“भग्न प्रेमशालाः वियोगात्मक कथाहरूको एक असहज सङ्ग्रह”
“भग्न प्रेमशालाः वियोगात्मक कथाहरूको एक असहज सङ्ग्रह”
विषय प्रवेशः
खगेन्द्र गिरी नेपाली पत्रकारिता र साहित्यका क्षेत्रमा सक्रिय व्यक्तित्व हुन्। पत्रकार, लेखक तथा अनुवादकका रूपमा परिचित गिरीले एक दशकभन्दा बढी समयदेखि पत्रकारिताको क्षेत्रमा योगदान दिँदै आएका छन्। हाल उनी विगत छ वर्षदेखि नेपालखबरसँग आबद्ध छन् भने यसअघि नयाँ पत्रिका र अन्नपूर्ण पोस्टमा पनि कार्यरत थिए । सोलुखुम्बु जिल्लाकाे जुबुमा जन्मिएका गिरी उच्च शिक्षाको खोजीमा काठमाडौँ आएका थिए। उनले स्नातक तथा स्नातकोत्तर तहको अध्ययन काठमाडौँमै सम्पन्न गरेका हुन्। विद्यालय जीवनको कक्षा ११ देखि नै कथात्मक लेखनतर्फ आकर्षित भएका उनले आफ्ना अनुभूति, अवलोकन र जीवनका विविध पक्षलाई शब्दमार्फत अभिव्यक्त गर्ने अभ्यासलाई निरन्तरता दिँदै आएका छन्।
लेखनसँगै अनुवादको क्षेत्रमा पनि उनको सक्रिय उपस्थिति रहेको छ। उनले विश्वप्रसिद्ध कृति The Diary of a Young Girl लाई नेपालीमा ‘एक किशोरीको डायरी’ शीर्षकमा अनुवाद गरेका छन्। पत्रकारिताको व्यस्त यात्रासँगै साहित्य सिर्जनालाई अघि बढाइरहेका गिरीको ‘हाप्सिलो’ पहिलो कृतिका रूपमा प्रकाशित भएको छ। उनको हालै प्रकाशन भएको पुस्तक भने भग्न प्रेमशाला नै हो। यस कृतिमार्फत उनले प्रेम, वियोग, स्मृति र मानवीय संवेदनाका सूक्ष्म पक्षहरूलाई पाठकमाझ प्रस्तुत गर्ने प्रयास गरेका छन्।
खगेन्द्र गिरीद्वारा लिखित ‘भग्न प्रेमशाला’ इन्डिगो इन्क पब्लिकेसनबाट प्रकाशित कथासङ्ग्रह हो। २०८२ सालमा प्रकाशित यस कृतिको पहिलो तथा हालसम्मको नवीनतम संस्करण पनि २०८२ सालमै प्रकाशित भएको छ । २४४ पृष्ठमा फैलिएको यस सङ्ग्रहको मूल्य रु. ५४९ रहेको छ। यस कथासङ्ग्रहमा जम्मा नौ वटा कथाहरू समावेश छन्ः निर्मुक्त स्त्री, मखमल, अदृश्य; अतः निहत्था, किमा पराठा, चिसो, स्माइल प्लिज!, खुकुरी, हाप्सिलो र हगनगौँडा। यी कथाहरूले प्रेम, वियोग, एक्लोपन, स्मृति, सम्बन्धका जटिल आयाम तथा समकालीन समाजका विविध यथार्थलाई आफ्नै शैलीमा प्रस्तुत गरेका छन्। कथाभित्रका पात्रहरू जीवनका अनेक उतारचढावसँग जुधिरहेका देखिन्छन्, जसका अनुभूति र मनोविज्ञानले पाठकलाई कथाको भावभूमिसँग निकट बनाउँछन्।
‘भग्न प्रेमशाला’ शीर्षकले नै प्रेमको विघटन, सम्बन्धको चिरा र भावनात्मक विछोडको सङ्केत गर्दछ। सङ्ग्रहका अधिकांश कथाहरूमा प्रेम केवल प्राप्तिको विषय नभई गुमाइ, प्रतीक्षा, पीडा र स्मृतिको अनुभवका रूपमा उपस्थित भएको पाइन्छ। यही कारणले यस कृतिलाई वियोगात्मक संवेदनाले भरिएको कथासङ्ग्रहका रूपमा ग्रहण गर्न सकिन्छ। समकालीन नेपाली समाजका विविध पक्षहरूलाई सूक्ष्म ढङ्गले नियाल्दै लेखिएका यी कथाहरूले पाठकलाई मनोरञ्जनका साथै जीवन, सम्बन्ध र मानवीय संवेदनाबारे गम्भीर रूपमा सोच्न पनि प्रेरित गर्छन्।
