गद्य कविताहरूकाे ढुकुटीः पानीको रङ
गद्य कविताहरूकाे ढुकुटीः पानीको रङ
पुस्तक परिचय
विधाः कविता सङ्ग्रह
लेखकः ऋषि बस्ताकोटी
अमेरिकामा बस्ने कवि तथा प्रकृति संरक्षणकर्ता ऋषि बस्ताकोटीले नेपालीमा ‘पानीको रङ’ कविताको सङ्ग्रह लेखेका छन्।उहाँको जन्म गोर्खाको पाथिभरा भन्ने ठाउँमा प्रकृतिसँगै भयो। ‘पानीको रङ’ किताब ऋषि बस्ताकोटीद्वारा लिखित सुन्दर गद्य कविताहरूको सङ्ग्रह हो। ‘पानीको रङ’ किताबमा कवि ऋषि बस्ताकोटीले सरल भाषाको प्रयोग गरी नेपाली जीवनको अवस्था प्रस्तुत गरेका छन् । उनले लेखेका कविताहरूमा नेपाली समाजको सुन्दर विश्लेषण गरेको पाइन्छ । ऋषि बस्ताकोटीको कविताहरूमा दुख , सुख , विपद , सङ्घर्षको झझल्को पाएको देखिन्छ । उनले लेखेका हरेक पङ्क्तिहरू रोमान्चक छन् ।
भत्कनुको अर्थमा पहिरो गएपछि विनाश हुन्छ
पहिरो जान्छ अनि देखेमा फरक हुन्छ
अझ पहिरो
देखेमा भन्दा पनि दुखाइमा गहिरो हुन्छ
यसैले पहिरोको लेखाजोखा
केवल अनुभुतिभित्र हुन्छ।
‘पहिरो’ एउटा विपदको रूपमा मात्रै नभएर जीवनको महत्त्वपूर्ण हिस्सा हो भनि सुन्दर तरिकाले विश्लेषण गरेका छन्। उनले पहिरो वनमा जान्छ भन्नु को अर्थात् एउटा विपद भनेर बुझिन्छ । अझ उनले पहिरो मनमा जान्छ, योवनमा जान्छ भन्नुको अर्थात् मनमा भएको आघात, दुख भनेर बुझिन्छ । यो कविता प्रकृतिको विधि विधानसँग नजिक रहेर चिन्तन गरिएकाले यहाँ पहिरोको भत्किने प्रक्रियालाई नयाँ निर्माणको पृष्ठभूमिका रूपमा लिइएको सङ्केत गरिएकाे छ । मानिसले आस्था र विश्वास भत्कनु दिनु नहुने मानवीय उच्च प्रवृतिको खोजी गर्दै कविले मनका पक्षमा आफ्नो मान्यता अघि सारेका छन्।
तर उति बेला पानीको रङ अर्कै थियो
बग्नुको गति र ढुङ्गा अर्कै थियो
पानी सफा,सफेद र कन्चन थियो
कुनै कृत्रिम रङ रसायन मिसावट थिएन
र पनि जस्तै मान्छेको मन पनि कन्चन थियो ।
'पानीको रङ' कवितामा कविले अहिले भइरहेको वातावरण प्रदूषणको व्याख्या गरेका छन्। उनले भन्छन् पहिला खोला र तालमा हुने पानी सफा थियो , स्वच्छ थियो ,पानीको रङ बेग्लै थियो। अझ भन्छन् पानी बग्नुको गतिनै अर्को थियो। उनले यहाँ बिम्बको रूपमा पनि प्रयाेग गरेका छन् : पहिले पानी राम्रोतर्फ बग्थ्याे भने अहिले पानीको गति बेग्लै भएको छ। अहिले जस्तो पानीमा मिसावट थिएन । पानीको रङ नै भिन्न थियो सफा रङ, अहिले जस्तो विभिन्न फोहोरहरूको घर थिएन पानी। त्यति मात्र नभएर कविले पानीको महत्त्वबारे विश्लेषण गरेका छन्। कसरी पानीले मान्छेको मन पनि शुद्ध राखी राम्रो विचार ल्याउँदै छ । उनले भनेका छन् यदि पानी प्रदूषित भयो भने मान्छेको मन पनि प्रदूषित हुने छ।
