underline

मानव जीवन र अनुशासन

Underline

Share:

हाम्रो मानव जीवन प्रकृति र भगवानले दिएका सबैभन्दा अमूल्य उपहारहरू मध्ये एक हो । मानिस जन्मिएपछि जीवनमा केही राम्रो गर्न चाहन्छ, सफल हुन चाहन्छ र समाजमा आफ्नो पहिचान बनाउन चाहन्छ । तर जीवनमा सफलता प्राप्त गर्न इच्छा र सपना मात्र पर्याप्त हुँदैन; त्यसका लागि अनुशासन आवश्यक हुन्छ । अनुशासन भनेको नियमको पालना गर्नु, समयको कदर गर्नु र आफ्नो कर्तव्यप्रति जिम्मेवार हुनु हो । अनुशासनले मानव जीवनलाई व्यवस्थित बनाउँदै लक्ष्यतर्फ अघि बढ्ने मार्ग प्रशस्त गर्छ।

अनुशासन मानव जीवनको एक प्रमुख आधार हो। यदि मानिसले आफ्नो जीवनमा अनुशासन अपनाएन भने उसले विभिन्न समस्याहरूको सामना गर्नुपर्छ । बिहान ढिलो उठ्ने, काम समयमा नगर्ने, पढाइमा ध्यान नदिने जस्ता बानीहरूले मानिसलाई असफल बनाउँछन् । त्यसैले जीवनको हरेक क्षेत्रमा अनुशासन आवश्यक हुन्छ । विद्यार्थी जीवनमा त अनुशासन झन् महत्त्वपूर्ण हुन्छ। विद्यार्थीले समयमै पढ्न, गृहकार्य गर्न, शिक्षकको निर्देशन पालना गर्न र परीक्षाको तयारी गर्न अनुशासन अपनाउनुपर्छ । यसले राम्रो नतिजा ल्याउन मद्दत गर्छ ।

अनुशासनले मानिसलाई जिम्मेवार र आत्मनिर्भर बनाउँछ । जब मानिस अनुशासित हुन्छ, उसले आफ्नो काम आफैँ गर्न सिक्छ र अरूमा निर्भर रहनुपर्दैन। यसले मानिसमा आत्मविश्वास बढाउँछ। आत्मविश्वास भएको मानिस कठिन परिस्थितिमा पनि हिम्मत हार्दैन र आफ्नो लक्ष्यतर्फ निरन्तर अघि बढ्छ ।

समाजमा पनि अनुशासनको ठूलो भूमिका हुन्छ । यदि सबै नागरिकले नियम र कानुन पालना गरे भने समाजमा शान्ति, सुरक्षा र सुव्यवस्था कायम हुन्छ। आजको आधुनिक युगमा अनुशासन झन् आवश्यक भएको छ । प्रविधिको विकाससँगै मोबाइल, इन्टरनेट र सामाजिक सञ्जालले मानिसको जीवनमा ठुलो प्रभाव पारेका छन् । धेरै मानिस समयको सही उपयोग गर्न सकिरहेका छैनन् र अनावश्यक कुरामा समय बिताइरहेका छन्। आजकल विद्यार्थीहरू पनि अनावश्यक रूपमा मोबाइल बढी चलाउने र आफ्नो पूरा दिन त्यसैमा बिताउने गरेका छन्। यस्तो अवस्थामा समय व्यवस्थापन र अनुशासन अत्यन्त आवश्यक हुन्छ। यदि मानिसले समयलाई सही तरिकाले प्रयोग गर्‍यो भने उसले आफ्नो भविष्य उज्ज्वल बनाउन सक्छ ।

अनुशासन भनेको बाहिरी नियम मात्र पालना गर्नु होइन, आफ्ना व्यवहार र सोचलाई नियन्त्रण गर्नु पनि हो। आफ्नो रिस नियन्त्रण गर्नु, अरूको सम्मान गर्नु, सधैँ सत्य बोल्नु, मेहनत गर्नु र राम्रो आचरण अपनाउनु पनि अनुशासनकै भाग हुन् । अनुशासित मानिस सधैँ सकारात्मक सोच राख्छ र अरूलाई पनि राम्रो काम गर्न प्रेरित गर्छ। यस्तो अनुशासित मानिस परिवार, समाज र देशका लागि आदर्श व्यक्तिका रूपमा चिनिन्छ ।

मानव जीवनमा अनुशासनको भूमिका अत्यन्त महत्त्वपूर्ण छ । अनुशासनविना जीवन अव्यवस्थित र असफल हुन सक्छ । अनुशासनले मानिसलाई सफल, सभ्य र जिम्मेवार बनाउँछ । त्यसैले हरेक व्यक्तिले आफ्नो जीवनमा अनुशासन अपनाउनुपर्छ र लक्ष्य प्राप्तिका लागि निरन्तर प्रयास गर्नुपर्छ । यदि हामीले सानो उमेरदेखि नै अनुशासनको बानी विकास गर्‍यौँ भने हाम्रो जीवन सफल र सुखी हुन्छ । अनुशासनले मानिसलाई सही बाटो देखाउँछ र उज्ज्वल भविष्य निर्माण गर्न सहयोग गर्छ। त्यसैले सबैले अनुशासनलाई आफ्नो जीवनको अनिवार्य भाग बनाउनुपर्छ।

3 reads

Published on 2/3/2026

Image

Divyesh Bajracharya is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics and engaging in creative discussions.

Divyesh Bajracharya

Grade 12

Roll No: 26006

4

More Articles from

Student

Underline