नेपाली संस्कृतिमा लोकगीतको प्रभाव
नेपाली संस्कृतिमा लोकगीतको प्रभाव
स्थानीय लोकजीवन तथा लोकसम्बन्धित चाडपर्व, परम्परा, मेला तथा उत्सवमा गाइने र रमाइने गीतलाई नै लोकगीत भनेर बुझ्न सकिन्छ। लोकगीत भन्नाले हाम्रो लोकको आत्मा हो। जसरी आत्माबिनाको शरीर निर्जीव हुन्छ, त्यसै गरी लोकगीतबिनाको हाम्रो नेपाली संस्कृति पनि अधुरो हुन्छ। पानीको तरङ्ग लोकगीत हो भने त्यस तरङ्गमा मिसिने नदी संस्कृति हो।
लोकद्वारा रचिएको भावना र संस्कृतिको मिसावट नै लोकगीत हो। त्यसै गरी लोकगीतले हामी नेपालीको संस्कृति, भाषा र तस्बिर झल्काउँछ। पुर्खादेखि चलिआएको सङ्गीत तथा लयले नै लोकगीत बन्न सहयोग पुर्याउँछ। विविधतामा एकीकृत भएको हाम्रो मुलुकले समुदाय र समाजअनुरूप सबै समुदायलाई सम्मान गर्दै लोकगीतमार्फत हाम्रो देशलाई समेटेको छ र यसले एउटा मूल्यवान् भूमिका खेलेको छ।
जसरी नेपाली समाजमा विविधतामा एकताको माला रहेको छ, त्यसरी नै लोकगीतमा पनि विभिन्न रङहरू मिसिएर बनेको इन्द्रेनी छ। तामाङ सेलो, पूर्वेली लोकगीत, तिज गीत, देउडा गीत, होरी गीतहरूले हाम्रो नेपाली समाजलाई बाँधेर राख्न सफल भएका छन्। पूर्वी नेपालमा गाइने हाक्पारे गीत, सुदूरपश्चिमको देउडा, तराईको होरी गीत, लमजुङ, तनहुँ, स्याङ्जा आदिको ठाडी भाका तथा मध्य र पश्चिम पहाडी क्षेत्रमा प्रचलित लाेकभाकाले हाम्रो नेपाली संस्कृतिलाई चिनाउँछन् र नेपालीहरू माझ इन्द्रेनी छर्छन्।
विविध जातजातिहरूका लोकगीत एक भएर हाम्रो नेपाली समाजका चाडपर्व तथा नाचगानमा प्रयोग हुने बाजाहरूको जन्म हुन्छ । लोकगीतले नेपाली समाजको सङ्घर्ष र साथै खुसीयाली पनि प्रतिनिधित्व गर्छ । धान रोपाइँको समयमा गाइने असारे गीत, दसैँमा गाइने मालश्री तथा तिहारमा गाइने देउसी, भैलाे नेपाली समाजका मूल विशेषतामध्ये एक हुन्।
लोकगीत धेरै अघिदेखि चलिआएको पाइन्छ र हाम्रो संस्कृतिलाई झल्काउनमा ठुलो मद्दत तथा सहयोग गरेको छ । यसलाई संरक्षण गर्ने कार्यमा अहिलेको नयाँ पुस्ताको महत्त्वपूर्ण हात रहन्छ । लोकगीत तथा बाजाको संरक्षण गरेमा नेपाल तथा नेपालीहरूको पहिचान यस संसारमा कहिल्यै नष्ट हुँदैन। लोकगीतले हाम्रो नेपालको मौलिकतालाई जगेर्ना गर्दछ। युवा पुस्तामा विकास हुँदै गएको आधुनिक सङ्गीतसँगै लोकगीतको पहिचान भने रहिरहन्छ।
निष्कर्षमा, लोकगीतले गर्दा हाम्रो संस्कृति र राष्ट्रको महत्त्व जहिल्यै बढिरहन्छ। हाम्रो राष्ट्रिय गौरवको तस्बिर देखाउँदै नेपाली लोकगीतले हाम्रो देश र देशका नागरिकहरूमा सधैँ इन्द्रेनी छरिरहन्छ।
0 reads
Published on 5/21/2026
Aadhyashree Poudyal is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Aadhyashree Poudyal
Grade 10
Roll No: 29060
12
More Articles from
Student