भत्किएकाे यथार्थको प्रस्तुति; भग्न प्रेमशाला
भत्किएकाे यथार्थको प्रस्तुति; भग्न प्रेमशाला
परिचय
आफ्नो कथा सङ्ग्रहमा लेखक खगेन्द्र गिरीले वास्तविकताको वर्णन गर्न आफ्नो स्वैरकल्पनाशक्तिको प्रयोग गरेका छन्। उनका कथाहरूमा दैनिक जीवनका पात्रहरू उग्र र भयानक अवतारमा देखिएका छन्। पेसामा उनी पत्रकार हुन्। नयाँ पत्रिका, अन्नपूर्ण पोस्ट हुँदै अहिले उनी नेपालखबरमा कार्यरत छन्। जीवनमा उनलाई पत्रकारिताले सन्तुष्टि नदिएर आफैँ स्वतः कथाका रूपमा समाजका यथार्थ प्रस्तुत गर्न सफल हुनुभएको लेखक उनी नै हुन् भन्ने कुरा स्पष्ट हुन्छ। किशोरकालदेखि लेखन तथा साहित्यमा रुचि राख्ने खगेन्द्र गिरीले वि.सं. २०८२ को भदौ महिनामा भग्न प्रेमशाला प्रकाशन गरे। ‘भग्न’ नेपाली शब्दकोशअनुसार टुटफुट भएको अथवा भत्केको वा बिग्रेको, ‘प्रेमशाला’को अर्थ प्रेमको घर हो। यी दुई भारी शब्द लेखकले आफ्नो सङ्ग्रहका लागि रोज्नुभएको छ भत्किएको प्रेमको घर। खगेन्द्र गिरीले आफ्ना कथामार्फत सामाजिक, आर्थिक, राजनीतिक तथा नैतिक सबै सङ्कट र आम मानिसका जीवनमा त्यसका असरलाई झल्काउन सकेका छन्।
कथावस्तु
कथा सङ्ग्रहको पहिलो कथा ‘निर्मुक्त स्त्री’ हो, जहाँ कल्पना नामक महिला पात्रले कथाको हरेक मोडमा आफू को हो भनेर पहिचान गर्छे। आफ्नो लैङ्गिक पहिचान र यौनताको पहिचान उनले यी ४० पृष्ठमा अन्वेषण गर्छिन्। कहिले ऊसँगै कोठामा बस्ने वृन्दासँग, कहिले तन्नेरी, कहिले बुढो मानिससँग, कहिले उनका श्रीमान् बुद्धहाङसँग त कहिले उनकी छिमेकी केटी सिर्जुसँग। कथामा स्त्रीले समाजमा आफ्नो पहिचान खोजेको र आफूलाई कुन कुराले खुसी पार्छ तथा कुनले असहज बनाउँछ भन्ने खोजमा डुबेको कथावस्तु छ। यौन पहिचानको बाटोमा उनले धेरै कठिनाइ भोग्नुपर्छ। बाल्यकालमा झन्डै चिप्लिएर उनकी आमाले कहिल्यै पानीको नजिक नजानु भनेको, एउटा केटाले पहिलो चोटि लभ लेटर दिएकोदेखि आफ्नै श्रीमानबाट धोका खाएर कल्पनाको मनमा परेको चोटसम्म रहेको यो कथाले सबै नभए पनि धेरै मानिसको जीवनको यथार्थ प्रस्तुत गरेको छ। कथा पानीबाट सुरु भएर पानीमै अन्त्य हुन्छ। यस कथाले आम मानिसलाई असहज महसुस गराए पनि यसमा यौन पहिचान र अहिलेको आधुनिक समयमा मानिसको सोचाइ र जीवनयापनबारे महत्त्वपूर्ण पाठ सिकाउँछ।
मेरो मन छोएको दोस्रो कथा ‘अदृश्य; अतः निहत्था’ हो। २० पृष्ठ लामो यो कथाले गरिब जनको यथार्थ प्रस्तुत गरेको छ। अदृश्यको अर्थ नदेखिने, देख्न नमिल्ने तथा निहत्थाको अर्थ कमजोर तथा शक्तिहीन हो। आफ्नै रगतको छोरा नभए पनि गोविन्दले छोरालाई आफैँ पालनपोषण गरेर हुर्काएको छ। छोरो रुँदै-रुँदै बिरामी भएपछि अस्पताल लगेपछि सुरक्षाकर्मीको सुझाव लिएर कठिन अवस्था तथा आयको कमी भए पनि छोरालाई हुर्काएको यो कथा बाबु-छोराको भावुक कथा हो। ठेला उठाएर आम्दानी चलाएको गोविन्दलाई आम्दानीअनुसार उच्च वर्गका मानिस तथा नेताहरूले होच्याउने गर्थे। छोरालाई जुत्ता किन्ने पैसा बटुल्छु भनेको गोविन्दलाई प्रहरीले समातेर हातपात गरे, नेताहरूले मत नदिने मानिस भनेर न्याय त दिएनन् नै, भाउ पनि दिएनन्, जसका कारण गोविन्दलाई जिन्दगीमा पहिलो पटक अदृश्य भएको महसुस भयो। उसलाई शक्तिहीन महसुस भयो, जसका कारण उसले आफू जीवनमा केही गर्न नसकेको कुरामा पश्चात्ताप गर्यो। यस कथाले समाजमा अहिले समाजवादको पाठ सिकाए पनि पुँजीवाद नै रहन्छ हाम्रो समाज भन्ने बुझाउँछ।
