भग्न प्रेमशाला : कथा साहित्यमा एउटा फरक र सशक्त आवाज
भग्न प्रेमशाला : कथा साहित्यमा एउटा फरक र सशक्त आवाज
१. विषय प्रवेश
नेपाली साहित्यको कथा क्षेत्रमा खगेन्द्र गिरीको नाम नौलो होइन। पत्रकारिताको पेसामा रहेर पनि उनले साहित्यिक सिर्जनामा विशेष चासो राख्ने गरेका छन् । भग्न प्रेमशाला उनको पहिलाे कथा सङ्ग्रह हो, जुन प्रकाशित भएदेखि नै निकै चर्चित बनेको छ। यस कथा सङ्ग्रहमा जम्मा नौ अाेटा स्वतन्त्र कथाहरू समावेश छन्, जुन कथाहरूले प्रेम, सम्बन्ध, पीडा, सङ्घर्ष, आत्मबोध र सामाजिक यथार्थका विविध पक्षहरूलाई समेटेका छन्।
खगेन्द्र गिरीले पत्रकारिताका क्रममा समाजलाई नजिकबाट अवलोकन गर्ने मौका पाए। राजनीतिक उथलपुथल, सामाजिक विसङ्गति, वर्गीय विभाजन र मानवीय सम्बन्धका जटिलताहरूलाई उनले आफ्ना कथाहरूमा प्रभावकारी रूपमा उतारेका छन्। उनका कथाहरूमा नेपाली समाजको मूल स्वरूप, विशेष गरी महिलाहरूले सामना गर्नुपर्ने चुनौतीहरू, पुरुषप्रधान समाजका दोहोराे मापदण्डहरू र आर्थिक विषमताले पार्ने प्रभावलाई सजीव ढङ्गले चित्रण गरिएको छ।
यस सङ्ग्रहको नाम भग्न प्रेमशाला पनि हो, जसले पूरै किताबको भावना र मर्मलाई निर्धारण गरेको छ। ‘भग्न प्रेमशाला’ भन्नाले भत्किएको, चकनाचुर भएको प्रेमको विद्यालय अर्थात् प्रेमले मानिसलाई सिकाउने पीडादायी पाठहरूको सङ्ग्रह हाे । यस सङ्ग्रहमा सङ्गृहीत भथाहरूले कसरी प्रेमले कहिलेकाहीँ मानिसलाई सबैभन्दा कठोर शिक्षा दिन्छ, कसरी प्रेमको नाममा मानिसले आफ्नो सबै कुरा गुमाउँछ र कसरी प्रेमको पुनःपरिभाषा आवश्यक छ। लेखकको यो कृतिले पाठकलाई केवल मनोरञ्जन मात्र दिँदैन, बरु जीवन र समाजको गहिरो बोध गराउँछ।
२. विषयवस्तु
यस कथा सङ्ग्रहका नौअाेटा कथाहरू फरक फरक पात्र, परिस्थिति र भौगोलिक पृष्ठभूमिमा आधारित छन् तर तिनीहरूको केन्द्रीय धागो प्रेम, सम्बन्ध र यसका परिणामहरू नै हुन्। लेखकले पूर्वी नेपालको तराईदेखि पहाडी क्षेत्र, गाउँदेखि सहरसम्मका परिवेशलाई आफ्ना कथाहरूमा समेटेका छन् । प्रत्येक कथाको आफ्नै विशिष्टता छ तर तिनीहरूमा एउटा समानता छ, ती सबैले मानवीय मनोविज्ञान, सम्बन्धको जटिलता र सामाजिक दबाबबिचको सङ्घर्षलाई प्रस्तुत गर्छन्।
पहिलो कथा ‘निर्मुक्त स्त्री’ कल्पना नामकी युवतीको जीवनकथा हो। कल्पनाको बाल्यकालमा उसले एउटी आइमाईलाई रुखमा झुन्डिएको अवस्थामा देख्छे। त्यस आइमाईको कथा अत्यन्त मार्मिक छ । उनले आफ्ना श्रीमानलाई जेलबाट छुटाउन वर्षौंसम्म सङ्घर्ष गर्छिन् तर श्रीमान् छुटेपछि उनको रूप बिग्रिएको देखेर त्याग्छन्। उनी एक्ली र असहाय भएर आत्महत्या गर्छिन् । यस दृश्यले कल्पनाको मनमा अमिट छाप छोड्छ। कल्पना पनि पछि जीवनमा प्रेमको आशा राख्छे, तर