मैले पढेकाे ‘रुद्रघण्टी’
मैले पढेकाे ‘रुद्रघण्टी’
१. सामान्य परिचय
गायत्री लम्सालद्वारा लिखित ‘रुद्रघण्टी’ व्यङ्ग्यात्मक निबन्धहरूको सङ्ग्रह हो। यस पुस्तकको मुख्य विषयवस्तु हामीले दैनिक जीवनमा देख्ने तर बेवास्ता गर्ने समस्याहरूमा केन्द्रित छ। प्रत्येक निबन्धको आफ्नै व्यङ्ग्य र अर्थ छ। गायत्री लम्साल नागरिक अधिकार, नागरिक सचेतना, भ्रष्टाचार र महिला अधिकारजस्ता विषयमा लेखेर ख्याति कमाएकी लेखिका हुन्।
२. विषयवस्तु
यस सङ्ग्रहमा सङ्गृहीत पहिलो निबन्ध ‘कुकुर जात्रा’ रहेको छ। यस निबन्धमा नेपालको राजनीतिक अवस्थाबारे व्यङ्ग्य गरिएको छ । नेपाली राजनेताहरूले नेपालको शासनसत्तालाई खेल बनाएको विषयमा व्यङ्ग्य गरिएको छ । उक्त निबन्धमा भनिएको छ कि हरेक वर्षको जात्रा भनेजस्तै हरेक पाँच वर्षमा आउने एउटा विशेष जात्रा पनि रहेको छ, जसले यहाँको चुनावलाई सङ्केत गरेको छ।
यस निबन्ध सङ्ग्रहको अर्को निबन्ध ‘खुट्टा तानौँ’ हो । उक्त निबन्धमा लेखकले नेपाली समाजमा रहेको खुट्टा तान्ने व्यवहार र विकृतिमाथि प्रहार गरेकी छन् । कसरी नेपाली समाजमा मानिसले एकअर्काको खुट्टा नतानी एकअर्काको पछाडि जिउन नसक्ने अवस्था सिर्जना भएको छ भन्ने दुःखद् सन्दर्भ उनले यहाँ प्रस्तुत गरेकी छन् । कसरी नेपाली समाजमा खुट्टा तान्ने प्रवृत्ति एउटा सामान्य प्रथा भइसकेको छ भनेर उनले यस निबन्धमा उल्लेख गरेकी छन् । उनले यस निबन्धद्वारा नेपाली समाजमा देखिएको खुट्टा तान्ने प्रवृत्तिका कारण कैयौँ युवाहरूलाई प्रोत्साहन नमिलेको र प्रोत्साहन चाहिने मानिसलाई पनि खुट्टा तानेर पछाडि पारिएको कुरा उल्लेख गरेकी छन् ।
यस निबन्ध सङ्ग्रहको अर्को महत्त्वपूर्ण निबन्ध ‘आधुनिक भूतकर’ हो। यस निबन्धमा नेपालको नयाँ आधुनिक डेमोक्रेसीमा करछली र करको भार कसरी धनीहरूले भन्दा गरिबहरूले बढी बोक्नुपर्ने अवस्था सिर्जना भएको छ भन्ने विषय उल्लेख गरिएको छ। नयाँ सिस्टम र नयाँ प्रणालीका कारण गरिबहरू मर्कामा पर्नुपरेको छ भने धनीमानीहरूले पहिले नै सिस्टमलाई आफूतिर बङ्ग्याइसकेका कारण आराम गरेर कर नतिरी आनन्दले बस्न पाएका छन् । गरिबहरू पेलिनुपरेको अवस्थालाई यस निबन्धमा ‘आधुनिक भूतकर प्रणाली’का रूपमा व्यङ्ग्य गरिएको छ।
यससँगैको अर्को निबन्ध ‘शैक्षिक सपिङ मल’ हो । अहिलेको आधुनिक समयमा सबैभन्दा सान्दर्भिक निबन्धमध्ये यस निबन्धलाई लिन सकिन्छ । यस निबन्धमा अहिलेको शिक्षा क्षेत्रमा भइरहेको व्यापारीकरणलाई मुख्य विषय बनाएर निबन्ध लेखिएको छ । यस निबन्धमा आजको समयमा शिक्षालाई कसरी बिक्री हुने वस्तुजस्तो व्यवहार गरिएको छ भन्ने देखाइएको छ । जसरी सपिङ मलमा सबै वस्तुमा मूल्यको ट्याग लगाइएको हुन्छ, त्यस्तै गरी सबै शैक्षिक कुरामा पनि अहिलेका विद्यालयहरूले ट्याग लगाइरहेको भन्ने कुरा यस निबन्धमा उल्लेख गरिएको छ। उक्त निबन्ध अहिलेको आधुनिक समाजका लागि अत्यन्त सान्दर्भिक निबन्ध रहेको छ। जसरी विद्यालयहरूको मनोमानी चलिआएको छ, अहिलेको समाजमा विद्यार्थी र अभिभावक दुवै शोषणका भोगी भइरहेका छन् । यसै कारणले सरकारले यस विषयमा मुख्य ध्यान दिनुपर्ने तर त्यसो नगरिएको अवस्थालाई पनि यस निबन्धमा व्यङ्ग्यात्मक रूपमा उल्लेख गरिएको छ।
