मसान नाटकः नारीपीडाको सशक्त प्रस्तुति
मसान नाटकः नारीपीडाको सशक्त प्रस्तुति
१. विषय परिचय :
गोपालप्रसाद रिमालद्वारा लिखित ‘मसान’ नेपाली नाटक साहित्यको महत्त्वपूर्ण सामाजिक तथा यथार्थवादी नाटक हो। यस नाटकले तत्कालीन नेपाली समाजमा विद्यमान पुरुषप्रधान सोच, नारीमाथि हुने अन्याय, अत्याचार तथा महिलाको स्वतन्त्र अस्तित्वमाथिको नियन्त्रणलाई मुख्य विषय बनाएको छ। नाटकमा तत्कालीन समाजमा जन्म, विवाह, सन्तान प्राप्तिको चाहना, घरझगडा, तीर्थयात्रा, नोकरचाकर, मृत्यु तथा घर छाड्ने प्रवृत्तिजस्ता सामाजिक अवस्थालाई यथार्थ रूपमा प्रस्तुत गरिएको छ।
‘मसान’को मूल समस्या नारीलाई स्वतन्त्र व्यक्तिका रूपमा नभई पुरुषको इच्छा र सन्तान प्राप्तिको साधनका रूपमा हेर्ने पुरुष प्रधान मानसिकतासँग सम्बन्धित छ। नाटककी प्रमुख पात्र युवतीमाथि कृष्णले गरेको अन्याय, सन्तान नहुने अवस्थालाई लिएर उसलाई दोषी ठहराउने प्रवृत्ति तथा दोस्रो विवाह गर्ने निर्णयले तत्कालीन समाजमा महिलाले भोग्नुपरेको पीडालाई उजागर गरेको छ। यसरी ‘मसान’ केवल एउटा परिवारको कथा नभई तत्कालीन नेपाली समाजमा नारीको अवस्था र अधिकारको प्रतिनिधि कथा बनेको छ।
२. विषयवस्तु:-
‘मसान’ नाटकको मुख्य विषय नारीमाथि हुने अन्याय, शोषण र पुरुषप्रधान सामाजिक संरचनाको विरोध हो। नाटकमा कृष्ण, युवती र दुलही मुख्य पात्रका रूपमा प्रस्तुत भएका छन्। यी पात्रमार्फत लेखकले पुरुषप्रधान समाजका विभिन्न पक्षलाई उजागर गरेका छन्। कृष्ण शिक्षित तथा आधुनिक देखिए पनि व्यवहारमा स्वार्थी, गैरजिम्मेवार र पुरुषवादी मानसिकताबाट ग्रसित पात्र हो। उसले युवतीलाई प्रेम गरे पनि सन्तान प्राप्तिको इच्छालाई प्रेमभन्दा माथि राख्छ। युवतीलाई सन्तान नहुने औषधि खुवाएर उसको मातृत्वको अधिकारबाट वञ्चित गर्छ। युवतीले आफ्नै कमजोरीका कारण सन्तान नभएको ठानेर लामो समयसम्म वास्तविकता बुझ्न सक्दिन।
पछि कृष्णले अर्को विवाह गर्छ र दुलहीबाट सन्तान प्राप्त गर्छ। यस घटनाले युवतीको जीवनमा थप पीडा ल्याउँछ। दुलही गर्भवती हुँदा उसले उचित स्याहार पाउन नसक्नु र अन्ततः सुत्केरी अवस्थामा मृत्यु हुनु पनि पुरुषप्रधान तथा गैरजिम्मेवार पारिवारिक व्यवस्थाको परिणामका रूपमा देखिन्छ। नाटकमा युवतीको चरित्र विशेष महत्त्वपूर्ण छ। सुरुमा ऊ अन्याय सहने, भावुक र सहनशील देखिए पनि पछि कृष्णले आफूलाई गरेको अपराध थाहा पाएपछि ऊ विद्रोहमा उत्रिन्छे। आफ्ना अधिकार र अस्तित्वको खोजी गर्दै अन्ततः घर छाड्ने निर्णय गर्छे। यसबाट नारीमा उत्पन्न हुने चेतना, आत्मसम्मान र स्वतन्त्रताको चाहनालाई लेखकले प्रभावकारी रूपमा प्रस्तुत गरेका छन्। दुलही पनि नारीपीडाको अर्को प्रतिनिधि पात्र हो। उसले विवाहपछि पत्नीको रूपमा आफ्नो अधिकार र सम्मान पूर्ण रूपमा प्राप्त गर्न सक्दिन। सन्तान जन्माएपछि पनि उसको अवस्था सुरक्षित हुँदैन। यसरी युवती र दुलही दुवै पात्रले पुरुषप्रधान समाजमा महिलाले भोग्नुपरेका फरक फरक पीडालाई प्रतिनिधित्व गर्छन्।
३. आलाेचनात्मक विश्लेषण / पुस्तकप्रति मेराे दृष्टिकाेण
