गहिरो गरी जरा गाडेर बसेका समस्याहरूको स्पष्ट प्रतिबिम्ब नाैगेडी नाटक
“नाैगेडी” प्रसिद्द नेपाली साहित्यकार पुरु लम्सालद्वारा लिखित एक सुन्दर नाटक हो । पुरु लम्साल एक प्रसिद्ध साहित्यकार हुन् जसले “नाैगेडी नाटक” अगाडि नै पानीघट्ट जस्तो नाटक लेखेर आफूलाई स्थापित गरिसकेका छन् । यस नाटकको प्रकाशन गर्ने काम काठमाडाैँ प्रकाशनले गरेको हो । यस उत्कृष्ट नाटकको हालसम्म चाैथाे संस्करण प्रकाशित छ । ती चारमध्ये पनि मैले पढेको चाैथो संसकरण हो । नाैगेडी हाम्रो नेपालको गाउँले जीवनमा आधारित एक दु:खान्त नाटक हो । मलाई काठमाडाैँको सर्वसम्पन्न वातावरणमा बसेर पढ्दा यस नाटकबाट गाँउले जीवनका सङ्घर्ष पहिचान भयो । यस नाटकमा कुल सात दृश्य छन् । यस सात दृश्य नै हाम्रो देशको गाँउले जीवनको सङ्घर्ष देखाउन काफी छ। नाटकले अन्धविश्वासमा विश्वास गर्ने प्रवृत्ति, समाजमा देखिने विभिन्न सामाजिक समस्याहरू, र नेपाली समाजमा फैलिएको खराबीबारे देखाउँछ। यसले नेपाली मानिसहरू र उनीहरूको समाजबीचको सम्बन्धमा यसले पार्ने नकारात्मक असरबारे कुरा गर्छ। वास्तवमा भन्नुपर्दा यस नाटकले मेरो लागि एउटा नयाँ नेपालको परिचय गराइदियो ।
यस नाटकको कथा दुप्चेश्वर महादेवको मन्दिरबाट सुरुवात हुन्छ जहाँ सबै भक्तजनहरु आ-आफ्ना सुख दु:खका कुरा लिएर महादेवको शरणमा आएका हुन्छन् । यहाँ मानिसहरु आफ्नो मनका कुरा महादेव सामु राखी प्रार्थना गर्छन् । यहाँबाट कथावस्तु सुरु हुन्छ । उक्त मन्दिरमा यस नाटकका मुख्य पात्र च्यान्टे र मनमायाको प्रवेश हुन्छ । उनीहरु एक अर्कासँग प्रेम सम्बन्धमा हुन्छन् । उनीहरू उक्त जात्रामा नै विवाहको सम्बन्ध गाँसी आफ्नो जीवनको एक नयाँ अध्यायतर्फ लाग्छन् । यस क्षणमा पुस्तकमा त्यहीँ सब सपना देखाइन्छ जुन कुनै पनि नयाँ जोडीले देख्ने गर्छ । उनीहरू एक अर्कासँग एक सफल जीवनको कामना वैवाहिक बन्धनमा बाँधिन्छन् तर उनीहरुले सोचे जस्तो हुँदैन किनभने हाम्रो समाज बिचमा आउने गर्छ ।
यस कथाको मुख्य कुरा भनेको मनमाया र च्यान्टेले बच्चा जन्माउन नसक्नु र हाम्रो समाजले त्यस कुरालाई हेर्ने अन्धविश्वासको कुदृष्टी हो । उनीहरुलाई यो समस्या पर्दा एक जना ठुलीआमा आइपुग्छिन् र दुप्चेश्वर मन्दिरमा गएर प्रार्थना गरेमा सन्तान प्राप्त हुन्छ भन्ने कुरा भन्छिन् जसले हाम्रो ग्रामीण समाजको अन्धविशवासको चश्मा लगाएर हेर्ने दृष्टिकोणको चित्रण गर्छ ।
त्यसपछि कथाले नयाँ मोड लिन्छ र पुरु लम्सालले समाजको अर्को विकृति यस नाटकको माध्यमबाट देखाउँछन् जब कथामा मनमाया र च्यान्टेको बच्चा हुन नसकेको दोष मनमाया लाई लगाइन्छ र “बाँझी” भनी हेला गरिन्छ । अस्पताल गएर समस्या थाहा पाइ समाधान गर्न छोडी निर्दोष महिलालाई दोष दिने हाम्रो समाजको यस हेपाइ र विभेद प्रवृत्तिको चित्रणले किताब पढ्ने क्रममा मेरो ध्यानाकर्षण गरेको थियो तर पछि गएर थाहा हुन्छ कि बच्चा हुन नसक्नु त मनमाया को कारण नभएर च्यान्टेको कारणले रहेछ ।
