underline

अविश्रान्तः समसामयिक लघुकथाहरूको एक सङ्ग्रह

Underline

Share:

अविश्रान्तः समसामयिक लघुकथाहरूको एक सङ्ग्रह परिचयः एल्बर्टा विश्वविद्यालयबाट पानीको गुणस्तर, फोहोर पानी प्रशोधन व्यवस्थापन र रिसाइकल प्रविधि विषयमा विद्यावारिधि गरेका बहुमुखी प्रतिभाका धनी डा. कुसुमकुमार गौतम पेशाले पानी प्रशोधनका विशेषज्ञ हुन् । हाल क्यानडास्थित एडमन्डलाई आफ्ना कर्मभूमि बनाएका उनी एल्बर्टा प्रदेश सरकारमा पानी प्रशोधन सल्लाहकारका रूपमा समेत काम गरिसकेका छन् तर भनिन्छ नि, एकपटक साहित्यले समाइसकेको मान्छेलाई संसारको जुनसुकै कुनामा पुगे पनि, जतिसुकै उच्च ओहोदामा पुगे पनि, साहित्यले कहिल्यै छोड्दैन । यही विचारका एक स्पष्ट दृष्टान्त हुन्, डा. गौतम । नेपाली लघुकथाको क्षेत्रमा निरन्तर कलम चलाउँदै आइरहेका सीमित व्यक्तिमध्ये उनी पनि एक हुन् । ‘हिउँको राप’ जस्तो चर्चित लघुकथा सङ्ग्रहमार्फत साहित्यिक क्षेत्रमा प्रवेश गरेका उनी यस पुस्तकका स्रष्टा हुन् । लघुकथाका क्षेत्रमा अर्को चर्चित नाम डा. हरिप्रसाद भणडारीले यस पुस्तकलाई “फरक स्वादका लघुकथाहरू”को रूपमा वर्णन गरेका छन् । २०८१ साल भाद्र महिनामा संस्करण गरिएको यस किताब काठमाडौँस्थित शब्दार्थ प्रकाशनले प्रकाशन गरेको हो । यस किताबमा जम्मा ६० अाेटा लघुकथाहरू समावेश गरिएका छन् । यी ६० लघुकथाहरू कुल ९३ पानामा फैलिएका छन् । ‘अविश्रान्त’ शब्दको अर्थ विश्राम नलिने, नथाक्ने, नरोकिने अवस्था हो । यस किताबमा पनि हरेक लघुकथामा समाजमा बल्झिरहने प्रश्नहरू पाठकसामु निरन्तर आइरहेका हुन्छन् । यी लघुकथाहरूमा बौद्धिक पलायन, कृत्रिम बौद्धिकताको अत्याधिक प्रयोग, जातीय विभेद, यौनव्यापार, बलत्कार, भ्रष्टाचारजस्ता गम्भीर विषयवस्तु समावेश छन् । तर लेखकले यी लघुकथाहरूमा यी समस्याहरूका समाधान भने दिदैँनन्, लामा लामा उपदेश दिँदैनन् । एउटा कथा सकिन नपाउँदै अर्को कथा सुरु हुन्छ । एउटा समस्या समाधान गर्न नपाउँदै अर्को समस्या आइपुग्छ, वास्तविक समाजजस्तै । यस्ता गहन विषयवस्तुहरू झल्काउने लघुकथाहरू आउने तीव्र क्रमका कारण पाठकहरूले विश्राम गर्ने अवसर नै पाउँदैनन् । सायद त्यसैले यस किताबको नाम ‘अविश्रान्त’ हो । विषयवस्तुः “यस्तै गौरवशाली शिक्षा नेपालमा भइदिएको भए देशबाहिर जान खोज्ने युवाको मन फेरिन्थ्यो कि ?” पृष्ठ सङ्ख्या १९, कथाः “गौरव” छोराले विद्यालयबाट ल्याएको पत्र पढेपछि चिरञ्जीवी दम्पती कक्षाकोठामा पुग्छन् । त्यहाँ अन्तर्राष्ट्रिय संस्कृति दिवस मनाइँदै हुन्छ । शिक्षकले संसारका विभिन्न देशहरूको परिचय झन्डामार्फत गराउँदै नेपालकै झन्डा संसारकै सबैभन्दा