विषयवस्तुः
“पिरती कहाँ छ ? माया कहाँ छ ? बिहे त कानुनी बन्धन पो भइसकेछ। आर्थिक अल्झन भइसकेछ।”
(निर्मुक्त स्त्री” : पृष्ठ सङ्ख्या ३४
कथासङग्रहका अन्य अधिकांश कथा स्वैरकल्पनामा डुबेर रचना गरेको हुँदाहुँदै निर्मुक्त स्त्री भने वर्तमान यथार्थसँग जस्ताको त्यसतै मेल खान्छ। प्रतिनिधि पात्र कल्पनाका नेत्रबाट हामीले संसार देख्ने अवसर पाउछौँ। यसका साथसाथै उनको नै माध्यमबाट हामीले पारिवारिक कलह, घरेलु हिंसा, आर्थिक विपन्नता, नारीमाथि हुने भेदभाव, शोषण, समलैङ्गिक प्रेम सम्बन्धजस्ता धेरै विद्यमान विषयहरूबारे कथात्मक रूपमा देख्न सक्छौँ। कथाको सुरुआतमा हामीले एउटा यस्तो आइमाईको जीवनकथा पढ्छौँ जसले आफ्नो अन्यायमा फसेको पतिलाई न्याय दिलाउन आफ्नो सम्पूर्ण जीवन समर्पित गर्छिन्। अन्ततः पतिले न्याय पाएपछि वर्षौँ भोकोनाङ्गो भई भौँतारिएकी आफ्नी श्रीमती कुरुप भएको देख्दा उसको मनमा घृणा उत्पन्न हुन्छ र उसले आफ्नो श्रीमतीलाई छोडिदिन्छ।
कथाको यस्तो असहज अन्त्यपछि हामी अचानक कल्पनाको जीवनमा प्रवेश गर्छाैँ। गाउँमा हुर्केकी कल्पनालाई आफ्नो परिवारको आर्थिक स्थिति, भाइबहिनीप्रतिको माया, बुढा हुँदै गइरहेका बुबाआमामाथिको जिम्मेवारी जस्ता कुराहरूले काठमाडौँ गएर पढ्न दोमन भए पनि उनी जान्छिन्। उनी फुपूको घरमा बस्छिन्। त्यहाँ हुँदा उनको उग्र, वृन्दाजस्ता पात्रहरूसँग प्रेमसम्बन्ध पनि स्थापना हुन्छ। उनले पढाइ सक्काएपछि कलेजमा पढाउने काम गर्न थाल्छिन्। पछि उसको आफ्नै एकजना विद्यार्थी बुद्धहाङसँग प्रेम सम्बन्ध स्थापित हुन्छ र विवाहमा परिणत पनि हुन्छ। बुद्धहाङ सुरुसुरुमा अत्यन्तै माया गर्ने पति भए पनि कथाको क्रम अघि बढेसँगै उसले पनि कल्पनालाई जागिर, बच्चाजस्ता विषयहरूमा नियन्त्रण गर्न थाल्छ।
कल्पनाका दुई जना बच्चाहरू जन्मिसकेका थिए। बुद्धहाङ र कल्पनाको सम्बन्ध भने खस्किँदै मात्र गएको थियो। बुद्धहाङले कल्पनामाथि हात उठाउन थालेको थियो, अन्य स्त्रीहरूसँग शारीरिक सम्बन्ध गाँस्न थालिसकेको थियो। कल्पनाले भने बच्चाहरूलाई हुर्काउन आफ्नो राम्रो जागिर छोडिसकेकी हुन्छिन्। उनिहरूका एक जना नयाँ सोच राख्ने, प्रगतिवादी छिमेकी सिर्जुले कल्पनालाई डिभोर्स गर्ने सल्लाह दिएको सन्दर्भमा कल्पनाका मस्तिष्कमा आएका केही सोचहरू माथिको गद्यांशमा समावेश गरिएका हुन्। कल्पनाले कानुनी झन्झट सहन नचाहेर र आर्थिक भार बोक्न नचाहेर मात्र डिभोर्स नगरेकी हुन्। डिभोर्स नै नगरे पनि बुद्धहाङसँग आफ्नो जीवन छुट्टाएर कल्पना सिर्जुसँग समलैङ्गिक सम्बन्धमा बसेको प्रसङ्ग निर्मुक्त स्त्री कथामा प्रस्तुत छ।
