underline

पुस्तक समीक्षा: समयको नक्साबाहिर

Underline

Share:

“समयको नक्साबाहिर” कृष्ण ढुङ्गेलद्वारा लेखिएको आत्मपरक निबन्ध सङ्ग्रह हो, जसमा लेखकले आफ्ना बाल्यकालका स्मृति, गाउँको जीवनशैली, सामाजिक व्यवहार र भित्री भावनालाई सजिलो र स्पष्ट तरिकाले प्रस्तुत गरेका छन् । निबन्धमा लेखकले आफ्नै जीवनका अनुभवहरू, सङ्घर्षहरू, आशाहरू र समाजको यथार्थ चित्रण गरेका छन् ।

यो निबन्ध झापा जिल्लाको ग्रामीण परिवेशमा आधारित छ। लेखकले परिवार, साथीहरू, विद्यालय र समाजसँगको सम्बन्धलाई स्मृतिको माध्यमबाट व्याख्या गरेका छन् । उनले अनुभवहरूलाई गाह्रो बनाएका छैनन् तर सरल शब्दमा लेखेका छन् जसले गर्दा पाठकले सजिलै बुझ्न सक्छन् । निबन्ध पढ्दा लाग्छ, मानौँ हामी लेखककै जीवनमा प्रवेश गरिरहेका छौँ ।

लेखकको आत्मपरक लेखन शैली यस्तो छ कि हरेक अनुभूति व्यक्तिगत लाग्छ तर त्यसमा समेटिएको सन्देश सबैका लागि सान्दर्भिक हुन्छ । निबन्धको संरचना प्रायः कुनै प्रश्नबाट सुरु हुन्छ, त्यस प्रश्नसँग सम्बन्धित घटना वर्णन गरिन्छ र अन्त्यमा सोही प्रश्नलाई फेरि उठाएर पाठकलाई सोच्न बाध्य बनाइन्छ । यस्तो शैलीले निबन्धलाई भावनात्मक र आत्मसमीक्षात्मक बनाएको छ ।

एक विशेष अध्यायमा लेखकले दुर्गा नामका पात्रको चर्चा गरेका छन्, जुन वास्तवमा लेखककै दोस्रो नाम हो। दुर्गा पात्र कुनै काल्पनिक चरित्र होइन, लेखककै जीवनको अर्काे रूप हो । लेखकको भनाइ अनुसार, घरमा सबैको दुईवटा नाम हुन्छ एउटा औपचारिक नाम, जुन विद्यालय र समाजमा चल्ने हो; अर्को घरभित्र प्रयोग हुने आत्मीय नाम । यसले नेपाली समाजमा नामसँग जोडिएको सम्बन्ध र भावनालाई स्पष्ट देखाउँछ ।

दुर्गा एक समय असाध्यै तेज, मेहेनती र प्रतिभाशाली विद्यार्थी थिए । उनलाई छात्रवृत्तिसमेत मिलेको थियो । तर, समयसँगै वातावरण, साथीहरूको प्रभाव र नराम्रो सङ्गतका कारण उनले आफ्नो मार्ग गुमाए । पढाइप्रति ध्यान कम हुँदै गयो, लक्ष्य हराउँदै गयो । यो विषयले हामीलाई देखाउँछ कि कसरी एक राम्रो विद्यार्थी पनि खराब वातावरण र साथीहरूको दबाबमा परेर बदलिन सक्छ । यसले युवावस्थामा साथीसँगको सम्बन्ध, दबाब र सही निर्णयको महत्त्वलाई पनि देखाउँछ।

दुर्गाको घरमा एउटा पुरानो साइकल थियो । उनका बुबा त्यो साइकलबाट सन्तुष्ट भए तापनि, नयाँ साइकलको सपना देखिरहनु भएको थियो । आर्थिक अवस्था कमजोर थियो, तर उहाँले सपना छाड्नु भएन । पैसा बचत गरेर, मिहिनेत गरेर अन्ततः नयाँ साइकल किन्नु भयो। यो घटनाले बुबाको समर्पण, इच्छाशक्ति र सङ्घर्षको कथा सुनाउँछ। यस्तो सानो कुरामै ठुला भावना लुकेका हुन्छन् भन्ने कुरा लेखकले देखाएका छन् ।

साइकलको अध्यायमा एउटा गम्भीर सामाजिक विषय पनि उठाइएको छ साइकलको 'लिङ्ग' वर्गीकरण । समाजले साइकललाई 'छोराहरूको साइकल' र 'छोरीहरूको साइकल' भनेर छुट्याएको देखिन्छ। यो सोच केवल गलत होइन, हानिकारक पनि हो । दुर्गाकी दिदी र उनका साथीहरूले यो सोचको विरोध गर्छन् । उनीहरू हिम्मतका साथ 'छोराहरूको साइकल' चढ्छन् र समाजको सोचलाई चुनौती दिन्छन् । यो घटनाले देखाउँछ कि महिलाहरू पनि हरेक क्षेत्रमा सक्षम छन् र उनीहरूलाई परम्परागत सोचले रोक्न सक्दैन ।

