underline

मानवता र प्रकृति

Underline

Share:

मानवता र प्रकृति

पूर्वकालदेखि नै यस संसारको सृष्टिसँगै मानव जीवन र सम्पूर्ण जीवजगत् प्रकृतिसँग अभिन्न रूपमा गाँसिएको छ । जन्मदेखि मृत्युसम्मको सम्पूर्ण जीवनचक्र प्रकृतिकै काखमा सञ्चालन हुन्छ। मानिस होस् वा अन्य जीव, सबैको अस्तित्व प्रकृतिमै आधारित छ । त्यसैले प्रकृति केवल हाम्रो वरिपरिको वातावरण मात्र नभई जीवनको आधार र अस्तित्वको मूल स्रोत हो ।

मानव समाजको निर्माण मानिसबाटै भएको हो र समाजलाई सभ्य, सुन्दर तथा व्यवस्थित बनाउने आधार मानवता हो । सामान्यतया प्रकृति भन्नेबित्तिकै हाम्रो मनमा हरियाली वन, अग्ला हिमाल, कलकल बग्ने खोला, खुला आकाश, शीतल हावा र विविध जीवजन्तुको चित्र आउँछ। वास्तवमा यी सबै प्रकृतिका बाह्य स्वरूप हुन् । प्रकृतिले नै मानवलाई गाँस, बास र कपासको व्यवस्था गरेको छ। अन्न, पानी, हावा र माटो जस्ता जीवनका आधारभूत आवश्यकता प्रकृतिकै उपहार हुन्। तर के प्रकृति यतिमै सीमित छ ? यसको उत्तर खोज्ने क्रममा मैले प्रकृतिको अर्को रूप पनि देखेँ - मानवको भित्री आत्मा र मानवीय गुणहरू पनि प्रकृतिकै अभिन्न अंश रहेछन्।

मानव भएर यस संसारमा जन्मनु आफैँमा प्रकृतिको अनुपम सिर्जना हो । प्रकृतिले मानिसलाई बुद्धि, विवेक, चेतना र संवेदनशीलता प्रदान गरेको छ। यही चेतनाले मानिसलाई अन्य प्राणीभन्दा विशिष्ट बनाएको छ । मानिस जन्मदेखि मृत्युसम्म निरन्तर कर्ममा संलग्न रहन्छ। यही कर्मले उसको व्यक्तित्व निर्माण गर्छ र मानवतालाई जीवन्त बनाउँछ। भनिन्छ, "सेवा नै सबैभन्दा ठूलो धर्म हो।" वास्तवमा दया, माया, करुणा, सहयोग, सम्मान र सहकार्य जस्ता गुणहरूले नै मानवतालाई अर्थपूर्ण बनाएका छन् ।

समाजमा जति नै विकृति, विसङ्गति वा कठिन परिस्थिति आए पनि मानिसभित्र रहेको मानवता पूर्ण रूपमा समाप्त हुँदैन । प्राकृतिक विपत्तिले हजारौँ मानिसको ज्यान लिन सक्छ, बाढीपहिरोले ठुलो क्षति पुर्‍याउन सक्छ, तर त्यही विपत्तिका बेला एक-अर्काको उद्धार गर्न, सहयोग गर्न र पीडामा साथ दिन मानिसहरू अघि बढ्छन्। यही मानवीय भावना मानवताको सबैभन्दा सुन्दर पक्ष हो। त्यसैगरी, वसन्त ऋतुमा फुलेका फूल, चराचुरुङ्गीको चिरबिराहट, कलकल बग्ने नदीको सङ्गीत र हरियालीले भरिएको वनले मानिसलाई आनन्द र आशा प्रदान गर्छ। प्रकृतिको यही परिवर्तनशील स्वरूपले जीवनमा निरन्तरता र नवीनताको सन्देश दिन्छ।

प्रकृतिका दुई रूप छन्ः- बाहिरी र भित्री प्रकृति। बाहिरी प्रकृतिले हाम्रो शरीरलाई जीवन दिन्छ भने भित्री प्रकृतिले हाम्रो चरित्र र व्यक्तित्व निर्माण गर्छ। हामीबीच रहेका भावना, विचार, नैतिकता, संस्कार र व्यवहार नै हाम्रो भित्री प्रकृति हुन्। विविध भाषा, संस्कृति, भेषभूषा, कला, संगीत, चाडपर्व र परम्परालाई संरक्षण गर्दै आपसी एकता र सद्भावका साथ जीवन बिताउन सक्ने क्षमता पनि मानिसको सुन्दर प्रकृति हो।

