“पुनखुँ मैँचा”
विषय परिचय
“पुनखुँ मैँचा” एक अत्यन्तै रमाइलो र शिक्षाप्रद पुस्तक हो। यस पुस्तकमा नेवार समुदायको पुरानो लोककथालाई रोचक शैलीमा प्रस्तुत गरिएको छ। पुस्तकमा रहेका सुन्दर–सुन्दर चित्रहरूले कथालाई अझ जीवन्त बनाएका छन्। यस कथाबाट हामीले पुराना मानिसहरूको जीवनशैली, संस्कार र व्यवहारबारे रमाइलो ढङ्गले सिक्न सक्छौँ। भाषा सरल र सहज भएकाले बालबालिकाका लागि यो पुस्तक निकै मनपर्ने र उपयोगी छ।
कथावस्तु
यस कथामा पुनखुँ मैँचा नामकी एउटी केटीको कथा प्रस्तुत गरिएको छ। सुरुवातमा उसको जीवन राम्रैसँग चलिरहेको हुन्छ, तर एकाएक उसकी आमाको मृत्यु हुन्छ। आमाको मृत्युपछि उसका बुबाले घरमा एउटी महिलालाई ल्याउँछन्। सुरुमा काम गर्नका लागि ल्याइएकी ती महिला पछि सौतेनी आमा बन्छिन्।
सौतेनी आमा अत्यन्तै घमण्डी थिइन्। उनले आफैँ काम गर्नुको सट्टा सबै घरायसी काम पुनखुँ मैँचालाई नै गराउँथिन्। पुनखुँ मैँचाले जब यो कुरा बुबालाई भनिन्, उल्टै बुबाले उनलाई गाली गरेर पठाए। दुःखी भएर पुनखुँ मैँचा बाहिर निस्किन्छिन् र सौतेनी आमाले ल्याएको बाख्रासँग आफ्ना दुःख सुनाउँछिन्।
घर फर्किँदा सौतेनी आमाले आँगनमै पर्खिरहेकी हुन्छिन् र “किन भाँडा नमाझेको?” भन्दै गाली गर्छिन्। पुनखुँ मैँचाले आफूलाई धेरै भोक लागेको कुरा बताउँदा पनि सौतेनी आमाले उल्टै गाली मात्र गर्छिन् र राम्ररी खान पनि दिँदिनन्।
पछि सौतेनी आमा गर्भवती हुन्छिन्। पुनखुँ मैँचा बच्चा खेलाउने आशामा खुसी हुन्छिन्, तर सौतेनी आमाले उनलाई बच्चा हेर्नसमेत दिँदिनन्। उल्टै घरको सबै काम पुनखुँ मैँचामाथि थोपर्छिन्।
पुनखुँ मैँचा दैनिक रूपमा बाख्रा चराउन जान्थिन्। एक दिन बाख्राले उनलाई मिठा–मिठा परिकार, खिर र मिठाइ दिन्छ। त्यस दिनदेखि उनी खाली पेट बाख्रा चराउन जान थाल्छिन्। बाख्राले दिएको खानेकुराका कारण उनी स्वस्थ र सुन्दर देखिन थाल्छिन्।
यो कुरा सौतेनी आमालाई मन पर्दैन। उनले पुनखुँ मैँचाको रहस्य पत्ता लगाउन आफ्नी छोरीलाई पछ्याउन पठाउँछिन्। एक दिन पुनखुँ मैँचा बाख्राबाट खाना खाइरहेको बेला सौतेनी आमाकी छोरीले सबै देख्छे र घर गएर आमालाई भन्छे।
त्यसपछि सौतेनी आमाले खुट्टा मर्किएको नाटक गर्दै बाख्रा काटेर खाए मात्र निको हुन्छु भनी नाटक गर्छिन्। बाख्रा काट्ने निर्णय हुन्छ। पुनखुँ मैँचा धेरै दुःखी हुन्छिन्। तर सपनामा बाख्राले आफ्ना हड्डी गाडेमा योमरीको रुख फल्ने कुरा बताउँछ। पुनखुँ मैँचाले त्यस्तै गर्छिन् र भोलिपल्ट साँच्चै योमरीको रुख फल्छ।
योमरी टिप्ने क्रममा लाखेले पुनखुँ मैँचालाई आफ्नो बस्ने ठाउँमा लैजान्छ र योमरी बनाउन लगाउँछ। लाखे बाहिर गएको बेला मुसाले उनलाई त्यहाँबाट हिरा–मोती लिएर भाग्न सल्लाह दिन्छ। उनले त्यस्तै गर्छिन् र घरमा धनसम्पत्ति ल्याउँछिन्।
यो देखेर सौतेनी आमाले आफ्नी छोरीलाई पनि त्यही गर्न पठाउँछिन्, तर ऊ काम गर्न नसकेकाले असफल हुन्छे। अन्त्यमा पुनखुँ मैँचालाई एक युवकले संरक्षण गर्छ र “म छिट्टै लिन आउँछु है, सानु” भनेर घर पुर्याइदिन्छ।
निष्कर्ष
“पुनखुँ मैँचा” एक उत्कृष्ट र शिक्षाप्रद पुस्तक हो। यस कथाले जीवनमा आइपर्ने दुःख, अन्याय र सङ्घर्षसँग डराउनु हुँदैन भन्ने सन्देश दिन्छ। कक्षा ७ का विद्यार्थीहरूका लागि यो पुस्तक निकै उपयोगी, प्रेरणादायक र पठनीय छ। सबैले एकपटक अवश्य पढ्नुपर्ने पुस्तक हो।
2 reads
Published on 2/6/2026
Presley Bhattarai is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Presley Bhattarai
Grade 7
Roll No: 2030026
8