underline

भ्रष्टाचारमुक्त देश

Underline

Share:

भ्रष्टाचार भनेको कुनै पनि व्यक्तिले आफ्नो स्वार्थका लागि नियम र कानुनको उल्लङ्घन गरी गैरकानुनी लाभ लिनु वा अरूलाई लाभ दिनु हो । सामान्यतया भ्रष्टाचार मानिसले आफ्नो व्यक्तिगत फाइदाका लागि गर्ने कार्य हो । यसलाई पद, शक्ति वा जिम्मेवारीको दुरुपयोग गरेर लाभ लिने प्रक्रियाका रूपमा पनि बुझ्न सकिन्छ। आजको समयमा भ्रष्टाचार देशविदेश सबै ठाउँमा फैलिएको एक गम्भीर समस्या बनेको छ । यसले समाज, अर्थतन्त्र र राष्ट्रको समग्र विकासमा ठूलो बाधा पुर्‍याउँछ। त्यसैले प्रत्येक देशले भ्रष्टाचारविरुद्ध कठोर कदम चाल्नु अत्यन्त आवश्यक छ ।

घुस लिने वा दिने, नातावाद, पदको दुरुपयोग, शक्ति र प्रभावको गलत प्रयोग, कर छलजस्ता कार्यहरूलाई भ्रष्टाचारका उदाहरणका रूपमा लिन सकिन्छ । भ्रष्टाचारले गर्दा नेपालजस्तो विकासोन्मुख देशमा झन् गम्भीर समस्या उत्पन्न हुन्छ । नेपालमा भ्रष्टाचारीहरूको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको देखिन्छ । यसले देशको अर्थतन्त्रमा मात्र होइन, विकासका योजनाहरू अवरुद्ध हुने, सामान्य जनताले पाउनुपर्ने सेवासुविधा नपाउने, न्याय नहुने जस्ता समस्याहरू निम्त्याउँछ। यदि भ्रष्टाचार नियन्त्रण गर्न सकिएन भने नेपालको भविष्य अन्धकारमय हुन सक्छ। त्यसैले यसलाई रोक्न नागरिक र सरकार दुवैले गम्भीर प्रयास गर्नुपर्छ।

नेपालजस्तो सानो र भर्खरै विकास हुँदै गरेको देशमा भ्रष्टाचार अझ ठूलो समस्या बनेको छ। हाम्रो देशमा विकासका लागि हरेक वर्ष धेरै योजना बनाइन्छन्, तर ती योजनाहरू समयमा पूरा हुँदैनन् । योजनाहरू पूरा नहुनुको मुख्य कारण भ्रष्टाचार नै हो । युवाहरूले ठूला–ठूला विकास निर्माणका सोच बनाउँछन् र त्यसअनुसार बजेट पनि तयार हुन्छ, तर पैसा बीचमै हराउँछ र काम अधुरो रहन्छ । हराएको पैसाको विषयमा कसैले आवाज उठाउँदैन, र आवाज उठाउनेको कुरा सुन्ने पनि कमै हुन्छ । विकास योजनाको नाममा छुट्याइएको बजेटबाट पैसा खाने सरकारी कर्मचारीहरू धेरै छन्, तर यो समस्याबारे प्रभावकारी कारबाही भएको देखिँदैन । सडक, विद्यालय, अस्पताल, खानेपानीजस्ता आधारभूत सुविधाहरू अझै पनि सबै नागरिकले पाएका छैनन् । जब पैसा सही ठाउँमा प्रयोग हुँदैन, देशको विकास रोकिन्छ र जनताको जीवनमा विभिन्न समस्या उत्पन्न हुन्छन् ।

भ्रष्टाचारले शिक्षा क्षेत्रमा पनि ठूलो असर पारेको छ । नेपालका धेरै विद्यार्थीहरूले राम्रो विद्यालयमा पढ्ने अवसर पाएका छैनन् । सुविधा पाए पनि सरकारी विद्यालयहरूमा भ्रष्टाचार देखिन्छ । विद्यार्थीलाई योग्यता भन्दा बढी अङ्क दिलाउने जस्ता गलत कार्यहरू हुने गरेका छन् । विद्यालय क्षेत्रमा हुने यस प्रकारको भ्रष्टाचारले मेहनती र इमानदार विद्यार्थीलाई अन्याय हुन्छ । स्वास्थ्य क्षेत्रमा पनि अवस्था गम्भीर छ। अस्पतालमा गरिब बिरामीहरूले राम्रो उपचार पाउन सक्दैनन् । धेरै अस्पतालमा पैसा र पहुँच भएका मानिसलाई प्राथमिकता दिइन्छ, जसले गर्दा सामान्य नागरिक सेवा पाउन वञ्चित हुन्छन्।

देशका हरेक क्षेत्रमा भ्रष्टाचार फैलिएका कारण नागरिकहरूको आफ्नै देशप्रति विश्वास घट्दै गएको छ। युवाहरूले अवसर नपाएपछि निराश भएर विदेश जान बाध्य भएका छन्, जसका कारण नेपालको जनशक्ति बाहिरिँदै गएको छ । यसरी जनशक्ति बाहिरिए देश अझ कमजोर बन्छ । भ्रष्टाचारले अहिलेको पुस्तालाई मात्र होइन, भविष्यका पुस्तालाई पनि गम्भीर असर पार्छ । स्रोतसाधन, पैसा, पद र शक्ति दुरूपयोग हुँदा गरिबी बढ्छ र धनीगरिबबीचको असमानता झन् गहिरिँदै जान्छ । यसले समाजमा अशान्ति र अविश्वासको वातावरण सिर्जना गर्छ र लोकतन्त्रलाई पनि कमजोर बनाउँछ ।

यसरी भ्रष्टाचारले नेपालको अर्थतन्त्र, शिक्षा, स्वास्थ्य, विकास योजना र जनताको जीवनमा गम्भीर समस्या ल्याएको छ । घुस, नातावाद, पद र पैसाको दुरूपयोगका कारण जनताले आधारभूत सेवासुविधा पाउन सकेका छैनन् । मेहनती विद्यार्थी अन्यायमा परेका छन्, गरिब बिरामी उपचारबाट वञ्चित भएका छन्, र युवाहरू विदेश जान बाध्य भएका छन् । भ्रष्टाचार रोक्नु नागरिक र सरकार दुवैको कर्तव्य हो । सबैले इमानदार भएर आफ्नो जिम्मेवारी पूरा गरे मात्र नेपाललाई भ्रष्टाचारमुक्त देश बनाउन सकिन्छ । त्यसैले हामी सबैले मिलेर नेपाललाई भ्रष्टाचारमुक्त देश बनाउने सङ्कल्प गर्नुपर्छ ।

8 reads

Published on 1/20/2026

Image

Divyesh Bajracharya is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics and engaging in creative discussions.

Divyesh Bajracharya

Grade 12

Roll No: 26006

4

More Articles from

Student

Underline