गणितीय झन्डा भएकाले क्यानडाको पाठ्यक्रममा समेत समावेश गरिएको कुरा बताउँछन् । कक्षाकोठाका भित्ताहरू पर्दाले ढाकिएका हुन्छन्, जसले अभिभावकहरूमा कौतुहलता पैदा गर्छ । शिक्षकको निर्देशनपछि विद्यार्थीहरूले भित्तामा लागेको पर्दा हटाउँछन् । पर्दा हटाइएपछि भित्ताभरि नेपालकै झन्डा देखिन्छ । त्यो दृश्य देखेर चिरञ्जीवी दम्पती अचम्मित र भावुक हुन्छन् । पराइ देशको कक्षाकोठामा आफ्नो देशको झन्डा यति सम्मानका साथ देख्दा उनीहरू गहिरो सोचमा डुब्छन् । आज कैयौँ नपालीहरू गुणस्तरीय शिक्षा पाउँने आशा बोकेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ताँती लाग्छन् । कथाले अप्रत्यक्ष ढङ्गमा बाहिरको शिक्षणशैली र नेपाली शिक्षणशैलीको तुलना गर्छ । क्यानडा जस्तो परको विकसित देशमा नेपालको झन्डालाई “सबैभन्दा गणितसम्मत डिजाइनको झन्डा” भनेर सम्मान दिइन्छ तर नेपालका अधिकांश विद्यालयहरूमा यस्तो हुँदैन । नेपाली विद्यार्थीहरू त नेपालको झन्डा विश्वको सबैभन्दा गणितसम्मत डिजाइनको झन्डा हो भन्ने तथ्यसँग नै अपरिचित हुन्छन् । यो अत्यन्तै लज्जास्पद कुरा हो र नेपाली शिक्षा प्रणालीको यो असक्षमता र कमजोरी नै ‘गौरव’ कथाले झल्काएको पनि छ । “बाग्मतीको फोहोर पानी पटक पटक पिएर किन मर्नु ?” - पृष्ठ सङ्ख्या २३, कथाः “अभिद्रोह” हिन्दु धर्मसंस्कृति अनुसार भारत देशमा बग्ने गंगा नदीको जल पवित्र हुन्छ, मानिसका सबै पाप मेटाइदिन्छ । यसैकारण मृत्युसंस्कार गर्दा पनि मृत शरीरमा गङ्गाजल आचमन गराइदिने चलन छ । नेपालमा बग्ने बाग्मती नदी पनि गङ्गा नदीमा नै मिश्रण हुन्छ । यस कथामा दुईअाेटा लासबिच भएको कुराकानीलाई देखाइएको छ । दाहिनेपट्टिको लासले बाग्मतीको जलसँग आचमन गराइदिएको परिवारसँगको असन्तुष्टि देब्रेपट्टिको लाससँग व्यक्त गर्दै थिए । असन्तुष्टिबाट अचम्म भएको देब्रेपट्टिको लासले बाग्मती जल र गङ्गा जल आचमन गराउनु समान नै हो भनेपछि दाहिनेपट्टिको लासले आफ्नो जीवनकथा सुनाउन थाल्छ। खासमा ऊ एउटा श्राद्धमा जाँदा पुरेतले बाग्मतीकाे जलले आचमन गर्नु भनेपछि उसलाई पखालाले सताएछ । हुँदाहुँदै पखालाले यति सताएछ कि उसको मृत्युको कारण नै त्यही पखाला भयो । जुन बाग्मतीजलका कारण उसलाई जीवन त्याग्नु पर्‍याे, त्यही बाग्मतीजलले मृत्युमा पनि पछ्याइरहेको थाहा पाउँदा दिक्क भएको रहेछ ऊ । मानव जात साँच्चै नै अचम्मको छ, पवित्र र पुजनीय मानिने त्यही गङ्गा अथवा बाग्मतीमा फोहोर फाली फाली विश्वकै प्रदुषित नदीहरूमा सूचिकृत गराइदिएका छन् । अनि त्यही प्रदुषित जलको आचमन गरेर आफ्नो स्वास्थ्य बिगार्छन् । मानवजातको यही मूर्खतालाई यस कथाले