ग्रामीण पर्यटनका प्रभाव
देशभित्र वा देशबाहिर छोटो अवधिका लागि भ्रमण गर्ने प्रक्रियालाई पर्यटन भनिन्छ । यस कार्यमा संलग्न व्यक्तिलाई पर्यटक भनिन्छ । पर्यटकलाई सुविधा उपलब्ध गराउने व्यवस्थित व्यवसायहरूलाई पर्यटन व्यवसाय भनिन्छ । नेपाल प्राकृतिक सौन्दर्य, विविध संस्कार, संस्कृति र परम्पराले भरिपूर्ण देश हो । यही कारणले गर्दा यहाँ हरेक वर्ष देशभित्र र बाहिरका धेरै पर्यटकहरू आउने गर्दछन् । उनीहरूले यहाँका प्राकृतिक सम्पदा, सांस्कृतिक सम्पदा र सामाजिक विविधता अवलोकन गर्दै नेपालको अर्थतन्त्रमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा योगदान पुर्याउँछन् । विशेष गरी ग्रामीण भेगमा पुगेर स्थानीय जीवन, संस्कृति र रहनसहनको अनुभव लिन चाहनेहरूका कारण ग्रामीण पर्यटन लोकप्रिय बन्दै गएको छ ।
ग्रामीण पर्यटन भन्नाले गाउँको परिवेश, स्थानीय संस्कृति, रहनसहन, खानपान र प्रकृतिसँग सम्बन्धित अनुभव प्रदान गर्ने पर्यटन हो । यसले ग्रामीण अर्थतन्त्रमा अनेकौँ सकारात्मक प्रभाव पार्दछ । पहिलो, यसले गाइड, ड्राइभर, होमस्टे, होटल व्यवसाय आदि क्षेत्रमा रोजगारी सिर्जना गरी बेरोजगारी घटाउँछ । दोस्रो, यसले स्थानीय उत्पादनहरूको बजार विस्तारमा सहयोग पुर्याउँछ र स्थानीय स्रोतसाधनको उपयोग बढाउँछ । तेस्रो, पर्यटन वृद्धिसँगै सडक, खानेपानी, स्वास्थ्य र सञ्चारजस्ता पूर्वाधारहरूको विकास हुन्छ । चौथो, अन्तर्राष्ट्रिय पर्यटकको आगमनबाट विदेशी मुद्रा आर्जन भई राष्ट्रिय अर्थतन्त्र सुदृढ बन्छ । यी सबै पक्षहरूले ग्रामीण क्षेत्रलाई आर्थिक रूपमा सबल बनाउँछन् र जनजीवनमा सुधार ल्याउँछन् ।
यद्यपि ग्रामीण पर्यटनसँग केही नकारात्मक असरहरू पनि जोडिएका छन् । अत्यधिक पर्यटनले स्थानीय संस्कृति र परम्परामा ह्रास ल्याउन सक्छ । पर्यटकहरूको दबाबका कारण वातावरणीय असन्तुलन, फोहोर व्यवस्थापनको समस्या र प्राकृतिक स्रोतको नाश पनि हुन सक्छ । पर्यटनले मूल्य वृद्धि र जीवनशैलीमा अनावश्यक परिवर्तन ल्याई स्थानीय बासिन्दाको जीवन कठिन बनाउँछ । कतिपय स्थानमा सामाजिक विकृतिको जोखिम समेत देखिन्छ । यी समस्यालाई न्यून गर्नका लागि स्थानीय समुदाय, सरकार र पर्यटन व्यवसायीबिच सहकार्य आवश्यक छ । सांस्कृतिक सम्पदाको संरक्षण, वातावरणमैत्री पर्यटन नीति र अनुशासित पर्यटन अभ्यासद्वारा यी नकारात्मक असरहरू नियन्त्रण गर्न सकिन्छ । यसरी ग्रामीण पर्यटनलाई जिम्मेवार र सन्तुलित रूपमा विकास गर्न सकेमा यसले देशको समग्र अर्थतन्त्रमा दीर्घकालीन सकारात्मक योगदान पुर्याउन सक्छ ।
0 reads
Published on 11/21/2025
Eshanee Manandhar is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Eshanee Manandhar
Grade 10
Roll No: 28004
26
More Articles from
Student