आइ.सि.सि विश्वकपः २०२४
आइ.सि.सि विश्वकपः २०२४
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (ICC) द्वारा सन् २०२४ मा टि-ट्वान्टी विश्वकप आयोजना गरिएको थियो, जुन खेल अमेरिका र वेस्ट इन्डिजमा सम्पन्न भयो। यो विश्वकप नेपालका लागि विशेष महत्त्वपूर्ण थियो, किनकि नेपालले १० वर्षपछि आइसिसी विश्वकप प्रतियोगितामा पुनः सहभागिता जनाएको थियो। यस विश्वकपको एसिया क्वालिफायरमा नेपालले संयुक्त अरब इमिरेट्स (UAE) लाई हराउँदै विश्वकपमा आफ्नो स्थान सुरक्षित गरेको थियो। क्रिकेटको सबैभन्दा छोटो र तीव्र फर्म्याटका रूपमा परिचित यस टि-ट्वान्टी विश्वकपमा रोमाञ्चक र उत्साह चरम थियो। यस विश्वकपमा क्रिकेटका केही महान् खेलाडीहरू जस्तै रोहित शर्मा, विराट कोहली, रवीन्द्र जडेजा र डेभिड वार्नरले आफ्नो अन्तिम टि-ट्वान्टी विश्वकप खेलेका थिए, जसले प्रतियोगितालाई अझ विशेष बनायो।
यस विश्वकपमा टिमहरूको सङ्ख्या बढाइएको थियो, जसका कारण नेपालजस्ता केही टिमहरूलाई पुनरागमनको मौका प्राप्त भयो भने युगान्डाजस्ता टिमहरूले पहिलो पटक विश्वकपमा प्रतिस्पर्धा गर्ने अवसर पाए। यस विश्वकपको प्रारम्भिक चरणमा टिमहरूलाई ४ समूहमा विभाजन गरिएको थियो, जसमा प्रत्येक समूहमा ५ देश समावेश थिए। नेपालको समूहमा दक्षिण अफ्रिका, नेदरल्याण्ड्स, श्रीलङ्का र बङ्गलादेश रहेका थिए। यस विश्वकपले यो प्रमाणित गर्यो कि कुनै पनि टिमलाई कमजोर मान्न सकिँदैन, किनकि अमेरिकाले पाकिस्तानलाई हराएर सनसनी मच्चायो भने अफगानिस्तानले वेस्ट इन्डिज र न्युजिल्यान्डजस्ता बलिया टिमलाई अप्रत्याशित रूपमा पराजित गरेको थियो। नेपालले पनि त्यही जुझारु मानसिकताका साथ खेलेर दक्षिण अफ्रिका र बङ्गलादेशविरुद्ध कडा प्रतिस्पर्धा गरे पनि अन्ततः आवश्यक जित हात पार्न भने असफल रह्यो।
यद्यपि, नेपालको यात्रा पहिलो चरणमै समाप्त भयो तर प्रतियोगिता अझै जारी थियो। ग्रुप स्टेजबाट प्रत्येक समूहका सर्वोत्कृष्ट दुई टिम छनोट भई सुपर ८ मा प्रवेश गर्न सफल भए। सुपर ८ मा प्रतिस्पर्धा झनै कडा र रोचक बन्यो, जहाँ आश्चर्यजनक रूपमा संयुक्त राज्य अमेरिका (USA) ले पाकिस्तानलाई पछि पार्दै सुपर ८ मा आफ्नो स्थान सुरक्षित गरिसकेको थियो। सुपर ८ का खेलहरू सम्पन्न भएपछि अन्ततः भारत, दक्षिण अफ्रिका, इङ्गल्यान्ड र अफगानिस्तानजस्ता टिमहरूले सेमिफाइनलमा प्रवेश गरे। अफगानिस्तानको उत्कृष्ट प्रदर्शनले क्रिकेटप्रेमीहरूलाई चकित बनायो भने भारत, दक्षिण अफ्रिका र इङ्गल्यान्डको निरन्तरता अपेक्षाकृत नै थियो।
सेमिफाइनलमा भारतले इङ्गल्यान्डलाई पराजित गर्दै फाइनलमा आफ्नो स्थान सुरक्षित गर्यो भने दक्षिण अफ्रिकाले अफगानिस्तानलाई हराउँदै फाइनलमा प्रवेश गर्यो। अन्ततः फाइनल खेल भारत र दक्षिण अफ्रिकाबीच सम्पन्न भयो, जुन अत्यन्तै रोमाञ्चक र प्रतिस्पर्धात्मक साबित भयो। दर्शकले भरिभराउ रङ्गशालामा खेलिएको उक्त फाइनल खेलमा दक्षिण अफ्रिकाका ब्याटर क्लासेनको विष्फोटक ब्याटिङका कारण एक समय भारत कठिन परिस्थितिमा पुगेको थियो तर, खेलको अन्तिम समयमा भारतीय बलरहरूको उत्कृष्ट प्रदर्शन, कसिलो बलिङ र रणनीतिक क्षेत्ररक्षणले खेलको पासा पल्टाइदियो। रोमाञ्चक मोडमा पुगेको उक्त खेल जित्दै भारतले ट्रफी उठायो र टि-ट्वान्टी क्रिकेटमा आफ्नो प्रभुत्व पुनः सुदृढ गर्यो।
4 reads
Published on 8/7/2026
Aaryan Bhurtel is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Aaryan Bhurtel
Grade 11
Roll No: 28030
11
More Articles from
Student