underline

पुस्तक समीक्षा : हजुरआमाकाे लाैराे

Underline

Share:

विषयप्रवेश:

‘हजुरआमाको लौरो’ एक महत्त्वपूर्ण नेपाली बाल उपन्यास हो, जसलाई चर्चित लेखक रामदेव पाण्डेले लेख्नुभएको हो । यो उपन्यास डा. देवी नेपालले सम्पादन गर्नुभएको छ भने दीपक सुनारले ग्राफिक्स लेआउट तयार गर्नुभएको हो । यसका चित्रकलाहरू राजकुमार प्रजापतिले कोरेका हुन् । पुस्तकलाई ऐरावती प्रकाशन प्रा.लि.ले प्रकाशित गरेको हो, जसमा १५ अध्यायहरू र ११२ पृष्ठ रहेका छन् । यसको पहिलो संस्करण २०६८ सालमा प्रकाशित भएको थियो । दोस्रो संस्करण २०७३ मा र तेस्रो संस्करण भने २०७५ मा प्रकाशित भएको हो ।

कथावस्तु:

कथाको सुरुवातमा छाया नामकी बालिका सपना देखेर आफ्नो हजुरआमासँग छलफल गर्दै छिन् । छायाले सपनामा विद्यालयमा भएकाे रिजल्टमा आफू प्रथम भएकाे सपना देखेकी थिइन् । बिहान खुसी हुँदै हजुरआमासँग कुरा गर्न पुग्छिन् । हजुरआमा सपनाको उल्टो हुने विश्वासका कारण चिन्तित हुनुभयाे तर छायाले हजुरआमालाई परीक्षाको नतिजा राम्रो आउने आश्वासन दिन्छिन् ।

छाया विद्यालयबाट नतिजा लिएर आउँछिन् । उनी विद्यालयमा प्रथम भएकाे कुरा हजुरआमा र उनकी आमा निर्मलाले थाहा पाउँछन् । तर, छायाको नेपाली विषयमा थोरै कम अङ्क आएको देखेर निर्मला रिसाउँछिन् । समय बित्दै जाँदा निर्मलाले आफ्नी छोरीलाई होस्टलमा पठाउने निर्णय लिन्छिन् साथीहरूको सल्लाहपछि । छायाको बुबा बिमललाई पनि होस्टलको बारेमा सहमत गराएर नर्मलाले छायालाई काठमाडौँको एउटा होस्टलमा पठाइन्छ । हजुरआमा यो निर्णयको विरोध गर्छिन्, तर उनलाई सुनिँदैन ।

छायाले होस्टलमा आफूलाई असहज महसुस गर्छिन् । दसैँमा घर फर्कँदा हजुरआमा भेट्न पाउँदा उनी खुसी हुन्छिन् तर हजुरआमा सधैँजस्तो देखिँदिनन् । निर्मलाले हजुरआमालाई वृद्धाश्रम पठाउन खोजिरहेको थाहा पाएपछि छाया चिन्तित हुन्छिन् । वृद्धाश्रममा छोडिएकी हजुरआमालाई भेट्न छाया गुपचुप योजना बनाउँछिन् । उनले गार्डसँग कुरा गरेर हजुरआमालाई भेट्न जान्छिन् । जब निर्मला छाया हराएको सूचना प्रहरीलाई दिन्छिन्, प्रहरीले खोजी गर्दा खोला किनारमा छाया उमेरकी बालिकाको शव भेट्टाउँछन्, जसलाई छायाको रूपमा मानिन्छ ।

तर वास्तविकता फरक हुन्छ । छाया वृद्धाश्रममा हजुरआमासँगै हुन्छिन् । उनीहरूले केही समय सँगै बिताउँछन्, र अन्त्यमा छाया भेट्टाउँदा निर्मला माफी माग्छिन् । छायालाई मन्त्रीले पुरस्कृत गर्ने तयारी गर्दै गर्दा छायाले आमाको व्यवहारको बारेमा सबैलाई बताउँछिन् । यो घटनाले समाजमा हजुरआमा, बुबाको हेरचाहको महत्त्वबारे एउटा ठुलो सन्देश दिन्छ ।

पात्रहरू:

यस उपन्यासका मुख्य पात्र छाया हुन् । उनी बालकथा भित्रको केन्द्रमा रहेकी पात्र हुन् जसले आफ्नी हजुरआमासँग सधैँ राम्रो सम्बन्ध राख्छिन्। हजुरआमा पनि एक प्रमुख पात्र हुन् जसले छायालाई जीवनभर सहारा दिन्छिन्। छायाको आमा निर्मला, कथामा नकारात्मक पात्रको रुपमा प्रस्तुत भएकी छिन् किनकि उनले छायालाई होस्टलमा राख्ने र हजुरआमालाई वृद्धाश्रम पठाउने निर्णय लिन्छिन्। अन्य सहायक पात्रहरूमा बिमल, छायाका साथीहरू, होस्टलका कर्मचारीहरू, प्रहरी र पत्रकारहरू समावेश छन्।

परिवेश:

हजुआामाकाे लाैराे बालउपन्यासमा भौगोलिक परिवेशकाे रूपमा छायाको घर, विद्यालय, होस्टल, र वृद्धाश्रम जस्ता स्थानहरू देख्न सकिन्छ। छाया सधैँ आफ्नी हजुरआमालाई आदर र माया गर्छिन्, र जब उनले हजुरआमालाई वृद्धाश्रममा राखिएको थाहा पाउँछिन्, उनी आफ्नो कर्तव्य सम्झेर उनलाई भेट्न जान्छिन्। समयगत परिवेशमा हामीले केही वर्षको अन्तरमा घटनाहरू भएको अनुमान गर्न सक्छौँ।

निष्कर्ष तथा सिफारिस:

‘हजुरआमाको लौरो’ बाल उपन्यासले हामीलाई वृद्धावस्थामा रहेका व्यक्तिहरूलाई कसरी माया र सम्मान गर्नुपर्छ भन्ने महत्त्वपूर्ण सन्देश दिन्छ। यो पुस्तक सबै उमेरका पाठकहरूका लागि पठनीय छ, विशेष गरी किशोरावस्थाका बालबालिकाहरू र अभिभावकहरूलाई। लेखकले समसामयिक समाजमा भइरहेको वृद्धहरूको उपेक्षा र वृद्धाश्रममा पठाउने चलनलाई गहिरो रूपमा चित्रण गरेका छन्। मैले पनि यो पुस्तक निकै रुचाएँ र सिफारिस गर्न चाहन्छु कि सबैले यसलाई पढ्नुपर्छ।

2 reads

Published on 8/29/2025

Image

Yavna Sharma is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Yavna Sharma

Grade 9

Roll No: 29066

18

More Articles from

Student

Underline