underline

पुस्तक समीक्षा : अपरिचित अनुहार

Underline

Share:

महेश पौड्याल समकालीन नेपाली साहित्यका एक प्रमुख र बहुपक्षीय लेखकमध्ये मानिन्छन् । समाजका सामान्य व्यक्तिहरूको असामान्य सङ्घर्ष, मनोविज्ञान, पीडा र सौन्दर्यलाई सरल तर गहिरो शैलीमा उतार्नु उहाँको विशेषता हो । उहाँका कथाहरूमा सामाजिक यथार्थ, मानव सम्बन्ध, वर्ग विभाजन, भावनात्मक उतार चढाव र आत्म पहिचानको खोज स्पष्ट देखिन्छ। पौड्यालले कथामा प्रयोग गर्ने भाषा सरल भए पनि भावनात्मक स्तरमा अत्यन्त प्रभावशाली हुन्छ। उहाँका कथा, निबन्ध र उपन्यासहरू नेपाली साहित्यमा निरन्तर रूपमा चर्चा पाउँदै आएका छन् । खास गरी अपरिचित अनुहारजस्ता कथासङ्ग्रहले उहाँलाई नेपाली कथाकारको बलियो परिवेशमा स्थापित गराएको छ।

अपरिचित अनुहार एक कथासङ्ग्रह हो, जसमा १८ वटा कथाहरू छन्, हरेक कथाले मानिसको एउटा ‘अनदेखा’ अनुहार देखाउँछ । बाहिरबाट हामीले जुन व्यक्ति देख्छौँ, त्यो प्रायः उसको वास्तविकता हुँदैन । उनीहरूको विगत, सङ्घर्ष, गल्ती, भोगाइ र सोच अलग्गै हुन्छ । यही अपूर्ण बुझाइ र समाजले मानिसलाई कतिको छिटो मूल्याङ्कन गर्छ भन्ने कुरा यस पुस्तकको मुख्य धेय हो । पुस्तकमा प्रस्तुत कथाहरूले सामाजिक विषमता, भित्री पीडा, मानवताको खोज, सफलताको पछाडि लुकेको दु:ख, र आफ्नो जीवन बदल्न सकिने सम्भावनाबारे बोल्छन् । यी कथाहरूले पाठकलाई कहिलेकाहीँ आत्मचिन्तन गराउँछन्, कहिलेकाहीँ समाजका कठोर सत्य देखाउँछन् तर अन्त्यमा सबै कथाले एउटा साझा कुरा सिकाउँछ प्रत्येक मानिसभित्र एउटा गहिरो, अपरिचित अनुहार लुकेको हुन्छ।

यी कथामध्ये चौकीभित्र–चौकीबाहिर विशेष रूपमा प्रेरणादायी छ। यो कथामा एउटा पात्रले जीवनमा भोगेका कठिनाइहरू, उसले पाएको अपमान, समाजले उसको क्षमता नरुचाउने दृष्टिकोण, अनि अन्त्यमा उसले गरेको आत्मपरिवर्तनलाई अत्यन्त प्रभावकारी रूपमा चित्रण गरेको छ । कथामा जीवनमा कहिले काहीँ चौकी नियन्त्रण र सीमाभित्र परेको जस्तै लाग्छ जहाँ मानिसले आफ्नो स्वतन्त्रता, सपना र आवाज गुमाएको अनुभव गर्छ । यही कठिन घडीले उसको सोच बदल्छ, आत्मबल बढाउँछ, अनि ऊ आफूलाई चौकीबाहिर निकालेर नयाँ जीवन सुरु गर्छ ।

मलाई यो अध्यायले धेरै प्रेरित गर्‍यो किनकि यसले मानिसलाई हराउन अरू धेरै तत्पर हुन्छन्, अरूले गल्ती देखेर नचाहिने आलोचना गर्छन्, कहिले काहीँ त तिम्रो पतन नै हेर्न चाहन्छन् । तर अन्ततः तिमीले विश्वास राख्नुपर्ने कुरा आफैँमा हो । कथाको पात्रले जस्तै, जीवन बदल्ने शक्ति अरूको हातमा होइन, आफ्नै निर्णय, अनुशासन र हिम्मतमा हुन्छ । कथाले यो पनि सिकाउँछ कि मानिसको जीवनलाई एक क्षणले परिभाषित गर्दैन बरु, त्यस क्षणबाट उठेर अगाडि बढ्ने क्षमताले परिभाषित गर्छ । समाजले तिमीलाई चौकीभित्र देखे पनि, तिमी आफैँले चौकीबाहिर निस्कन सक्छौ । यही सन्देश यो कथाको वास्तविक मूल्य हो।

समग्रमा अपरिचित अनुहार केवल कथाहरूको सङ्ग्रह मात्र होइन, यो मानिसकाे शारीरिक, मानसिक, समाजिक अवस्था बुझ्न मार्गदर्शन गर्ने पुस्तिका जस्तै लाग्छ । पुस्तकले बाहिरी रूपभन्दा भित्री सत्य महत्त्वपूर्ण हुन्छ भन्ने कुरा बारम्बार सम्झाउँछ । प्रत्येक कथाले मानिसको अनुहारभन्दा भित्री मन बुझ्न सिकाउँछ । कसैले देखेको सफलता, असफलता, गल्ती वा सङ्घर्ष मात्रै साँचो होइन; त्यसभित्र व्यक्तिकाे जीवन भाेगाइ, पीडा, संवेग र प्रयास कस्तो छ भन्ने कुरा बताउँछ । समाज कहिले कठोर हुन्छ, कहिले सहयोगी तर पुस्तकले अन्त्यमा एउटा सन्देश छोड्छ ‘परिवर्तनभित्र शक्तिशाली सत्य लुकेको हुन्छ । यो सत्य जब प्रकट हुन्छ तब मानिस आफ्नाे भित्री अनुहार पहिचान गर्न थाल्छ ।’ अपरिचित अनुहार सचेत, संवेदनशील र चिन्तनशील जीवनबारे सोच्न सबैले पढ्नैपर्ने कृति हो ।

यो पुस्तकले पाठकलाई केवल कथा पढाउने मात्र होइन, आफ्नो जीवनप्रति नयाँ दृष्टिकोण दिन सक्षम बनाउँछ। पुस्तकका हरेक कथामा कुनै न कुनै ठाउँमा आफूलाई भेटिन्छ, कहिले सङ्घर्षमा, कहिले आत्मविश्वासको अभावमा, कहिले समाजको कठोर व्यवहारसँग । यही कारणले अपरिचित अनुहार कुनै उमेरको सीमामा बाँधिने पुस्तक होइन; यो सबैका लागि उपयोगी प्रेरणास्रोत हो । यसले सिकाउँछ कि मानिस परिवर्तन हुन सक्छ, परिस्थितिले जति नै थिचे पनि आत्मबल अझै बाँकी हुन्छ । यसैले म यो पुस्तक सबैलाई सिफारिस गर्छु किनकि यसले तपाईंलाई मात्र कथाहरू दिँदैन, तपाईंलाई आफूभित्रको “अनदेखा अनुहार” भेट्न मद्दत गर्छ ।

0 reads

Published on 12/16/2025

Image

Aadar Timalsina is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Aadar Timalsina

Grade 9

Roll No: 29046

24

More Articles from

Student

Underline