चाडपर्वमा आएको विकृति
चाडपर्वमा आएको विकृति
चाडबाडहरू भनेको संस्कृति, परम्परा तथा एकताको प्रवर्द्धन गर्न मनाउने एउटा उत्सव हो । यी उत्सवहरुले मानिसहरूबिच सांस्कृतिक मूल्य मान्यताहरूलाई पुनर्जीवित गर्ने, समुदायहरूलाई जोड्ने तथा समाजमा बसोबास गर्ने सबै मानिसहरूलाई नजिक ल्याउने काम गर्दछ । चाडबाडहरू भनेको सङ्गीत, कला, नृत्य जस्ता संस्कृतिहरूबाट मनोरञ्जन लिने एउटा समय हो । विश्वमा अब चाडबाडहरूलाई धार्मिक तथा सांस्कृतिक महत्त्वको लागि मात्र मनाइँदैन । यो एउटा प्रतिस्पर्धाको अवसरमा आएको छ । आजको युगमा चाडपर्वहरूलाई एउटा बोझको रुपमा लिइन्छ । पहिला पहिला धार्मिक तथा सांस्कृतिक आस्थाले मनाइने चाडपर्वहरू आज सहजताको लागि धेरै परिवर्तन गरिएको छ । मानिसहरूले चाडपर्वहरूलाई कसरी एउटा सहज ढङ्गले अगाडि बढाउन सकिन्छ भनेर सोध्छन् । यसमा केही पनि धार्मिक तथा सांस्कृतिक अर्थ नै छैन ।
चाडपर्वहरू देवीदेवताहरूलाई मान्ने एउटा ठूलो अवसर हो । यसले धार्मिक रूपमा मात्रै नभई सांस्कृतिक रूपमा पनि एउटा ठुलो भूमिका खेल्छ । मानिसहरूले भगवान वा ईश्वरमाथि आस्था राख्नुको एउटा मुख्य कारण नै चाडबाडहरू हुन् । परम्परागत रूपमा यही चाडबाडहरूलाई सञ्चालन गर्न नसकेमा यसको आधुनिक रूपको के काम लाग्यो ? सहजताको लागि परिवर्तन गर्नु एउटा नराम्रो कुरा होइन तर यसो भन्दैमा कुनै पनि कुराको मूल उद्देश्यलाई नै परिवर्तन गर्नु हुँदैन । चाडपर्वहरूको मूल जरालाई राम्रोसँग संरक्षण गर्नुपर्छ र चाडपर्वहरूको मुख्य उद्देश्यलाई आधुनिकता सँग पिन जाेड्नुपर्छ । कुनै पनि उद्देश्य नभएको योजनाले के कार्य गर्न सक्ला र ?
परम्परागत रूपमा सञ्चालन गर्ने चाडबाडहरूमा एउटा ठुलो समस्या देखा परेको थियो । मानिसहरूले फजुल खर्च धेरै गर्थे । चाडबाड भनेको सीमित स्रोत साधनमाथि चल्नुपर्छ । चाडपर्वहरू भनेको समाजमा बसोबास गर्ने सबै परिवार, समुदाय वा व्यक्तिहरूले एकअर्कासँग राम्रो सम्बन्ध कायम गर्ने किसिमकाे हुनुपर्छ । एक अर्काभन्दा राम्रो देखिनकाे लागि फजुल खर्च गर्ने एउटा ठुलो समस्या हो । यसले गर्दा भविष्यमा मानिसहरू माथि आर्थिक बोझ पनि बन्न सक्छ । अरू समस्याहरू भनेको चुरोट, रक्सी तथा जुवा खेल्ने हुन् । यस्ता समस्याहरूले गर्दा मानिसहरूलाई लत लाग्न सक्छ । चाडबाडको बेला मात्रै अलिकति रमाइलो गर्नको लागि जुवा खेल्ने वा रक्सी खाने जस्ता क्रियाकलापहरूमा संलग्न हुने कुनै पनि आवश्यकता छैन । सबै मानिसहरूले आफ्नै तरिकामा रमाइलो गर्नुपर्छ तर भविष्यमा कुनै समस्या पर्ने गरी नै केही काम गरेमा यो ठुलो समस्या हुन सक्छ ।