बुद्धहाङसँगको विवाहले उसलाई सुख दिँदैन। गर्भपतनको पीडा, पतिको बेवास्ता र आफ्नो आत्मसम्मानको सङ्कटले उसलाई पिराेल्न थाल्छ। अन्त्यमा उसले साथी सिर्जुको साथमा आफ्नो पीडालाई भुल्न खोज्छे र नयाँ जीवनको सुरुवात गर्छे। यो कथा महिलाको सहनशीलता, उसको बलिदान र अन्ततः आत्मसम्मानको पुनःप्राप्तिको कथा हो। कल्पनाको यात्राले समाजले महिलालाई दिने अपेक्षा, उनीमाथि थोपरिने बोझ र उसले आफ्नो लागि गर्नुपर्ने सङ्घर्षलाई उजागर गर्छ।
दोस्रो महत्त्वपूर्ण कथा ‘मखमल’ हो, जुन यस सङ्ग्रहको अर्को उत्कृष्ट कथा हो। मखमल बाल्यकालमा अत्यन्त चलाख र मायालु केटो थियो। उसका बाबा, जो अङ्ग्रेजी शिक्षक हुन्, उसका लागि गीतसमेत लेख्छन् र उसलाई अक्सफोर्डमा पढाउने सपना देख्छन् तर अचानक मखमलको मानसिक अवस्था खस्किन्छ। ऊ बोल्न, बुझ्न र सिक्न नसक्ने हुन्छ। यसले परिवारमा त्रास र चिन्ता फैलाउँछ। त्यसबिच दलराम नामको एक धूर्त, शक्तिशाली र पैसावाल व्यक्तिले मखमलका बाबालाई ऋणको जालमा पार्छ, जसले गर्दा उनको मानसिक अवस्था झन् खस्किन्छ। बाबाको मृत्युपछि मखमलले दलरामको हत्या गरेको झूटो कबुल गर्छ, यद्यपि उसले हत्या गरेको हुँदैन। यस झुटो कबुलले उसलाई २० वर्ष जेल सजाय हुन्छ। जेलबाट छुटेपछि उसको अन्योलता र पीडा अझ बढ्छ। सहर उसलाई जेलभन्दा पनि निसास्सिँदो लाग्छ। अन्त्यमा एउटा मोटे मानिसले उसलाई सत्य बताउँछ, “तँ आइपुग्दा दलराम पहिले नै मरिसकेको थियो।” यो सत्यले मखमलको पूरै जीवनको बर्बादीको कारण खुल्छ। यो कथा विशेष गरी मानसिक स्वास्थ्य, झुटो कबुल, न्याय प्रणालीको कमजोरी र एउटा गलत निर्णयले पार्ने दीर्घकालीन परिणामबारे सचेत गराउने कथा हो। मखमलले आफ्नो अपराध नगरी पनि २० वर्ष जेल बस्नुको पीडा र त्यसको कारण पत्ता लाग्दाको विक्षिप्तता यी सबैले पाठकको मन छोइदिन्छ।
यसका अतिरिक्त अन्य सात कथाहरूले पनि विविध विषयवस्तुहरू उठाएका छन्। कुनै कथामा सामन्ती सोचको विरोध गरिएको छ त कुनैमा महिला सशक्तीकरणको कुरा उठाइएको छ। कुनै कथाले आर्थिक विषमताले सम्बन्धमा पार्ने प्रभावलाई देखाउँछ भने कुनैले आधुनिक सहरी जीवनको एक्लोपना र उथलपुथललाई चित्रण गर्छ। हरेक कथाको अन्त्य सुखद छैन, तर यथार्थपरक छ, जसले पाठकलाई वास्तविक जीवनको स्मरण गराउँछ।
लेखकले हरेक कथामा पात्रहरूको मनोवैज्ञानिक गहिराइलाई निकै मार्मिक ढङ्गले उतारेका छन्। उनका पात्रहरू जीवन्त, सजीव र वास्तविक छन्। तिनीहरू हामी वरपरका मानिसहरू जस्तै देखिन्छन्। तिनीहरूमा कमजोरी पनि छ, बल पनि छ, सङ्घर्ष पनि छ र आशा पनि छ। यसले पाठकलाई कथासँग जोडिन सजिलो बनाउँछ।
३. आलोचनात्मक विश्लेषण
