‘अठाेट’भित्र एक नजर लगाउँदा
परिचय:
श्रीेश भण्डारीद्वारा लिखित अठाेट उज्जवल भविष्यकाे एक प्रेरणादायक पुस्तक हो जुन विशेष रूपमा विद्यार्थीहरूलाई लक्षित गरेर लेखिएको छ । बालबालिका तथा किशोर किशोरीहरूको मनोविज्ञानलाई ध्यानमा राखेर तयार पारिएको यो पुस्तक विद्यार्थीहरूलाई केवल किताबी अङ्क मात्र होइन, जीवनमा आउने चुनौतीहरू कसरी पार गर्न सकिन्छ भन्ने दृष्टिकोण दिन चाहन्छ । श्रीेश भण्डारीले अध्ययन र स्मरणशक्ति सुधार्ने उपायहरू पनि पुस्तकमा उल्लेख गरेका छन् । जस्तै: ताजा मन बनाइराख्ने, ध्यान केन्द्रित गर्ने, नयाँ प्रयोगहरू गर्ने, सकारात्मक प्रेरणा लिने, तनाव व्यवस्थापन गर्ने र स्वस्थ जीवनशैली अपनाउने ।
कथावस्तु:
श्रीश भण्डारीद्वारा लिखित अठाेट उज्ज्वल भविष्यकाे एक प्रेरणादायक र व्यवहारिक पुस्तक हो, जसले विशेष रूपमा विद्यार्थीहरूको सम्पूर्ण व्यक्तित्व विकासमा ध्यान केन्द्रित गरेको छ। पुस्तक बालबालिका र किशोर किशोरीहरूको मानसिक, शारीरिक, भावनात्मक र सामाजिक पक्षको समग्र विकासका लागि मार्गदर्शन प्रदान गर्छ । लेखकले यस पुस्तकमार्फत पाठकहरूलाई केवल किताबी ज्ञान र परीक्षाको अङ्कमा सीमित नरही जीवनका चुनौतीहरू, सङ्घर्षहरू र व्यावहारिक समस्याहरूलाई कसरी सामना गर्ने भन्ने महत्त्वपूर्ण पाठ सिकाएका छन् । पुस्तकमा २८ जना विश्वप्रसिद्ध प्रेरणादायी व्यक्तिहरूको जीवनकथा समावेश गरिएको छ, जसबाट पाठकले कठिन परिस्थितिमा पनि धैर्यता, परिश्रम र सकारात्मक सोचले कसरी सफलताको शिखर चुम्न सकिन्छ भन्ने प्रेरणा पाउँछन्। यसले विद्यार्थीहरूलाई सानै उमेरदेखि सही सोच, अनुशासन, आत्मनिर्भरता र जिम्मेवारी बोध सिकाउने उद्देश्य राखेको छ । अठाेटमा समावेश विषयहरू दैनिक जीवनमा अत्यन्त महत्त्वपूर्ण छन् जस्तै समयको सदुपयोग, पढाइमा रुचि जगाउने तरिका, परीक्षा तनावबाट मुक्ति, क्रोध नियन्त्रण, स्वस्थ जीवनशैली, आत्मविश्वास वृद्धि, जङ्क फुडको दुष्परिणाम, ध्यान केन्द्रित गर्ने अभ्यास, मोबाइल र इन्टरनेटको सन्तुलित प्रयोग, र वैकल्पिक शिक्षाको अवधारणा आदि । यी सबै विषयहरू सरल भाषा र आकर्षक शैलीमा प्रस्तुत गरिएका छन्, जसले गर्दा हरेक उमेरका पाठकले सजिलै बुझ्न सक्छन् । लेखकले स्मरणशक्ति सुधार्ने उपायहरू, सिर्जनात्मक सोचको विकास, सामाजिक जिम्मेवारीबारे चेतना र जीवनमा सफलता प्राप्त गर्न आवश्यक हुने नरम सीपहरूको पनि उल्लेख गरेका छन् । यस पुस्तकको उद्देश्य विद्यार्थीलाई केवल एक सफल परीक्षार्थी बनाउनु मात्र होइन, बरु एक