्नो प्रेमीसँग उपेक्षित भइसके पछाडि अथवा विवाह हुने नहुने टुङ्गो नलागेपछि, त्यसै गरी बोसबाट समयमा तलब नपाएपछि अत्यन्त उदास बनेकी छे । शुभेच्छ जब डिभाइन स्माइल भन्ने ठाउँको विज्ञापन र अनुरोधमा त्यहाँ पुग्छ। त्यहाँ पुगेर उसले डाक्टरबाट र रोबर्ट स्टाइलकी विदेशी केटीबाट प्रेरणा पाए पछाडि मुस्कुराउन सिक्नुपर्ने रहेछ भन्ने कुरा थाहा पाएपछि ऊ मुस्कुराउन थाल्छे । उसलाई मेरो स्माइल बिग्रन्छ कि भन्ने चिन्ता हुन थाल्छ । मधुर मुस्कानका साथ गएर बोससँग कुरा गर्छे र तलब समयमा नआउने टुङ्गो भए पछाडि ऊ आत्मविश्वासका साथ आफ्नो जागिरबाट राजीनामा दिन्छे । त्यसै गरी आफ्नो प्रेमीसँग के हो के स्वीकार कि त्याग होइन भने मलाई नअल्मल्याऊ। वास्तवमा तिमीले मलाई माया गर्छौ कि गर्दैनौ साँचो उत्तर देऊ भनेर सोधिसके पछाडि प्रेमीले तिमीले नै मरिहत्ते गरेको हो यसमा मेरो भन्नु केही छैन भन्ने उत्तर पाए पछाडि प्रेमीलाई आफैले निर्णय गरेर छाडिदिन्छे। त्यसपछि ऊ मधुर मुस्कानका साथ घर फर्किन्छे र मुस्कान नै जिउने आधार रहेछ र आत्मविश्वासको स्रोत रहेछ भन्ने कुरा बुझ्छे ।

स्माइल प्लिज कथाले मुस्कानले नै संसारलाई जित्न सकिन्छ। उदासीपनले आफैलाई पिरोल्छ, निर्णय समयमा लिनुपर्छ आफ्नो जीवनलाई कुन मोडमा लाने भन्ने कुरा आफ्नै हातमा हुन्छ । रिस र उदासीपनले त्रास र डरको मात्रै जन्म हुन्छ । जसले हातमा सुन्ने अर्थात् रित्तोपन मात्रै प्राप्त हुन्छ। त्यसैले मुस्कुराउनु नै संसार जित्नु हो। भन्ने कुरा शुभेच्छ प्रजपटिका माध्यमबाट कथामा देखाइएको छ।

