underline

समयको महत्त्व

Underline

Share:

समयको महत्त्व

मानिसको जीवनमा समय सबैभन्दा महत्त्वपूर्ण कुरा हो । संसारमा धेरै यस्ता चिजहरू छन् जुन हराएपछि फेरि पाउन सकिन्छ, जस्तै पैसा, सामान वा अवसरहरू तर समय भने यस्तो चिज हो, जुन एकपटक बितेपछि कहिल्यै फर्केर आउँदैन । त्यसैले समयको सही उपयोग गर्न जान्नु नै सफल जीवनको आधार हो । समयलाई सम्मान गर्ने मानिसहरू जीवनमा अगाडि बढ्छन्, जबकि समयलाई बेवास्ता गर्ने मानिसहरू पछि पर्छन् ।

एक गाउँमा सुरेश नामको एउटा केटा बस्थ्यो । ऊ कक्षा १० मा पढ्थ्यो । ऊ बुद्धिमान त थियो तर उसको एउटा नराम्रो बानी थियो । ऊ समयको कदर गर्दैनथ्यो । ऊ सधैँ आफ्नो कामलाई पछि सार्थ्यो र "भोलि गर्छु" भनेर टार्ने गर्थ्यो । उसलाई खेल्न, साथीहरूसँग घुम्न र मोबाइल चलाउन धेरै मन पर्थ्यो । पढाइ भने उसको प्राथमिकतामा कहिल्यै पर्दैनथ्यो। उसका आमाबुबाले उसलाई धेरै पटक सम्झाएका थिए । बुबाले भन्नुहुन्थ्यो, "छोरा, अहिलेको समय नै तिम्रो भविष्य बनाउने समय हो । यसलाई खेर नफाल ।" आमाले पनि मायालु स्वरमा भन्नुहुन्थ्यो, "अहिले मेहनत गर्‍यौ भने भोलि आराम पाउँछौ ।" तर सुरेशले यी कुरा सुने पनि गम्भीर रूपमा लिँदैनथ्यो ।

विद्यालयमा शिक्षकहरूले पनि उसलाई धेरै पटक सचेत गराएका थिए । एक दिन उसको कक्षाशिक्षकले भने, "सुरेश, तिमीमा क्षमता छ तर तिमीले समयको सही उपयोग गर्न सकेका छैनौ । यदि तिमीले अहिले ध्यान दिएनौ भने पछि पछुताउनु पर्छ ।" यो कुरा सुन्दा सुरेश केही समय गम्भीर हुन्थ्यो तर केही दिनपछि फेरि पुरानै बानीमा फर्किन्थ्यो । समय बित्दै गयो । वार्षिक परीक्षा नजिकिँदै थियो । कक्षाका अरू विद्यार्थीहरू मेहनतका साथ पढिरहेका थिए । उनीहरू नोट बनाउँथे, शिक्षकसँग प्रश्न सोध्थे र समूहमा छलफल गर्थे तर सुरेश भने अझै पनि खेलकुद र मोबाइलमै व्यस्त थियो । उसलाई लाग्थ्यो, "अझै धेरै समय बाँकी छ, पछि पढ्न थाल्छु।"

अन्ततः परीक्षा सुरु भयो । पहिलो दिन नै सुरेश अलमलमा पर्‍यो । जब उसले प्रश्नपत्र हेर्‍यो, धेरै प्रश्नहरू उसलाई अपरिचित लागे । उसले उत्तर लेख्ने प्रयास गर्‍यो तर आत्मविश्वास थिएन । दिनप्रतिदिन उसको चिन्ता बढ्दै गयो । उसले महसुस गर्‍यो कि उसले समयको सही प्रयोग नगरेको कारण अहिले समस्या भोगिरहेको छ । परीक्षा सकिएपछि सुरेश निकै निराश भयो । उसले आफैँलाई दोष दिन थाल्यो । उसले सोच्यो, "यदि मैले पहिले नै पढेको भए, आज यस्तो अवस्था आउँदैनथ्यो ।" उसलाई आफ्नो गल्ती स्पष्ट देखिन थालेको थियो।

केही हप्तापछि नतिजा प्रकाशित भयो । सुरेशले धेरै विषयमा कम अङ्क ल्यायो । उसका साथीहरूले राम्रो अङ्क ल्याएका थिए । केहीले त उत्कृष्ट नतिजा पनि ल्याएका थिए । सुरेशलाई धेरै दुःख लाग्यो । ऊ घर फर्किँदा टाउको निहुराएको थियो । घरमा आमाबुबाले नतिजाबारे सोध्नुभयो । सुरेशले सबै कुरा इमान्दारीपूर्वक बतायो । उसले आफ्नो गल्ती स्वीकार गर्‍यो । आमाले शान्त स्वरमा भन्नुभयो, "गल्ती सबैबाट हुन्छ तर त्यसबाट सिक्न सक्नु नै ठुलो कुरा हो ।" बुबाले थप्नुभयो, "अझै समय छ, यदि तिमी परिवर्तन हुन चाहन्छौ भने ।"