चाडबाडहरू भनेको एकता, शान्ति सुरक्षा तथा सकारात्मक सोचाइ प्रवर्द्धन गर्ने एउटा अनौपचारिक वा औपचारिक कार्यक्रम हुनुपर्छ । यसले मानिसहरू माथि परेको तनावहरू निकालेर उनीहरूको जीवनमा सुखकाे एउटा अवसर हुनुपर्छ तर आजकाल यो एउटा प्रतिस्पर्धा बनेको छ । मानिसहरूले चाडबाडहरूबाट कसरी धेरै फाइदाहरू निकाल्न सक्छन् भनेर सोध्छन् । कसैले खानाको स्टलहरू लगाउलान्, कसैले मेला जस्तै गरी पसलहरूको व्यवस्था मिलाउलान् । के यो राम्रो कुरा हो र ? युवाहरूले नै देशको परम्परागत संस्कृति र संस्कारहरू बिर्सिरहेका छन् । अहिले युवाहरूलाई मतलब छ केवल सामाजिक सञ्जालमा लाइक, सेयर र कमेन्ट आएको । अहिले मानिसहरूलाई चाडपर्वहरू मनाउने कारण पनि थाहा छैन । चाडपर्वहरूको सांस्कृतिक अर्थ पनि थाहा छैन । हाम्रो संस्कार,संस्कृति र परम्पराहरूको पछिल्लो पुस्तामा हस्तान्तरण नभएमा लोप हुँदैन र ?
यस्तो मूख्य समस्याको समाधान गर्नको लागि सर्वप्रथम विद्यालय, परिवार, समुदाय र समाजमा चेतना फैलाउनुपर्छ । चाडपर्वहरूको महत्त्व अर्थ र सांस्कृतिक र धार्मिक आवश्यकताको चेतना फैलाउनुपर्छ । यस्ता महान उत्सवहरूको लागि एउटा शान्तिपूर्वक र सुरक्षित वातावरणको सिर्जना गर्नुपर्छ । यसले गर्दा मानिसहरूले आफ्नो संलग्नता र सहभागिता देखाउन सक्छन् । चाडपर्वमा अरूहरूसँग सम्बन्ध बनाउन सक्छ । त्यसैले यो सामाजिकीकरणको लागि एउटा मूख्य तत्त्व हो । हाम्रो सहजता र एकता दर्शाउने यो एउटा परम्परागत, धार्मिक वा सांस्कृतिक कार्यक्रम हो । चाडपर्वहरूमा मादक पदार्थको सेवन रोक्नुपर्छ । त्यसै गरी जुवा तासहरूमा पनि रोक लगाउनुपर्छ ।
निष्कर्षमा भन्नुपर्दा चाडपर्वहरू हाम्रो संस्कार र संस्कृति हुन् । त्यसैले यस्तो संस्कार तथा संस्कृतिको संरक्षण गर्नु हाम्रो हक हो । चाडपर्वहरू मनाउँदाखेरि त्यसलाई एउटा बाध्यताको रूपबाट हेर्नु हुँदैन । त्यसलाई कर्तव्यको रूपले हेर्नुपर्छ । यो सामाजिकीकरणको लागि एउटा अवसर हो । नयाँ कुराहरू सिक्ने, नयाँ मानिसहरूसँग घुलमिल हुने एउटा अवसर हो । त्यसैले यस्तो अवसरको सदुपयोग गर्न हामीले सिक्नुपर्छ । त्यति मात्र होइन चाडपर्वहरूले समुदायका मानिसहरूलाई नजिकै ल्याउँछ । सबै जना घुलमिल हुने अवसर पाउँछन् । त्यसैले यसले एकता र शान्ति कायम गर्न पनि मद्दत गर्छ । समाजमा समानता भएमा एकता ल्याउन सजिलो हुन्छ ।
0 reads
Published on 12/30/2025
Prasiddha Shrestha is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Prasiddha Shrestha
Grade 10
Roll No: 27016
8
More Articles from
Student