क्रमशः एक्लै–एक्लै: पुस्तकानुभूति
क्रमशः एक्लै–एक्लै: पुस्तकानुभूति
परिचय
'क्रमशः एक्लै–एक्लै' नेपाली साहित्यका आदरणीय र पुराना कवि डा. नवराज लम्सालले लेख्नुभएको उत्कृष्ट कवितासङ्ग्रह हो। यसअघि ठुला ठुला महाकाव्यहरू लेखेर चर्चित हुनुभएका लेखकको यो चाहिँ साना र फुटकर कविताहरूको सङ्ग्रह हो। यो सङ्ग्रहको नाम 'क्रमशः एक्लै–एक्लै' ले नै यसको मुख्य सोचलाई बुझाउँछ। आजको संसारमा मानिससँग धनसम्पत्ति छ, सुखसुविधा छ र फेसबुक इन्स्टाग्रामजस्ता माध्यमका कारण धेरै मानिसहरूसँग जोडिएको पनि छ। तर, यति धेरै मानिसहरूको भीडमा हुँदाहुँदै पनि मानिस भित्रभित्रै एकदमै एक्लो र उदास हुँदै गइरहेको छ। यस सङ्ग्रहले यही आजको मानिसको मनको एक्लोपन र उसले भोगिरहेको आधुनिक जीवनको कथालाई सजिलो गरी प्रस्तत गर्छ।
विषयवस्तु
'क्रमशः एक्लै–एक्लै' कवितासङ्ग्रहभित्रका कविताहरूले आजको समाज र हाम्रो दैनिक जीवनको वास्तविक चित्र देखाउँछन्। कविताहरूमा गाउँघर रित्तिँदै गएको र मानवीय सम्बन्धहरू कमजोर बन्दै गएको पीडा पनि समेटिएको छ। रोजगारी र अवसरको खोजीमा युवाहरू विदेश वा सहर पसेका कारण गाउँमा बुढाबुढी मात्र बाँकी छन् र खेतबारी बाँझै भएका छन्। कविले कविताहरूमा प्रेमका विभिन्न रूपहरूको बारेमा कुरा गरेका छन्। कतिपय कवितामा प्रेममा पाइने खुसीका कुराहरू छन् भने कतिपय कवितामा प्रेम सफल हुन नसक्दाको पीडा र धोका पनि छन्। सुखद र दुःखद दुवै खाले प्रेमका कविताहरूले पुस्तकलाई अझ बढी जीवन्त र भावनाले भरिएको बनाएका छन्।
मैले पढेको यस कवितासङ्ग्रहमा समावेश भएका ‘मेरो आँखा र देश’, ‘सन्चाे बिसन्चाे’, ‘रातो गुलाब’, ‘अन्तरयात्रा’ र ‘भाषा’ जस्ता कविताहरू निकै अर्थपूर्ण र मन छुने लागे । यी कविताहरूले देश, समाज, भाषा, माया, परिवार र मानिसको जीवनसँग सम्बन्धित विषयलाई सरल तर प्रभावकारी तरिकाले प्रस्तुत गरेका छन्। कविताहरू पढ्दा लेखकले आफ्ना भावना मात्र होइन, समाजका समस्या र सुधारका आशा पनि व्यक्त गर्नुभएको जस्तो लाग्छ।
‘मेरो आँखा र देश’ कविताले आफ्नो देशलाई अझ राम्रो, सुन्दर र विकसित बनाउनुपर्ने सन्देश दिन्छ। यसमा देशप्रेम, समानता, मेहनत र जिम्मेवारीको भावना देखिन्छ। ‘सन्चाे बिसन्चाे’ कविताले मानिसको दुःख र जीवनको वास्तविक अवस्था देखाएको छ। यसले हामीलाई अरूको पीडा बुझ्न र सहयोगी बन्न प्रेरणा दिन्छ।
त्यस्तै, ‘रातो गुलाब’ कविता माया, सम्झना र भावनाले भरिएको कविता हो। यसमा सामान्य वस्तुबाट पनि गहिरो भावना व्यक्त गर्न सकिने देखाइएको छ। ‘भाषा’ कविताले मातृभाषाको महत्त्व, संस्कृति र पहिचानलाई धेरै राम्रोसँग प्रस्तुत गरेको छ। आफ्नो भाषा जोगाउनु र सम्मान गर्नु सबैको कर्तव्य हो भन्ने सन्देश यसले दिन्छ।
