नेपालको आर्थिक विकासमा कृषिको भूमिका
नेपालको आर्थिक विकासमा कृषिले महत्त्वपूर्ण भूमिका खेलेको छ । नेपाल विविध धरातल, उर्वर माटो र ठुलो ग्रामीण जनसङ्ख्या भएको देश हो । नेपालमा मानिसहरूले आफ्नो जीवनशैली कायम गर्न र आयआर्जनका लागि मुख्य गरी कृषिमा नै भर पर्छन् । आधुनिकीकरणको क्रम बढ्दै जाँदा पनि नेपाली अर्थतन्त्रको मेरुदण्डको रूपमा कृषि नै रहेको पाइन्छ । रेमिट्यान्स, उद्योग कलकारखाना, व्यापार, वैदेशिक, रोजगारी लगायतका अरू विभिन्न क्षेत्रहरूबाट नेपालको अर्थतन्त्रको विकास भए तापनि मुख्य गरी स्वदेशीय रूपमा कृषिले नेपालको अर्थतन्त्र चलायमान गरेकाे छ ।
तुलनात्मक रूपमा हेर्नुपर्दा नेपालमा ग्रामीण जनसङ्ख्या सहरी जनसङ्ख्याभन्दा धेरै छ । यी ग्रामीण जनसङ्ख्याहरूको माझमा रोजगारीको सबैभन्दा ठुलो स्रोत कृषि नै हो । ग्रामीण क्षेत्रमा बसोबास गर्ने अधिकांश जनसङ्ख्या विशेष गरी खेतीपाती, पशुपालन गरी जीविकोपार्जन गर्छन् । कृषिले केवल देशको अर्थतन्त्र वा आर्थिक विकासमा मात्रै सहयोग गर्दैन । यसले मानिसहरूको जीविकोपार्जन अगाडि बढाउन र जीवनशैलीमा गुणस्तरीय परिवर्तन ल्याउन मद्दत गर्छ । गाउँघरमा कृषि उत्पादन बढ्यो भने ग्रामीण आम्दानी पनि बढ्छ । जसले गर्दा प्रत्यक्ष रूपमा शिक्षा, स्वास्थ्य लगायतका अरू विभिन्न विकासका पूर्वाधारहरूमा पनि गुणस्तरीय परिवर्तन आउँछ ।
नेपालको प्राथमिक खाद्यबाली धान, गहुँ, मकै, काेदाे हुन् । यी अन्नहरू तथा खाद्यबालीहरू नै मुख्य आहार हुन् । नेपालमा नै यस्ता खाद्यबालीहरूको उत्पादन बढ्यो भने विदेशबाट महँगो खाद्यान्न आयात गर्नुपर्दैन । यसले गर्दा नेपाल आत्मनिर्भर हुन्छ भने आफूले उत्पादन गरेको खाद्यबाली अरू देशहरूमा पनि निर्यात गर्न सकिन्छ । खेती किसानीका साथ नेपालका वनजङ्गलहरूमा जडिबुटीहरू पनि प्रशस्त रूपमा पाइन्छन् । यस्ता जडीबुटीहरू लगायत अरू कृषिजन्य वस्तुहरू निर्यात गर्न सकिन्छ । यसले गर्दा अन्तर्राष्ट्रिय बजारमा पनि नेपाली खाद्यवस्तुको माग बढ्छ र विदेशी मुद्रा आर्जन गर्न सकिन्छ । साथै कृषिले गरिबी निवारणमा पनि धेरै सहयोग गर्छ । ग्रामीण क्षेत्रहरूमा खेती किसानी गर्नको लागि पनि उपयुक्त उपकरणहरूको अभाव हुँदा परम्परागत कृषि प्रणालीहरूको प्रयोग गरी कृषि गर्न सकिन्छ । परम्परागत रूपबाट कृषि सञ्चालन गर्ने हो भने रासायनिक मलको प्रयोग गर्नुपर्दैन र आधुनिक कृषि प्रणाली वा वैज्ञानिक ज्ञानको प्रयोग गर्नुपर्दैन । केवल उर्वर जमिनमा सामान्य उपकरण र कम्पोस्ट मल भए पुग्छ । विकास भइसकेको क्षेत्रमा भने परम्परागत कृषि प्रणालीमा आधुनिक विधिहरू अपनाएर किसानहरूको लागि खेती किसानी धेरै सजिलो बनाउन सकिन्छ ।
कृषकद्वारा उत्पादन गरिएका खाद्यान्नहरू मात्र बजारमा बिक्री गर्न सक्ने होइन । कृषिजन्य वस्तुहरू कलकारखानाहरूमा अरू वस्तु पनि उत्पादन गर्न सकिन्छ । कृषिजन्य उत्पादनहरूलाई कच्चा पदार्थको रूपमा उपयोग गरी कपडा उद्योग, औषधि उद्योग लगायतका अरू विभिन्न उद्योग कलकारखानाहरूको स्थापना गर्न सकिन्छ र यहाँबाट उत्पादित वस्तुहरूलाई निर्यात पनि गर्न सकिन्छ । यसो गर्दा नेपालबाट अन्तर्राष्ट्रिय व्यापार गर्न पनि सजिलो हुन्छ र विदेशी मुद्रा आर्जन गर्न पनि धेरै सहज हुन सक्छ । आधुनिकीकरणका कारणले नेपालको कृषि क्षेत्रमा विभिन्न सकारात्मक परिवर्तनहरू आएका छन् भने समग्र रूपमा नेपाली कृषि क्षेत्रको व्यावसायीकरण पनि भएको पाइन्छ । कम्पोस्ट मललगायत, इन्सेक्टिसाइड, पेस्टिसाइडहरूको प्रयोग पनि बढेको पाइन्छ । किसानहरूले यस्ता वैज्ञानिक उपकरणहरूको प्रयोग गर्नु राम्रो हो तर परम्परागत कृषि प्रणालीलाई त्यागेर यस नयाँ प्रणाली अपनाउनु पनि धेरै सहज हैन ।
निष्कर्षमा भन्नुपर्दा, विगतका केही वर्षदेखि आधुनिकीकरणको क्रम बढ्दै जाँदा पनि नेपालको अर्थतन्त्रमा वा नेपालको आर्थिक विकासमा कृषि मेरुदण्डको रूपमा अडिएको छ । यसले रोजगारीको अवसर, गरिबी निवारण, उद्योग कलकारखानाहरूलाई समर्थन गर्ने र देशको अर्थतन्त्रमा सहयोग गर्ने जस्ता सकारात्मक तथा गुणस्तरीय परिवर्तनहरू ल्याएको पाइन्छ । नेपालको अर्थतन्त्रको दिगो विकासमा आधुनिक कृषि प्रणाली र उपयुक्त लगानीले ठुलो प्रभाव पारेको छ र भविष्यमा पनि यस क्षेत्रको धेरै सम्भावना देखिन्छ ।
1 reads
Published on 12/23/2025
Prasiddha Shrestha is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Prasiddha Shrestha
Grade 10
Roll No: 27016
8
More Articles from
Student