यस कथा सङ्ग्रहको सबैभन्दा ठुलो विशेषता भनेको यसको यथार्थवादी दृष्टिकोण हो। खगेन्द्र गिरीले प्रेम र सम्बन्धलाई केवल रोमान्टिक चस्माबाट हेर्दैनन्, बरु त्यसका कठोर, पीडादायी र जटिल पक्षहरूलाई पनि उत्तिकै सशक्त रूपमा प्रस्तुत गर्छन्। उनका कथाहरूमा प्रेम गर्नुको अर्थ केवल सुख र आनन्द होइन, बरु बलिदान, पीडा, धोका र कहिलेकाहीँ आत्मविनाशसम्म पनि पुग्न सक्ने देखाइएको छ।
लेखकको शैलीको अर्को महत्त्वपूर्ण पक्ष भनेको उनले समकालीन नेपाली समाजको यथार्थलाई सजीव ढङ्गले प्रस्तुत गर्नु हो। पञ्चायतकालको राजनीतिक अस्थिरता, प्रहरीको मनमानी, प्रशासनिक भ्रष्टाचार र सामन्ती सोचले सामान्य मानिसको जीवनमा पार्ने प्रभावलाई उनले आफ्ना कथाहरूमा स्पष्ट पारेका छन्। पहिलो कथाकी आइमाईले पतिलाई जेलबाट छुटाउन गरेको सङ्घर्ष तर अन्त्यमा उसैको त्यागको सामना गर्नुपर्ने अवस्था, यसले समाजमा महिलाको अवस्था, उनीप्रतिको अन्याय र पुरुषप्रधान समाजको क्रूरता देखाउँछ। कल्पनाको कथा पनि यसको अर्को उदाहरण हो, जसले गर्भपतनको पीडा मात्र होइन, पतिबाट हुने उपेक्षा र परिवारको दबाबले मानसिक रूपमा कसरी थिलथिलो बनाउँछ भन्ने देखाउँछ।
यद्यपि, यस सङ्ग्रहका केही कथाका अन्त्य अत्यन्तै दुःखद र निराशाजनक छन्, जसले पाठकलाई दमनकारी अनुभूति दिन सक्छ । उदाहरणका लागि, आत्महत्या गरेकी आइमाईको कथा, मखमलको २० वर्ष जेल बस्नु र कल्पनाको वैवाहिक जीवनको पीडा यी सबैले समाजको कठोर यथार्थ देखाए पनि केही पाठकलाई अत्यधिक निराशाजनक लाग्न सक्छ तर लेखकको दृष्टिकोण यथार्थवादी र साहसी छ। उनले सुखद अन्त्यको पछि नलागी समाजको कुरूप सत्यलाई उजागर गर्ने काम गरेका छन्। यसले पाठकलाई सजग बनाउँछ, केवल मनोरञ्जन मात्र दिँदैन।
लेखकको भाषाको सरलता र प्रवाह अर्को सबल पक्ष हो। उनले प्रयोग गरेका संवादहरू अत्यन्त स्वाभाविक र जीवन्त छन्, जसका कारण पात्रहरूको भावना, उनीहरूको पीडा र उनीहरूको आन्तरिक सङ्घर्ष पाठकले सजिलै महसुस गर्न सक्छ। वर्णनहरू पनि यति सजीव छन् कि पाठकले दृश्य आफ्नै आँखाले देखिरहेको अनुभव गर्छ। खास गरी गाउँको परिवेश, हिमाली क्षेत्रको प्राकृतिक सौन्दर्य र सहरको हलचललाई उनले निकै मार्मिक ढङ्गले चित्रण गरेका छन्।
तथापि, कथा सङ्ग्रहको संरचना हेर्दा केही कथाहरूको लम्बाइ असमान देखिन्छ। कतिपय कथाहरू अत्यन्त लामा र विस्तृत छन् भने कतिपय छोटा र सङ्क्षिप्त। यसले किताब पढ्दा कहिलेकाहीँ गति असन्तुलित महसुस गराउन सक्छ। साथै, सबै कथाहरूको केन्द्रीय विषयवस्तु प्रेम र सम्बन्ध नै भए पनि, केही कथाहरूको विषयवस्तु एकै प्रकारको हुनाले पाठकलाई पुनरावृत्तिजस्तो लाग्न सक्छ। यद्यपि, प्रत्येक कथाको परिवेश, पात्र र प्रस्तुति फरक छ, जसले विविधता कायम राख्न मद्दत गर्छ।