न तिमी न म, हामी केवल हामी भयौ
हामी आफ्नै मार्गमा
आफ्नै आदेशमा हिडेका यात्रीहरू
हामी आफ्नै सिपमा
आफैँले कोरेका आकृतिहरू
समय रेखामा हामी कविता कवि ऋषि बस्ताकोटीले आफ्नी प्रेमिकाको लागि लेखेको देखिन्छ । उनले यो कवितामा आफूले पाउन नसकेको मायाको बारेमा गुनासाे गर्दछन् । उनले माथि दिएका पङ्क्तिहरूमा "न तिमी, न म, हामी मात्रै" भन्ने हरफले एउटा आत्मिक सम्बन्धलार्इ झल्काउछ। उनले तिमी र मलाई दुई ओटा नबनाई एक बनाए। अझ : "आफ्नै आदेशमा हिँडेका यात्री" भने पङ्क्तिले जीवनको बाटोमा स्वतन्त्रता र आफ्नै किसिमको अस्तित्वको खोजलाई देखाउँछ अनि "हामी आफ्नै सीपमा आफैले कोरेका आकृतिहरू" भनेको हाम्रो जीवन हाम्रो आफ्नै ज्ञानले आफैँ बनाएको भने बुझिन्छ।
आमा घर हो
बाबा थर हो
जब थर हुन्छ
जब घर हुन्छ
जीवनमा ठुलो भर हुन्छ
निर्भयसित जीवन चल्छ
र अझै जीवन सजाउने रहर हुन्छ।
‘आमा घर हो’ कवितामा कविले आमालाई घर, बाबालाई थर भनी बिम्बित गरेका छन्। उनले आमालाई घर भनी आमा सुरक्षाको प्रतीक हुन् र बाबालाई थर भन्दा बाबा हाम्रो चिनारी हुन् भनेका हुन्। जब हामीसँग सुरक्षा, चिनारी हुन्छ तब हामी आफ्नो जीवन भय रहित बाँच्न सक्छौँ। हाम्रो जीवनमा भर भनेकै आमाबुवा हुन् र उहाँहरूकै आडले आफ्नो जीवन सजाउने,जीवनलाई सपार्ने, जीवनलाई सिंगार्ने रहर हुन्छ। यसरी कविले आमा र बुवालार्इ जीवनकाे रूपमा व्याख्या गरेका छन्।
जिउँदो छउन्जेल बगेको
सूर्यबहादुरको स्वाभिमानी पसिना
न उसको सरकारले देख्यो
न त कुनै अखबारले लेख्यो
‘सुर्यबहादुर तामाङ’ कवितामा कविले अहिले नेपालका मजदुरहरूको स्थिति दर्शाएका छन्। उनले भनेका छन्, सुर्य उदाउनु अघि नै हातमा नाम्लो बोकेर काम गर्न जान्छ, यसले मजदुरहरू कसरी आफ्नो घर परिवार पाल्न बिहानैदेखि तन, मनले खटिएका हुन्छन् । यसरी रगत पसिना बगाएर काम गर्दा पनि सरकारले उनीहरूप्रति ध्यान दिएका छैनन्। उनीहरू यसरी नै आफ्नो स्वाभिमानी पसिना बगाइरहेका छन् । उनीहरूको वेदना कसैले देखेन,कसैले बुझेन। जब हाम्रो सुर्य अस्तायो तब मात्र यो सरकारले उप्रति ध्यान दियो। यसैले कविले सोधेका छन् यस्तै कति सूर्य मरेपछि पाउनेछ त न्याय मजदुरले।