व्यङ्ग्यात्मक रूपमा तिरस्कार गरेको छ । “रोगको औषधी भनेर के लेखेका छन् त डाक्टरले ?” पृष्ठ सङ्ख्या ४१, कथाः “निरोगी घर” नेपाली समाजका कयौँ विशेषतामध्ये एक हो सासूबुहारीबिच हुने कुकुरबिरालोतुल्य अनन्त झैझगडा । नेपालीसमाजका यही सासूबुहारीका प्रतिनिधिका रूपमा यस कथाहरूका पात्र हुन्ः कमला र सासूआमा । कमला निकै बिरामी परेपछि उनका पति उदयले उनलाई डाक्टर कहाँ लग्छन् । त्यहाँ गएर सोधपुछ गरेपछि उदयले डाक्टरलाई अगाडि भएका केही घटनाबारे बताउँछन् । खासमा बिहे गरेपछि कमला र आमाको कुरा मिलेन । उनीहरूको दिनहुँ झगडा हुन्थ्यो । झगडा सहन नसकेर आमा वृद्धआश्रममा बस्न गइछिन् । यसै क्रममा कमला पनि निकै बिरामी भइछिन् । यी सबै कुरा सुनेपछि डाक्टरले कमलालाई शारीरिक होइन मानसिक रोगले समातेको हो भनेर थाहा पाउँछन् र ‘औषधी’ लेखिदिन्छन् र दुवै जनाले घर गएर सँगै पढ्ने सल्लाह पनि दिन्छन् । घर पुगेपछि कमलाले त्यो कागज पढ्न थाल्छिन् । कागजमा लेखिएको हुन्छ कि कमला र उनकी सासूआमा दुवै बहिर्मुखी स्वभावका थिए । एउटै घरमा हुँदा उनीहरूबिच हुने झगडाले नै दुवैलाई आफ्नो भावना व्यक्त गर्ने अवसर दिएको थियो । बोलचाल र विवादकै माध्यमबाट उनीहरूको बलियो सम्बन्ध थियो । बहिर्मुखी मानिसहरूका लागि बोल्नु नै मानसिक र शारीरिक ऊर्जाको स्रोत हो, र मौनताले उनीहरूलाई भित्रभित्रै कमजोर बनाउँछ । सासूआमा वृद्धआश्रम गएपछि र घरमा झगडा हराएपछि दुवै जनाले आफ्ना ‘समकक्षी योद्धा’ गुमाए, र यही कारणले उनीहरू दुवै बिरामी परे । अन्त्यमा डाक्टरले लेखेका हुन्छन्, अब यस समस्याको औषधी के हो भन्ने निर्णय तपाईंहरू आफैँले गर्नुपर्ने छ । त्यहाँसम्म पढेपछि कमलाका आँखाबाट आँसु बग्न थाल्छन्, र उनी बाँकी कुरा पढ्न सक्दिनन्। व्यक्तिगत रूपमा भन्नुपर्दा, मलाई सबैभन्दा मन परेको लघुकथा यहि नै हो । डा. गौतमले कति सरलताका साथ नेपाली घरघरमा हुने सासूबुहारीको झगडाभित्र लुकेको सुन्दर सत्य केलाउन सफल भए । सायदै यस्तो दृष्टिकोणबाट झैझगडालाई हेर्छन् होला । यस लघुकथा पढेपछि मलाई एउटा अङ्ग्रेजी भनाइको याद आयो “झुटा मित्रभन्दा इमानदार शत्रु राम्रा हुन्छन् ।” कमला र सासूआमाबिच हुने त्यही दैनिक विवादले दुवैलाई ऊर्जा दिने रहेछ । सासूबुहारीबिच दैनिक हुने झैझगडाबाट नै उनीहरूको सम्बन्ध झन बलियो हुने रहेछ र एकअर्काको अभावमा दुवै जनालाई गाह्रो हुँदो रहेछ । यस कथाले यसप्रकार सासूबुहारीबिच हुने झगडालाई स्वाभाविक र स्वस्थ मानेर प्रोत्साहन गरेको छ अनि छुट्टिएर बस्ने अवधारणाको निन्दा गरेको छ । “जातभातको होइन, असल मान्छेसँग जीवन बिताउने चाहना छ मेरो ।” पृष्ठ सङ्ख्या ५३, कथाः “लक्ष्य” नेपाली घरघरमा केटाकेटीको विवाह गर्ने उमेर लाग्न थालेपछि सबैभन्दा महत्त्व दिइने कुरा भनेको जातपात हो । केटा अथवा केटीको स्वभाव, शिक्षा, जागिर इत्यादि सोध्नुभन्दा पहिला समाजले जात सोध्छ, थर सोध्छ । यस रुढीवादी मानसिकता आफ्नो चरम रूपमा कतिसम्म घिनलाग्दो हुन्छ भन्ने कुरा लक्ष्य कथामा प्रस्तुत गरिएको छ । कथाका मुख्य पात्रका रूपमा उषा हुन्छिन् । उषाका बुबा शरणकुमारले उषालाई जङ्गे कार्की नामक एक जना केटासँग विवाह गर्न दबाब दिइरहेका हुन्छन् । उषाले यो प्रस्ताव ठाडै अस्विकार गरेपछि बुबाछोरीको झगडा पर्छ । जङ्गे कार्की स्वभावले असल व्यक्ति थिएनन् । वास्तवमा केही वर्ष पहिला त्यही जङ्गे कार्कीले उषाको बलत्कार गर्ने प्रयास गरेका हुन्छन् । त्यति वेला शरणकुमार स्वयं गएर उषालाई बचाएका हुन्छन् तर जातपात मिलेको हुनाले आज त्यही शरणकुमारले उषालाई दबाब दिँदै थिए। बुबाको यस्तो दबाबसँग उषा निकै रिसाउँछिन् र उनको त्यो रिस निस्सन्देह जायज पनि थियो । क्रमशः उषाले शरणकुमारलाई अहिलेको जमानामा मानिसको जात हेरेर होइन, असल आचरण पहिचान गरेर बिहे गर्ने जमाना हो भन्छिन् । बुबाको रिसको प्रतिउत्तर उनी संयमताले दिन्छिन् र भन्छिन्, “मेराे लक्ष्य संस्कारलाई त्याग्ने होइन, आफ्नो इच्छाअनुरूप निर्णय लिने हो ।” आलोचनात्मक विश्लेषणः यस पुस्तकमा समावेश ६० कथाहहरूमा ६० अाेटामा नै केही न केही नयाँ विषय, सन्दर्भ थियो । हरेक कथाले अहिलेको समसामयिक जल्दोबल्दो समस्या एवम् अवस्थाहरूलाई काल्पनिक लघुकथाहरूको माध्यमबाट नेपाली पाठकहरू माझ ल्याउन सफल भएका छन् । लेखकले यी लघुकथाहरूमा गरेका विषयको छनोटलाई म यस पुस्तकको सबैभन्दा सकारात्मक पक्ष मान्छु । डा. गौतमले लघुकथाहरूलाई बौद्धिक पलायन, बलत्कार, भ्रष्टाचार, प्रदूषण, पारिवारिक झगडाजस्ता प्रमुख, असहज र पूर्ण रूपमा समाधान हुन नसकेको विषयहरूमा केन्द्रित गरेका छन् । छोटा छोटा १ पाना, बढीमा २ पाना ओगटेका यी लघुकथामा यति गम्भीर विषयवस्तुको चित्रण गर्न सक्ने क्षमता साँच्चै अनुकरणीय र प्रशंसनीय छ । यस किताबका लघुकथाहरूमा लामा उपदेश दिइएका पनि छैनन् । कथा पढेर सही र गलत छुट्याउने काम लेखकले पाठक समूहलाई नै दिएका छन् । भाषाशैली पनि निकै नै सरल र सहज रहेकाे छ । शब्दचयन पनि दुई जना साथीहरूबिच कुराकानी हुँदा प्रयोग गरिने शब्दहरू जस्तै थियो । डा. गौतम स्वयं पानी प्रशोधन विशेषज्ञ भएर होला यस सङ्ग्रहमा प्रदूषण तथा अन्य वातावरणीय समस्यामा केन्द्रित कथाहरू धेरै थिए । तीमध्ये पनि अभिद्रोह कथाको व्यङ्ग्यात्मक शैलीद्वारा बाग्मती नदीको कठोर वास्तविकता देखाउने