underline

पुस्तक समीक्षा : छन्द उपासना

Underline

Share:

पुस्तक समीक्षा : छन्द उपासना

परिचय:

‘छन्द उपासना’ रोहिणी रसिकद्वारा लिखित एक कविता सङ्ग्रह हो । यस कविता सङ्ग्रह उनले खास गरी आफ्नो पिता शेखरनाथ धिताल र आफ्नो माता मेनुका धितालका लागि लेखेका हुन् । रोहिणी रसिकको जन्मस्थान खार्पा, खोटाङमा भएकाे हाे । उनी हाल विराटनगरमा बसोबास गरिरहेका छन् । उनको श्रीमतीको नाम मञ्जु खतिवडा हाे । उनका दुई छोराहरू पनि रहेका छन्, निखिल धिताल र दीक्षित धिताल । यस छन्द उपासना उनको दोस्रो कृति हाे । उनको पहिलो कृति ‘छन्द आराधना’ कवितासङ्ग्रह हाे । यस किताबको प्रकाशक शब्द मिडिया प्रा.लि. रहेको छ । यस किताबको पहिलो संस्करण २०८१ साल भदौमा भएको थियो । यस किताबमा ले आउटको काम तुलसी डेस्कटपद्वारा गरिएको छ। यस कविता सङ्ग्रहमा कविले ५९ वटा कविता लेखेका छन् । हरेक कवितामा विभिन्न छन्दको प्रयोग गरिएको छ ।

विषयवस्तु:

यस कविता सङ्ग्रहको पहिलो कविता ‘बाचौं मिलेर’ रहेको छ । ‘बाचौं मिलेर’ कविता वसन्ततिलका छन्दमा लेखिएको छ । यस कवितामा कविले आफ्नो देश नेपालको बारेमा व्याख्या गर्न खोजेका छन् । नेपाल एक विविधतामा एकता भएको देश हो । यहाँ विभिन्न जात धर्म र पेशा गर्ने मानिसहरूको बसोबास रहेको छ । जति धेरै जात र धर्मका मानिसको बसोबास गरे पनि यहाँ मानिसहरू एकता कायम गरेर बसेका छन् । मिलेर बाँचेका छन् । परेका बेलामा अरूलाई सहयोग गर्ने गरेका छन् । यही चालचलनका कारण नेपाल अरू देशभन्दा भिन्न रहेको छ । हामी नेपाली भएपछि मिलेर बाँचौँ, दिनदु:खीहरूलाई र दु:मा परेका मानिसहरूलाई सहयोग गरौँ भनी कविले यस कवितामा आग्रह गरेका छन् ।

यो कविता सङ्ग्रहको दोस्रो कविता ‘चल्दैन यो जीवन’ रहेको छ । यस कवितामा कविले हरेक मानिसको दैनिक व्यवहारलाई नेपालको राजनीतिसँग जोडेका छन् । हरेक व्यक्तिको जीवन उसैको हातमा हुन्छ । अरू कसैले पनि उसको जीवनमा केही गर्न सक्दैन । आफ्नो जीवन बाँच्न सबैले जान्नुपर्दछ । अरूलाई दोष लगाएर र अरूको बारेमा नकारात्मक बोलेर मात्र कसैको जीवन चल्दैन केही नजानीकन त्यसै हावाको पछाडि दौडिँदैमा जीवन चल्दैन, आफ्नो जीवन जिउनका लागि आफैँ मेहनत गर्नुपर्छ काम गर्नुपर्छ भन्ने सन्देश कविले यस कवितामा दिन खोजेका छन् ।

यस कविता सङ्ग्रहको तेस्रो कविता ‘अल्छी नहुन् पाखुरा’ रहेको छ । यस कवितामा हाम्रो हातको अङ्ग पाखुराको बारेमा कविले वर्णन गरेका छन् । हरेक काम गर्नका लागि हामीले हातको प्रयोग गर्न जरुरी रहेको छ । मेरा हात मुस्किलले नै केही काम गर्न सक्छ तर त्यो हातलाई अड्याउने काम पाखुराको हुन्छ । हातलाई काम गराउने र काम गर्ने बल दिने काम पाखुराको नै हुन्छ । केही गरी पाखुरामा चोट लाग्यो वा पाखुराले राम्ररी काम गर्न सकेन भने हाम्रो हातले केही पनि काम गर्दैन । त्यसैले काम गर्न महत्त्वपूर्ण हात र हातभन्दा पनि महत्त्वपूर्ण पाखुरा हुन्छ । कविले पाखुराको मात्र नभएर हाम्रो देशको अहिलेको अवस्थालाई पनि यस कवितामा देखाउन खोजेका छन् । काम गर्न खोजेर इच्छा राखे जे पनि सम्भव हुने कुरा भन्न खोजेका छन् । “जहाँ इच्छा त्यहाँ उपाय” भन्ने भनाइलाई यस कविताले प्रमाणित गर्न खोजेको छ । हाम्रो देश नेपाल कृषिप्रधान देश हो । यहाँ कृषि सम्बन्धी विभिन्न प्रकारका काम सजिलैसँग गरिन्छ । यहाँको माटोमा र आलीमा अन्न छरेर नै उब्जाउ गर्न सकिन्छ। हामीले जति काम गर्दै गयौँ त्यति नै हाम्रो पाखुरा बलिया र फुर्तिला हुँदै जान्छ । पछिपछि काम गर्न पनि सहज हुने गर्दछ । पाखुरा बलिया भए भने बुढेसकालसम्म पनि हरेक काम सहजै गरिन्छ । त्यसैले आफ्नो पाखुरा बलियो राखौँ काम गर्दै जाअाैँ र नेपाली माटोमा श्रम गरौँ भनेर कविले कवितामा भनेका छन् ।

