underline

सङ्घर्ष

Underline

Share:

सङ्घर्ष

सुदूरपश्चिम प्रदेशको डोटी जिल्लामा एउटा सानो गाउँ थियो। त्यस गाउँमा राम पौडेल र उनकी श्रीमती सीता पौडेल अत्यन्त गरिबीका बीच जीवनयापन गर्थे। उनीहरूको जीविकोपार्जनको मुख्य आधार खेतीपाती र गाईवस्तु पालन थियो। आर्थिक अवस्था कमजोर भए पनि उनीहरू मेहनती, इमानदार र सन्तोषी थिए।

केही समयपछि उनीहरूको घरमा एउटी सुन्दर छोरीको जन्म भयो। न्वारनपछि उनको नाम सावित्री राखियो। सावित्रीको जन्मले घरमा खुसीको वातावरण छायो। आमाबुबाले आफ्नो दुःख, अभाव र सङ्घर्ष बिर्सेर उनलाई माया, स्नेह र प्रेमले हुर्काउन थाले। गाईवस्तुको स्याहार, खेतबारीको काम र घरधन्दाका बीच पनि उनीहरूले छोरीको हेरचाहमा कुनै कमी हुन दिएनन्। आर्थिक अभाव भए पनि सावित्रीको बाल्यकाल प्रेम र आत्मीयताले भरिएको थियो।

समयसँगै सावित्री हुर्कँदै गइन् । उनी रूपले मात्र होइन, स्वभावले पनि अत्यन्त शालीन, मेहनती र विनम्र थिइन् । उनीमा कहिल्यै ईर्ष्या, द्वेष वा असन्तुष्टिको भावना देखिँदैनथ्यो। उनका लागि आमाबुबा नै संसार थिए। उनीहरूलाई खुसी राख्नु नै आफ्नो सबैभन्दा ठूलो कर्तव्य हो भन्ने उनको विश्वास थियो।

सावित्री एघार वर्षकी हुँदा पहिलो पटक महिनावारी भइन् । त्यसबेला सुदूरपश्चिमका धेरै गाउँहरूमा महिनावारी भएका महिलालाई घरभित्र बस्न नदिई गोठमा राख्ने छाउपडी प्रथा प्रचलित थियो। यही प्रथाअनुसार सावित्रीलाई पनि गोठमा बस्न बाध्य पारियो । पहिलो पटक गोठमा एक्लै बस्नुपर्दा उनी धेरै रोइन् । रातको अँध्यारो, जाडो, जनावरको डर र एक्लोपनले उनको मन अत्यन्त पीडित भयो। केही दिनपछि मात्र उनी पुनः घरभित्र प्रवेश गर्न पाइन्।

यस घटनापछि सावित्रीलाई गाउँमा चलिआएको कुरीतिप्रति घृणा जाग्न थाल्यो। तर उनले आफ्ना आमाबुबाको बाध्यता पनि बुझिन्। उनीहरूले छोरीलाई दुःख दिन खोजेका होइनन्, समाजको दबाब र पुरानो सोचका कारण त्यसो गर्न बाध्य भएका थिए। उनकी आमा र हजुरआमाले पनि यही प्रथा भोगेका थिए।

सावित्री आठ वर्षकी हुँदा उनको एउटा भाइ जन्मिएको थियो, जसको नाम रवि राखियो। घरको आर्थिक अवस्था कमजोर भएकाले सावित्रीले विद्यालयमा पढ्ने अवसर पाइनन्। त्यतिबेला छोरीलाई पढाउनु आवश्यक ठानिँदैनथ्यो। तर उनका आमाबुबाले धेरै दुःख गरेर रविलाई विद्यालय पठाए। सावित्रीले कहिल्यै "भाइले पढ्न पायो, मैले किन पाइनँ?" भनेर गुनासो गरिनन्। बरु उनी भाइलाई विद्यालय पुर्‍याउने, ल्याउने, घरको काम गर्ने र आमाबुबालाई सहयोग गर्ने काममा रमाइरहिन्। भाइप्रतिको उनको माया झन् गाढा हुँदै गयो।