त्यसैगरी, दुःखमा परेकालाई साथ दिनु, पीडामा मल्हम लगाउनु, आफ्नो स्वार्थभन्दा माथि उठेर समाज र राष्ट्रका लागि योगदान दिनु नै सच्चा मानवता हो। परिवारभित्र आमाबुबाले आफ्ना सन्तानका लागि गर्ने त्याग, माया र कर्तव्यपालन पनि मानवताको उत्कृष्ट उदाहरण हो। शिक्षकले विद्यार्थीलाई ज्ञान दिनु, चिकित्सकले बिरामीको उपचार गर्नु, किसानले अन्न उत्पादन गर्नु र सुरक्षाकर्मीले राष्ट्रको रक्षा गर्नु, यी सबै मानवताको व्यवहारिक रूप हुन्।

यद्यपि मानिसभित्र सकारात्मक पक्षसँगै नकारात्मक पक्ष पनि विद्यमान हुन्छ। स्वार्थ, लोभ, घमण्ड, रिस, ईर्ष्या र द्वेषले कहिलेकाहीँ मानिसलाई गलत बाटोतर्फ डोर्‍याउँछन्। तर जसरी कालो बादलले केही समयका लागि सूर्यलाई ढाक्छ तर अन्ततः निलो आकाश फेरि उज्यालो हुन्छ, त्यसरी नै मानिसभित्रको सद्भाव, विवेक र मानवताले अन्ततः नकारात्मकतालाई पराजित गर्न सक्छ । वर्षाले बाढी ल्याए पनि त्यही वर्षाले खेतबारीमा अन्न फलाउन मद्दत गर्छ। त्यसैले प्रकृतिको प्रत्येक परिवर्तनभित्र कुनै न कुनै सकारात्मक सन्देश लुकेको हुन्छ।

आजको आधुनिक युगमा वातावरणीय प्रदूषण, वन विनाश, जलवायु परिवर्तन र प्राकृतिक स्रोतको अत्यधिक दोहनले प्रकृतिमाथि गम्भीर असर पारेको छ। यदि हामीले प्रकृतिको संरक्षण गर्न सकेनौँ भने मानव अस्तित्व नै सङ्कटमा पर्न सक्छ। त्यसैले प्रकृतिप्रतिको सम्मान, वातावरण संरक्षण र प्राकृतिक स्रोतहरूको विवेकपूर्ण उपयोग गर्नु प्रत्येक नागरिकको दायित्व हो । त्यस्तै, मानवताविना विकास अधुरो हुन्छ। विज्ञान र प्रविधिको उन्नतिसँगै मानवीय मूल्य र संवेदनालाई पनि उत्तिकै महत्त्व दिन आवश्यक छ।

निष्कर्षमा, बाहिरी प्रकृति र मानवको भित्री प्रकृति एक-अर्काका परिपूरक हुन् । जसरी प्रकृतिका विविध रङ्गहरूले संसारलाई जीवन्त, सुन्दर र सन्तुलित बनाउँछन्, त्यसरी नै मानव मनभित्र रहेका दया, करुणा, सेवा, सहयोग, प्रेम र कर्तव्यबोधले समाजलाई सभ्य र समुन्नत बनाउँछन्। प्रकृतिले हामीलाई जीवन जिउने आधार प्रदान गर्छ भने मानवताले त्यो जीवनलाई अर्थ, मर्यादा र उद्देश्य प्रदान गर्छ। त्यसैले प्रकृतिको संरक्षण गर्नु र मानवतालाई जीवनका प्रत्येक क्षेत्रमा व्यवहारमा उतार्नु नै आजको सबैभन्दा ठुलो आवश्यकता हो। जब प्रकृति र मानवता दुवैको सम्मान गरिन्छ, तब मात्र सुन्दर, शान्त र समृद्ध समाजको निर्माण सम्भव हुन्छ।

4 reads

Published on 7/29/2026

Image

Kristina Rai is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Kristina Rai

Grade 12

Roll No: 2026009

12

More Articles from

Student

Underline