‘अन्तरयात्रा’ कविता पनि यस सङ्ग्रहको निकै अर्थपूर्ण र प्रेरणादायी कविता हो। यस कविताले मानिसले आफ्नो जीवनमा बाहिरी यात्राभन्दा पनि आफ्नो मनभित्रको यात्रा गर्नुपर्ने सन्देश दिन्छ। जीवनमा दुःख, सङ्घर्ष, असफलता र परिवर्तन आए पनि आत्मविश्वास, धैर्य र सकारात्मक सोच गुमाउनु हुँदैन भन्ने भाव यसमा व्यक्त गरिएको छ। कविले जीवनलाई राम्रोसँग बुझ्न आफूभित्र हेर्न र निरन्तर अघि बढ्न प्रेरणा दिनुभएको छ। यस कविताले पाठकलाई जीवनप्रति आशावादी बन्न र हरेक परिस्थितिबाट केही सिक्न प्रेरित गर्छ।
यसरी हेर्दा, यो कवितासङ्ग्रहका सबै कविताहरूले फरकफरक विषय उठाए पनि सबैको उद्देश्य मानिसलाई सही बाटो देखाउनु, राम्रो सोच विकास गर्नु र जीवनका महत्त्वपूर्ण मूल्य बुझाउनु हो। त्यसैले यो पुस्तक पढ्दा मनोरञ्जन मात्र नभई धेरै राम्रो शिक्षा र प्रेरणा पनि प्राप्त हुन्छ। यही कारणले यो कवितासङ्ग्रह मलाई निकै मन पर्यो र म यसलाई सबै विद्यार्थीले एकपटक अवश्य पढ्नुपर्ने पुस्तक मान्छु।
यी कविताहरूको भाषा धेरै सरल, मीठो र बुझ्न सजिलो छ। कवितामा प्रयोग भएका शब्द, बिम्ब र भावले पाठकलाई सजिलै आकर्षित गर्छन्। कतिपय कवितामा समाजका समस्या देखाइएका छन् भने कतिपयमा आशा, प्रेम र सकारात्मक सोच व्यक्त गरिएको छ। त्यसैले यी कविताहरू केवल मनोरञ्जनका लागि मात्र नभई जीवनका राम्रा मूल्य सिकाउने माध्यम पनि हुन्।
निष्कर्ष
मेरो विचारमा, यो कवितासङ्ग्रह सबै उमेरका पाठकका लागि उपयोगी र प्रेरणादायी पुस्तक हो। विशेष गरी विद्यार्थीहरूले यो पुस्तक अवश्य पढ्नुपर्छ, किनभने यसमा भएका कविताहरूले देशप्रेम, मानवता, मातृभाषाको महत्त्व, माया, परिवार, जीवनका सङ्घर्ष र सकारात्मक सोचजस्ता विषयलाई सरल र प्रभावकारी ढङ्गले प्रस्तुत गरेका छन्। कविताहरूको भाषा सजिलो भएकाले जोसुकैले पनि सहज रूपमा बुझ्न सक्छन्।
यस पुस्तकका कविताहरूले केवल मनोरञ्जन मात्र गर्दैनन्, पाठकलाई सोच्न, सिक्न र राम्रो व्यक्तित्व विकास गर्न पनि प्रेरणा दिन्छन्। समाजमा भएका समस्या, मानिसका भावना र जीवनका यथार्थ पक्षलाई कविले निकै संवेदनशील ढङ्गले प्रस्तुत गरेका छन्। त्यसैले यी कविताहरू पढ्दा पाठकले आफ्नो जीवन र समाजलाई नयाँ दृष्टिकोणबाट हेर्न सक्ने अवसर पाउँछन्।
1 reads
Published on 7/30/2026
Nitika Kapali is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Nitika Kapali
Grade 9
Roll No: 2029019
7