दिदीको यो आँट सामाजिक सन्देश दिन्छ। उनले देखाइन् कि सिमाना समाजले बनाउँछ तर ती सिमाना पार गर्न सकिन्छ । साइकलको माध्यमबाट लेखकले लैङ्गिक समानताको सन्देश दिएका छन् । यस्तो लेखनले युवाहरूलाई प्रेरित गर्छ । निबन्धमा बाल्यकालको डर, साथीहरूको दबाब, आत्मचिन्तन, समाजप्रतिको बुझाइ र घरपरिवारसँगको सम्बन्धलाई प्रभावशाली रूपमा प्रस्तुत गरिएको छ । यी सबै पक्षहरूले निबन्धलाई केवल संस्मरण होइन, सामाजिक मनोविज्ञानको एक गहिरो विश्लेषण पनि बनाएका छन् ।

साथै, भाषा र शैलीको हिसाबले निबन्ध धेरै सरल छ । तर, सरल भए पनि भावनाले भरिएको छ । गाउँको बोलीचाली, रहनसहन, गीत, संस्कृति र परिवारको सम्बन्ध सबै निबन्धमा छर्लङ्ग देखिन्छ । त्यसैले यो पुस्तकले केवल लेखकको जीवन मात्र होइन, एक पुस्ताको जीवन झल्काउँछ । पुस्तकमा समावेश भएका लेखकका साथीहरू, शिक्षकहरू, दिदीबहिनीहरू सबै यथार्थसँग जोडिएका छन्। यसले पुस्तकलाई अझ जीवन्त बनाएको छ। पात्रहरूको वर्णन सरल छ तर तिनको भावना गहिरो छ ।

अब म मेरो व्यक्तिगत विचार राख्न चाहन्छु। मैले यो पुस्तक पढ्दा आफ्नै बाल्यकाल सम्झिएँ । मलाई लाग्यो कि लेखकले जुन कुरा लेखेका छन्, ती कुरा म आफैँले पनि अनुभव गरिरहेको जस्तो भयो । दुर्गा जस्तो साथी, कडा मिहिनेत गर्ने बुबा, हिम्मतिली दिदी यी सबै हामी वरिपरि हुने पात्रहरू हुन् ।

मलाई यो पुस्तकको सबैभन्दा मन पर्ने पक्ष चाहिँ लेखकले साधारण घटनालाई गहिरो अर्थ दिने तरिका हो । साइकलको कथा, नामको कुरा, समाजको सोच यी सबै कुराले मलाई सोच्न बाध्य बनायो । यस पुस्तकले मलाई सिकायो कि कसरी हाम्रो विगतले अहिलेको सोच र व्यवहारमा असर पार्छ । दुर्गाको पतन र बुबाको सङ्घर्षले पनि मलाई जीवनका मूल्य सिकायो । पढ्ने क्रममा मैले यो महसुस गरेँ कि हामी सबै दुर्गा हुन सक्छौँ । कहिले प्रतिभाशाली त कहिले गुमराह । हाम्रो निर्णय, हाम्रो सङ्गत, हाम्रो सोचले नै हाम्रो जीवन बनाउँछ। यो पुस्तक सबै किशोर र युवाहरूले पढ्नैपर्ने कृति हो। विशेष गरी हामी जस्ता विद्यार्थीहरूका लागि यो पुस्तकले धेरै पाठ सिकाउँछ। आफ्ना गल्ती चिन्न, परिवेश बुझ्न र सामाजिक सोचप्रति प्रश्न उठाउन यो कृति धेरै उपयोगी छ ।

निष्कर्षमा भन्नुपर्दा, “समयको नक्साबाहिर” केवल सम्झनाको कथा होइन, यो जीवन बुझ्ने तरिका हो । लेखकले आफ्ना अनुभवहरूलाई यसरी लेखेका छन् कि हामीलाई लाग्छ, हामी पनि त्यो यात्रामा सहभागी छौँ। यस पुस्तकले देखाउँछ कि सानो अनुभवले पनि ठुलो सन्देश दिन सक्छ। सरल भाषामा गहिरो भावना राखेर लेखिएको यो कृति साँच्चिकै प्रेरणादायक छ।

0 reads

Published on 9/5/2025

Image

Rushka Sapkota is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Rushka Sapkota

Grade 9

Roll No: 29028

10

More Articles from

Student

Underline