‘निर्मुक्त स्त्री’ कथाले प्रेम, विवाह र स्त्री-अस्तित्वका विषयलाई केन्द्रमा राखेर पितृसत्तात्मक समाजको गहिरो आलोचना गरेको छ। कथाकी मुख्य पात्र कल्पनामार्फत लेखकले महिलाले परिवार, सम्बन्ध र समाजका लागि गर्ने त्यागको मूल्य कति पटक उपेक्षित हुन्छ भन्ने यथार्थ उजागर गरेका छन्। बुद्धहाङको चरित्रमार्फत पुरुषप्रधान मानसिकताको प्रतिनिधित्व गरिएको छ भने सिर्जुको उपस्थितिले वैकल्पिक जीवनदृष्टि र स्वतन्त्र अस्तित्वको सम्भावनालाई उद्घाटित गरेको छ। समलैङ्गिक सम्बन्धको प्रसङ्गलाई पनि लेखकले सनसनीपूर्ण रूपमा नभई आत्मीयता, सम्मान र भावनात्मक सुरक्षाको खोजीका रूपमा प्रस्तुत गरेका छन्। यसरी ‘निर्मुक्त स्त्री नारी स्वतन्त्रता, आत्मनिर्णय र मानवीय सम्बन्धको वास्तविक अर्थमाथि गम्भीर प्रश्न उठाउने सशक्त सामाजिक कथा बनेको छ।
“जिउँदासँग नामक लोकप्रिय र प्रेरणादायी कार्यक्रमका प्रस्ताेता चौलागाईंले डेढ महिनाअघि मात्र ज्ञानोदय टेलिभिजन छाडेका थिए। प्राप्त समाचार अनुसार टेलिभिजनको आर्थिक अवस्था खस्किएपछि उनीसहित दर्जनौँ सञ्चारकर्मीलाई व्यवस्थापनले निकालेको थियो परिवार र आफन्तसँग उनले युट्युब च्यानल सुरु गर्ने बताउँदै आएका थिए।”
(खुकुरी : पृष्ठ सङ्ख्याः १७६ )
कथासङ्ग्रहका अन्य कथाहरूको तुलनामा ‘खुकुरी’ स्वैरकल्पनाको प्रयोगका कारण विशेष रूपमा फरक देखिन्छ । कथाको केन्द्रमा पत्रकार संबित चौलागाईं छन्, जसले ‘मृतकहरूसँग’ नामक युट्युब शृङ्खला सञ्चालन गर्छन्। यस शृङ्खलामार्फत उनले विभिन्न कालखण्डमा मृत्यु भोगिसकेका व्यक्तिहरूसँग अन्तर्वार्ता लिन्छन् र उनीहरूका जीवन तथा मृत्युका कथाहरू सुन्छन्। यसरी कथा वर्तमान र विगत, यथार्थ र कल्पनाको सङ्गममा अघि बढ्छ।
संबितले अन्तर्वार्ता लिने पात्रहरू नेपाली इतिहासका विभिन्न कालखण्ड र घटनासँग सम्बन्धित छन्। अभिकेसर र मिसिरी पन्ध्र वर्ष वैवाहिक जीवन बिताएको दम्पती हुन्। अभिकेसर कोत पर्वमा मारिन्छन् भने मिसिरीलाई सती जान बाध्य पारिन्छ। मृत्यु पछिसमेत उनीहरूबिचको तिक्तता समाप्त भएको हुँदैन। त्यसै गरी जनआन्दोलनका योद्धा विराट खुकुरी प्रहारबाट मारिएका थिए भने उनकी दिदी शिखाले पनि जनयुद्धका क्रममा ज्यान गुमाएकी थिइन् । जगतबहादुर नेपाली सेनाका सैनिक थिए, तर एउटा चिनियाँ सैनिकको बन्दुक आफ्नो सम्झनाका लागि राखेकै