आफैँसँगको संवाद
भिडले भरिएको यो सहरमा
म आफैँसँग अल्झिरहेकी छु,
चिनजान अनुहारहरूबिच
मेरो नाम कसैले उच्चारण गर्दैन ।
हातमा समयको धुलो टाँसेर
म हिजोका दिनहरू गन्दै बस्छु,
जहाँ सपनाहरू उज्याला थिए
र डरहरू साना देखिन्थे।
कहिलेकाहीँ रात
एकदमै लामो हुन्छ,
तकियामा टेकेको मौनताले
मेरो मनको भार अझै भारी बनाउँछ ।
आँखा बन्द गर्दा पनि
प्रश्नहरू खुलै रहन्छन्,
“म ठिक दिशामा छु त ?”
भनेर मेरो मन
बारम्बार आफैँसँग सोध्छ ।
टुटेका भरोसाहरू
मेरो छातीभित्र गाडिएका छन्,
तर तिनै घाउहरूबाट
मेरो संवेदनशीलता जन्मिन्छ ।
म लडेकी छु,
धेरै पटक लडेकी छु,
तर हरेक चोटपछि
उठ्ने अभ्यास पनि
मैले आफैँ सिकेकी छु ।
किनकि जीवन
सधैँ जित्ने कथा होइन,
कहिलेकाहीँ त
मेरो धैर्यको परीक्षा मात्रै हो ।
हावा चल्दा पनि
मेरो मन स्थिर रहन खोज्छ,
किनकि आँधीले मात्र
मेरो जरा कति गहिरो छ भन्छ ।
आशा भनेको
धेरै ठुलो सपना होइन,
अँध्यारो भोलिमा
सानो उज्यालो देख्ने
मेरो आँट हो ।
आज म थाकेको छु,
मेरो आवाज काँपेको छ,
तर मेरो आत्मा
अझै हार मान्न
तयार छैन ।
किनकि भोलि
सूर्य फेरि उदाउने छ,
र, म फेरि पनि
आफैँलाई रोज्ने छु ।
0 reads
Published on 1/19/2026
Sadhvi Aryal is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Sadhvi Aryal
Grade 9
Roll No: 29029
7