underline

मेरो सोच र भविष्य: भविष्यको दौडमा आफ्नो बाटो

Underline

Share:

सबैसँग आफ्नो भविष्यबारे सोचहरू हुन्छन् । कहिलेकाहीँ भविष्य उज्यालो, उत्साहपूर्ण देखिन्छ वा कहिले डर र अनिश्चित लाग्दो हुन्छ। म धेरै जसो के प्राप्त गर्न सकुँला भनेर सोच्छु। म कस्तो मान्छे बनूँ ? म कसरी अरूसँग अन्तरक्रिया गरूँ ? र मेरो जीवन अब एकै क्षणमा कसरी परिवर्तन होला भनेर सोच्छु। अहिले म मेरो पढाइमा आफ्नो ध्यान निश्चित गर्दै छु। म मेरो कला र मलाई कस्तो खालको सिप सुहाउँदो हुन्छ, समय कसरी बिताऊँ भनेर धेरै सोच्ने गर्छु।

एसइइ परीक्षा दिनुपर्ने विद्यार्थीहरू बिहानदेखि बेलुकीसम्म पढ्न भनेर कोचिङ क्लास र ट्युसनमा जान्छन्, म भने अझै पनि आफैँ पढ्दै छु। हुन त यस्ता क्लास लिएर पढ्न मेरो लागि आवश्यक पनि छैन तर सबै साथीहरू पढ्न जाँदा म कसरी कसरी छुटेको जस्ताे लाग्छ र मलाई डर पनि लाग्छ। हामी एसइ दिने विद्यार्थीलाई केही छुटेको आभास दिने हाम्रा साथीभाइ मात्र होइनन् । जुन पनि पढाइ सम्बन्धी युट्युब भिडियो हेर्दा यस्ता व्यापारी शिक्षकहरूले लोभ्याउन कहिल्यै रोक्दैनन्। ४ जीपीए ल्याउन यो क्लासमा भर्ना गर ! तिम्रो ४ जीपीए आउँछ ।

म भने जुन पनि भिडियो पत्याउँछु र अभिभावकलाई भन्छु । साच्चैँ, सायद स्कुलले कोचिङ क्लासहरू राखेको भए म यस्तो धेरै गुनासाे गर्दिनँ थिएँ कि ? मेरो कुरा सुन्दै जाने हो भने, मेरा अभिभावकहरूले मलाई ५ ओटा कोचिङ क्लासमा हाल्थे होलान् र २ ओटा अनलाइन क्लासमा।

यही सोच्दा मलाई मेरो मनपर्ने चलचित्र थ्री इडियटसकाे एउटा कुरा सम्झना आउँछ। चलचित्रमा फरहान, राजु र र्‍यान्चो एउटै कलेजमा पढ्छन् तर उनीहरूका सपना र भविष्यप्रतिको दृष्टिकोण फरक हुन्छ। विशेष गरी र्‍यान्चोले पढाइलाई केवल राम्रो अङ्क ल्याउने माध्यमका रूपमा हेर्दैन। उसले आफूले मन पराएको कुरा बुझ्न र त्यसलाई पछ्याउन महत्त्व दिन्छ। मलाई लाग्छ, भविष्यबारे सोच्दा हामीले पनि यही कुरा सम्झनुपर्छ।

हाम्रो समाजमा भविष्यको सफलता प्रायः अङ्क, कलेज र जागिरको नामसँग जोडिन्छ। राम्रो अङ्क ल्याउनु नराम्रो कुरा होइन तर केवल अरू सफल भएको बाटोमा हिँड्नु नै सफलता हो त ? कहिलेकाहीँ हामी आफ्नो भविष्य बनाउनुभन्दा पहिले नै अरूले हाम्रो भविष्यको नक्सा कोरिदिएका हुन्छन् । डाक्टर, इन्जिनियर, पाइलट वा कुनै प्रतिष्ठित पेसा बन्ने सपना देख्नु राम्रो हो तर त्यो सपना वास्तवमै आफ्नो हो कि अरूको अपेक्षा हो भन्ने प्रश्न पनि आफैँलाई सोध्नुपर्छ।

मलाई पनि आफ्नो भविष्यको सबै उत्तर अहिले थाहा छैन। सायद केही वर्षपछि मेरा रुचि र विचार परिवर्तन हुन सक्छन्। त्यसलाई म कमजोरी ठान्दिनँ। भविष्य भनेको आजै पूरा गर्नुपर्ने वा लेखिसकेको कथा होइन; यो हरेक दिनका निर्णय, मिहिनेत र अनुभवबाट बिस्तारै लेखिँदै जाने कुरा हो तर म भविष्यसँग डराउने छैन। भविष्य जस्तोसुकै भए पनि म आफ्ना विचारहरूमार्फत वर्तमानलाई सँगाल्ने छु र सायद त्यही नै मेरो भविष्य हुने छ।

म सायद अरू विद्यार्थीहरूजस्तै नै हुँ । भविष्यमा के गर्छु, के बन्छु र यस संसारमा कस्तो परिवर्तन ल्याउँछु भन्ने सबै उत्तर मसँग आज छैनन् तर सायद, भविष्यका सबै उत्तर आजै थाहा पाउनु आवश्यक पनि छैन। अरूले बनाइदिएको सफलताको परिभाषाभन्दा आफ्नै रुचि, क्षमता र विश्वासले देखाएको बाटो रोज्नु मेरो लागि महत्त्वपूर्ण छ। भविष्यको परिणाम आउन बाँकी नै छ, त्यसैले त्यसको चिन्तामा आजलाई गुमाउनुको कुनै अर्थ छैन। जीवन सधैँ हाम्रो नियन्त्रणमा हुँदैन, तर आज हामीले के गर्छाैँ भन्ने चाहिँ हाम्रो हातमा हुन्छ। त्यसैले म भविष्यलाई डराएर होइन, वर्तमानलाई राम्रोसँग बाँचेर र हरेक दिन आफूलाई अघि बढाउँदै भेट्न चाहन्छु।

भविष्यमा म ठ्याक्कै के बन्छु भन्ने कुरा अहिले नै निश्चित छैन तर म कस्तो जीवन बाँच्न चाहन्छु भन्नेबारे भने मेरो सोच छ। म आफूलाई केवल राम्रो अङ्क ल्याएको वा राम्रो जागिर पाएको व्यक्तिका रूपमा मात्र हेर्न चाहन्नँ । आफूले रुचाएको क्षेत्रमा केही सिक्दै, सिर्जना गर्दै र आफ्नो वरपरका मानिसहरूका लागि केही राम्रो गर्न सक्ने व्यक्ति बन्न चाहन्छु। मेरो भविष्य अरूले तय गरिदिएको बाटोमा हिँडेर होइन, आफ्ना अनुभव, निर्णय र मिहिनेतबाट बिस्तारै निर्माण होस् भन्ने चाहन्छु।

सायद केही वर्षपछि आजको मेरो सोचभन्दा मेरो सोच फरक हुन सक्ला । सायद मैले अहिले कल्पना नगरेको कुनै बाटो रोज्नेछु। तर त्यसलाई असफलता होइन, आफूलाई बुझ्दै जाने प्रक्रियाका रूपमा लिने छु। आखिर भविष्य भनेको हामीले आजै पूरा लेखिसकेको कथा होइन; यो हरेक दिन हामीले गरेका साना निर्णय र प्रयासहरूले लेखिँदै जाने कथा हो।

1 reads

Published on 10/7/2026

Image

Kavya Oli is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Kavya Oli

Grade 10

Roll No: 29014

3

More Articles from

Student

Underline