कारण उनीमाथि चिनियाँ जासुस भएको आरोप लगाइयो र अन्ततः उनको हत्या गरियो । चामुले नेपाल–अङ्ग्रेज युद्धमा लड्दै ज्यान गुमाएका थिए भने जगदल पृथ्वीनारायण शाहको एकीकरण अभियानअन्तर्गत नुवाकोट आक्रमणमा सहिद भएका पात्र हुन्। यी सबै पात्रहरूको कथामार्फत नेपाली इतिहासका विविध कालखण्डका हिंसा, अन्याय र बलिदानका घटनाहरू कथाभित्र समेटिएका छन्।
कथाको वर्तमान पक्षमा भने रोजगारीका लागि दक्षिण कोरिया जान पाउनुपर्ने माग राख्दै आन्दोलन गरिरहेका युवाहरूको प्रसङ्ग प्रस्तुत गरिएको छ। मन्त्रीको सवारी जोगाउने क्रममा प्रहरीले प्रयोग गरेको बलका कारण दैलेख र डोटी नामका दुई युवाको मृत्यु हुन्छ। यही घटनाको समाचार प्रस्तुत भइरहेका बेला लोकप्रिय पत्रकार संबित चौलागाईं आफ्नै निवासमा मृत अवस्थामा फेला परेको समाचार सार्वजनिक हुन्छ। प्रारम्भिक अनुसन्धानले आत्महत्याको आशङ्का गरेको उल्लेख गरिएको छ। यसरी कथा एक अप्रत्याशित र रहस्यमय मोडमा टुङ्गिन्छ।
‘खुकुरी’ कथाले नेपाली इतिहासका विभिन्न कालखण्डमा भएका हिंसा, युद्ध, राजनीतिक सङ्घर्ष र राज्यद्वारा भएका अन्यायलाई एउटै सूत्रमा गाँस्ने प्रयास गरेको छ। कथामा प्रयोग गरिएको ‘खुकुरी’ केवल हतियारको प्रतीक मात्र होइन, बरु हिंसा, सत्ता, विद्रोह र मृत्युको प्रतीकका रूपमा उपस्थित भएको देखिन्छ। मृत व्यक्तिहरूसँग अन्तर्वार्ता लिने कल्पनाशील संरचनाले लेखकलाई इतिहासका मौन र दबिएका आवाजहरू बोल्ने अवसर दिएको छ। कथाभरि मृत्युको उपस्थिति रहे पनि यसको उद्देश्य केवल दुःखको चित्रण गर्नु नभई इतिहासका पानामा हराएका व्यक्तिहरूको कथा पुनः स्मरण गराउनु हो। संबित चौलागाईंको अन्त्य पनि प्रतीकात्मक देखिन्छ, किनभने मृतकहरूको कथा खोज्दै हिँड्ने पात्र अन्ततः आफैँ एउटा मृतक समाचारको विषय बन्न पुग्छ। यसरी ‘खुकुरी’ ले इतिहास, स्मृति, अन्याय र मानवीय नियतिबारे गम्भीर प्रश्न उठाउँदै पाठकलाई सोच्न बाध्य बनाउने प्रभावशाली कथा प्रस्तुत गरेको छ।
आलाेचनात्मक विश्लेषण:
‘भग्न प्रेमशाला’ पढिसकेपछि पाठकको मनमा सबैभन्दा पहिले बस्ने कुरा यसको भावभूमि हो। सङ्ग्रहका अधिकांश कथाहरूमा मृत्यु र यौनिकता प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा दोहोरिएर आएका छन्। यी विषयहरू पात्रहरूको मनोविज्ञान, सम्बन्धको जटिलता र जीवनका कटु यथार्थलाई उद्घाटित गर्ने माध्यम बनेका छन्। यसले लेखकका लागि प्रेम केवल रोमान्टिक अनुभूति नभई जीवनका अँध्यारा, असुरक्षित र असहज पक्षहरूसँग गाँसिएको अनुभव हो भन्ने सङ्केत गर्दछ।
