underline

प्रकृति: हाम्रो जीवनको आधार

Underline

Share:

प्रकृति भनेको हाम्रो चारैतिर फैलिएको सुन्दर संसार हो। हामीले खाने अन्न, पिउने पानी, सास फेर्ने हावा सबै प्रकृतिले दिएको हो । प्रकृति नभए हामी एक पल बाँच्न सक्दैनौं। त्यसैले प्रकृतिलाई हाम्रो जीवनको आधार भनिन्छ।

प्रकृतिमा हामीले धेरै कुरा देख्छौँ। हिमाल, पहाड, तराई, नदी, खोल्सा, झरना, जङ्गल, बगैँचा यो सबै प्रकृतिको रूप हो। हाम्रो नेपाल त प्रकृतिको राज्य नै हो। संसारकै सबैभन्दा अग्लो हिमाल सगरमाथा हाम्रो नेपालमै छ । यी हिमालहरू हिउँले ढाकिएका हुन्छन् र हिउँ पग्लँदा नदीनालाहरूमा पानी बग्छ । यसरी प्रकृतिका विभिन्न अङ्गहरू एक अर्कासँग जोडिएका छन् ।

जङ्गल प्रकृतिको सुन्दरतालाई नै बढाउँछ। जङ्गलमा ठुलाठुला रुखहरू, लहरा बुट्यानहरू र नाना प्रकारका जनावरहरू बस्छन् । जङ्गलले हामीलाई फलफूल, लकडी, औषधीलगायत धेरै कुरा दिन्छ । तर जङ्गलको सबैभन्दा ठुलो देन हो, ताजा हावा । रुखहरूले कार्बनडाइअक्साइड लिएर अक्सिजन दिन्छन्, जसबिना हामी सास फेर्न सक्दैनौँ । त्यसैले जङ्गललाई प्रकृतिको फोक्सो भनिन्छ ।

प्रकृतिमा छअाेटा ऋतुहरू हुन्छन् ग्रीष्म, वर्षा, शरद, हेमन्त, शिशिर र वसन्त । यी सबै ऋतुहरूको आ-आफ्नै महत्त्व र सुन्दरता छ । वसन्तमा कोइलीको स्वर सुनिन्छ र फूलहरू फुलेर प्रकृतिलाइ सुन्दर बनाउँछन् । गृष्ममा गर्मी लाग्छ र आँप, लिचीजस्ता रसिला फलहरू पाक्छन् । वर्षामा हरियाहरिया बोटबिरुवाहरूले धरतीलाई हरियो बनाउँछन् । शरदमा न जाडाे न गर्मी अनि चाडबाडकाे उमङ्ग हुन्छ । हेमन्त र शिशिरमा जाडाे याम सँगै हिँउदकाे समय हुन्छ । यी ऋतुचक्रले नै किसानहरूलाई मद्दत गर्छ ।

प्रकृतिले हामीलाई धेरै कुरा दिए पनि हामी मानिसहरूले चाहिँ प्रकृतिको रक्षा गर्ने ठाउँमा उसलाई नै हानि पुर्‍इरहेका छौँ । हामीले जङ्गलका रुखबिरुवा काटिरहेका छौँ, नदी-तालहरूमा फाेहाेर फ्याँकिरहेका छौँ र कलकारखानाबाट धुवाँ निकालेर वातावरणलाई प्रदूषित गरिरहेका छौँ। यसले गर्दा हामी धेरै समस्याहरूको सामना गर्दै छाैँ । मौसम बिग्रिएको छ, हिमालको हिउँ पग्लिरहेको छ र नयाँनयाँ रोगहरू देखा परिरहेका छन् । केही वन्यजन्तुहरू त लोप हुने अवस्थामा छन्।

यसरी प्रकृतिलाई हानी नपुगोस् भनेर हामीले के-के गर्न सक्छौँ ? हामीले धेरै बिरुवा रोप्नुपर्छ। प्लास्टिकजस्ता नहकुहिने फाेहाेर जङ्गल, नदीमा फ्याँक्नु हुँदैन । पानीका मुहानहरूकाे संरक्षण गर्नुपर्छ। स्कूलबाटै प्रकृतिको ज्ञान लिई यसको रक्षा गर्ने सङ्कल्प लिनुपर्छ । प्रकृतिले हामीलाई जीवन दिएको छ, त्यसैले यसलाई जोगाउनु हाम्रो कर्तव्य हो।

प्रकृति हाम्रो साँचो साथी हो। यसले कहिल्यै पनि हामीलाई खाली हात फर्काउँदैन । हामीले मन खोलेर यसको माया गर्नुपर्छ र यसको हिफाजत गर्नुपर्छ। सबै मिलेर प्रकृतिको रक्षा गर्‍याैँ भने हाम्रो संसार सधैँ सुन्दर र नराम्रो रोगबाट मुक्त रहनेछ। प्रकृतिको रक्षा नै हाम्रो रक्षा हो।

0 reads

Published on 11/26/2025

Image

Saanvi Luitel is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Saanvi Luitel

Grade 9

Roll No: 29075

5

More Articles from

Student

Underline