हराएकाे भाग्य
हराएकाे भाग्य
“भगवान्! मैले गल्ती गरेँ, माफी देऊ!!”
“भगवान्! मैले मेरो बोर्ड टप गरे!! धन्यवाद।”
कस्तो अनौठो छ यो संसार। जता गयो त्यतै भगवान् नाम जप्छन्। सानोदेखि ठुलो कुरा मनाउन अर्थात दोष दिन पनि भगवान नै भन्छन्। अन्ततः भगवान साँच्चिकै छन् र ? कि यो हाम्रो भ्रम हो ?
तिमी भने भगवान् यति मान्दैन थियौ तर भगवान तिम्रो अन्तिम सहारा थिए। तिमीले, जीवन माया, दया, प्रेमले भरिपूर्ण छ भनेर मान्थ्यौ। “यदि भगवान साँच्चिकै छन् भने म आभारी छु।” भन्थ्यौ।
म आफू भगवानलाई मान्दिन थिएँ। यदि यस्तो व्यक्ति साँच्चिकैमा भएको भए, मेरा परिवार हाँसिरहेका हुन्थे र म धर्ती र पातालको बीचमा हुन्थेँ। मलाई जीवित रहने ठुलो इच्छा थिएन। तिमी भने यस जीवनको अर्थ थियौ। तिम्रो मुहार सूर्य जस्तै चम्किलो थियो र तिम्रो बोली कोइलीहरूभन्दा सुरिलो थियो। तिमी जता जान्थ्यौ त्यतै माया सुख र खुसियाली फैलिन्थ्यो।
आज भोलि म तिम्रो त्यही मुहार र माया मुटुमा बोकेर हिँड्छु। तिम्रो यादले मलाई हरेक दिन सताउँछ। मेरा परिवारपछि तिमी नै मेरो मुख्य सहारा थियौ। मेरो परिवार स्वर्ग पुगेपछि तिमीले नै मलाई माया गर्याै । तिमीले यति मन पराएको पृथ्वीलाई माया गर्न पनि सिकायौ।
मृत्यु माग्दै हिँड्ने म र जीवनकै अर्थ तिमी। हाम्रा चाहना कसरी फेरिए होलान् ? कि यो पनि भगवानकाे लिला थियो ? कि यो तिम्रो सत्य थियो ?
डिसेम्बर १, २०२२, म त्यो दिन कहिले बिर्सन सक्दिनँ। त्यो दिन मेरो लागि अति महत्त्वपूर्ण छ। हाम्रो भेट त्यहीँ दिन भएको थियो। तिम्रो फुटेको नेपालीमा तिमीले मलाई एक प्रश्न गरेका थियौ, “के यो पुस्तक पाइन्छ र यहाँ ?”
पहिलो पटक तिमीले बोलेको सुन्दा म थोरै हाँसेँ। मेरो जीवनमा पहिलोपटक मैले कसैलाई त्यसरी बोलेको देखेको थिएँ। हेर्दा त नेपाली नै देखिन्थ्यो तर बोलाई अर्कै राष्ट्रबाट। तिमीलाई आफ्नै भाषा बोल्न नआए पनि माया भन्ने भाषामा तिमी अद्भत थियौ। मेरो पसल अगाडि बस्ने बुढी आमालाई फूल दिने गर्थ्यौ र मैले रुचाएको किताब सोधीसोधी किनेर लग्थ्यौ।
तिमीलाई त्यो कुरा ठूलो नलागेको होला, तर मेरो लागि तिमी मेरो सबैभन्दा ठुलो सहारा बन्दै गएका थियौ, मेरो अस्तित्वको कारण बन्दै थियौ। हेर्दा हेर्दै हाम्रो सम्बन्ध गहिरो हुँदै गएको रहेछ। हामी साथी भएछौँ। अब तिमी र म धेरै कुराबारे चर्चा गर्ने भएछौँ। हाम्रा दुःख, सुख, माया, पीडा सबैबारे हामी एकअर्कालाई थाहा हुन्थ्यो।
मेरो मर्ने इच्छाबारे पनि तिमीले थाहा पायौ। मेरा हातमा भएका पीडाका चिह्न मैले राम्ररी लुकाउन नसकेको रहेछु तर त्यो देखेर तिमी तर्सिएनौ, डराएनौ। “कति अचम्मको मानिस”, मैले सोचेको थिएँ, तर साँच्चिकैमा म अति खुसी भएको रहेछु। त्यो पहिलो पटक थियो, कसैले मेरो पीडा, दुःख देखेर नभागेको।
“अब तिमी नडराऊ। म छु। आई एम हेयर। आइ विल अल्वेज बि।”, तिमीले बोलेका थियौ। त्यो दिन मैले मेरो बाच्ने सहारा पाएँ। वास्तवमा, तिम्रै अगाडि मैले कति पटक आफ्नो जीवन त्याग गर्ने प्रयास गरेको थिएँ, तर हरेक पटक तिमीले मलाई मेरो जीवन बच्ने मौका दियौ।
कतिपटक मैले तिमीलाई घृणा गरे, तर तिमीले मलाई माया मात्र दियौ।
कि मैले गरेका ती अमानवीय कार्यले तिम्रो मानसिकतामा टेवा पुराएका थिए ?
के म तिम्राे मृत्युको कारण हुँ ?
यिनै प्रश्नहरूले मलाई आज उठाइरहेको छन्।
तिमी जस्तो मान्छेलाई मृत्यु र म जस्तो मान्छेलाई जीवन दिने भगवान् कस्ता रहेछन्? आज म त्यही प्रश्नको उत्तर थाहा पाउन गइरहेको छु। मलाई तिमीले माफ त गर्छौ होला नि ?
डिसेम्बर १, २०२४
तिमी र मेरो पुनः भेट।
14 reads
Published on 3/13/2026
Aakancha is a student at Deerwalk Sifal School who loves exploring diverse topics and has a keen interest in music and travels.
Aakanchha Kharel
Grade 11
Roll No: 27075
11
More Articles from
Student