underline

दिनको अन्तिम १० मिनेट

Underline

Share:

बडो गज्जबको हुन्छ मेरो दिन ।

बिहान, किताब मिलाइ, खाजा खाइ बस स्टेसनमा छिटो नपुगेमा बस छुट्ने डर र ती सबैको बिचमा आामाको “छिटो गर् !” बाट सुरु भएको मेरो दिनमा दिउँसोको समय विद्यालयमा जान्छ । कक्षामा पढाइने विषयको गृहकार्य नसकेर टाउको दुख्दा दुख्दै लन्च ब्रेक भनाैँ वा “ब्याडमिन्टन ब्रेक” मेरो सङघर्षमा राहत आँउछ र मेरो “लन्च ब्रेक” धेरै समय टिक्दैन र पुन: पढाइ सुरु हुन्छ र घडी र मेरो बिचको हेराहेर पनि सुरु हुन्छ ।

फेरि सबै कक्षा सिद्धिएपछि बसमा चढेर घर पुगिन्छ। घर पुगेर सास पनि आधा मात्र फेरेर दस मिनेटका लागि रिल हेर्न बस्छु, दस मिनेट मात्रै ! तर मसँग घडीले निकै ठुलो धोका दिन्छ। दस मिनेटका लागि मात्र फोन चलाउँदा घडीले आफ्नो काँटा एक घण्टा बराबर घुमाइदिन्छ। सायद धोका घडीले होइन, मैले नै आफूलाई दिएको हुँ।

जीवनको सबै तामझाम सकेपछि जब राति हुन्छ, म आफ्नो लागि समय पाउँछु । बिस्तारै भान्साकोठाबाट आउने अन्तिम आवाजहरू पनि सकिए र सिधासिधी भन्नुपर्दा दिन सकिन थाल्यो । बिस्तारै घरको बत्ती निभेपछि फोनको बत्ती उज्यालो हुन थाल्यो । मेरो मनमा रिल हेर्ने इच्छा छ भने आँखामा निद्रा। तन र मनको अदालतको न्यायाधीश हुन पनि निकै गाह्रो पो हुँदो रहेछ । तर कानुन अन्धो भएका कारण मेरो आँखाले त्यहाँ जति प्रमाण प्रस्तुत गरे पनि केही चलेन र मनकै जित भयो। हातले पनि मनको आदेश यथाशीघ्र मान्यो र फोनमा रिल खोल्यो। अनि घडीले फेरि ममाथिको बेइमानी जारी राख्यो ।

घडीबहादुरको चाल त मैले चार्ज सकिएपछि मात्र थाहा पाएँ । थाहा पाउँदापाउँदै आँखाले कति दुख पायो, त्यो त थाहै भएन तर दिनको अन्तिम दस मिनेट थाहा पाएर जाने जस्तो तपाईंलाई लागिरहेको छ भने त्यस्तो लाग्न फिटिक्कै नदिनुहोला। मेरो दिनको अन्तिम दस मिनेट त फोन साइड लगाएपछि सुरु हुन्छ, किनभने म फेरि न्यायाधीश हुन पुग्छु। फोनको स्क्रिनको ब्याट्री सकिएपछि चल्न छोडे पनि मेरो मनको स्क्रिन त ब्याट्री सकिएपछि पो चल्न थाल्छ। तसर्थ, यसपालिको अदालत मनको वनमा थियो र मनको स्क्रिनले पनि आँखालाई परास्त गरिदिन्छ। दिनभरिको भागदौडले झन्डै उसैन बोल्ट बनेको मेरो दिमागले विश्राम पाएपछि बल्ल मेरो बारेमा सम्झिन्छ र म म ओछ्यानमा पल्टेको पल्टै! म पल्टेझैँ मेरो मनले पनि मेरो जीवनको फाइल पल्टाउँछ तर मेरो दिमागको यो फाइल भने सरकारी कार्यालयको फाइलभन्दा पनि विचित्र रहेछ। कुन कुरा कहाँ राखिएको छ, आफैँलाई थाहा छैन। पाँच मिनेटअघिको कुरा खोज्दा पाँच वर्षअघिको घटना हात लाग्छ। आजको गृहकार्य सम्झिन खोज्दा कक्षा ८ मा शिक्षकले सबैका अगाडि सोधेको एउटा प्रश्न सम्झिन्छु। भोलिको परीक्षाको चिन्ता गर्न खोज्दा अचानक तीन वर्षअघि खाएको मोमोको स्वाद याद आउँछ। अझ अचम्म त के भने, दिनभरि “समय छैन” भनेर दौडिएको मेरो दिमागलाई राति चाहिँ संसारका सबै पुराना फाइल खोल्ने फुर्सद हुन्छ । मानौँ दिनभरि बन्द रहेको कुनै सरकारी कार्यालय राति १२ बजे अचानक खुलेर सबै फाइल एकैपटक निकालेर काम गर्न थालेको होस् ।

फेरि, मनको स्क्रिन र फोनको स्क्रिनमा एउटा अचम्मको समानता रहेछ। दुवै एकचोटि खोलेपछि बन्द गर्न निकै गाह्रो ! फरक यति मात्र हो, फोनको स्क्रिनलाई चार्ज सकिएपछि बन्द गर्न सकिन्छ, मनको स्क्रिनलाई चाहिँ त्यस्तो सुविधा पनि दिइएको रहेनछ। फोनको ब्याट्री सकिएपछि म अँध्यारोमा बस्न सक्छु, तर मनको ब्याट्री सकिएपछि उल्टै पुराना सम्झनाहरू अझै चम्किन थाल्छन्।

त्यसैले मलाई मोबाइलको स्क्रिनभन्दा पनि दिनको अन्तिम दस मिनेटमा आफैँ खुल्ने मनको स्क्रिनसँग पो डर लाग्न थालेको छ किनकि मोबाइलमा त अर्को रिल आएर मेरो ध्यान भङ्ग गरिदिन्छ, तर मनको स्क्रिनमा आउने कुराबाट भाग्ने ठाउँ कतै हुँदैन ।

सायद यही नै दिनको अन्तिम दस मिनेटको असली समस्या हो । त्यो दस मिनेटमा हामीसँग अरू कुनै काम बाँकी हुँदैन। हामीसँग बाँकी हुन्छौँ त केवल हामी आफैँ। दिनभरि त घडीले नै हामीलाई हाम्रो गन्तव्य बताइदिन्छ तर राति हामीसँग गन्तव्य हुँदैन । हामीसँग एउटा फोनको र मनको स्क्रिन हुन्छ।

2 reads

Published on 9/29/2026

Image

Aaryan Bhurtel is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Aaryan Bhurtel

Grade 11

Roll No: 28030

12

More Articles from

Student

Underline