खगेन्द्र गिरीले यस कथा सङ्ग्रहमा आधुनिक नेपाली समाजको मनोवैज्ञानिक चित्र कोर्ने प्रयास गरेका छन्। उनका पात्रहरू समाजका विभिन्न वर्ग, समुदाय र क्षेत्रबाट आएका छन्, जसले नेपाली समाजको विविधता झल्काउँछ। कथाहरूमा महिलाहरूको आवाज, उनीहरूको पीडा र उनीहरूको सशक्तीकरणको कुरा सशक्त रूपमा उठाइएको छ। यसले पुस्तकलाई विशेष गरी महिला पाठकहरूका लागि सान्दर्भिक र सशक्त बनाउँछ।
४. निष्कर्ष र सिफारिस
भग्न प्रेमशाला नेपाली कथा साहित्यमा एउटा महत्त्वपूर्ण योगदान हो। खगेन्द्र गिरीले यस कृतिमार्फत नेपाली समाजको यथार्थलाई निडरतापूर्वक प्रस्तुत गरेका छन्। उनले प्रेम र सम्बन्धको आदर्शवादी धारणालाई चुनौती दिँदै तिनका कठोर, पीडादायी र वास्तविक पक्षहरूलाई उजागर गरेका छन्। उनका कथाहरूले पाठकलाई मात्र मनोरञ्जन दिँदैनन्, बरु गहिरो चिन्तन र आत्मसमीक्षाका लागि प्रेरित गर्छन्। यस सङ्ग्रहका कथाहरूले देखाउँछन् कि प्रेमको नाममा मानिसले कति पीडा सहन सक्छ, कसरी समाजले महिलाहरूलाई अपेक्षा र बोझले थिच्छ र कसरी एउटा गलत निर्णयले सिङ्गो जीवन बर्बाद बनाउन सक्छ।
यस पुस्तकको सबैभन्दा ठुलो विशेषता भनेको यसले कुनै पनि पात्रलाई एकआयामिक रूपमा प्रस्तुत नगर्नु हो। सबै पात्रहरू जटिल, सङ्घर्षरत र मानवीय छन्। तिनीहरूका निर्णयहरू, गल्तीहरू र पछुताहरूले पाठकलाई आफ्नै जीवनका निर्णयहरूको समीक्षा गर्न बाध्य पार्छ। यो पुस्तक खास गरी किशोरकिशोरी र युवावर्गका लागि अत्यन्त उपयुक्त छ, किनभने यसले उनीहरूलाई प्रेमको वास्तविक रूप बुझ्न, सही र गलत छुट्याउन र आत्मसम्मानको महत्त्वबोध गराउन मद्दत गर्छ।
यद्यपि, यस कृतिका केही कथाहरूको अत्यधिक निराशावादी अन्त्यले पाठकलाई भारी महसुस गराउन सक्छ तर लेखकले समाजको विकृत पक्षलाई लुकाउनुको सट्टा साहसपूर्वक प्रस्तुत गरेको हुनाले यो दोष होइन, बरु साहसिक प्रयास हो। प्रेमको विद्यालय भत्किए पनि यसबाट सिक्ने पाठहरू नै यस कृतिको मूल्य हो।
म यस पुस्तकलाई नेपाली साहित्य रुचाउने हरेक पाठकलाई हार्दिकताका साथ सिफारिस गर्दछु। यसले केवल पढ्ने रमाइलो मात्र होइन, बरु जीवनका गहिरा पाठहरू सिकाउँछ। यो पुस्तक किशोरावस्थादेखि वयस्क उमेरसम्मका सबैका लागि पढ्न योग्य छ। यसका कथाहरूले दिएको पीडा र सङ्घर्षको अनुभूति पाठकको मनमा लामो समयसम्म रहन्छ, जसका कारण यो पुस्तक केवल एक पटक पढेर बिर्सने खालको होइन, बरु बारम्बार पढ्न र आत्मसमीक्षा गर्न प्रेरित गर्ने कृति हो। नेपाली कथा साहित्यमा एउटा फरक र सशक्त आवाजका रूपमा खगेन्द्र गिरीको यो कृतिले आफ्नो स्थान सुरक्षित गरेको छ।
2 reads
Published on 7/13/2026
Saanvi Luitel is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Saanvi Luitel
Grade 10
Roll No: 29075
5