सङ्ग्रहका अधिकांश कथाहरू दुःखान्त, पीडादायी वा कम्तीमा असहज अनुभूति दिने प्रकृतिका छन्। सम्बन्धको विघटन, मृत्यु, अन्याय, एक्लोपन र मानसिक द्वन्द्वजस्ता विषयहरू बारम्बार दोहोरिन्छन्। यद्यपि ‘स्माइल प्लिज!’ यस सन्दर्भमा केही फरक देखिन्छ। यस कथाले जीवनका कठिन परिस्थितिहरूबिच पनि मुस्कानको महत्त्वलाई जोड दिएको छ । कथाले मानिसलाई आफ्नो खुसी खोसिरहेका सम्बन्ध, पेशा वा परिस्थितिहरूबाट मुक्त हुन सक्नुपर्छ भन्ने सन्देश दिन खोजेको अनुभूति हुन्छ। त्यसैले सङ्ग्रहको समग्र गम्भीर वातावरणभित्र यो कथा आशावादको एउटा झिल्को बनेर उभिएको छ।
‘खुकुरी’ कथामा लेखकको स्वैरकल्पनात्मक प्रवृत्ति विशेष रूपमा देख्न सकिन्छ। मृत व्यक्तिहरूसँग अन्तर्वार्ता लिने पत्रकार संबित चौलागाईंको अवधारणा यथार्थभन्दा परको भए पनि त्यसमार्फत युद्ध, अपराध, अन्याय र मृत्युका कथाहरूलाई प्रभावकारी ढङ्गले प्रस्तुत गरिएको छ। यस कथाले कहिलेकाहीँ कल्पनाले पनि यथार्थभन्दा गहिरो सत्य व्यक्त गर्न सक्छ भन्ने कुरा प्रमाणित गर्दछ।
त्यस्तै ‘निर्मुक्त स्त्री’ मा समलैङ्गिक सम्बन्धको प्रसङ्गलाई लेखकले अत्यन्त स्वाभाविक ढङ्गले प्रस्तुत गरेका छन्। यसलाई कथामा अनावश्यक रूपमा जोडिएको वा पाठकलाई प्रभावित पार्न मात्र प्रयोग गरिएको अनुभूति हुँदैन। बरु पात्रको जीवनयात्रा र भावनात्मक अवस्थाको स्वाभाविक परिणामका रूपमा यसको विकास भएको देखिन्छ। नेपाली साहित्यमा यस्ता विषयहरू प्रायः सीमित रूपमा उठाइने भएकाले यो पक्ष उल्लेखनीय लाग्छ।
सङ्ग्रहभित्र ‘चिसो’ कथा विशेष रूपमा स्मरणीय बनेको छ। कथामा ‘चिसो’ शब्दले अनेक अर्थ बोकेको छ। माछा व्यवसायसँग सम्बन्धित चिसोपन, शव परीक्षण गर्ने पात्रले दैनिक रूपमा भेट्ने चिसा शरीरहरू तथा पात्रहरूबिच सम्बन्धमा उत्पन्न हुने भावनात्मक दूरी सबै एउटै शब्दमार्फत जोडिएका छन्। एउटै शब्दलाई कथाभर विभिन्न तहमा अर्थपूर्ण रूपमा प्रयोग गर्दै त्यसलाई कथाको मूल संवेदनासँग गाँस्ने लेखकको क्षमता प्रशंसनीय छ। यस दृष्टिले ‘चिसो’ शीर्षक कथाको केन्द्रीय प्रतीकका रूपमा सफल देखिन्छ।
समग्रमा ‘भग्न प्रेमशाला’ले प्रेमका उज्याला पक्षभन्दा त्यसका विखण्डित, असफल र पीडादायी रूपहरूलाई बढी स्थान दिएको छ। कतिपय कथाहरूले पाठकलाई असहज बनाउँछन्, कतिपयले झस्काउँछन्, तर प्रायः सबै कथाहरूले कुनै न कुनै रूपमा सोच्न बाध्य बनाउँछन्। यही विशेषताले यस सङ्ग्रहलाई साधारण प्रेमकथाहरूको सङ्ग्रहभन्दा फरक पहिचान प्रदान गरेको छ।
निष्कर्ष र सिफारिस:
