underline

तिहार

Underline

Share:

तिहार नेपालीहरूको दोस्रो ठूलो र सबैभन्दा रमाइलो पर्व हो। यसलाई “दिपावली” वा “यमपञ्चक” पनि भनिन्छ। यो पर्व पाँच दिनसम्म मनाइन्छ । प्रत्येक दिनको आफ्नै आफ्नै धार्मिक, सांस्कृतिक र सामाजिक महत्व रहेको छ । तिहारको आगमनसँगै सारा देश नै उज्यालो र रंगीन देखिन्छ । घर–घरमा झिलिमिली बत्ती बालेर सजाइन्छ, आँगनमा रंगोली बनाएर सिंगारिन्छ । बालबालिकाले देउसी–भैलो खेल्दै रमाइला गीत गाउँछन्। तिहारले परिवार, मित्रता, जनावर, प्रकृति र देवी–देवताप्रतिको प्रेमको सन्देश दिन्छ। यो पर्वले उज्यालो, आशा, र खुशी ल्याउने प्रतीकको रूपमा सबै नेपालीको मनमा विशेष स्थान बनाएको छ। मलाई पनि दशैं भन्दा धेरै तिहारनै रमाईलो लाग्छ ।

पहिलो दिन – काग तिहार

तिहारको पहिलो दिनलाई काग तिहार भनिन्छ। यस दिन कागलाई पूजा गरी खाना खुवाइन्छ । कागलाई शुभ समाचार र सन्देशवाहकको प्रतीक मानिन्छ । बिहान सबेरै कागका लागि चामल, मिठाइ, र अन्य खाना राखिन्छ । विश्वास गरिन्छ कि यदि काग खुशी भयो भने घरमा राम्रो समाचार आउँछ, तर यदि रिसायो भने दु:खद खबर पनि आउन सक्छ । काग तिहारले हामीलाई जनावर र प्रकृतिप्रतिको सम्मान गर्न सिकाउँछ।

दोस्रो दिन – कुकुर तिहार

दोस्रो दिन कुकुर तिहार मनाइन्छ । यस दिन कुकुरलाई माला, टीका, र मीठा मीठा खाना खान दिइन्छ। कुकुरलाई यमराजको दूतको रूपमा चिनिन्छ र उसको निष्ठा र सुरक्षा भावको सम्मानका लागि पूजा गरिन्छ। यो दिनले मानिस र जनावरबीचको प्रेम र सम्बन्धलाई अझ बलियो बनाउँछ । सडकका कुकुरहरू पनि यस दिन पूजा र खाना पाउँछन्, जसले दया र सहानुभूतिको सन्देश दिन्छ।

तेस्रो दिन – लक्ष्मी पूजा

तेस्रो दिन लक्ष्मी पूजा मनाइन्छ, जुन तिहारको सबैभन्दा उज्यालो र रमाइलो दिन हो । यस दिन बिहानदेखि घर सफा गरिन्छ गाईको पूजा गरिन्छ र साँझमा बत्ती बालेर धनकी देवी लक्ष्मीको पूजा आराधना गरिन्छ । आँगनमा रंगोली बनाइन्छ, ढोकामा तोरण टाँगिन्छ र घरका सबै कोठा उज्यालोले भरिन्छन् । मानिसहरू विश्वास गर्छन् कि देवी लक्ष्मी सफा र उज्यालो ठाऊँमा मात्र बास गर्छिन्। त्यसै रात भैलो खेलिन्छ, जसमा बालबालिकादेखि युवासम्म सबैले घर–घर गएर गीत गाउँछन्, नाच्छन्, र सेलरोटी, मिठाइ र पैसा पाउँछन् । यो दिनले समाजमा एकता र खुशीको सन्देश फैलाउँछ ।

चौथो दिन – गोवर्धन पूजा / मः पूजा

चौथो दिनलाई गोवर्धन पूजा वा मः पूजा पनि भनिन्छ। यस दिन गोरुको पूजा गरिन्छ, किनभने तिनीहरू कृषक जीवनका आधार हुन् । केही ठाउँमा गाईको गोबरबाट गोवर्धन पर्वतको आकृति बनाएर पूजा गरिन्छ, जसले भगवान् कृष्णले गोवर्धन पर्वत उठाएर गोकुलका मानिसहरूलाई बचाएको सम्झना गराउँछ । नेवार समुदायमा यो दिन मः पूजा मनाइन्छ । यस दिनमा आत्माको पूजा गरिन्छ। यसले आत्मसम्मान र स्वच्छ मनको महत्व सिकाउँछ।

अन्तिम दिन – भाइटीका

तिहारको अन्तिम र सबैभन्दा भावनात्मक दिन भाइटीका हो । यस दिन दिदीबहिनीहरूले दाजुभाइलाई सप्तरङ्गी टीका लगाएर दाजुभाईको दीर्घायु, सुख, र सफलता कामना गरिन्छ । दाजुभाइहरूले पनि दिदीबहिनीलाई उपहार, दक्षिणा र अपार माया, स्नेह दिन्छन्। भाइटीका पारिवारिक प्रेम र सम्बन्धको प्रतीक हो । यो दिन दाजुभाइ र दिदीबहिनी बीचको सम्बन्ध अझ गहिरो र बलियो बन्छ ।

तिहारको सन्देश

तिहार केवल पूजा र बत्ती बाल्ने पर्व मात्र होइन, यो प्रेम, सम्मान, दया, र एकताको पर्व हो । यसले हामीलाई जनावर, प्रकृति, देवीदेवता, र मानिस सबैप्रति आभार प्रकट गर्न सिकाउँछ । तिहारले अन्धकारबाट उज्यालोतर्फको यात्रा, निराशाबाट आशातर्फको परिवर्तन, र दुःखबाट खुशीतर्फको बाटो देखाउँछ र हरेक बत्तीले आशाको सन्देश दिन्छ र हरेक गीतले खुशी बाँड्छ । त्यसैले, हामी सबैले तिहारको असली अर्थ बुझेर आफ्नो जीवन र समाजमा उज्यालो फैलाउने प्रयास गर्नु पर्दछ ।

0 reads

Published on 11/19/2025

Image

Prapya enjoys reading a variety of storybooks.

Prapya Mishra

Grade 6

Roll No: 32049

4

More Articles from

Student

Underline