जिम्मेवार, अनुशासित र प्रेरणादायी नागरिक बनाउनु हो । शिक्षक, अभिभावक, र शैक्षिक क्षेत्रका व्यक्तिहरूका लागि पनि अठाेट उत्तिकै उपयोगी पुस्तक हो किनभने यसले वर्तमान शिक्षा प्रणालीको जानकारीलाई उजागर गर्दै बालबालिकाहरूलाई व्यवहारमुखी शिक्षाको आवश्यकता देखाउँछ। जीवनमा केवल किताबी ज्ञान पर्याप्त हुँदैन, व्यवहार, समझदारी, निर्णय क्षमता र सहनशीलता पनि आवश्यक हुन्छ भन्ने कुरा पुस्तकले बारम्बार जोड दिएको छ । अठाेट केवल एक पुस्तक नभएर एक जीवनदर्शन हो, जसले पाठकलाई आफूभित्र लुकेको सम्भावनाको पहिचान गराउँदै आत्मविकास गर्दछ । युवा पुस्तालाई सही मार्गमा डोर्याउँछ।
“खुसी रहने पहिलाे सूत्र आफूसँग जे छ त्यसैमा रमाउने”(पाठ १ पृष्ठ १५) भन्ने सन्देश धेरेै मन परेको छ । विशेष गरी बालबालिकाहरूका लागि लेखिएका जब हामी आफूसँग भएका साना साना कुरा जस्तै परिवार, साथीसँगी, स्वास्थ्य, शिक्षा, या दैनिक जीवनका सामान्य क्षणहरू प्रति आभार व्यक्त गर्छौं तब हामी साँचो सन्तुष्टि अनुभव गर्न थाल्छौँ । यदि हामी सधैँ केही अझै पाउनु छ भन्ने सोचमै सीमित रह्यौँ भने खुसी टाढा टाढा भागिरहन्छ तर जुन क्षण हामीले मसँग जे छ, त्यो पनि कति अमूल्य छ भन्ने महसुस गर्छौं, त्यही क्षणबाट जीवनमा वास्तविक आनन्द आउन थाल्छ । यो सोचले वर्तमानमा बाँच्न सिकाउँछ र वर्तमान नै त्यो ठाउँ हो जहाँ साँचो खुसी पाइन्छ । त्यसैले, पुस्तकले दिएको आफूसँग भएको कुरा नै पहिलो खुसीको स्रोत हो भन्ने विचार सरल छ, तर गहिरो छ । यो सन्देशले आफ्नै जीवनप्रति आभार प्रकट गर्न र सानो सानो कुरामा पनि खुसी खोज्न सिकाउँछ ।
निष्कर्ष:
श्रीश भण्डारीको पुस्तक ‘अठाेट उज्ज्वल भविष्यको’ एउटा प्रेरणादायक पुस्तक हो, विशेष गरी युवाहरूका लागि । यसमा लेखकले जीवनका अनुभव, सिकाइहरू र मनका कुराहरू सरल तर गहिरो शैलीमा लेखेका छन् । पुस्तकको अन्त्यमा कुनै ठोस निष्कर्ष होइन तर समग्र रूपमा यसले हामीलाई जीवनप्रति सकारात्मक सोच राख्न, समयको राम्रो उपयोग गर्न, अनि आफैँलाई चिनेर अघि बढ्न प्रेरित गर्छ । श्रीश भण्डारीले आफ्नै बाल्यकालका कुरा गर्दै अबको पुस्ताले कसरी समय, सोच र भावनालाई राम्रोसँग बुझ्नुपर्छ भन्ने कुरामा जोड दिएका छन् । उनले हाम्रो बानी र व्यवहारले हाम्रो भविष्य निर्माण गर्छ भन्ने कुरा स्मरण गराएका छन् ।
0 reads
Published on 7/2/2025
Shreeda Risal is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Shreeda Risal
Grade 9
Roll No: 29031
20
More Articles from
Student