underline

समयः सर्वश्रेष्ठ साक्षी

Underline

Share:

म समय हुँ। म सबै कुराको साक्षी हुँ । म त्रिलोकको सम्पूर्ण घटनामा उपस्थित थिएँ र आउने वर्षहरूमा पनि हुने नै छु । यो ब्रह्माण्डमा म यत्र तत्र सर्वत्र छु । म समय हुँ । म आत्मनिर्भर छु म न कसैको लागि कुर्छु न त कसैमा निर्भर नै हुन्छु । म समय हुँ । परमेश्वरले यो जगत निर्माण गर्दा केवल म थिएँ । म समय हुँ । म रावणवतदेखि द्रौपदी वस्त्रहरणसम्म सबैमा साक्षी रहेको छु । तर मेरो पनि धर्म हुन्छ । नीति हुन्छ । मान्नुपर्ने नियम पनि हुन्छन् । म सबै घटनाको साक्षी त हुँ तर मलाई हस्तक्षेप गर्ने कुनै अधिकार छैन । मानवहरू जस्तो “कठै” भनेर आँखा चिम्लने क्षमता पनि छैन । यसै कारण म सुखदुःख सत्यअसत्य सबै हेर्न बाध्य हुन्छु ।

म नेत्रहीन छु अर्थात् मलाई पक्षपात गर्ने अधिकार पनि छैन । मेरा लागि देवता र असुर सबै समान हुन् । अर्जुन र दुर्योधन दुवै समान हुन् । म अटल छु। सत्ययुगदेखि अहिलेसम्म चलिरहेको कलियुगसम्म म आफ्नै स्थानमा चलिरहेको नै छु। किनभने जुन दिनमा चल्न बन्द गर्छु, त्यो दिन पूरा संसार नै बन्द हुन्छ। म समय हुँ। म परिवर्तनशील छु। नीतिनियम, संस्कार, कानुन सबै समयसँगै परिवर्तन भएको मैले देखेको नै छु। किनभने सबै चिजको एउटा आयु हुन्छ। आयु नभएको त केवल म छु र त्यसैले नै म समय हुँ।

म समय हुँ । म नियमबद्ध छु । बगिरहेको पानीझैँ मलाई कसैले आफ्नो कर्म गर्न रोक्न सक्दैन । म कसैको प्रतीक्षा पनि गर्दिनँ । मलाई न सुख हुन्छ न त दुःख नै । मेरो काम त कथा सुनाउने हो । कथा लेख्ने पनि होइन, लेखिसकेको कथाको सम्पादन गर्ने पनि होइन । म एउटा अदृश्य शक्ति हुँ । म भूत पनि हुँ, वर्तमान पनि र भविष्य पनि । सुन्छु, मानवजातले मलाई बुझ्न घडी बनाएका छन् । मलाई बुझ्ने प्रयत्न गरेकोमा म अतिप्रसन्न त छु तर वास्तवमा त्यो घडी पनि मेरै अधिनमा छ । मलाई सतप्रतिशत बुझ्न कसैले सक्दैन ।

म समय हुँ । मेरो काम त कर्मभूमि प्रदान गर्ने हो । उक्त कर्मभूमिलाई स्वर्ग बनाए पनि, नर्क बनाए पनि, म केहीको पनि श्रेय लिँदिन । म त केवल हेर्छु र आनन्द लिन्छु । म हत्यारा पनि हुँ । मेरै कारण लाखौँको सङ्ख्यामा मानिसहरू दिनदिनै मृत्यु प्राप्त गर्छन् । तर कसैले मलाई दण्ड दिँदैन । किनभने हत्या गर्नु पनि मेरो कर्तव्य नै हो । यसै कारण कतिपय मानिसले मलाई कठोर पनि भन्छन् । म भाग्यमानी छु । श्री विष्णुका १० वटै अवतारको दर्शन गर्ने अवसर म बाहेक कसैले पाएको छैन । श्री कृष्णको सम्पूर्ण लीलाहरूमा उपस्थित हुने सायद म मात्र एक हुँ । तर, म अहाेभाग्यमानी पनि छु । माता सीताको अपहरणदेखि गान्धारनरेश शकुनीको षड्यन्त्रहरू सबै देखेर पनि म चुप बस्न विवश थिएँ । यसै कारण सायद म पापी पनि हुँ ।

म न्यायधीश हुँ । सबै अपराधको साक्षी हुँ । मानिसले लुकेर गरेका सबै अपराधहरु पनि म देख्छु । कि त यही जन्ममा कि त अर्को जन्ममा उपयुक्त दण्डको व्यवस्थापन पनि गर्छु । म न्यायको प्रतिमूर्ति हुँ । म समय हुँ । म तपस्वी हुँ । मेरो जीवन नै साधना हो । मेरो शक्ति अधिक छ तर म पनि नियमबद्ध छु । म सर्वशक्तिशाली होइन । सर्वशक्तिशाली त भगवान् हुन्, र त्यो पदको चाहना पनि म गर्दिनँ । किनभने आशा आकाङ्क्षा राख्ने त मेरो क्षमता नै छैन ।

म आफ्नो पदमै ठिक छु । मेरो पद सर्वश्रेष्ठ साक्षी हो। म अन्तरयामी हुँ । म न कसैको मित्र हुँ न कसैको शत्रु नै । म न मानव हुँ न असुर हुँ, न देव नै । म त केवल समय हुँ । जगत् सञ्चालनमा मेरो भूमिका अपरिहार्य छ तर म सधैँ धर्मको नै साथ दिन्छु किनभने म समय हुँ।

0 reads

Published on 11/28/2025

Image

Subigya Raj Kharel is a student of 2029. He is passionate about software development, finance, international law, and global politics. Outside the classroom, he loves expanding and scaling his passion projects, reading thought-provoking books like The 48 Laws of Power, watching fun movies—especially superhero, mystery, thriller, and crime films such as the Iron Man and Batman trilogies—and enjoying both educational and entertaining TV shows like Suits. He is especially skilled in app development and diplomacy. Known for being curious, innovative, and thoughtful, he dreams of becoming a tech-driven entrepreneur. A fun fact about him: he is a youth ambassador for a global organization called HundrED and is currently building a live trading simulator to promote financial literacy among young people

Subigya Raj Kharel

Grade 9

Roll No: 29065

4

More Articles from

Student

Underline