त्यसै गरी ‘बाका जुत्ता’ कविताले जीवन दर्शनको गहिरो भाव बोकेको छ। यो कवितामा कविले आफ्नो बाको परिश्रम जस्तै कसरी बाले आफ्नो सानो, पुरानो फाटेको जुत्ताले आफ्ना प्रेरणा, लक्ष्य, अन्तर्मनको शक्तिले हिडाइरह्यो,कुदाइरह्यो र उनकै जुत्ताको माध्यमले आफ्नो गन्तव्यमा पुर्याइरह्यो। अझ कवितामा कविले कसरी आफू (छोरा) भनी चित्रित गरेका छन् र आफूले घरि घरि थरि थरिका जुत्ता फेरी फेरी लगाएको कुरा उठाएका छन् । उनले आफैलाई प्रश्न सोध्छन , के उनी बाले जस्तै आफ्नो गन्तव्यमा पुग्न सक्लान त ? यसपाली वसन्तमा
दृश्यभरि तुवालो लागेको छ चराले पनि सुटुक्क
सङ्कटकै सुइँको सुनाएको छ
पानीको मूल सुकेको बेला जराले भुइँ टेके पनि
चिस्यान भेटेको छैन कुनै बोटले
जीवनमा हरियाली आउने गरी
तिर्खा मेटेको छैन कुनै बोटले
यस कविताले चरालाई स्वतन्त्रको बिम्ब र परिवर्तनको उद्घोषक हो भनेर दर्साएको छ । पानीको सङ्कटले पृथ्वी र प्राणीको सरसता अर्थात् प्रन्तत्त्व समाप्त हुँदै गएकाे प्रसङ्गलार्इ चरा र बोटबिरुवामार्फत कविले व्यक्त गरेका छन्। वातावरण प्रदूषणले चरालाई सङ्कटकै सुइँको सुनाएको छ। जीवन प्रक्रिया नै रोगग्रस्त बन्दै गएकोप्रति कविले ध्यानाकर्षण गरेका छन्।
अधिकांश कविताहरूले राजनीतिक परिवेशकाे चित्रण गरेका यस कवितासङ्ग्रहका केही कविताहरूले आर्थिक, सामाजिक, पारिवारिक स्थितिकाे समेत वर्णन गरेका छन् । पुस्तकमा थुप्रै हृदयस्पर्शी, रोमाञ्चक, सन्देशमूलक कविताहरू रहेका छन् । कुनै सुखले भरिपूर्ण छन् त कुनै दुखले, कुनैले वातावरणको सुन्दरताको कुरा गरेको छ त कुनैमा वातावरण मासिँदै गएको कुनैले मजदुरको कठिन जीवनको कुरा गरेको छ त कुनै मा गाउँको अविकसित,डरलाग्दो स्थितिको कुरा गरेको छ । जे जस्तो भए पनि कविता एकदम सुन्दर तरिकाले लेखेका छन् ऋषि बस्ताकोटीले। कवितामा रहेका हर पङ्क्तिले पाठकहरूको मन जित्न सक्दछन् । यो कविताको सङ्ग्रहमा भएको माया , दुख , सुख , दर्द, पीडा , खुसी ,आँसुले गर्दा थुप्रै मान्छे यो कविताको समर्थक भएका छन् । यो कविताका हरेक विषयवस्तुले मान्छेमा भएका भावनालाई यस कवितामा सुन्दर तरिकाले लेखेको हुँदा हरेक नेपाली साहित्य प्रेमीले यो किताब आफूसँग राख्नुपर्दछ र अध्ययन गर्नुपर्दछ।
0 reads
Published on 9/3/2025
Krish loves exploring new places. He likes spending his time listening to music and doing creative work.
Krish Pokharel
Grade 11
Roll No: 27042
4
More Articles from
Student