त्यसै गरी यस नाटकले समाजको विभिन्न परिवेश तथा विषय वस्तुलाई सुन्दर रूपमा बटुलेर एक सुन्दर कथा निर्माण गरेको छ । अर्जुन र मनमायाको सम्बन्ध ती सामाजिक परिस्थितिहरूको दु:खद उदाहरण हो, जहाँ महिलाहरूलाई कमजोर र शक्तिहीन बनाइन्छ। मातृत्वको चाहनाले गर्दा मनमायाले अर्जुनलाई आफूप्रति अधिकार जमाउन अनुमति दिनुपरेको अवस्थाले उनको असहायपन र मानसिक अवस्था स्पष्ट हुन्छ। यो घटनाले महिलामाथि हुने हिंसालाई उजागर गर्छ र सामाजिक दबाबले कसरी महिलाहरूलाई कठिन र अन्यायपूर्ण परिस्थितिमा पार्न सक्छ भन्ने कुरा देखाउँछ।
माइलीको चरित्र चेलीबेटी बेचबिखन र यौनिक शोषणबारे चेतना फैलाउने माध्यम बनेको छ। आफ्नै पति र बाबुबाट बेचिएकी माइली, गाउँ फर्किएपछि सहानुभूतिका सट्टा घृणाको पात्र बन्छिन्। यो व्यवहारले समाजमा यौन हिंसाका पीडितहरू कसरी सहयोगको सट्टा अस्वीकार र अपहेलना भोग्न बाध्य हुन्छन् भन्ने कुरालाई उजागर गर्छ। सामाजिक समर्थन र आत्मीयताको अभावले पीडितहरूको पुनःस्थापना र पुनःसमाजमा फर्कनु झनै कठिन बनाइदिन्छ।
अन्त्यमा, ‘नौगेडी’ केवल दुई प्रेमीबिचको प्रेमकथा होइन, यो कथा नेपालको सामाजिक संरचनामा अझै पनि गहिरो गरी जरा गाडेर बसेका समस्याहरूको स्पष्ट प्रतिबिम्ब हो। कथामा देखाइएका घटनाहरूले प्रेम र सम्बन्धभन्दा बाहिर गएर, हाम्रो समाजमा विद्यमान लैङ्गिक असमानता, गरिबी, जातीय विभेद, अन्धविश्वास र महिला विरुद्धको हिंसाजस्ता गम्भीर विषयहरूलाई उजागर गर्छ।
नेपालमा यी समस्याहरू केवल व्यक्तिगत दु:खका कारण मात्र होइनन्, राज्य र समाज दुबैको उन्नति रोक्ने अवरोध पनि हुन्। जबसम्म यस्ता अन्यायपूर्ण परम्परागत सोच र व्यवहारहरू हटाइँदैनन्, तबसम्म देश ‘राज्य’का रूपमा मात्र कायम रहन्छ, ‘सुसंस्कृत राष्ट्र’ बन्न सक्दैन।
गरिबीले शिक्षाको पहुँचलाई सीमित बनाउँछ, जातीय भेदभावले मानिसबिचको समानतामा आँच पुर्याउँछ र अन्धविश्वासले वैज्ञानिक सोच र तार्किकतामा अवरोध पुर्याउँछ। यी सबै समस्याले गर्दा महिलाहरूको अवस्था झन जटिल बन्न पुगेको छ। लैङ्गिक असमानता र महिला विरुद्धको हिंसा नेपाली समाजमा यति गहिरो छ कि त्यसले महिलाहरूको आत्मविश्वास र आत्मसम्मान दुवैमा चोट पुर्याइरहेको छ।
‘नौगेडी’ले देखाउँछ कि यस्ता सामाजिक विकृतिहरू केवल एक व्यक्तिको जीवन होइन, सम्पूर्ण समुदायको भविष्यलाई प्रभावित गर्न सक्छन्। नाैगेडी नाटककाे कथा हामी सबैका लागि एक सन्देश हो कि परिवर्तन घरबाटै सुरु हुन्छ र हरेक नागरिकको जिम्मेवारी हो कि सामाजिक अन्यायको विरुद्ध आवाज उठाउनु र समान, न्यायपूर्ण समाज निर्माणतर्फ अघि बढ्नु ।
1 reads
Published on 7/3/2025
Aaryan Bhurtel is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Aaryan Bhurtel
Grade 10
Roll No: 28030
9
More Articles from
Student