पाठ समीक्षा
परिचय
मनसा किताबको चित्राङ्कनकर्ता रविन्द्र मानन्धर हुन्। यो किताब ज्ञानवृक्ष पब्लिकेसन प्रा. लि. द्वारा प्रकाशित गरिएको हो। यस किताबमा ५४ पृष्ठ रहेका छन् र यसमा १० वटा कथाहरू समावेश छन्। पहिलो कथा “सुनौलो हाते झोला” हो। यस कथाका लेखक पनि रविन्द्र मानन्धर नै हुन्। यस पाठ समीक्षामा म उहाँद्वारा लिखित “सुनौलो हाते झोला” कथाबारे चर्चा गर्न गइरहेको छु।
पात्रहरू
यस कथामा धेरै पात्रहरू रहेका छन्। प्रमुख पात्रहरूमा राजु र एक दृष्टिविहीन बुढी आमा हुनुहुन्छ भने सहायक पात्रहरूमा राजुको आमाबुबा हुनुहुन्छ।
असल पात्र
यस कथामा राजुको आमाबुवा असल पात्र हुन्। किनभने उहाँहरूले राजुलाई चोरी–डकैती गर्नु हुँदैन भनेर राम्रो शिक्षा दिनुभएको थियो।
खराब पात्र
यस कथामा राजु खराब पात्रको रूपमा देखिएको छ। किनभने उसले अरूको सामान चोरी गर्थ्यो।
परिवेश
यस कथाको परिवेशमा विद्यालय, चौतारी र राजुको घर समावेश गरिएको छ।
पाठको विषयवस्तु
यस कथाको सुरुवात राजुको विद्यालयबाट हुन्छ। एक दिन विद्यालयबाट फर्कँदै गर्दा उसले चौतारीमा बसेकी एक दृष्टिविहीन बुढी आमा देख्छ। बुढी आमासँग एउटा सुनौलो हाते झोला र साइड ब्याग थियो। राजुलाई त्यो झोलाभित्र पैसा भएको जस्तो लाग्छ। उसले मनमनै त्यो झोला चोरेर भाग्ने योजना बनाउँछ।
केही समयपछि वरिपरि कोही नभएको मौका पाएर उसले त्यो झोला लिएर भाग्छ। घर पुगेपछि उसले झोला लुकाउँछ। पछि आमाबुवाले थाहा पाएपछि उसलाई धेरै गाली गर्नुहुन्छ चोरी गर्नु हुँदैन भनेर सम्झाउनुहुन्छ। राजु पढाइमा पनि खासै राम्रो थिएन। विद्यालयमा पनि उसले साथीहरूको सामान चोरी गर्ने गर्थ्यो।
अर्को दिन विद्यालय जाँदा उसले फेरि त्यही चौतारीमा ती दृष्टिविहीन बुढी आमालाई देख्छ। आश्चर्यको कुरा, उहाँसँग फेरि त्यस्तै हाते झोला थियो। राजु बुढी आमाको नजिक गएर सोध्छ, “हजुरलाई थाहा छ, कसैले तपाईंको हाते झोला चोरेर लगेको थियो?”
बुढी आमाले शान्त स्वरमा “थाहा थियो” भन्नुहुन्छ। त्यसपछि राजुलाई आफ्नो गल्तीको महसुस हुन्छ। उसले बुढी आमासँग माफी माग्छ र अबदेखि कहिल्यै चोरी नगर्ने वाचा गर्छ।
यस कथाले हामीलाई जीवनमा कहिल्यै चोरी–डकैती गर्नु हुँदैन भन्ने राम्रो शिक्षा दिन्छ।
निष्कर्ष
“सुनौलो हाते झोला” कथा धेरै रमाइलो र शिक्षाप्रद कथा हो। यस कथामा सरल र सजिला शब्दहरूको प्रयोग भएकाले बच्चाहरूलाई पढ्न र बुझ्न सजिलो हुन्छ। कथामा भएका चित्रहरूले कथा अझ रोचक बनाएको छ। यस कथाबाट हामीले असल व्यवहार गर्नुपर्छ र अरूको सामान चोरी गर्नु हुँदैन भन्ने शिक्षा पाउँछौँ।
0 reads
Published on 5/21/2026
Ujjwol Dhakal is s student at Derrwalk Sifal School who loves writing articles, exploring diverse topics and engaging in creative discussions.
Ujjwol Dhakal
Grade 6
Roll No: 33023
3
More Articles from
Student