समग्रमा ‘भग्न प्रेमशाला’ एउटा विचारोत्तेजक र आँखाअगाडि नयाँ दृष्टिकोण खोलिदिने कथासङ्ग्रहका रूपमा उभिएको छ। यस सङ्ग्रहले नेपाली समाजमा विद्यमान अनेक सामाजिक, राजनीतिक र मनोवैज्ञानिक समस्याहरूमाथि पाठकलाई सोच्न बाध्य बनाउँछ। पितृसत्तात्मक सोचका दुष्परिणाम, घरेलु हिंसा, समलैङ्गिक सम्बन्ध, बालमनोविज्ञान, राजनीतिक सङ्घर्ष, यौन हिंसा तथा नेपाली समाजले विभिन्न कालखण्डमा भोगेका अन्यायजस्ता विषयहरूलाई लेखकले विविध कथामार्फत प्रभावकारी रूपमा प्रस्तुत गरेका छन्। कथाहरूको विषयवस्तु फराकिलो भएकाले पाठकले एकै सङ्ग्रहबाट धेरै फरक अनुभव र दृष्टिकोण प्राप्त गर्न सक्छ।
यद्यपि यस सङ्ग्रहका केही सीमाहरू पनि देखिन्छन् । कथाहरूमा यौनसम्बन्धी प्रसङ्गहरूको प्रयोग अत्यन्तै धेरै र कतिपय स्थानमा निकै स्पष्ट रूपमा गरिएको छ। त्यसै गरी केही कथाहरूमा प्रयोग भएका अश्लील तथा अपमानजनक शब्दहरूले पनि कम उमेरका पाठकमा नकारात्मक प्रभाव पार्न सक्ने सम्भावना देखिन्छ। मृत्यु, हत्या, अपराध, अन्याय र विफल सम्बन्धजस्ता विषयहरूको निरन्तर उपस्थितिले समग्र सङ्ग्रहलाई केही हदसम्म निराशावादी र गम्भीर बनाएको अनुभूति पनि हुन्छ। त्यसैले हल्का, मनोरञ्जनात्मक वा आशावादी पाठ्यसामग्री खोज्ने पाठकका लागि यो कृति उपयुक्त नहुन सक्छ।
म व्यक्तिगत रूपमा यस कृतिलाई आफ्नो उमेरसमूहका पाठकहरूलाई सिफारिस गर्न चाहन्नँ। तर समाजका जटिल यथार्थ, मानवीय सम्बन्धका विविध आयाम र समकालीन विषयहरूमाथि गम्भीर साहित्यिक दृष्टिकोण खोज्ने परिपक्व पाठकहरूका लागि भने ‘भग्न प्रेमशाला’ एक रोचक र विचारणीय पठनसामग्री बन्न सक्छ।
0 reads
Published on 7/15/2026
Subigya Raj Kharel is a student of 2029. He is passionate about software development, finance, international law, and global politics. Outside the classroom, he loves expanding and scaling his passion projects, reading thought-provoking books like The 48 Laws of Power, watching fun movies—especially superhero, mystery, thriller, and crime films such as the Iron Man and Batman trilogies—and enjoying both educational and entertaining TV shows like Suits. He is especially skilled in app development and diplomacy. Known for being curious, innovative, and thoughtful, he dreams of becoming a tech-driven entrepreneur. A fun fact about him: he is a youth ambassador for a global organization called HundrED and is currently building a live trading simulator to promote financial literacy among young people
Subigya Raj Kharel
Grade 10
Roll No: 29065
7
More Articles from
Student