underline

नेपालको राजनीतिक परिवर्तनमा जेनजी आन्दाेलन

Underline

Share:

वि.सं. २०८२ भदौ २३ र २४ को घटना हरेक नेपालीको मनमा अझै पनि ताजा छ । यो दिन सामान्य आन्दोलन मात्र नभई देशव्यापी ठुलो क्रान्ति आयो । ७२ जनाको मृत्युसहित देशभर कर्फ्यु जारी भयो र अन्ततः सरकारले राजिनामा दियो। यस घटनाले नेपालको इतिहास नै बदलियो।

आन्दोलन हुनुभन्दा केही दिनअगाडि ‘नेपोबेबी’काे विषय देशभरि छ्याप्छ्याप्ती फैलिएको थियो। नेताहरूका छोराछोरीले विलासी जीवन बिताएको विषयमा युवाहरू खासगरी आक्रोशित थिए। त्यसै गरी अचानक टिकटक हटाइने, सरकारका फेसबुक र इन्स्टाग्राम जस्ता आधिकारिक पेजहरू बन्द गरिने निर्णय भएपछि विशेषतः युवा पुस्ता एकजुट भए र शान्तिपूर्ण आन्दोलनको घोषणा गरियो। यस आन्दोलनलाई ‘जेएनजी आन्दोलन’ को रूपमा पनि प्रचार गरियो। यो आवाजलाई साधारण जनतासहित धेरै प्रसिद्ध कलाकार, काठमाडौँ महानगरपालिकाका प्रमुख आदिले समेत खुलेर समर्थन गरे।

भदौ २३ को बिहान माइतीघरमा शान्तिपूर्ण आन्दोलन सुरु भयो। “डुङ्गामुढा नगरौँ, शान्तिपूर्ण रूपमा हाम्रो आवाज राखौँ” भन्ने माइकिङ भइरहेकै थियो। सुरुमा भिड कम थियो तर बिस्तारै बढ्दै गयो। प्रदर्शन माइतीघरबाट बानेश्वरतर्फ अघि बढ्यो। बानेश्वरमा प्रहरीले ब्यारिकेट राखेर रोक्ने प्रयास गर्‍यो।तर पछि आन्दोलन हिंसात्मक बन्दै गयो र ब्यारिकेट फोडेर भिड संविधानसभातर्फ लम्कियो।

स्थिति तनावपूर्ण बन्दै गएपछि प्रहरीले पानी फोहरा, हवाई फायरिङ, अश्रुग्यास आदि प्रयोग गर्‍यो। त्यसपछि रबर बुलेट र अन्त्यमा सक्कली बुलेटसम्म प्रयोगमा आए। झडपको बेला धेरै विद्यार्थी विद्यालयको पोसाकमै थिए तर उनीहरूलाई समेत टाउकाेतर्फ लक्षित गरी गोली चलाइयो। देशका विभिन्न स्थानहरूमा १९ जना मारिए र देशभर कर्फ्यु जारी भयो।

त्यो रात अत्यन्तै डरलाग्दो वातावरण सिर्जना भयो। भ्रामक सूचनाहरू तीव्र रूपमा फैलिन थाले, जसले जनतामा प्रहरीप्रति झनै डर उत्पन्न गर्‍यो । १९ जनाको मृत्यु मात्र होइन, सयभन्दा बढी घाइते भएका थिए। केही अस्पतालभित्रसम्म प्रहरीले बल प्रयोग गरेको देखियो। यस अवस्थाले जनतामा सरकारप्रति ठुलो आक्रोश बढायो।

भदौ २४ मा कर्फ्यु लागेकै बेला विभिन्न स्थानमा जनसमूह फेरि भेला भए र बानेश्वरतिर अघि बढे। अब यो आवाज केवल युवाको मात्र नभई समग्र नेपालीको बनिसकेको थियो। भीडले प्रहरी कार्यालय, सरकारी कार्यालयहरू तोडफोड गर्दै अगाडि बढ्यो। नेताहरूका घर, पार्टी कार्यालय, हिल्टन, डोबल कलेज जस्ता नेतासँग सम्बन्धित स्थानहरू तोडफोड गरिए। अन्ततः गृहमन्त्री, प्रधानमन्त्रीलगायतका प्रमुख नेताहरूले राजिनामा दिए र सरकार ढल्यो। जनताको रिस त्यतिमै रोकिएन। सर्वोच्च अदालत, संसद भवन, सिंहदरबार लगायत धेरै भवनहरूमा आगजनी गरियो। नेताहरू घर छाडेर भागिसकेका थिए र प्रहरी जनताका अगाडि नतमस्तक हुन बाध्य भएको थियो। तर यस दिन देशले धेरै ऐतिहासिक भवनसमेत गुमायो ।

त्यो साँझ काठमाडौँको आकाश कालो धुवाँले ढाकिएको थियो। जताततै आगलागी, सुरक्षा र कानुनको अभाव थियो। जनताले सरकार ढालेर ऐतिहासिक विजय त पाए, तर देशले ठुलो मूल्य चुकायो। त्यसपछि नयाँ सरकार गठन गरियो र फागुन २१ गते निर्वाचनको घोषणा भयो ।

तर, के वास्तविक परिवर्तन आएको छ ?

परिवर्तन तब मात्र सम्भव हुन्छ जब हामी फागुन २१ को निर्वाचनमा पुराना कमजोर नेतृत्वलाई हटाएर सक्षम, स्वच्छ र नयाँ पुस्तालाई अवसर दिन्छौँ।

अन्त्यमा, जेएनजी आन्दोलनले नयाँ सरकार त ल्यायो, तर वास्तविक परिवर्तन अझै बाँकी छ। नेपालको राजनीतिक परिवर्तन यो ६ महिने अस्थायी सरकारले होइन, आगामी निर्वाचित सरकारले ल्याउने हो। अब हाम्रो कर्तव्य सबै नेपालीको कर्तव्य नयाँ, सक्षम र स्वच्छ उम्मेदवारलाई जिताएर देशमा वास्तविक परिवर्तन ल्याउनु हो।

0 reads

Published on 11/24/2025

Image

Pratik Dangol is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Pratik Dangol

Grade 11

Roll No: 27009

16

More Articles from

Student

Underline