मेराे सपना
जीवनमा प्रत्येक व्यक्तिले भविष्यका लागि कुनै न कुनै सपना बोकेको हुन्छ । कसैको सपना चिकित्सक बन्ने हुन्छ, जसले मानिसको जीवन बचाउन योगदान दिन सक्छ । कसैको सपना इन्जिनियर बन्ने होला, जसले विकासका संरचना निर्माण गर्छ र कसैले उच्च सरकारी पदमा पुगेर राष्ट्रलाई सेवा गर्ने आकाङ्क्षा राख्लान् । यी सबै सपनाहरू समाजका लागि अत्यन्त महत्त्वपूर्ण र सम्माननीय छन्, किनकि यी पेसाले राष्ट्र निर्माणमा प्रत्यक्ष प्रभाव पार्छन् । अब चिकित्सक छैनन् भने बिरामिलाई सहयोग कस्ले गर्ने, इन्जिनियर बिना घर कसरी बनाउने अनि असल मान्छे बिना यो देश वा धर्ती कसले बनाउने र ? यिनै पेसागत सपनाहरूको भिडबिच मेरो सबैभन्दा ठुलो र गहिरो सपना केही फरक छ, मलाई यो जीवनमा सबैभन्दा पहिला त एउटा असल मानिस बन्नु छ ।
असल मानिस बन्ने सपना कुनै निश्चित पेसासँग जोडिएको छैन न त यसका लागि विशेष प्रशिक्षण आवश्यक हुन्छ । यो मानिसको दैनिक व्यवहार, चिन्तन र मूल्यहरूमा आधारित हुन्छ । मान्छेले चाहे जुनसुकै क्षेत्र रोजे पनि उसले अन्य व्यक्तिहरूप्रति दयालु, आदर र सहानुभूति प्रदर्शन गर्न सक्दैन भने त्यसलाई पूर्ण सफल मान्न सकिँदैन । पेसागत उपलब्धिहरू महत्त्वपूर्ण भए पनि मानवीयताको अभावले ती उपलब्धिहरू अधुरा बनाउँछन् भन्ने मेरो बुझाइ छ ।
आजको प्रतिस्पर्धात्मक संसारमा धेरै मानिसहरू प्रतिष्ठा, पद र आर्थिक सफलतालाई प्राथमिकता दिन्छन् । समाजले पनि प्रायः मानिसको मूल्याङ्कन उसको बाहिरी उपलब्धिका आधारमा गर्छ । जस्तै, ऊ कुन पदमा पुगेको छ, कति कमाइ गरेको छ, कस्तो जीवनशैली छ इत्यादि । मेराे दृष्टिमा मानवताको वास्तविक मूल्य भित्री गुणमा रहन्छ । अनुकूल समयमा भलाइ गर्नु सरल हुन्छ तर कठिन परिस्थितिमा पनि सत्य, इमानदार र सहानुभूतिपूर्ण व्यवहार कायम राख्नु नै एक राम्रो मानिसको पहिचान हो ।
असल मानिस बन्ने प्रक्रिया चुनौतीपूर्ण छ किनकि यसले बाहिरी संसारभन्दा बढी भित्री संसारको सामना गर्न बाध्य बनाउँछ । प्रत्येक दिन आफैँसँग लड्नुपर्छ, क्रोध, ईर्ष्या, लोभ, अहङ्कार र नकारात्मकताको विरुद्ध । हरेक परिस्थितिमा संयमित रहन, अरूलाई सम्मान दिन र गलत परिस्थिति आएको वेला पनि सही निर्णय गर्न सक्ने क्षमता विकास गर्नुपर्छ । यी सबै गुणहरू कम्प्युटर वा पुस्तकबाट सिकिने होइनन्, यी जीवनका दैनिक अनुभव, आत्मअनुशासन र नैतिक चेतनाबाट बिस्तारै विकसित हुन्छन् ।
यद्यपि चिकित्सकहरूले उपचार गरी शरीर निको पार्छन्, इन्जिनियरहरूले भौतिक संरचना निर्माण गर्छन्, शिक्षकहरूले ज्ञान बाँड्छन् तर एउटा असल मानिसले समाजको घाउ निको पार्छ । उसले सानासाना कार्यमार्फत पनि ठुलो परिवर्तन ल्याउन सक्छ, कुनै पीडामा परेका व्यक्तिलाई सुन्नु, कसैलाई सहयोग गर्नु, सम्मानपूर्वक व्यवहार गर्नु वा कुनै गलत कार्यको विरोध गर्नु जस्ता साना कामहरूले पनि समाजलाई सकारात्मक दिशामा अघि बढाउन सक्छ ।
मेरो भविष्य अहिले स्पष्ट रूपमा निर्धारण भएको छैन । म कुन पेसा रोज्ने छु ? कुन क्षेत्रतिर अघि बढ्ने छु, त्यो समयले नै बताउने छ तर पेसा जुनसुकै भए पनि, मानवीय मूल्यहरू मेरो जीवनको केन्द्रमा रहने छन् । म चाहन्छु, मानिसहरूले मलाई मेरो पदका कारण होइन, मेरो व्यवहारका कारण सम्झियून्, अरूहरू मेरो नाम सुनेपछि हो ऊ त असल मानिस हो भनेर भनून्, मेरो उपलब्धिका लागि मात्र होइन, मेरो सद्भावका लागि मलाई सम्मान गरून् । मलाई अरूबाट सम्मान चाहिएकाे छैन तर भोलि पर्सि मैले आफैँलाई हेरेर पछुताउनु नपरोस् ।
जीवनमा सबै कुरा क्षणिक हुन्छ । धन, पद र प्रतिष्ठा समयअनुसार बदलिन सक्छ तर एक राम्रो मानिसका सद्गुणहरू दीर्घकालीन हुन्छन्, जसले आफूसँगै समाजमा पनि सकारात्मक प्रभाव छोड्छन् । त्यसैले मेरो सबैभन्दा ठूलो सपना सबैजना जस्तै ठूलो पद प्राप्त गर्नु मात्र होइन, नैतिक रूपमा दृढ, जिम्मेवार, दयालु र असल मानिस बन्नु नै हो ।
0 reads
Published on 12/22/2025
Aadar Timalsina is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Aadar Timalsina
Grade 9
Roll No: 29046
24
More Articles from
Student