यस कविता सङ्ग्रहको एक कविता हो ‘प्रकृति’ । प्रकृतिको महत्त्वको बारेमा यस कवितामा देखाउन खोजिएको छ । प्रकृति बिना कुनै पनि जीवको जीवन सम्भव छैन । प्रकृतिले हरेक जीवनलाई जीवन दिने काम गरेको छ । प्रकृतिको संरक्षण गर्ने हाम्रो कर्तव्य हो । हामी सबैलाई उत्पन्न गर्ने यो सुन्दर प्रकृतिको विनाश गर्ने काम अहिले मानवले गरिरहेका छन् । प्रकृतिको विनाश गर्नु भनेको आफ्नो जन्म दिने आमालाई आफ्नै हातले हत्या गर्नु सरह हुन्छ । प्रकृति पनि हाम्री आमा हुन् । जसरी एक आमाले आफ्नो शिशुलाई जन्म दिने हुर्काउने र इच्छा अनुसारको जीवन दिने कोसिस गर्छिन्, त्यसरी नै प्रकृतिले पनि हामीलाई उत्पन्न गर्यो र हामीलाई चाहिएको सामग्रीहरू प्रदान गरी सुविधायुक्त जीवन जिउन दिएको छ । त्यसरी मानवहरूलाई उत्पन्न गराउने र सुविधासँग जीवन जिउन दिने प्रकृतिको विनाश नगरी संरक्षण गर्नुपर्छ भन्ने कुरा कविले भन्न खोजेका छन् ।

‘फूल’ कविता पनि यस कविता सङ्ग्रहमा रहेको छ । फूल रङ्गीन हुन्छ र विभिन्न कामका लागि प्रयोग गरिन्छ । फूल कुनै पनि वातावरणलाई सुन्दर र स्वच्छ राख्ने काम गर्दछ । त्यो फूलको पनि जीवन हुने गर्दछ । हामी मानिस जस्तै त्यो फूल पनि एक जीवित प्राणी हो तर मानिसहरू मनलागी फुल टिप्ने काम गर्छन् । फूल मन्दिरमा चढाउन पनि प्रयोग गरिन्छ। हरेक चाडपर्व र खुसीको समयमा फूलको माला लगाइने गरिन्छ । कविले त्यो फूल र फूलको बोटलाई पनि मानिससँगै तुलना गरेका छन् । मानिसहरू फूलको माला लगाई फूलकै बोटको छेउमा गएर फोटो खिच्ने गर्दछन् । हरेक मानिसहरू आफ्नो रूपको चिन्ता गर्दछन् तर कविले फूलको जस्तो जिन्दगी कसैको नहोस् भनेका छन् । फूलको आकर्षक रूप नै आफ्नो शत्रु बन्न पुग्दछ । फूलको राम्रो रूपले नै मानिसहरूले फूल चुन्ने र टिप्ने काम गर्दछन् । त्यही फूलको बोटमा हुने काँडा र पातको कसैले मतलब गर्दैनन् । फूलको रूप मात्र नभएर राम्रो बास्ना पनि शत्रु बन्न पुग्दछ । फूलको असल वासनाका कारण नै वरिपरिका मानिसहरु आकर्षित हुन्छन् । त्यही वासनाका लागि फूल चुँडिने गरिन्छ । फुललाई चुँड्याे भने टुक्राटुक्रा हुन्छ तर फूललाई जति च्याते पनि जति प्रयोग गरेर सजाए पनि फूलको अस्तित्व कहिल्यै सकिन्न भन्ने कुरा कविले बताएका छन् ।

निष्कर्ष तथा सिफारिस:

५९ अाेटा विभिन्न कविताहरू रहेको यस कविता सङ्ग्रहले महत्त्वपूर्ण सन्देश दिने प्रयास गरेको छ । लेखक रोहिणी रसिकले ५९ अाेटा विभिन्न छन्दहरूमा रहेको कविताद्वारा आफ्नो मनभित्र रहेको ज्ञान संसारलाई बाँड्न खोजेका छन् । छन्द उपासना कविताले मूख्य गरी हाम्रो देश नेपाललाई व्याख्या गर्न खोजेको छ । के सही र के गलत भन्ने कुरा पनि बुझाउन खोजेको छ । कविले विभिन्न विम्ब र प्रतीकहरूको प्रयोग गरी असल ज्ञान बाँड्न खोजेका छन् । उदाहरणका लागि फूल नाम गरेको कवितामा कविले “फूलको जस्तो जिन्दगी कसैको नहोस्” भनेर भनेका छन् । फूल जति आकर्षक र राम्रो भए पनि आफ्नै आकर्षक रूप फूलको शत्रु बन्न पुग्दछ । राम्रो रूप र राम्रो वासनाका कारण सबैले फूललाई चुँड्छन्, टिप्छन् र आफ्नो सजावटका लागि प्रयोग गर्छन् । त्यसरी नै प्रकृति नाम गरेको कवितामा पनि उनले मानव र प्रकृतिको सम्बन्ध र प्रकृति संरक्षणका महत्त्वपूर्ण पक्षहरूका बारेमा केही भनेका छन् ।

यसै गरी हरेक कवितामा कविले केही न केही सन्देश दिएका छन् । यो कविता सङ्ग्रहले विभिन्न ज्ञान दिने मात्र काम नगरेर छन्द कविताका बारेमा पनि केही जानकारी दिएको छ । यो कविता सङ्ग्रह विद्यार्थी, शिक्षक र अभिभावक सबैले पढ्नुपर्ने हुनाले म यस पुस्तकलाई सिफारिस गर्न चाहन्छु ।

0 reads

Published on 2/17/2026

Image

Agraj Rijal is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Agraj Rijal

Grade 9

Roll No: 2028004

11

More Articles from

Student

Underline