‘चिसो’ सङ्ग्रहको पाँचौँ, २५ पृष्ठ लामो कथा म पात्र र कथाको बारेमा हो। म पात्र माछा पसलमा काम गर्छ। चिसो माछा छोएर उसको हात पनि चिसो हुन पुगेको छ। म पात्र सोझो छ। महिलाहरूलाई आँखा जुधाएर हेर्दैन अनि सानो छँदा सहरका केटी सबै बोक्सी हुन्छन् भन्ने मिथक सुनेर हुर्किएको हुन्छ। एक दिन माछा किन्न कविता आउँछिन्, जसले म पात्रलाई पहिलो चोटि ‘हजुर’ भनेर सम्बोधन गर्छिन्, जसले म पात्रलाई उनीप्रति आकर्षित गर्छ तर कवितालाई सानो छँदा आफन्तले बलात्कार गरेका थिए, जसले उनलाई जीवनभरको आघात दिएको थियो । कथा यिनै पात्रहरूको प्रेममा केन्द्रित छ। म पात्रले भनेको एउटा कुराले कविताको मनसाय बदलिन्छ र उनले अचानक गरेको कार्यले कथालाई अझ भयानक र चिसो बनाएको छ।
विश्लेषण
कथा केही पढ्नेहरूलाई असहज बनाउन सक्छ तर खगेन्द्र गिरीले प्रस्तुत गरेका कथाहरू सामाजिक यथार्थमा आधारित भएकाले हामीले बुझ्नुपर्छ कि यो पनि केही मानिसले भोगेको सत्य हुन सक्छ। काल्पनिक दृष्टिकोणमा लेखिएको कथाले कल्पनाभन्दा पनि यथार्थको बयान गर्ने प्रभावशाली औजारको रूपमा भूमिका निर्वाह गरेको छ। कथा पढ्दा सामान्य जीवन बाँचिरहेका पाठकले कहिल्यै नभोगेका र नसोचेका कडा कठिनाइहरूबारे थाहा पाउँछन्। साथै, एउटा सहज जीवन जिउनका लागि समाजका सीमान्तकृत वर्गले कति ठुलो मूल्य दिनुपर्छ र कति सङ्घर्ष गर्नुपर्छ भन्ने कुरामा यसले प्रकाश पारेको छ। सङ्ग्रहका कथाहरू केही लामा छन् र कतिपय ठाउँमा भाषा र वाक्यको बनोटका कारण बुझ्न थोरै गाह्रो महसुस हुन्छ तर जति असहज भए तापनि पूर्ण एकाग्रताका साथ यो सङ्ग्रह पढ्ने हो भने व्यक्तिले मानव मनोविज्ञान, यौन पहिचान, लैङ्गिक द्वन्द्व र वर्गीय विभेदजस्ता विविध कुराबारे गहिरो ज्ञान प्राप्त गर्न सक्छ।
निष्कर्ष
समग्रमा भन्नुपर्दा, खगेन्द्र गिरीको ‘भग्न प्रेमशाला’ नेपाली साहित्य जगतमा एउटा भिन्न प्रस्तुति हो। पत्रकारिताको विगतबाट आएका लेखकले समाजका ती यथार्थहरूलाई कथामा उतारेका छन्, जसलाई सामान्यतया समाजले छोप्न वा लुकाउन खोज्छ। ‘निर्मुक्त स्त्री’को यौन पहिचानको सङ्घर्ष, ‘अदृश्य; अतः निहत्था’को पुँजीवादी व्यवस्था तथा तल्लो वर्ग शक्तिहीन भएकाले गरिब गोविन्दको पीडा, र ‘चिसो’ कथामा देखाइएको बाल्यकालको गहिरो मानसिक आघातले पात्रको मनलाई चिस्याएको छ। सङ्ग्रहको शीर्षकले सङ्केत गरेझैँ, यी कथाहरू भत्किएका सम्बन्ध, अस्वीकृत पहिचान र न्यायविहीन समाजका ‘भग्न’ अवशेषहरू हुन् । जटिल र लामा वाक्य संरचनाका भए पनि यो कथा सङ्ग्रहले नेपाली समाजको यथार्थको तस्बिर प्रस्तुत गर्न सफल भएको छ। समाजको क्रूर यथार्थ र मानव जीवनका अदृश्य सङ्घर्षहरूलाई नजिकबाट बुझ्न चाहने हरेक पाठकका लागि यो पुस्तक एक पटक पढ्नै पर्ने कृतिका रूपमा रहेको छ।
0 reads
Published on 7/9/2026
Shreevaani Dhungel is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Shreevaani Dhungel
Grade 10
Roll No: 2028054
6