मेराे विद्यालय
मेराे विद्यालय
मेरो विद्यालय अत्यन्तै राम्रो र शान्त वातावरणमा अवस्थित छ। यहाँको हरियाली वातावरण, सफा कक्षाकोठा र अनुशासित वातावरणले मलाई सधैं आकर्षित गर्छ। मलाई यस विद्यालयमा अध्ययन गर्न अत्यन्तै मन पर्छ, किनकि यहाँ मैले ज्ञान मात्र होइन, असल आचरण र जीवनका मूल्यहरू पनि सिक्ने अवसर पाएको छु।
हामी प्रत्येक दिन बिहान सबेरै विद्यालयमा उपस्थित हुन्छौं। सबै विद्यार्थीहरू मिलेर पंक्तिबद्ध भई प्रार्थनामा सहभागी हुन्छौं। प्रार्थनाको मधुर स्वरले हाम्रो मनलाई शान्त बनाउँछ र दिनभरि सकारात्मक ऊर्जा प्रदान गर्छ। त्यसपछि हामी आ–आफ्नो कक्षामा गई नियमित रूपमा पढाइ सुरु गर्छौं।
हाम्रा शिक्षक–शिक्षिकाहरू अत्यन्तै जानकार, मेहनती र सहयोगी हुनुहुन्छ। उहाँहरूले विषयवस्तुलाई सजिलो र रोचक ढंगले बुझाउनुहुन्छ, जसले गर्दा हामीलाई पढाइ अझै रमाइलो लाग्छ। कहिलेकाहीँ हामीले गल्ती गर्दा उहाँहरूले सचेत गराउन गाली पनि गर्नुहुन्छ, तर त्यो गाली हाम्रो भलाइ र उज्ज्वल भविष्यका लागि नै हो भन्ने हामी बुझ्छौं।
विद्यालयमा मेरा धेरै मिलनसार साथीहरू छन्। हामी सँगै बसेर पढ्छौं, छलफल गर्छौं र विभिन्न गतिविधिहरूमा सहभागी हुन्छौं। अवकाशको समयमा खेलकुद, हाँसो–ठट्टा र अनुभव आदानप्रदान गर्दा समय कहिले बित्छ, पत्तै हुँदैन। साथीहरूसँगको सहकार्यले मलाई सहयोग, मित्रता र एकताको महत्व सिकाएको छ।
मेरो विद्यालय मेरो लागि ज्ञानको मन्दिर जस्तै हो। यहाँ मैले अनुशासन, परिश्रम र जिम्मेवारीको पाठ सिकेको छु। यसैले मलाई मेरो विद्यालय अत्यन्तै प्रिय छ। यो नै मेरो सानो संसार हो, जहाँ मेरा सपनाहरूले आकार लिन्छन् र भविष्य उज्ज्वल बन्ने आशा पलाउँछ।
1 reads
Published on 2/27/2026
Samar Gholiju Shrestha is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics and engaging in creative discussions.
Samar Gholiju Shrestha
Grade 7
Roll No: 31059
3
More Articles from
Student