underline

फिफा विश्वकप

Underline

Share:

फिफा विश्वकप

मानव सभ्यताको विकासक्रममा खेलकुद केवल शारीरिक कसरत वा मनोरञ्जनको साधन मात्र नभई सम्पूर्ण मानव समाजलाई एकताबद्ध गर्ने, संस्कृतिको आदानप्रदान गर्ने र राष्ट्रिय पहिचान स्थापित गर्ने एउटा अनुपम माध्यमका रूपमा विकसित हुँदै आएको छ । संसारमा रहेका अनगिन्ती खेलकुदहरूमध्ये 'फुटबल' लाई विश्वकै सर्वाधिक लोकप्रिय, रोमाञ्चक र प्रभावकारी खेल मानिन्छ । जसले भौगोलिक सीमा, भाषा, धर्म, वर्ण र जातजातिको फराकिलो परिधिहरूलाई पूर्ण रूपमा पन्छाएर करोडौँ मानिसको भावनालाई एउटै सूत्रमा बाँध्ने काम गर्दछ । 'फिफा विश्वकप' (FIFA World Cup) प्रत्येक चार वर्षमा आयाेजना गरिन्छ । याे सन् १९३० मा उरुग्वेको मोन्टेभिडियोबाट सानो स्तरमा सुरु भएको हाे । यसै सन्दर्भमा, नेपाल भौगोलिक रूपमा टाढा रहेको देशमा पनि विश्वकपप्रतिको क्रेज, उत्साह र भावनात्मक लगाउ विश्वका कुनै पनि ठुला फुटबल राष्ट्रभन्दा कत्ति पनि कम छैन । बरु यो यहाँका जनमानसमा एक प्रकारको उत्सवका रूपमा स्थापित भइसकेको छ । यद्यपि नेपाली राष्ट्रिय टोलीले अहिलेसम्म विश्वकपको मुख्य चरणमा खेल्ने अवसर प्राप्त गर्न नसके तापनि प्रत्येक चार वर्षमा आउने विश्वकपको महिनामा नेपालका सहरदेखि दूरदराजका गाउँहरू समेत पूर्ण रूपमा ब्राजिल, अर्जेन्टिना, जर्मनी र फ्रान्स जस्ता राष्ट्रका झन्डाले रङ्गिने गर्दछन् र चिया पसलदेखि ठुला होटेलहरूमा मध्यरातसम्म खेल हेर्ने नेपाली युवाहरूको ऊर्जाले यो प्रमाणित गर्छ कि भौगोलिक सीमाहरूले भावनालाई रोक्न सक्दैनन् । समग्रमा भन्नुपर्दा, सन् १९३० को सानो बीउबाट आज विशाल वटवृक्षको रूप धारण गरिसकेको फिफा विश्वकप केवल गोल र ट्रफीहरूको सङ्ग्रह मात्र होइन । यो मानव इतिहासका कैयौँ सङ्कट, युद्ध र विभाजनहरूलाई चिर्दै विश्वलाई एकताबद्ध गर्ने सबैभन्दा शक्तिशाली पुल हो । जसले हामीलाई पराजयबाट उठेर विजय हासिल गर्न, कठिन परिस्थितिसँग जुध्न र मानिसबिचको प्रेम तथा सद्भावलाई सधैँ जीवित राख्न जीवनपर्यन्त प्रेरणा दिइरहनेछ ।

2 reads

Published on 9/7/2026

Image

Aayan Rai is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Aayaan Rai

Grade 8

Roll No: 31006

18

More Articles from

Student

Underline