‘धन्न चुनाव हारियो’ यस निबन्ध सङ्ग्रहको अर्को एउटा राजनीतिक दृष्टिकोणले महत्त्वपूर्ण भूमिका राख्ने निबन्ध हो। यस निबन्धमा नेपाली नेताहरूले झुटा आश्वासन देखाएर चुनाव जित्ने गरेका र चुनाव हार्दा उनीहरूलाई कति फाइदा हुने रहेछ भन्ने विषयलाई व्यङ्ग्यात्मक रूपमा प्रस्तुत गरिएको छ। यस निबन्धमा कसरी चुनाव हार्दा नेताहरूले दिएका लाखौँका झुटा आश्वासन र झुटा भरोसा तोड्न नपर्ने र अर्को चुनावका लागि ती बाँकी रहने कुरा उल्लेख गरिएको छ । कसरी चुनाव हार्दा त्यस नेताको इज्जत रहने र झुटा आशा तथा आश्वासन पूरा गर्न नपर्दा मनलाई आनन्द आउने अवस्था हुन्छ भनेर देखाइएको छ। यसमा याे पनि देखाइएको छ कि नेपालमा वर्षौँदेखि चलिआएको कुर्सीको खेल अहिले पनि चुनावमा नराम्ररी खेलिने र घटिया भन्दा घटिया उपाय लगाएर कसरी जित्न सकिन्छ भन्ने दलहरूको प्रयास जारी नै रहेकोतर्फ हामीलाई ध्यानाकर्षण गराइएको छ।
यस निबन्धसङ्ग्रहको मुख्य निबन्ध ‘रुद्रघण्टी’ हो। किताबको नाम पनि ‘रुद्रघण्टी’ र यस निबन्धको नाम पनि ‘रुद्रघण्टी’ रहेकाले यसको कुनै मुख्य सन्दर्भ पक्कै पनि रहेको छ। यस निबन्धमा हामीले रुद्रघण्टीका बारेमा जान्न सक्छौँ। कसरी समाजमा केटाको मात्र रुद्रघण्टी हुन्छ भनेर केटीहरूलाई हेर्ने गरिन्छ भन्ने विषय यसमा उठाइएको छ। केटाहरू पनि अहिलेको जमानामा इमानदारीका साथ हुन नसक्ने, आफ्नो इमानदार स्वरूप कसैलाई देखाउन नसक्ने र आफ्नो नैतिकता कायम राख्न नसक्ने भए रुद्रघण्टी नभएको व्यक्तिका रूपमा चिनिने गर्छन्। यस निबन्ध सङ्ग्रहको मुख्य निबन्धमा पनि त्यही कुरा देखाइएको छ।
३. निष्कर्ष
अन्त्यमा, यस निबन्धसङ्ग्रह पढ्दा पाठकलाई एकदमै रमाइलो लाग्ने छ। यस निबन्धसङ्ग्रहमा राजनीतिक, आर्थिक, संस्कृितक, सामाजिकजस्ता विषयहरू एउटै निबन्ध सङ्ग्रहमा अटाउन सकिन्छ भन्ने एउटा सुन्दर उदाहरण दिइएको छ। यस निबन्धसङ्ग्रहलाई हामीले कुनै पनि अरू व्यङ्ग्यात्मक कृतिसँग तुलना गर्न नसकिने नै छ। आफ्नो व्यक्तिगत भनाइमा मलाई यस निबन्धको भाषाशैली एकदमै मन परेको छ। मेरो उमेरका सबै युवा तथा युवतीलाई यो व्यङ्ग्यात्मक निबन्धसङ्ग्रह पढ्न आह्वान गर्न चाहन्छु र सिफारिस पनि गर्न चाहन्छु।
1 reads
Published on 9/29/2026
Aameen Shakya is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Aameen Shakya
Grade 9
Roll No: 30059
11
More Articles from
Student