मेरो दृष्टिकोणमा ‘मसान’ अत्यन्त प्रभावशाली सामाजिक यथार्थवादी नाटक हो। गोपालप्रसाद रिमालले यस नाटकमार्फत तत्कालीन नेपाली समाजमा नारीले भोग्नुपरेका पीडा, अपमान र अन्यायलाई केवल भावनात्मक रूपमा नभई सामाजिक समस्याका रूपमा प्रस्तुत गरेका छन्। नाटकको सबैभन्दा बलियो पक्ष यसको नारीवादी चेतना हो, जसमा युवतीको चरित्र सुरुमा पीडित र सहनशील भए पनि अन्त्यतिर अधिकार र स्वतन्त्रताका लागि विद्रोह गर्ने पात्रका रूपमा विकसित हुन्छ। यसले नारीलाई केवल घरपरिवारमा सीमित राख्ने सोचको विरोध गर्दै युवतीले आफ्नो अस्तित्व र आत्मासम्मानको खोजी गर्दै घर छाड्नु नाटकको महत्त्वपूर्ण विद्रोही पक्षका रूपमा देखिन्छ।
त्यसै गरी, कृष्णको चरित्रमार्फत लेखकले पुरुषप्रधान समाजको विरोधाभास देखाएका छन्, जहाँ कृष्ण आफैँलाई शिक्षित र आधुनिक ठान्छ तर व्यवहारमा युवतीको जीवन, शरीर र मातृत्वमाथि नियन्त्रण गर्न खोज्छ। दुलहीको मृत्युले पनि नाटकको सामाजिक सन्देशलाई अझ गम्भीर बनाउँदै महिलाप्रति समाज र परिवारको गैरजिम्मेवार दृष्टिकोण उजागर गर्छ। विवाह, बहुविवाह, सन्तान प्राप्तिको चाहना र महिलामाथिको नियन्त्रणजस्ता विषयको यथार्थपरक प्रस्तुति भएकाले ‘मसान’ आज पनि सान्दर्भिक छ। यद्यपि केही घटनाहरू अत्यन्त दुःखान्त र भावनात्मक भएकाले समस्या समाधानभन्दा समस्याको गम्भीरता बढी देखिए पनि यही पक्षले पाठकलाई सामाजिक कुरीतिबारे गहिरो रूपमा सोच्न बाध्य बनाउँछ।
४. निष्कर्ष र सिफारिस
मसान नाटक नेपाली समाजमा विद्यमान पुरुषप्रधान सोच र त्यसबाट सिर्जित नारीपीडाको सशक्त प्रस्तुति हो। कृष्ण, युवती र दुलहीका माध्यमबाट गोपालप्रसाद रिमालले नारीमाथि हुने शोषण, अन्याय, बहुविवाह, मातृत्वमाथिको नियन्त्रण, पारिवारिक उपेक्षा तथा महिलाको अस्तित्वलाई गौण ठान्ने प्रवृत्तिको आलोचना गरेका छन्। नाटकमा युवतीले भोगेको पीडा र अन्त्यमा गरेको विद्रोहले महिलालाई आफ्नो अधिकार र स्वतन्त्रताका लागि आवाज उठाउन प्रेरित गर्छ। दुलहीको दुःखद मृत्युले महिलालाई केवल सन्तान जन्माउने माध्यमका रूपमा हेर्ने सामाजिक सोच कति अमानवीय हुन सक्छ भन्ने देखाउँछ। यसरी मसानले नारीको सम्मान, समानता, स्वतन्त्रता र आत्मनिर्णयको आवश्यकतालाई स्पष्ट रूपमा स्थापित गरेको छ।
मसान जस्तो सामाजिक चेतनामूलक नाटकलाई विद्यालयमा अध्ययन गराउनु उपयोगी हुन्छ। यसबाट विद्यार्थीहरूले साहित्यिक ज्ञानसँगै लैङ्गिक समानता, मानव अधिकार, महिला अधिकार र सामाजिक न्यायका विषयमा पनि ज्ञान प्राप्त गर्न सक्छन्। त्यस्तै, वर्तमान समाजमा पनि महिलामाथि हुने विभेद तथा हिंसाका विभिन्न रूप देखिने भएकाले मसानको सन्देश सान्दर्भिक छ। परिवारमा छोरा र छोरीबिच समान व्यवहार गर्ने, महिलाको निर्णयलाई सम्मान गर्ने, विवाह तथा मातृत्वलाई महिलाको बाध्यता नबनाउने र महिलालाई शिक्षा तथा आर्थिक रूपमा आत्मनिर्भर बनाउने वातावरण निर्माण गर्नुपर्छ।
अन्ततः, मसानले दिएको मुख्य सन्देशलाई आत्मसात् गर्दै नारीलाई भोग्या वस्तु होइन, समान अधिकार र स्वतन्त्र अस्तित्व भएको मानवका रूपमा सम्मान गर्ने समाज निर्माण गर्नुपर्छ। यही नै यस नाटकको मूल उद्देश्य र आजको समाजका लागि यसको महत्त्वपूर्ण सिफारिस हो।
4 reads
Published on 9/16/2026
Sadhvi Aryal is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Sadhvi Aryal
Grade 10
Roll No: 29029
8