भग्न प्रेमशाला कथा सङ्ग्रहमा कथाकारले स्वैरकल्पनाका माध्यमबाट कथालाई सामाजिक यथार्थमा घोल मिसाएर अझ रोचक बनाएका छन् र यसको सबैभन्दा ठुलो उदाहरण खुकुरी कथा हाे । कथामा कथाकारले कथाका माध्यमबाट विभिन्न मृतक मानिसहरूको यथार्थ, कथा तथा जीवनीको बारेमा कथामा प्रस्तुत गरेका छन्। कथामा कोही मानिस सामाजिक नियमका बाध्यताका कारण श्रीमानसँगै सती जानु परेको छ त कोही आफ्नो देशको लागि लड्दा लड्दै विफल भए तापनि बलिदान दिनुपरेको छ। कोही मान्छे भने विदेशमा अरू कोही पराइको हातबाट नै गोली खाएर मर्नुपरेको छ। र अनायासै कुनै एउटा सामाजिक पत्रकारकाे पनि रहस्यमय मृत्यु भएको छ । लडाइँमा कुनै पनि व्यक्तिले सहादत प्राप्त गर्नु, विदेशी भूमिमा नेपाली नागरिकहरू मर्नु, ऐतिहासिक कालखण्डमा सती जान बाध्य हुनु रुकुममा नवराज विक जस्ता व्यक्तिहरू कथित माथिल्लो जातको प्रेमिकालाई विवाह गर्दा गाउँलेहरूबाट मारिनु सबै यथार्थ र सत्यतथ्य घटनाहरू हुन् तर ती घटनाहरूमा मृतकहरू बोल्नु र आफू मर्नुको कारणहरु खुलाउनु चाहिँ सत्य होइन । यो कथाकारको कल्पना अथवा स्वैरकल्पनाको अतिशय प्रयोग हो स्वैरकल्पनाकै प्रयोगले कथा अत्यन्त रोचक र पढौँ पढौँ लाग्ने भएको छ। त्यसै गरी मखमल कथामा अभिभावकहरूले मखमल जन्मिसके पछाडि आफ्नो सम्पूर्ण खुसी मखमलमा देखेका छन् तर सम्पूर्ण खुसी आफ्ना सन्तानमा देख्ने अभिभावक सन्तानलाई कुनै रोग छ भन्ने कुरा थाहा पाउँछन् तब संसार नै शून्य देख्छन् । यहाँ अङ्ग्रेजी मास्टर रक्सी खाएर सम्पूर्ण सम्पत्ति सकाउनु र उनकी श्रीमती घरबाटै भागेर कतै जानुले सन्तानकै स्वास्थ्य अवस्थाका कारण संसारलाई रित्तो देखिएको कुरा पुष्टि हुन्छ । आफ्नो सम्पूर्ण घरजग्गा हडपेको दलरामलाई मार्छु भनेर कोदाली लिएर जाँदा माेटेको हातबाटै मरिसकेको दलरामको मृत्युको कारक आफै हो भन्ने कुरा स्वीकारेर मखमल जेल गएको छ। २० वर्षसम्म जेलको छिँडीमा समय गुजारेको मखमललाई त्यही जेल प्यारो त लाग्छ तर त्यहाँबाट निस्किसके पछाडि उसको जाने ठाउँ आफन्त र बस्ने ठाउँको कुनै टुङ्गो हुँदैन र आखिर हत्यारा आफू नभएर मोटे भएको कुरा पनि उसले पछि मात्र स्वीकार्छ। सोझा साझाको लागि न्याय कतै छैन भन्ने कुरा पनि। किमा परठामा मैनबर समयको महङ्गी अनुसार चल्न र त्यो महङ्गीलाई बुझ्न नसक्दा होटल साहुसँग विद्यार्थी अवस्थामै झगडा पर्छ । यो गरिबीको कारणले आएको दुष्परिणाम हो। पढ्ने लेख्ने विद्यार्थी अवस्थामै जनआन्दोलनमा होमिएको अथ द्वन्द्वकालमा बाध्यतावश भूमिगत भएको महिनबर नै खाएर आफ्नो दैनिकी धकेल्छ । देशमा शान्ति सुव्यवस्था र नयाँ सरकार आए पनि आखिर मैनबर जस्ता हातमा बन्दुक लिएर कलिलैमा आफ्नो बाल्यकाल बिताएका मैनबर लगायत लाखौँ युवाहरूको भविष्य अन्योलग्रस्त अवस्थामा पुगेर विदेश जानुपरेको र विदेश गएर विदेशी किमापट खाँदा देशको मौलिक स्वादले सताएको कारणले गर्दा देशमा आइसके पछाडि पनि पुरानै ठाउँमा किमा पराठा खान जानुले सशक्त देशप्रेमको भावलाई पुष्टि गरेको छ। जस्तोसुकै राजनीतिक क्रान्ति वा परिवर्तन आए पनि मैनबरकाे जीवनमा कहिल्यै सुख शान्तिका उज्याला किरणहरू आएनन्। देश बनाउँछु नै भनेर नयाँ शक्तिसँग मिलेर अगाडि बढ्ने प्रतिबद्धता गर्दा उनीहरुले नै झुक्याएर पछाडिबाट हाने पछाडि सम्पूर्ण जीवन अस्पतालको शैय्यामा बिताउनु परेको पीडादायक अवस्थाको चित्रण गरिएको छ ।

निष्कर्ष

कथा सङ्ग्रहको नाम ‘भग्न प्रेमशाला’ रहेको छ। यस सङ्ग्रहमा सङ्गृहीत कथाहरू प्राय वियोगान्तमा टुङ्गिएका छन्। मृत्युमा टुङ्गिएका छन्, रक्षक नै भक्षक बनेर भन्ने कुरा हाप्सिलाे कथामा देखाइएको छ । जहाँ लय र धुन जस्ता अबोध बालकहरू एक उदास व्यक्ति जन्मदाता नभएर जुन कर्मदाता भनेको छ उसैबाट मारिनुपरेको परेको छ। आजको अवस्थामा पनि मानवले दानवको रूप लिइरहेका छन् र सृष्टिकर्ता अथवा जन्मदाता र कर्मदाता नै रक्षक नभएर भक्षक भइरहेका छन् भन्ने कुरा कथाले सशक्त रूपमा चित्रण गरेको छ। कथा सङ्ग्रहमा अधिकांश कथाहरू वियोगान्तमा टुङ्गिए पनि स्माइल प्लिज कथाले भने जिउने प्रेरणा दिएको छ। मिलन र बिछोड नै संसारको नियम हो। मृत्यु शाश्वत सत्य छ। गरिबी रहर होइन बाध्यता हो। जस्तै कष्ट आए पनि सङ्घर्ष गर्न छोड्नु हुँदैन भन्ने कुरा कथाले दिएको छ। कथामा कतै कतै हामी किशोर किशोरीका लागि पढ्न अप्ठ्यारो लाग्ने शारीरिक सम्बन्धका कुराहरुलाई जस्ताको तस्तै प्रस्तुत गरेको छ यो पनि मानवीय चरित्र अथवा समयले ल्याएको परिणाम हो। शाश्वत सत्यलाई केही गरी मिथ्या बनाउन सकिँदैन तर कथामा कल्पना तत्त्वको अतिशय प्रयोग गरेर यथार्थ घटनालाई सत्य र कल्पनाको समिश्रण गर्न सफल हुँदा कथाहरू राेचक खालका अथवा आश्चर्य लाग्दा बनेका छन् जसले नेपाली कथाको क्षेत्रमा एक फरक अर्थात् पृथक शैलीको नयाँ इँट्टा थप्ने काम गरेको छ।

0 reads

Published on 7/10/2026

Image

Sambid Dhakal is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Sambid Dhakal

Grade 9

Roll No: 2029031

17

More Articles from

Student

Underline