पृथ्वीको अमूल्य उपहार
प्रकृति भन्नाले हामी वरिपरिको वातावरण भन्ने बुझिन्छ । हामीले पिउने पानी, खाने खाना, घुम्ने ठाउँ, जङ्गल आदि सबै प्रकृतिबाट नै आएको हो । प्रकृतिकै कारणले गर्दा अहिले हामी यस जगत्मा जीवित छौँ र आफ्ना दैनिक आवश्यकता पूरा गर्न सकिरहेका छौँ । त्यसै कारणले गर्दा प्रकृतिलाई पृथ्वीको अमूल्य उपहार भनिएको हो ।
नेपालकै सन्दर्भमा हेर्दा, नेपाल प्रकृतिका विभिन्न स्वरूपले भरिपूर्ण मुलुक हो । सगरमाथाको अग्लो शिरमुकुटदेखि लिएर तराईका फाँटहरूसम्म प्रकृतिकै अनुपम उपहार पाइन्छ । खोला, नदीनाला, वनजङ्गल, हिमाल आदि पृथ्वीका अमूल्य उपहार हुन् । नेपालमा प्रकृतिका यस्ता स्वरूपहरू प्रशस्त भएकाले हामीले गर्व गर्नुपर्छ ।
प्रकृतिले हामीलाई जेजे दिन्छ, हामीले पनि प्रकृतिलाई त्यहीअनुसार माया र संरक्षण दिनुपर्छ । समाज आधुनिकीकरणतर्फ लागेसँगै मानिसहरूले प्रकृतिको हेरचाह गर्न छोडिसकेका छन् । आजभोलि नदीनाला मिचेर घर तथा भवन बनाइएका छन् । वनजङ्गल फँडानी गरिएको छ । जनावरहरू पनि प्रकृतिकै हिस्सा हुन् । जनावरहरूले त मानिसको घर भत्काएका छैनन् भने हामीले पनि वन, रुख तथा नदीनाला नष्ट गर्नु हुँदैन ।
प्रकृति जति आवश्यक छ, त्यति नै आवश्यक यसको संरक्षण गर्नु पनि हो । मानिसहरूले जथाभावी फोहोर फाल्छन्, गाडीको पेट्रोल तथा डिजेलको अनावश्यक प्रयोग गर्छन् र प्रकृतिका अमूल्य स्वरूपलाई नष्ट पार्छन् । प्रकृति भनेको पृथ्वीले दिएको अमूल्य उपहार हो, जसलाई हामीले स्वच्छ र सुरक्षित राख्नुपर्छ ।
नेपालमा विदेशी पर्यटकहरू प्रकृति हेर्नकै लागि आउँछन् । चितवन राष्ट्रिय निकुञ्जको जैविक विविधता, नदीनालाको सौन्दर्य तथा हिमालको आकर्षण हेर्न विदेशी पर्यटकहरूले धेरै पैसा खर्च गर्छन् । हामीले भने पैसा नतिरीकनै प्रकृतिको आनन्द लिन पाइरहेका छौँ ।
प्रकृति भनेको पृथ्वीको अमूल्य उपहार हो, जसको मूल्य तिर्न नपरे पनि यसको रक्षा भने अवश्य गर्नुपर्छ । प्रकृतिको सौन्दर्यको वर्णन गरेर सकिँदैन । प्रकृति सुन्दर हुनुका साथै अत्यन्त महत्त्वपूर्ण पनि छ । जसरी हामी आफ्नो उपहारलाई सम्मानका साथ राख्छौँ, त्यसरी नै पृथ्वीले दिएको यस अमूल्य उपहारको सम्मान र कदर गर्न आवश्यक छ ।
0 reads
Published on 5/22/2026
Paridhi Pant is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Paridhi Pant
Grade 9
Roll No: 30054
22
More Articles from
Student