समय बित्दै गयो र सावित्री सत्र वर्षकी भइन् । उनको सौन्दर्य, शालीनता र असल व्यवहारका कारण गाउँभरि उनको चर्चा हुन थाल्यो। त्यस समयको सामाजिक चलनअनुसार उनको विवाह गर्ने उमेर पुगेको मानिन्थ्यो । अन्ततः उनका आमाबुबाले एउटा सम्पन्न परिवारका युवकसँग उनको विवाह गरिदिए ।

विवाहका बेला दाइजोस्वरूप सावित्रीका आमाबुबाले दुई लाख रुपैयाँ नगद, घरायसी भाँडाकुँडा तथा काठका केही सामान दिए । छोरीलाई बिदाइ गर्दा आमाबुबा र सावित्री सबैका आँखा रसाए । आफ्नो जन्मघर, आमाबुबा र भाइलाई छोडेर पराइ घर जानुपर्दा उनको मन पीडाले भरिएको थियो। तर समाजको परम्पराअघि कसैको केही लागेन।

सुरुका केही दिन ससुरालीमा उनलाई राम्रो व्यवहार गरियो। तर विस्तारै परिस्थिति बदलिँदै गयो। दाइजो पर्याप्त नभएको भन्दै उनका श्रीमान्, सासू, ससुरा र परिवारका अन्य सदस्यहरूले उनलाई अपमान गर्न थाले। उनीमाथि मानसिक र मौखिक हिंसा बढ्दै गयो। उनले आफ्ना आमाबुबाको अपमान सहन सकिनन्। धेरै पटक माइत फर्किने सोचिन्, तर समाजको डर र परिस्थितिका कारण सफल हुन सकिनन्।

केही समयपछि उनीमाथि शारीरिक हिंसा पनि हुन थाल्यो। विवाह भएको करिब साढे दुई वर्षपछि उनका श्रीमान्ले दोस्रो विवाह गरे। त्यसपछि सावित्रीको जीवन झन् कष्टकर बन्यो। दिनहुँको अपमान, कुटपिट र मानसिक यातनाले उनी जीवनदेखि नै निराश हुन थालिन्।

लगभग पाँच वर्षसम्म निरन्तर अत्याचार सहँदै गर्दा अन्ततः उनीभित्र विद्रोह गर्ने साहस जाग्यो। एक दिन ससुरालीका सबै सदस्यको आँखा छलेर उनले आफ्नी साढे दुई वर्षकी छोरीलाई साथ लिइन् र माइत फर्किइन्।

आफ्नी छोरीको पीडा राम्ररी बुझेका राम र सीताले उनलाई स्नेहपूर्वक घरमा स्वागत गरे। नातिनीलाई पनि आफ्नै छोरीसरह माया गरे। केही समयपछि सावित्रीले आफ्नो दुःखलाई कमजोरी होइन, शक्ति बनाइन्। उनले गाउँका महिलाहरूलाई छाउपडी, दाइजो, बालविवाह र घरेलु हिंसाजस्ता कुरीतिका विरुद्ध सचेत बनाउन थालिन् । आफूले भोगेका पीडालाई उदाहरण बनाएर उनले धेरै महिलामा आत्मविश्वास जगाइन्।

समयसँगै सावित्री गाउँकी साहसी, सचेत र प्रेरणादायी महिला बनेर चिनिन थालिन्। उनले आफूले भोगेको पीडालाई समाज परिवर्तनको अभियानमा रूपान्तरण गरिन् । उनको जीवनले एउटा सन्देश दियो । अन्याय सहेर बस्नु समाधान होइन; साहसपूर्वक त्यसको सामना गर्नु नै वास्तविक परिवर्तनको सुरुआत हो।

1 reads

Published on 7/27/2026

Image

Mohit Tamang is a student at Deerwalk Sifal school who loves reading, exploring topics and engaging in outer activities.

Mohit Tamang

Grade 12

Roll No: 27067

3

More Articles from

Student

Underline