महिला हिंसा
महिला हिंसा एक गम्भीर सामाजिक समस्या हो । जसले समाजको समुचित विकासमा अवरोध पुर्याइरहेको छ । महिला हिंसा भन्नाले महिलामाथि गरिने कुनै पनि प्रकारको शारीरिक, मानसिक, यौन, आर्थिक वा सामाजिक दुर्व्यवहारलाई जनाइन्छ । नेपालजस्तो पुरुषप्रधान समाजमा महिलाहरू अझै पनि विभेद, शोषण र हिंसाको सिकार भइरहेका छन् । यस्ता हिंसाले नारीको आत्मसम्मान, स्वाभिमान, अधिकार र स्वतन्त्रताको हनन गर्छ ।
महिला हिंसाका प्रकारहरू:
शारीरिक हिंसा: महिलालाई कुटपिट गर्नु, जलाउनु, गम्भीर चोट पुर्याउनु वा हत्या गर्नु जस्ता कार्यहरू शारीरिक हिंसामा पर्छन् ।
मानसिक हिंसा: लगातार गाली गर्नु, अपमानजनक शब्द प्रयोग गर्नु, डर त्रास देखाउनु, आत्मबल कमजोर पार्ने व्यवहार गर्नु मानसिक हिंसाका लक्षण हुन् ।
यौन हिंसा: जबरजस्ती यौन सम्बन्ध कायम गर्नु, बलात्कार गर्नु, यौन दुर्व्यवहार गर्नु, अश्लील टिप्पणी वा व्यवहार गर्नु आदि यौन हिंसामा पर्छन् ।
आर्थिक हिंसा: महिलालाई काम गर्न नदिनु, कमाएको पैसा जबर्जस्ती लिने, सम्पत्तिमा अधिकार नदिनु, खर्चमा नियन्त्रण गर्नु आदि आर्थिक हिंसा हुन् ।
सामाजिक हिंसा: एकल महिला, तलाकशुदा वा विधवाहरूलाई हेय दृष्टिले हेर्नु, छोरी जन्माउने महिलालाई दोषी देखाउनु, छाउपडीजस्ता अमानवीय व्यवहार गर्नु सामाजिक हिंसाका उदाहरण हुन् ।
डिजिटल हिंसा: अहिलेको इन्टरनेट युगमा महिलामाथि साइबर अपराध, ब्ल्याकमेलिङ, नक्कली तस्वीर पोष्ट गर्नेजस्ता हिंसाहरू बढ्दो छ ।
महिला हिंसाका कारणहरू:
पुरुषप्रधान सोच र संस्कार: महिलालाई दोस्रो दर्जाको मान्ने सामाजिक संरचना
शिक्षा र चेतनाको कमी: महिलाहरू आफ्ना अधिकारबारे अनभिज्ञ हुने
कानुनी कार्यान्वयनमा कमजोरी: कानुन त भए पनि कार्यान्वयन कमजोर हुने
आर्थिक निर्भरता: महिलाको आम्दानी नहुनु वा आत्मनिर्भर नहुनु
सामाजिक परम्परा र रूढीवादी सोच: दाइजो, छाउपडी, बालविवाहजस्ता कुप्रथाले हिंसा जन्माउँछ
महिला हिंसाका असरहरू:
महिलामा आत्मबल र आत्मविश्वासको कमी
मानसिक तनाव, डिप्रेशन, आत्महत्याको प्रयास
बालबालिकामा नकारात्मक असर
सामाजिक विकासमा अवरोध
लैंगिक समानता हासिल गर्न गाह्रो
समाधान र उपायहरू:
शिक्षा र चेतना वृद्धि: महिला तथा पुरुष दुवैमा समान शिक्षा र लैंगिक संवेदनशीलताको शिक्षा दिनुपर्छ।
कानुनी सशक्तीकरण: बलियो कानुनी संरचना र प्रभावकारी कार्यान्वयन आवश्यक छ।
महिलाको आत्मनिर्भरता: महिलालाई आर्थिक रूपमा सक्षम बनाउनु आवश्यक छ।
समाजको सोच परिवर्तन: महिला र पुरुषलाई समान अधिकार र अवसर दिनुपर्ने सोच विकास गर्नुपर्छ।
संस्थागत सहयोग: सरकारी, गैरसरकारी र सामाजिक संस्थाले संयुक्त रूपमा महिला हिंसाको अन्त्यका लागि पहल गर्नुपर्छ।
निष्कर्ष:
महिला हिंसा समाजको एउटा गहिरो घाउ हो । जसलाई निर्मूल गर्न सबैले आ-आफ्नो ठाउँबाट प्रयास गर्नुपर्छ । जबसम्म महिलाहरू सुरक्षित, सम्मानित र आत्मनिर्भर हुँदैनन् तबसम्म कुनै पनि समाज प्रगतिशील बन्न सक्दैन हिंसामुक्त, समान र न्यायपूर्ण समाज निर्माण गर्नु हामी सबैको कर्तव्य हो । महिला हिंसा अन्त्यको अभियान घर घरबाट सुरु हुनुपर्छ ।
0 reads
Published on 1/22/2026
Pratik Aanand Karn is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Pratik Aanand Karn
Grade 8
Roll No: 30048
13
More Articles from
Student