उनको तरिका मलाई निकै मन पर्‍याे । यस पुस्तकमा धेरै कमजोरीहरू मैले देखिनँ । सायद कथाहरूमा प्रयोग गरिएको तिखो भाषा र असहज तथा अपूर्ण अन्त्यबाट कतिपय पाठक अक्मकाउन सक्छन् । साँच्चै भन्नुपर्दा सुरुका केही कथा पढ्दा मलाई पनि त्यस्तै अनुभूति भएको थियो तर बिस्तारै पढ्दै जाँदा त्यही तिखो भाषा र असहज अन्त्यले नै उत्कृष्ट लघुकथा जन्म लिने रहेछ भन्ने कुरा मैले बुझेँ । नेपालकाे सान्दर्भिक समसामयिक कथाहरू भएको यस कृतिलाई जन्म दिएकोमा म डा. कुसुमकुमार गौतमलाई धन्यवाद ज्ञापन गर्दछु । निष्कर्ष र सिफारिसः निष्कर्षमा, यस कृतिमा समेटिएका सम्पूर्ण लघुकथाहरू अत्यन्तै समय सान्दर्भिक हुनुका साथै सन्देशमुलक पनि छन् । यस लघुकथासङ्ग्रहका प्रत्येक कथा पढ्दै जाँदा नेपाली समाजको ऐना हेरेझैँ लाग्छ । हरेक कथाले नेपाली समाज र पाठक दुवैलाई केही प्रश्न गर्छ, र ती प्रश्नबारे गम्भीर रूपमा सोच्न बाध्य बनाउँछ । यही कारणले म यस पुस्तक हरेक झगडालु सासूबुहारीलाई, हरेक आचरणभन्दा जातलाई माथि राख्ने बुबाआमालाई, लाज पचाएर नदीनालामा फोहोर फाल्ने ती नामका हिन्दुलाई, साथै नेपाली शिक्षा प्रणालीमा संलग्न सबै विद्यालय सञ्चालक, संस्थापक र पाठ्यक्रम विकास गर्ने शिक्षाविद्हरूलाई सिफारिस गर्न चाहन्छु । यसका साथै समसामयिक समस्याहरू बुझ्न चाहने ज्ञानका भोका पाठकहरू, लघुकथामा रुचि राख्ने सम्पूर्ण साहित्यप्रेमीहरू तथा माध्यमिक तहका सबै विद्यार्थीहरूलाई पनि यो पुस्तक पढ्न आग्रह गर्दछु ।

0 reads

Published on 2/25/2026

Image

Subigya Raj Kharel is a student of 2029. He is passionate about software development, finance, international law, and global politics. Outside the classroom, he loves expanding and scaling his passion projects, reading thought-provoking books like The 48 Laws of Power, watching fun movies—especially superhero, mystery, thriller, and crime films such as the Iron Man and Batman trilogies—and enjoying both educational and entertaining TV shows like Suits. He is especially skilled in app development and diplomacy. Known for being curious, innovative, and thoughtful, he dreams of becoming a tech-driven entrepreneur. A fun fact about him: he is a youth ambassador for a global organization called HundrED and is currently building a live trading simulator to promote financial literacy among young people

Subigya Raj Kharel

Grade 9

Roll No: 29065

4

More Articles from

Student

Underline