त्यो दिन सुरेशले गम्भीर निर्णय गर्‍यो । उसले आफ्नो जीवनशैली परिवर्तन गर्ने सोच बनायो। उसले समयको मूल्य बुझ्ने प्रयास गर्‍यो । उसले दैनिक तालिका बनायो । बिहान उठ्ने समय, पढ्ने समय, आराम गर्ने समय र खेल्ने समय छुट्ट्यायो। उसले मोबाइलको प्रयोग पनि सीमित गर्‍यो । सुरुवातमा उसलाई धेरै गाह्रो भयो । पुरानो बानी छोड्न सजिलो थिएन। कहिलेकाहीँ उसलाई फेरि पुरानै तरिकामा फर्किन मन लाग्थ्यो तर उसले आफ्नो असफलता सम्झिन्थ्यो र आफूलाई रोक्थ्यो । उसले आफ्नो लक्ष्य स्पष्ट बनायो, अर्को परीक्षामा राम्रो गर्नु । दिनप्रतिदिन सुरेशमा परिवर्तन आउन थाल्यो। अब ऊ नियमित रूपमा विद्यालय जान्थ्यो, शिक्षकको कुरा ध्यानपूर्वक सुन्थ्यो र घर आएपछि पढाइमा समय दिन्थ्यो । उसले साथीहरूसँग पनि पढाइसम्बन्धी कुरा गर्न थाल्यो । बिस्तारै उसको आत्मविश्वास बढ्दै गयो ।

केही महिनापछि अर्को परीक्षा आयो । यसपटक सुरेश तयार थियो । उसले मेहनतका साथ परीक्षा दियो। प्रश्नहरू बुझिन्थे र उसले स्पष्ट रूपमा उत्तर लेख्यो । परीक्षा सकिएपछि ऊ सन्तुष्ट थियो, किनकि उसले आफ्नो तर्फबाट पूरा प्रयास गरेको थियो । जब नतिजा आयो, सुरेशले राम्रो अङ्क ल्यायो । यो उसका लागि ठुलो सफलता थियो । उसका आमाबुबा खुशी भए, शिक्षकहरूले पनि उसको प्रशंसा गरे । सबैभन्दा ठुलो कुरा, सुरेश आफैँ आफ्नो परिवर्तनबाट गर्वित थियो ।

उसले जीवनको एउटा महत्त्वपूर्ण पाठ सिक्यो, समयको सही उपयोगले नै सफलता ल्याउँछ । समयलाई बेवास्ता गर्दा असफलता आउँछ तर समयको सम्मान गर्दा अवसरहरू खुल्छन् । आजको समयमा धेरै युवाहरू समयलाई हल्का रूपमा लिन्छन् । मोबाइल, खेल, सामाजिक सञ्जाल जस्ता कुरामा धेरै समय बिताउँछन् । यी कुराहरू पूर्ण रूपमा गलत होइनन् तर यदि सीमित रूपमा प्रयोग गरिएन भने यसले भविष्यमा असर पार्न सक्छ।

समय व्यवस्थापन सिक्नु आजको आवश्यकता हो । यदि हामीले आफ्नो समयलाई राम्रोसँग योजना बनाएर प्रयोग गर्‍याैँ भने हामीले धेरै काम सफलतापूर्वक गर्न सक्छौँ । थारै समयलाई पनि उपयोगी बनाउनु सक्छाैँ । खाली समयलाई पढाइ, सीप विकास वा सिर्जनात्मक काममा लगाउन सकिन्छ ।

अन्त्यमा, समय जीवनको सबैभन्दा मूल्यवान् सम्पत्ति हो । यसलाई गुमाएर फेरि पाउन सकिँदैन । त्यसैले हामीले प्रत्येक क्षणको मूल्य बुझ्नुपर्छ । आजको दिनलाई सही रूपमा उपयोग गर्‍याैँ भने भोलिको भविष्य उज्यालो हुन्छ । यसैले, हामी सबैले समयको सम्मान गरौँ, यसको सही उपयोग गरौँ र आफ्नो जीवनलाई सफल बनाउने प्रयास गरौँ । किनकि समय नै जीवन हो, र जीवनलाई राम्रो बनाउने जिम्मा हाम्रो आफ्नै हातमा छ ।

2 reads

Published on 3/22/2026

Image

Aadar Timalsina is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Aadar Timalsina

Grade 9

Roll No: 29046

24

More Articles from

Student

Underline